Comments Add Comment

नक्कली बाबु छोरी बनी नागरिकता लिएको अभियोगमा दुईजना पक्राउ

१४ साउन, वीरगञ्ज । नक्कली बाबु र छोरी बनी नागरिकता बनाएको अभियोगमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पर्साको बहुदरमाई नगरपालिका-२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र भारत घर भई हाल बहुदरमाई–२ बस्ने कविता कुमारी भन्ने २८ वर्षीया सीता पटेल पक्राउ परेका हुन् ।

भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नाउँबाट जिल्ला प्रशासन कार्यालय, पर्साबाट झुट्टा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको दावी प्रहरीले गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधबार बिहान १० बजे वीरगञ्ज–१३ श्रीपुरबाट सीता पटेललाई नियन्त्रणमा लिएको थियो ।

उनको शरीर तलासी गर्दा उनले बोकेको ब्यागमा जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७० पुस ११ गते जारी भएको ३४–०१–७०–१०३५२ नम्बरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी फेला पारेको थियो ।

नागरिकतामा साविक बैरियाबिर्ता दा.पु. गा.वि.स. वडा नं. ९ बस्ने धुरुप प्रसाद पटेलको छोरी कविता कुमारी भन्ने विवरण उल्लेख थियो । भारतीय नागरिकलाई नागरिकता बनाउन बुवा बनी सनाखत गरिदिएको अभियोगमा धुरुपलाई पनि श्रीपुरबाटै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

दुवै जनालाई नागरिकता सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment