Comments Add Comment

माधव नेपाल पक्ष सरकारमा नजाने

'कसैले रिस्क लिए अर्कै कुरा, समूहगत रुपमा सामेल हुने अवस्था छैन’

१३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् ।

‘तत्काल सरकारमा सहभागी हुदैनौं । सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत दिएको होइन’, नेपाल निकट नेता बेदुराम भुसालले अनलाइनखबरसँग भने ।

सत्तारुढ गठबन्धनले माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपालसँग लगातार संवाद गरी सरकारमा आउन आग्रह गरिरहेका छन् ।

बिहीबार बिहान मात्रै प्रचण्ड माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । तर नेता नेपालले तत्काल सरकारमा सहभागी नहुने बताएका छन् । ३ साउनमा प्रधानमन्त्री देउवालाई नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए ।

‘सबैको कुरा सुन्नुपर्छ । अहिले हामी एकतावद्ध एमालेको पक्षमा रहेकाले सरकारमा सहभागी हुन सकिदैन’, नेता नेपालले सांसदहरुसँग भनेका थिए ।

‘सरकारमा सहभागी हुने च्याप्टर तत्काललाई बन्द भयो । हामीले गठबन्धनका नेताहरुलाई भनिसकेका छौं’, अर्का नेता रघुजी पन्त भन्छन् । विश्वासको मत दिएपछि नेता नेपालले आफू निकट नेताहरुसँग लगातार छलफल गरिरहेका छन् । स्थायी कमिटी, विश्वासको मत दिने सांसदहरु, जनसंगठनका नेता लगायतसँग छलफल गरिसकेका नेता नेपालले केन्द्रीय कमिटी बैठक राख्ने तयारी गरेका छन् ।

बुधबार दिउँसो २२ सांसदसँग छलफल राखेका थिए । उक्त छलफलमा नेता नेपालले सरकारमा सहभागी हुन नसकिने जानकारी सांसदहरुलाई दिएको नेता बेदुराम भुसालले बताए ।

‘सबैको कुरा सुन्नुपर्छ । अहिले हामी एकताबद्ध एमालेको पक्षमा रहेकाले सरकारमा सहभागी हुन सकिदैन’, नेता नेपालले सांसदहरुसँग भनेका थिए ।

छलफलका क्रममा अधिकांश सांसदले नेता नेपाललाई देउवा सरकारमा सहभागी हुन ठीक नहुने सुझाव दिएका थिए । तर पार्टी एकता वा विभाजनको निर्णयमा भने ढिलाइ नगर्न नेता नेपाललाई दबाव दिएका थिए ।

‘सांसदहरुको बैठकमा पनि हामीले एकता गर्नु राम्रो हुन्छ, तर धेरै अलमलमा बस्नु उचित हुन्न भनेका छौं । सरकारमा जान हतार नगरौं भन्ने पनि हो’, एक सांसद भन्छन् ।

देउवालाई विश्वासको मत दिने केही सांसदहरु भने सरकारमा सामेल हुनुपर्ने पक्षमा छन् । तत्काल पार्टी विभाजन गरेर भए पनि सरकारमा जानुपर्ने उनीहरुको तर्क छ ।

नेता नेपालले भने आफ्नो समूह सरकारमा नजाने, तर कोही सांसदले व्यक्तिगत रुपमा सांसद पद र पार्टी छोड्ने जोखिम लिएमा केही भन्न नसकिने जवाफ दिएको एक सांसद बताउँछन् । ‘कसैले रिस्क लिने हो भने अर्कै कुरा हो । तर समूहगत रुपमा सरकारमा सामेल हुने अवस्था छैन’, सांसदहरुलाई नेता नेपालले भनेका छन् ।

देउवालाई माधव समूहका १४ र अध्यक्ष केपी शर्मा ओली समूहका आठ सांसदले विश्वासको मत दिएका थिए । विशेषगरी ओली समूह छाडेर विश्वासको मत दिनेहरु सरकारमा जान जोड गरिरहेका उक्त भेलामा सहभागी एक सांसदले बताए ।

‘माधव कमरेडले रिस्क लिन तयार हुने भए अर्कै कुरा भनेपछि संभवतः कोही सरकारमा जानु हुन्न होला’, नेपाल निकट एक नेता भन्छन् ।

आजभोलि नै मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री देउवा र सत्ता गठबन्धनका नेताहरु लागिपरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment