+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

नेपालमै सुजुकी र हुन्डाई गाडी एसेम्बल गर्न उद्योग दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १४ गते १८:३२

१४ साउन, काठमाडौं । पछिल्ला वर्षमा नेपालमा सवारीहरुको एसेम्बल गर्ने प्लान्ट खोल्न भन्दै उद्योग दर्ता हुने क्रम बढेको छ । स्वदेशी र विदेशी कम्पनीले सवारी एसेम्बल गर्ने प्लान्ट स्थापना गर्न भन्दै उद्योग दर्ता गर्ने क्रम बाक्लिएको हो । अहिले कोरियाको हुन्डाईदेखि जापानको सुजुकीसम्मका ब्रान्डले नेपालमै एसेम्बल प्लान्ट खोल्न उदोग दर्ता गरेका छन् ।

२०७६ सालमा लगानी बोर्डमा कोरियन कम्पनी मोट्रेक्सले निश्चित वर्षसम्म आफ्नो मात्रै एसेम्बल उद्योग नेपालमा रहने ग्यारेन्टी मागेपछि उद्योग दर्ताको क्रम बढेको थियो । बजारमा ब्रान्ड नै नभएको कम्पनीले एसेम्बलमा एकलौटी बजार कब्जा गर्ने देखेपछि नेपालमै एसेम्बली प्लान्ट खोल्ने सोच बनाएका लगानीकर्ताहरु उद्योग दर्ता गर्न आइरहेको उद्योग विभाग स्रोत बताउँछ । तत्कालै कसैले उद्योग खोलेर काम थालिहाल्ने अवस्था नभएपनि उद्योग दर्ता गरेर राख्ने सोच उद्योगीहरुमा देखिएको विभाग एक अधिकारी बताउँछन् ।

२०७० अघिसम्म हुलास ग्रुपले नेपालमै गाडीहरु ‘एसेम्बल’ गर्थ्यो । डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भएका बेला चढेको ‘मुस्ताङ’ म्याक्स नेपालकै उत्पादन थियो । ‘कस्मिक’ ब्रान्डको बाइकको पनि एसेम्बल नेपालमा भएको थियो । तर, विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न नसेकपछि सवारी एसेम्बली प्लान्टहरु बन्द हुन पुगे । अहिले नेपालमा चार पांग्रेको एसेम्बल बन्द छ ।

गोल्छा अर्गनाइजेसनअन्तरगतको कम्पनीले नवलपरासीमा ‘बजाज’ ब्रान्डका बाइकहरु नेपालमै एसेम्बल गरिरहेको छ । हुलासले नेपालमै विद्युतीय कार उत्पादनको लागि प्रयास गरिरहेको छ ।

टीभीएस मोटरसाइकलको  पनि नेपालमा व्यवसायिक एसेम्बल भइरहेको छ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले टीभीएसका विभिन्न मोडलका बाइकहरुको एसेम्बल गरिरहेको छ । बाराको सिमरामा करिब १ अर्ब रुपैयाँको लगानीमा प्लान्ट स्थापना भएको हो । कम्पनीले वर्षमा १ लाख मोटरसाइकल तथा स्कुटर तथा २० हजार तीन पांग्रे सवारीको उत्पादन गर्ने लक्ष्य छ ।

केही चिनियाँ प्रविधिका इलेक्टि्रक बाइक र स्कुटर पनि नेपालमै एसेम्बल हुन्छन् ।

ठूला ब्रान्डको पनि नजर 

पछिल्ला वर्षमा उद्योग दर्ता गर्न चार पांग्रे सवारीका ठूला-ठूला ब्रान्डहरु नै अघि सरेका छन् । त्यही भीडमा थपिएको छ, मारुती-सुजुकी । सुजुकी कार नेपालमै एसेम्बल गर्ने गरी ‘सीजी अटोमोटिभ्स उद्योग प्रालि’ विभाग दर्ता भएको छ । नेपालमा मारुती सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सीजी होल्डिङ्स अन्तरगतको सीजी मोटोकर्प हो ।

सोही समूहले नै नेपालमा सुजुकीका कार एसेम्बल गर्ने योजना बनाएको हो । नेपाली बजारमा सुजुकी सबैभन्दा बढी बिक्री हुने प्यासेन्जर भेहिकल हो । समूहले सुजुकीका दुई, तीन र चार पांग्रे सवारी एसेम्बल गर्ने गरी उद्योग दर्ता भएको हो । सुजुकीको दुई र तीन पांग्रे सवारीको बिक्री भने नेपालमा शंकर समूह अन्तरगतको भीजी सुजुकी कम्पनीले गर्छ ।

बाराको परवानीपुरमा सञ्चालन हुने गरी दर्ता भएको उद्योगमा सीजी होल्डिङ्सले १ अर्ब ३२ लाख बराबर लगानी गर्ने योजना बनाएको छ । वर्षमा १०/१० हजार दुई र चार पांग्रेसहित ३ हजार थान तीन पांग्रे सवारी साधन उत्पादन गर्ने लक्ष्यसहित सीजी होल्डिङले उद्योग दर्ता गरेको हो ।

सुजुकीअघि नै हुण्डाईले पनि नेपालकै गाडी एसेम्बल गर्ने गरी उद्योग गर्दा गरिसकेको छ । २०७६ मा लक्ष्मी ग्रुपले ५ अर्ब १० करोड कुल पुँजीको एसेम्बल प्लान्ट (उद्योग) दर्ता गरेको छ ।

हाल हुन्डाई गाडीको आधिकारिक बिक्रेताका रुपमा रहेको लक्ष्मी ग्रुपले नवलपरासीमा उद्योग रहने गरी ‘लक्ष्मी मोटर कर्पोरेसन’ दर्ता गरेको थियो । कम्पनीले वर्षमा ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको छ । यो उद्योग पूर्ण रूपमा स्वदेशी लगानीमा हुने भनिएको छ ।

कोरियन कम्पनी मोट्रेक्सले नेपालमा चार पांग्रे प्यासेन्जर गाडीको एसेम्बली प्लान्ट खोल्ने प्रक्रिया अघि बढाएको छ । लगानी बोर्डले २०७५ पुसमै कम्पनीसँग ‘प्रोजेक्ट इन्भेष्टमेन्ट एगि्रमेन्ट’ (पीआईए) पनि गरेको छ ।

मोट्रेक्सले मागेकै जति करमा सहुलियत दिने हो भने ३० देखि ४० प्रतिशत सस्तोमा गाडी बिक्री गर्ने बताएको थियो । तर, सहलियत दिन अर्थ मन्त्रालय तयार नभएपछि प्रक्रिमया ढिलाइ भएको छ ।

साढे १० अर्ब रुपैयाँ पुँजी ल्याउन प्रस्ताव गरेको मोट्रेक्सले वर्षमा ५० हजार सवारीसाधन उत्पादन गर्ने लक्ष्य राखेको छ ।

लक्ष्मी हुण्डाईका कार्यकारी निर्देशक निराकार श्रेष्ठ एसेम्बली प्लान्ट स्थापनाका लागि सरकारले उचित वातावरण तयार नरेको बताउँछन् ।

‘पहिले त एसेम्बलमैत्री नीति आउनुपर्‍यो, सुरुमा कर, छुट  तथा सुविधाहरु जे जति  दिइन्छ, त्यसलाई निश्चित वर्षसम्म स्थिर रहने प्रतिवद्धता हुनुपर्‍यो,’ उनले भने,’त्यसो नभएसम्म एसेम्बली प्लान्ट राख्न सहज अवस्था बन्दैन ।’

आफ्नो कम्पनीले अहिले पनि प्लान्ट स्थापनाको गृहकार्य गरिरहेको भन्दै उनले सहज सरकारी नीतिको प्रतिक्षा गरिरहेको बताए ।

विद्युतीय सवारी एसेम्बलमा बढी चासो

उद्योग विभागको तथ्यांकअनुसार एसेम्बल कम्पनीमा सबैभन्दा पुरानो होङ्फा मोटरसाइकल कम्पनी हो । जुन पूर्णतया नेपाली लगानीको कम्पनी हो । ०६५ असारमा दर्ता भएको यो कम्पनीको कुल पुँजी २५ करोड छ । त्यसपछि पनि ‘एसेम्बली प्लान्ट’ खोल्न थुप्रै कम्पनीहरू दर्ता भएका छन्

रुपन्देहीको सैनामैना नगरपालिकामा विद्युतीय सवारी साधन उत्पादनका लागि सुन्दर ट्रेडर्स प्रालि दर्ता भएको छ । तीन अर्ब ६० करोड रुपैयाँ लगानी गरी विद्युतीय बससहित कार पनि एसेम्बली प्लान्ट निर्माण लक्ष्य कम्पनीको छ ।

कञ्चनपुरमा उद्योग रहने गरी हिरोइन इलेक्ट्रिक इन्डस्ट्री तीन तथा चारपांग्रे भ्यान र मिनिट्रक एसेम्बल गर्ने गरी दर्ता छ । काठमाडौंमा बेन्लिङ मोटर टेक्नोलोजी कम्पनी इलेक्टि्रक मोटरसाइकल स्कुटर र भ्यान बनाउने गरी दर्ता भएको छ । धनुषामा उद्योग रहनेगरी दर्ता भएको मिथिला अटो क्राफ्ट दर्ता तीनपांग्रे टेम्पो र क्यारियर सवारी उत्पादन गर्ने लक्ष्य लिएको छ ।

चितवनमा उद्योग रहनेगरी दर्ता भएको पूर्ण विदेशी लगानीको विदेशी लगानी ग्रेटवाल इलेक्ट्रिक कम्पनीले इलेक्ट्रिक बाइक र स्कुटर उत्पादन गर्ने योजना बनाएको छ । सुनसरीमा रहने गरी दर्ता भएको सार्प भिजन इन्टरप्राइजेज उद्योगको इलेक्ट्रिक स्कुटर उत्पादन गर्ने छ ।

काठमाडौंमा उद्योग रहने गरी दता भएको सीएनडी ग्रुप अफ कम्पनीले इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्ने बताएको छ । त्यसैगरी चितवनमा उद्योग रहने गरी दर्ता भएको बेल्ला इलेक्टि्रक कम्पनी इलेक्ट्रिक स्कुटर उत्पादन गर्ने कम्पनी हो ।

बारामा उद्योग राख्ने गरी दर्ता भएको नेपाल जियान्ट कार इन्डस्ट्रीले इलेक्ट्रिक स्कुटरर कार उत्पादनको लक्ष्य राखेको छ । ललितपुरमा उद्योग रहने गरी दर्ता भएको बेल्ला मोटर्स कम्पनीले विद्युतीय सवारी उत्पादन गर्ने लक्ष्य राखेको छ ।

नवलपरासीमा इभर स्टार मोटर्स, ललितपुरमा नेपाल ईभी कम्पनी, हे डोङ न्यूइलेक्ट्रिक तथा सीईसी भेहिकल र मकवानपुरमा नेन्जोङ इन्डस्ट्री पनि सवारी एसेम्बलकै लागि दर्ता भएका उद्योग हुन् । काठमाडौंमा होङ्फा मोटरसाइकल एसेम्बल कम्पनी, ट्रस्ट इलेक्ट्रिकल बाइक तथा चोङ्ली इन्टरनेशनल ट्रेकिङ, नवलपरासीमा हुलास अटो क्राफ्ट, मोरङमा ग्लोबल अटो मोबाइल र नवलपरासीमा हिमालयन रबर कर्पोरेसन पनि नेपालमा सवारी उत्पादनकै लागि दर्ता भएका उद्योग हुन् । यसबाहेक पनि अन्य कम्पनी पनि सवारी एसेम्बलका लागि दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?