+
+

खोपमा किसान र मजदूरलाई प्राथमिकता दिन निर्देशन

रासस रासस
२०७८ साउन १३ गते १७:४८

१३ साउन, काठमाडौँ । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले किसान र पशुपक्षी फार्ममा काम गर्ने मजदूरलाई पहिलो प्राथमिकतामा राखेर कोभिड–१९ सङ्क्रमणविरुद्धको खोपको व्यवस्थापन गर्न सरकारलाई निर्देशन गरेको छ ।

समितिको बुधबारको बैठकले किसान र मजदूरलाई कोभिड–१९ विरुद्धको खोप तत्काल लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन् ।

समितिले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढीपहिराका घटनाबाट पशुपक्षी र बालीनालीमा क्षति पुगेका किसानलाई सहयोगस्वरुप यथाशक्य राहत उपलब्ध गराउन सुझाव दिएको छ ।

किसानले यस वर्ष पनि धानका लागि सहजरूपमा आवश्यक मल खाद्य प्राप्त गर्न नसकेको जनाउँदै समितिले कृषि तथा पशुपक्षी मन्त्रालयलाई रसायनिक मल अभावको समस्या तत्काल र दीर्घकालका लागि व्यवस्थापन गर्न गम्भीर ध्यानाकर्षण गराएको छ ।

समितिले भनेको छ, ‘मल खाद्य खरीदका लागि बजेट व्यवस्था गरी किसानका मागबमोजिम सरकारले समयमै किसानका मुद्दालाई सम्बोधन गर्नुपर्छ ।’ नेपाल कृषि अनुसन्धान परिषद्को भैरहवास्थित राष्ट्रिय गहुँबाली अध्ययन केन्द्रको जग्गा विभिन्न नाममा हुन लागेको अतिक्रमणका सम्बन्धमा समितिको गम्भीर ध्यानाकर्षण भएको पनि सभापति सुवेदीले जानकारी दिइन् ।

यसैबीच कृषि अनुसन्धान परिषद्ले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालबाट राष्ट्रिय गहुँबाली कार्यक्रम रुपन्देहीको तीन बिघा जग्गा १०० शय्या क्षमताको बहुउपयोगी संरचना निर्माण गर्न उपलब्ध गराउन माग भई आएको पुष्टि गर्र्दै गहुँको अनुसन्धान र परीक्षणमा प्रतिकूल प्रभाव पर्ने भएकाले उपलब्ध गराउन नसकिने जानकारी गराएको छ ।

यसअघि बैठकमा समिति सदस्यले किसानलाई सरल, सुलभ र सहजरूपमा मलखाद्य उपलब्ध गराउन, कृषि ऋण र अनुदान टाठाबाठाको पोल्टामा गएकाले बास्तविक किसानमा पुर्‍याउन तथा प्राकृतिक प्रकोपका घटनाका पीडितलाई पुनर्वास र राहतका कार्यक्रम ल्याउन समितिमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?