+
+

वृक्षः जन्मदेखि मृत्युसम्म जीवनको आवश्यकता

अजयकुमार झा अजयकुमार झा
२०७८ साउन १४ गते १५:२५

मानवीय जीवनप्रतिको बुझाइ पनि अध्ययनको एक विषय हो । सबैले सबै कुरो बुझ्न सक्दैनन् । त्यसैले पनि समाजमा हरेक विषयमा असहमतिका कुराहरू हुन्छन् । व्यक्ति, परिवार, समाज, समुदाय, प्रदेश र राज्यको हितको सवालमा पनि अनेक तरहका असहमति पैदा हुनु निश्चय पनि बुझाइमा फरक परेर हुने कुरा हो । तर मानवीय तथा सामाजिक व्यवहारका यस्ता विषयहरू पनि छन्, जसमा समान किसिमका बुझाइ छन् । पर्यावरणका सन्दर्भमा पनि समाजका केही बुझाइहरू प्रासङ्गिक देखिन्छ ।

वन जङ्गलप्रतिको सामान्य बुझाइ के छ भने समाज बदलिन्छ, तर वन जङ्गलको महत्वमा कुनै पनि अन्तर आउँदैन । वन जङ्गल भौतिक सम्पदा मात्र होइन, जीवनको स्रोत पनि हो । वन जङ्गलप्रति ऋषि मुनिको तपोभूमि, महादेवको क्रीडास्थल, जडिबुटीको भण्डार, काठपात आदि अनेक बुझाइ रहेका छन् । सरकारी स्तरबाट कतिपय नारा प्रचलित गराइएका छन् । रूखले दिन्छ सुख, हरियो वन नेपालको धन, वन र वनस्पति विनाको जीवन, धन र सम्पत्ति विनाको जीवन झैं हो; आदित्यादि ।

वन जङ्गलदेखि समाजको निकटतम सम्बन्ध रहेको छ । वन नै जीवन हो । वनस्पतिको अस्तित्वसँग सम्पूर्ण जीवको अस्तित्व जोडिएको छ । वन अर्थात् वनस्पति; अर्थात् पात, फूल, फल, काठ । काठ अर्थात् जन्मदेखि मृत्युसम्म जीवनको आवश्यकता ।

जीवनको लागि श्वास आवश्यक छ कि अत्यावश्यक छ ? होइन, अपरिहार्य छ । पाँचवटा तत्व (अग्नि, आकाश, पृथ्वी, जल र वायु) मिलेर जीव (चराचर) को निर्माण भएको छ । श्वास भनेको वायु हो । वायु (श्वास) विना न त जीवनको निर्माण सम्भव छ न जीवनको आयु । मानिस प्रतिक्षण श्वास–प्रश्वासको क्रियामा रहन्छ ।

सामान्यतया औसत वयस्कले प्रतिमिनेट ७ देखि ८ लिटर (लगभग एक चौथाइ घन फिट) सम्म वायु श्वासको लागि लिन्छ र छोड्छ । श्वासमा जति हावा लिइन्छ, त्यसको लगभग २० प्रतिशत अक्सिजन हुन्छ; ५ प्रतिशत खपत गरिन्छ र १५ प्रतिशत छोडिन्छ । त्यही ५ प्रतिशत अक्सिजन खपत भएर कार्बनडाइअक्साइडमा परिवर्तित हुन्छ । मानिसले प्रतिदिन ५५० लिटर शुद्ध अक्सिजन (१.९ घन फीट) उपयोग गर्दछ ।

सामान्य बोलीचालीमा डेढ केजी खाना खाने मानिसले दिनभरको श्वास फेराइमा १६ देखि ३० केजीसम्म अक्सिजन उपयोग गर्ने बताइन्छ । २४ घण्टामा २१ हजार पटक जति श्वास फेरिन्छ । तपस्वीहरूले प्रत्येक श्वासको आदान–प्रदानमा ‘हंस–सोहं’ मन्त्रोचार (अजपा) गर्दछन् र ती सबै जपहरू गुरु र विभिन्न देवी–देवतालाई समर्पित गर्दछन् ।

सबैलाई थाहा छ कि जुन वायुमण्डलमा मानिसले जीवन व्यतीत गरिरहेको छ, श्वास लिन पाएको छ, त्यसमा ७८ प्रतिशत नाइट्रोजन, २१ प्रतिशत अक्सिजन, ०.९ प्रतिशत आर्गन, ०.०४ प्रतिशत कार्बनडाइअक्साइड र ०.०६ प्रतिशत अन्य ग्याँस तथा वाष्प रहन्छ । तर पृथ्वीमा हमेसा यस्तो थिएन, पृथ्वीको जन्मको प्रथम चरणमा, धेरै लामो समयसम्म, वायुमण्डलमा अक्सिजनको मात्रा नगण्य थियो र त्यसमा जीवनको अभाव थियो ।

वायुमण्डलमा अक्सिजनको उपस्थितिपश्चात् नै जीवमा विकासको प्रक्रिया सम्भव हुन सक्यो । जहाँ जीवमा अक्सिजन उनको अन्तरदहन (मेटाबोलिज्म)क्रियाको लागि अति आवश्यक थियो, त्यहीं वनस्पतिको निर्माण यस्तो रासायनिक घटकहरूबाट भयो, जो अक्सिजनको निर्माण गर्दथे ।

हिन्दू धर्म ग्रन्थको अग्नि पुराणमा १० सन्तान बराबर एक रूखको महत्व दिइएको छ । निःसन्तानले सन्तानोत्पति दोषबाट मुक्ति पाउन धार्मिक महत्वको रूख रोप्नुपर्ने शास्त्रोपदेश छ । हिन्दू धर्ममा उमेरको आधारमा जीवनलाई चार हिस्सामा बाँडिएको छ । शतायुको कामना गर्ने यस धर्मले प्रत्येक सम्पूर्ण जीवनको चार हिस्सा गरी समान २५ वर्षको दरले बाँडेको छ । ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास ।

पहिलो आश्रममा कर्तव्यको ज्ञान हासिल गरेर दोस्रो आश्रम अर्थात् घर गृहस्थी, सन्तानोत्पति आदिको कर्तव्य पूरा गरेर मानिसले तेस्रो आश्रममा प्रवेश गर्दछ अर्थात् वानप्रस्थ (वनतिर प्रस्थान गर्नु) गर्दछ । यस आश्रममा मानिसले गृहस्थको त्याग गरेर समाज र देशको लागि योगदान गर्ने अपेक्षा गरिन्छ ।

संन्यास, सन्यस्त (चौथो आश्रम) हुनुको तात्पर्य लौकिक विषयसँग निरपेक्ष हुँदै जानु हो । जीवनलाई सुसंस्कृत गर्नु हो । मोक्षाकांक्षा ग्रहण गर्नु हो । वानप्रस्थमा वन शब्दको प्रयोग गर्नुले यस अर्थमा विशेष महत्व राख्दछ । घरको बसाइ त्याग गर्नुको अर्थ जङ्गलतिर लाग्नु हो । जङ्गलमा गएर बस्नुको तात्पर्य आजको जस्तो वन फडानी गरेर बस्ती बसाले जस्तो होइन । अपितु वनवद्र्धनमा लाग्नु हो ।

मानिसले श्वासप्रश्वास क्रियाको क्रममा अक्सिजन ग्रहण गर्दछ र त्यसको सट्टा शरीरभित्रको कार्बनडाइअक्साइड बाहिर निकाल्दछ । मानव शरीरबाट यसरी बाहिरिने दूषित ग्याँस हाम्रो पर्यावरणमा पुगेर मिसिन्छ । तर यसको विपरीत वृक्षले कार्बनडाइअक्साइड अवशोषित गरेर शुद्ध अक्सिजन वायुमण्डलमा प्रवाहित गर्दछ । सामान्यतया एउटा रूखले दैनिक अढाइ केजी अक्सिजन छोड्दछ ।

यसबाट हामीले अक्सिजन ग्रहण गरेरर आफ्नो दिनचर्या पूरा मात्र गर्दैनौं, अपितु जीवनलाई नै निरन्तरता दिन्छौं । वृक्ष विना जीवन सम्भव छैन । वृक्षहरूमा तमाम औषधीय गुण पनि विद्यमान छन् । वृक्षको जरा, हाँगा, छाला, पात, फूल, बीउ, फल, निकटता आदि तमाम कुरा रोगको उपचार गर्न सहायक मानिन्छ । हाम्रो देशमा वन जङ्गलको मुख्य स्रोत चुरे क्षेत्र हो, जसलाई शिवालिक रेञ्ज भनिन्छ ।

तराईदेखि माथि र महाभारत पर्वत शृङ्खलादेखि तलको भाग चुरे पर्वत क्षेत्र हो, जहाँ वनस्पति पैदा गर्न अनुकूल परिस्थिति छ । पूर्व–पश्चिम इलामदेखि कञ्चनपुरसम्म ३७ वटा जिल्ला समेटिएको यो भू–भागले मुलुकको १२.७८ प्रतिशत क्षेत्रफल ओगटेको छ । यस क्षेत्रमा ६ वटा राष्ट्रिय निकुञ्ज तथा आरक्ष र १३२ वटा नदी तथा जलाधार प्रणाली समेटिएका छन् । चुरे क्षेत्र निकुञ्ज र आरक्ष बाहेकको चुरे क्षेत्रमा वन जङ्गल समाप्तप्रायः भएको छ । चुरेको वानस्पतिक संरक्षणका लागि सरकारी तवरबाट अनेक प्रयास भएका छन् तर ती प्रयासहरू प्रभावकारी बन्न नसकेको अवस्था छ ।

चुरे पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म पूर्व–पश्चिम फैलिएको नेपालको समतल भू–भागलाई तराई प्रदेश भनिन्छ । समुद्र सतहबाट ५९ देखि ६०० मिटरको उँचाइसम्म पर्ने यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १७ प्रतिशत भू–भाग ओगटेको छ । यसको चौडाइ कम्तीमा ४० कि.मी. र बढीमा ६० कि.मी. छ। यस भूभागमध्ये माथितिरबाट चार कोस अर्थात् १२ किलोमिटर चौडा भूभागमा जङ्गलै जङ्गल थियो, जसलाई चारकोसे झाडी भनिन्छ, जसको अहिले लोप नै भएको अवस्था छ ।

राष्ट्रिय जनगणना अनुसार तराईमा मुलुकको आधाआधी जनसङ्ख्या बसोबास गर्दछ । पहाडी क्षेत्रको मलिलो माटो वर्षाको पानीले बग्दै आउने भएकाले यो प्रदेश अत्यन्त उर्वरशील छ । यसलाई नेपालकै अन्नभण्डार मानिन्छ । यो प्रदेशको उत्तरतर्फ चुरेको ठीक मुनि ढुङ्गा, कङ्कडयुक्त ठाउँ भएकाले त्यहाँ खेती हुँदैन र जङ्गलले ढाकेको र चारकोसे झाडीको नामबाट परिचित छ ।

चारकोसे झाडी, अत्यन्तै गर्मी, धेरै वर्षात्, उब्जाउ जमीन, घनाबस्ती, मैथिल एवं मध्यदेशीय रहनसहन र संस्कृति तराई क्षेत्रका खास विशेषता हुन् । तर यहाँको उब्जाउ भूमि चुरे तथा चारकोसे झाडी नांगिएका र बालुवा, ढुंगा उत्खनन्का कारण बाँझो बन्न थालेको छ । चुरे उजाड भए तराई मरुभूमि बन्नेछ ।

चुरेप्रति अहिले हेर्ने दृष्टिकोण के हुनेछ ? पर्यावरणको दृष्टिले जलवायु परिवर्तन तथा वैश्विक तापमानमा वृद्धि र चुरेको अन्तरसम्बन्ध छ । चुरेको अवलोकन गर्दा पहिलो निर्वनीकरण (डिफरेष्टेशन), दोस्रो वृक्षरोपण, तेस्रो वृक्षवद्र्धन र चौथो वृक्षरक्षणको दृष्टिले हेर्नुपर्छ । समग्रमा भन्ने हो भने चुरेको संरक्षण नै मूल विषय हो । चुरे निर्वनीकरणका असरहरू देखिन थालिएका छन् । चुरे रहे तराई अन्न भण्डार रहन्छ ।

तराई उर्वरा शक्ति रहन्छ र तराई हराभरा रहन्छ । चुरे रहेन भने तराई मरुभूमिमा परिणत हुन्छ । तराई मरुभूमि बन्यो भने नेपालको अन्नभण्डार समाप्त हुन्छ । तराईको उब्जनी समाप्त भयो भने यसले मुलुकलाई नै संकटग्रस्त तुल्याउनेछ । चुरेको वन विनाश भयो भने नेपाल र भारतको विहार, उत्तरप्रदेश जस्ता प्रान्तसमेत प्रभावित हुन्छन् । यस क्षेत्रमा नै ठूलो संकट आउनेछ ।

निर्वनीकरण (डिफरेष्टेशन), वृक्षरोपण, वृक्षवद्र्धन र वृक्षरक्षण चुरे संरक्षणका मूल विषय हुन् । चुरे नरहे तराई अन्नभण्डार रहन्न । तराईको उब्जनी समाप्त भयो भने मुलुक नै संकटग्रस्त हुनेछ । चुरेको विनाशले नेपाल मात्र होइन, भारतको विहार, उत्तरप्रदेश जस्ता प्रान्त समेत प्रभावित हुनेछन् । यसले क्षेत्रीय संकट नै निम्त्याउनेछ ।

गणतन्त्र नेपालको पहिलो निर्वाचित राष्ट्रपति डा. रामवरण यादवले चुरे, मधेश र यो देशलाई नै संकटबाट जोगाउन चुरे संरक्षणका लागि सरकारलाई विशेष रूपमा उत्प्रेरित गर्नुभयो । चुरेमा वन नाशिंदाको असर मानिसको जीवनमाथि परेको छ । मानिसले आफ्नो जीवनको रक्षाका लागि गर्नुपर्ने दुई उपायमध्ये पहिलो निर्वनीकरणको समाप्ति र दोस्रो वृक्षको रोपण, वद्र्धन र रक्षण हो ।

केन्द्रीय सरकारको वन तथा भू संरक्षण मन्त्रालयले मुलुकको वन जङ्गलको जिम्मेवारी वहन गर्दै आएको छ । हालै संघीय ढाँचाको अंगीकरणपछि निर्मित संरचना अनुसार प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन जङ्गलको जिम्मेवारी लिएको देखिन्छ । तर यस किसिमको संरचनात्मक व्यवस्थाले मुलुकको वन जङ्गललाई जोगाउन सक्दैन भन्ने तथ्य वर्तमानसम्मको अवस्थाले स्पष्ट गरिसकेको छ भने वन जङ्गलको अपेक्षित विकास पनि यस संरचनाले गर्न नसक्ने अवस्था छ । तसर्थ वन जङ्गलको विकास र संरक्षणका लागि छुट्टै वृक्षरोपण मन्त्रालयको गठन हुनु जरूरी छ । चोरी निकासी जस्ता आपराधिक कार्यबाट वन रक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई नै दिनुपर्छ ।

वन जङ्गलको विकास तथा विस्तारको कार्य राज्य र समुदाय दुवैले गर्नुपर्छ । मूलतः वन क्षेत्रको विस्तार कसरी हुन्छ भन्ने सवाल छ । वन जङ्गल सदावहार र हराभरा कसरी रहन्छ त्यो कुरा महत्वपूर्ण हो । ठाउँ–ठाउँमा शहर शहरमा ग्रिन सप्तरी, ग्रिन धनुषा जस्ता आवाज नागरिक स्तरमा उठ्दै आएको छ । वृक्षको निश्चित आयु हुन्छ । वृक्षको आयुको आधारमा वृक्ष कटान र वृक्षरोपणको पद्धति बसाल्नुपर्छ । वृक्षको उमेर पूरा भएपछि अक्सिजन दिने अवस्था समाप्त भएपछि मात्र वृक्षको वैकल्पिक उपयोग हुनुपर्छ ।

वृक्षको संख्या धेरै भयो भने मात्र अविकसित अर्थात् ससाना वृक्षहरू काटिने मासिने छैनन् । परिपक्व वृक्ष छाडेर कसैले पनि अल्पविकसित वृक्ष काट्ने छैन । वृक्ष पनि नागरिकको आवश्यकताकै लागि हो । नागरिकको आवश्यकता पूरा गर्ने गरी काठ, दाउरा उत्पादनको योजना बनाउनुपर्छ । जसरी मलेशियाबाट कार्गो गरी काठ आयात गरिन्छ । त्यसैगरी हामीले पनि प्रशस्त काठ उत्पादन गरेर निर्यात गर्न र विदेशी मुद्रा आर्जन गर्न सक्छौं ।

वृक्ष हाम्रो जीवनमा कति उपयोगी छ । यो सत्य कसैबाट लुकेको छैन । वास्तवमा वृक्ष धरतीको गहना र शृंगार हो । धरतीमा हरियाली वृक्षकै देन हो । मौसम, जलवायु, वर्षा वृक्षकै देन हो । वृक्षले हामीलाई प्राणवायु दिनुका साथै पर्यावरणमा विद्यमान तमाम विषालु ग्याँसको अवशोषण गरेर हामीलाई शुद्ध अक्सिजनको पूर्ति गर्दछ । वृक्ष विना जीवनको कल्पना नै गर्न सकिन्न ।

वृक्ष प्रकृतिको अनुपम धरोहर र निःशुल्क उपहार हो । तर वृक्षलाई लिएर मानिसमा जानकारीको अभाव रहेको छ । त्यसले गर्दा मानिसले वृक्ष उपर अत्याचार गरेर बञ्चरो र आरा चलाइरहेका छन् । वृक्षको मानव जीवनमा कति महत्व छ, यस कुरालाई प्रत्येक व्यक्तिले बुझ्नुपर्छ ।

पर्यावरणमाथि आइलागेका समस्या निदानका लागि हामीले संकल्प लिन आवश्यक छ । यसका लागि पूरै देशमा एकसाथ वृक्ष लगाउने अभियान शुरू गर्नुपर्छ । वृक्षरोपण अभियानमा सरकार, नागरिक समाज, समुदायहरू सबै सामेल हुनुपर्छ । पर्यावरण संरक्षणको विषयलाई लिएर नयाँ जागरण अभियान शुरु गर्नुपर्छ । आजका बालबालिका भोलिका कर्णधार हुन् । त्यसैले विद्यालयका बालबालिकामा पर्यावरण शिक्षण समुचित रूपमा गर्नुपर्छ । उनीहरूको वृक्षरोपण संकल्पपत्र लिएर संग्रह गरी राख्नुपर्छ ।

वृक्ष प्रकृतिको शृङ्गार पनि हो । हराभरा वृक्षले प्रकृतिको अनुपम छटाको अनुभूति प्रदान गर्दछ । त्यसैले हामी सबैले वृक्षरोपण गर्नदेखि लिएर त्यसको संरक्षणसम्मको काममा आफ्नो जिम्मेवारीलाई सम्झनुपर्छ । प्रत्येक मानिसले प्रतिवर्ष एक–एक वृक्ष रोपेर त्यसको संरक्षणको जिम्मेवारी लिनुपर्छ । तब मात्र हामीले प्रकृतिको संरक्षण गर्न सक्छौं । तब मात्र हामीले हाम्रो सन्ततिलाई सुखद् भविष्य हस्तान्तरण गर्न सक्छौं । विश्वलाई तापमान वृद्धि र जलवायु परिवर्तनको समस्याबाट जोगाउन सक्छौं ।

जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरिक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ ।

पछिल्लो २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बनडाइअक्साइड जस्ता हरित गृह ग्याँस र ओजन तह विनाश गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्याँसको उत्सर्जन दिन प्रतिदिन वायुमण्डलमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम वृद्धि हुँदैछ । हरितगृह ग्याँसका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्यधिक प्रयोग, औद्योगिकीकरण आदि जस्ता क्रियाकलापहरू पर्दछन् ।

जलवायु परिवर्तन लामो समयको जलवायु सम्बन्धी तथ्याङ्कको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो । जस अनुसार बेला–बेलामा मौसममा आउने उतारचढावलाई वातावरणीय परिवर्तन मान्न सकिन्छ । सन् १९६० को दशकपछि पृथ्वीमा भएको द्रुत औद्योगिक विकास तथा जनसंख्या वृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकहरू बताउँछन् । मूलतः जैविक इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्याँसका साथै वनजङ्गलको विनाश भै त्यस्तो ग्याँस अवशोषण गर्ने ‘सिङक’को कमीले भूमण्डलीय तापक्रम बढेको अनुमान गरिन्छ ।

कोइला, खनिज तेल र ग्याँस जस्ता वस्तुको बढ्दो दोहनले वायुमण्डलमा बढी कार्बनडाइअक्साइड पुग्दछ । जङ्गल फडानी र भू–क्षयीकरणले पनि वायुमण्डलमा बढी कार्बनडाइअक्साइड पठाउँछ र खेतीपातीदेखि चिस्यान प्रविधि (रेफ्रिजेरेसन) का गतिविधिबाट हरितगृह ग्याँस समेत सिर्जना भइरहेका हुन्छन् ।

पृथ्वीमा जलवायु परिवर्तनका कारणले सन् १९०६ देखि २००५ सम्ममा औसत तापक्रम ०.७४ डिग्री सेल्सियसले बढेको छ । त्यस्तै सन् १९६१ र २००३ का बीचमा समुद्र सतहमा प्रति वर्ष १.८ मिलिमिटरले वृद्धि भएको छ र जलवायुमा आएको यस्तो अस्वाभाविक परिवर्तनका कारण सामाजिक, आर्थिक, पर्यावरणीय र विकासका संरचनामा नकारात्मक असर पुगेको कुरा विभिन्न तथ्याङ्क र प्रमाणले पुष्टि गरेका छन् ।

हाल विश्वमा हुने हरितगृह ग्याँसको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५ प्रतिशत रहेको छ । कार्बनडाइअक्साइडको अत्यधिक उत्पादनका कारण नै जलवायु परिवर्तनको समस्या देखा परेको हो । जलवायु परिवर्तनका सन्दर्भमा सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले विश्वमा उत्सर्जन हुने करीब ६० प्रतिशत कार्बनडाइअक्साइड वनजङ्गलले सोस्ने गर्दछ ।

यसबाट के देखिन्छ भने विश्वमा यसको प्रभाव घटाउनका लागि हामीले सकेसम्म बढी वनजङ्गल बढाउने प्रयत्न गर्नुपर्छ । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र यसलाई लाभमा परिणत गर्नका लागि बृहत् रूपमा वृक्षरोपणको अभियान चलाउनुपर्छ ।

प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख मात्रै रोप्न सक्ने हो भने पनि हामीले निकै धेरै लाभ हासिल गर्न सक्छौं । त्यसैगरी, सडकको दायाँ–बायाँका किनारामा वृक्षरोपण गर्नुपर्छ । त्यसो गर्न सकियो भने गाउँ र शहरको शोभा मात्र बढ्दैन, मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन पनि उत्पादन हुन्छ ।

लेखकको बारेमा
अजयकुमार झा

लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?