Comments Add Comment

टोकियो ओलम्पिक : सहभागितामै सीमित नेपालको यात्रा

जम्बो टोली र वामदेव पत्नीको चर्चा

१५ साउन, काठमाडौं । एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको प्रतिस्पर्धा सकिएपछि जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको यात्रा सकिएको छ । महिला १०० मिटरमा प्रतिस्पर्धा गरेकी सरस्वती प्रारम्भिक चरणबाटै बाहिरिइन्

३२औं गृष्मकालीन ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाएका थिए । जसमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान सुधार गरे । अन्य दुई खेलाडीको प्रदर्शन सामान्य रह्यो । पाँचै खेलाडी आफूले खेलेको पहिलो खेलबाटै आउट भए ।

सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह र एलेक्स शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेपनि फेरि एक पटक विश्व खेलकुदको कुम्भमेलामा नेपालको यात्रा सहभागितामै सीमित बन्यो ।

ओलम्पिकमा पदक त टाढाको कुरा पहिलो चरण पार गर्नु नै नेपालको लागि ठूलो चुनौती बनेको छ । अझ त्योभन्दा अघि नेपाली खेलाडी छनोट भएर ओलम्पिकमा खेल्न जानु चुनौती छ । नेपालले युनिभर्सल कोटा र वाइल्ड कार्डको सहारामा ओलम्पिक खेल्दै आएको छ, दुई जनालाई छाडेर ।

अपवादका रुपमा रहेका दुई तेक्वान्दो खेलाडीले छनोट भएर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । सन् २००४ मा संगिना वैद्य र २००८ मा दीपक विष्टले छनोट भएर ओलम्पिक खेलेका थिए ।

ओलम्पिकमा जानुअघि यस पटक जात्रा होइन यात्रा गर्ने भनेर नेपाल ओलम्पिक कमिटीले नेपाल ओलम्पिक यात्रा भनेर एउटा पत्रकार सम्मेलन गरेको थियो ।

अन्य देशहरु पदकका लागि प्रतिस्पर्धा गर्दा नेपाल भने अझै ओलम्पिकमा सहभागी बन्नु अनि केही व्यक्तिगत कीर्तिमान सुधारमै रमाउने चलन छ ।

त्यो कार्यक्रमको दुई साता र केही दिनपछि नेपालको ओलम्पिक यात्रा सकिएको छ । यस बीचमा नेपालको यात्रा कस्तो भयो के-के जात्रा भए भन्ने विषयमा छलफल र बहस हुँदै जाला ।

अहिले भने टोकियो ओलम्पिकमा नेपालको सहभागिता, केही कीर्तिमान अनि जम्बो टोलीको भ्रमणसहितको यो रिभ्यू ।

मार्चपासमा जेन्डर ब्यालेन्स

यसपटक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले उद्घाटन समारोहमा मार्स पासमा एक महिला र एक पुरुष खेलाडीलाई झण्डा बोक्न दिने निर्णय गर्‍यो ।

टोकियोमा झण्डै ५० प्रतिशत महिला खेलाडी सहभागी थिए । आईइओसीले लैंगिक समानताका लागि महिला र पुरुष खेलाडीले संयुक्तरुपमा झण्डा बोक्न पाउने निर्णय गरेपछि नेपालका खेलाडीद्वय गौरिका सिंह र एलेक्सले राष्ट्रिय झण्डा बोके ।

सुरुमा गौरिकाले मात्र बोक्ने एनओसीले जनाएको थियो । तर आईओसीको निर्णयपछि दुई खेलाडीले झण्डा बोके । एलेक्स एक मात्र पुरुष खेलाडी भएकाले अवसर पाएका हुन् ।

चार महिला खेलाडी

१९८८ को सोल ओलम्पिकबाट नेपालका महिला खेलाडी ओलम्पिकमा सहभागी हुन थालेका थिए । यस पटक नेपालबाट पाँच मध्ये चार महिला र एक पुरुष थिए । एकै संस्करणमा नेपालबाट ओलम्पिक खेल्नेमध्ये महिला सहभागिता अहिलेसम्मकै धेरै हो ।

१९९२ यता ओलम्पिक जाने नेपाली खेलाडीमा पुरुषभन्दा महिला खेलाडी नै बढी रहँदै आएको छ । तर यसपटकको महिला सहभागिता हालसम्मकै धेरै हो ।

कल्पनाको निशाना सुधारियो

वाइल्ड कार्डमार्फत ओलम्पिकमा खेल्ने अवसर पाएकी सुटिङ खेलाडी कल्पना परियारले आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गरिन् ।

उनले महिला १० मिटर एअर राइफलमा प्रतिस्पर्धा गर्दै ६१६.८ स्कोरको नयाँ कीर्तिमान बनाएकी हुन् । उनले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् । यसअघि १३औं सागमा उनले ६१४.५ स्कोर गरेकी थिइन् ।

यस स्पर्धामा ५० सुटरले प्रतिस्पर्धा गर्दा कल्पना ४६औं स्थानमा रहिन् ।

सोनियामा १ मिनेट १६ सेकेण्डै आउट

अर्का वाइल्डकार्डबाट छनोट भएकी खेलाडी सोनिया हुन् । उनले जुडोको महिला ४८ केजीमा प्रतिस्पर्धा गरिन् । तर रुसकी इरिना डोल्गाभासँग उनी पहिलो चरणमै पराजित भइन् । बुडोकायो निप्पोनमा उनी १ मिनेट १६ सेकेण्डमात्र विपक्षीसँग टिकिन् । इरिनासँग उनी इप्पोनको आधारमा पराजित भइन् ।

ओलम्पिक एक आउट जित्ने लक्ष्य राखेपनि उनी सफल हुन सकिनन् ।

एलेक्सको कीर्तिमान सुधार

पौडी खेलाडी एलेक्जान्डर (एलेक्स) शाहले टोकियो ओलम्पिकमा व्यक्तिगत समयमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान सुधार गरे । पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका उनले लङ कोर्समा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै ५३.४१ सेकेण्डको टाइमिङ निकाले ।

१८ वर्षीय एलेक्सले यसअघि २०१९ मा दक्षिण कोरियाको ग्वाङ्जुमा भएको १८औं फिना वर्ल्ड च्याम्पियनसिपमा ५६.२८ सेकेण्डको कीर्तिमान बनाएका थिए । यस पटक उनले त्यसमा २.८७ सेकेण्डले सुधार गरे ।

एलेक्स यस इभेन्टमा प्रतिस्पर्धा गरेका ७१ खेलाडी मध्ये ५९औं भएका थिए ।

एलेक्समा नेपालमै भएको १३औं सागमा यही इभेन्टमा अझ राम्रो समय सहित कीर्तिमान बनाएका थिए । तर त्यो सर्ट कोर्समा थियो । १३औ सागमा सर्ट कोर्टमा उनले ५४.३२ सेकेण्डको समय निकालेका थिए ।

उनी ओलम्पिकमा पौडीमा प्रतिस्पर्धा गरेर आफ्नो हिटमा पहिलो हुने दोस्रो खेलाडी बने । यसअघि २०१६ को रियो ओलम्पिकमा गौरिका आफ्नो हिटमा पहिलो भएकी थिइन् ।

गौरिकाको कीर्तिमान सुधार

पौडीकै अर्का खेलाडी गौरिका सिंहले पनि टोकियो ओलम्पिकमा व्यक्तिगत समयमा सुधार गरिन् अनि आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान समेत सुधार गरिन् । महिला १०० मिटर फ्रिस्टाइलमा उनले १ मिनेट ११ मिलिसेकेण्डको समय सहित नयाँ कीर्तिमान बनाइन् ।

१८ वर्षीय गौरिकाले यसअघि सन् २०१९ मा दक्षिण कोरियाको ग्वाङ्जुमा भएको १८औं फिना वर्ल्ड च्याम्पियनसिपमा बनाएको कीर्तिमान सुधार गरिन् । यसअघि लङ कोर्समा उनको १ मिनेट ६२ मिलिसेकेण्डको कीर्तिमान थियो ।

गौरिकाले यसअघि नेपालमै भएको १३औं सागमा यस इभेन्टमा यो भन्दा राम्रो समय निकालेकी थिइन् । तर त्यो सर्ट कोर्समा रहेको थियो ।

२०१६ को रियो ओलम्पिकमा कान्छी खेलाडी बन्दै चर्चा कमाएकी गौरिका त्यसबेला १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दै आफ्नो हिटमा पहिलो भएकी थिइन् । यस पटक चार खेलाडी रहेको हिट वानमा उनी तेस्रो स्थानमा रहिन् । गौरिका हिट चरणबाट अघि बढ्न भने सकिनन् ।

२ वर्षको उमेरदेखि बेलायत बस्न थालेकी उनी परिवारसँग उतै बस्ने, उतै पढ्ने र स्विमिङ गर्दै आएकी थिइन् । नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुँदा उनले आएर खेल्ने गरेकी छन् । बेलायतपछि अब उनी थप अध्ययनका लागि अमेरिका जाँदैछिन् ।

भाग्यमानी सरस्वतीको कमजोर प्रदर्शन

सुरुमा एथ्लेटिक्समा म्याराथन धावक गोपीचन्द्र पार्कीले ओलम्पिक खेल्ने पक्का भएपनि अन्तिममा उनको नाम हट्यो र महिला १०० मिटरमा सरस्वती चौधरीले ओलम्पिकमा खेल्ने अवसर पाइन् । यस मानेमा उनी भाग्यमानी भइन् ।

नेपाली स्प्रिन्टरमा मध्ये अहिले उत्कृष्ट समय भएको आधारमा उनले युनिभर्सल कोटामा ओलम्पिक खेल्ने अवसर पाएकी हुन् ।

तर टोकियोमा उनको प्रदर्शन भने खराब रह्यो । सरस्वतीले महिला १०० मिटरमा व्यक्तिगत समयमा समेत सुधार गर्न सकिनन् ।

महिला १०० मिटरको प्राम्भिक चरण प्रतिस्पर्धा गरेकी उनी सुरुमै बाहिरिन् । दोस्रो हिटमा रहेकी उनले १२.९१ सेकेण्डमा दूरी पूरा गर्दै कूल ९ खेलाडी मध्ये आठौं स्थानमा रहिन् ।

यसअघि उनले १३औं सागमा निकालेको १२.५५ सेकेण्डको समय व्यक्तिगत उत्कृष्ट थियो । त्समा सुधार गर्दै कीर्तिमान बनाउने सरस्वतीको आश पूरा हुन सकेन ।

यस इभेन्टमा देवी माया पनेरुले १९९९ को सागमा १२.१९ सेकेण्डको कीर्तिमान राखेकी छन् ।

जम्बो टोली र बामदेव पत्नीको चर्चा

यसअघि जस्तै यस पटक पनि नेपालबाट खेलाडी कम पदाधिकारीको जम्बो टोलीको ओलम्पिक यात्राले सुरुमै आलोचना भएको थियो ।

खेलाडी र प्रशिक्षक धन्दा झण्डै दोब्बर पदाधिकारीको टोली रह्यो । तर सुरुमा ओलम्पिकमा सहभागी हुने सूचीमा खेलाडीसहित २६ जनाको नाम रहेकोमा ३ पदाधिकारी भने ओलम्पिकमा सहभागी भएनन् ।

कोभिड१९ को कारणले ओलम्पिकमा जाने सूचीमा कटौटी भएपनि ५ खेलाडी र ४ प्रशिक्षकबाहेक १७ जना पदाधिकारीको टोली थियो । त्यसमध्ये ३ जना भने ओलम्पिकमा गएनन् । नेपालबाट २३ जना सहभागी रहे । त्यसमा पनि पौडी खेलाडी गौरिका सिंह बेलायतबाट सिधै जापान पुगिन् । यस्तै नेपाली टोलीमा रहेकामध्ये एक जना टोकियोस्थित नेपाली दूतावासबाट र एक जना टोकियोस्थित स्थानिय स्वयंसेवक थिए ।

नेपाली टोलीको चिफ दि मिसन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल थिए । ओलम्पिकमा सहभागी २३ मध्ये नेपालबाट ४ खेलाडी, ४ प्रशिक्षक र १२ पदाधिकारी गरी २० जना टोकियो पुगेका थिए ।

खेलाडी बाहेक कसैको चर्चा भयो भने त्यो तुलसा थापाको भयो । थापा एमाले उपाध्यक्ष बामदेव गौतमकी पत्नी हुन् । नेपाल कबड्डी संघको अध्यक्ष, एनओसीकी सचिव अनि सांसद समेत हुन् उनी । उनको खेल कबड्डी ओलम्पिकमा थिएन तर टोकियोमा जुडो म्यानेजर बनेर गइन् । त्यो पनि आफ्नो खेल नभएर अर्कै खेल । उनको सहभागितालाई लिएर निकै आलोचना भयो । टोकियो घुम्नकै लागि उनी गएको चर्चा भयो ।

उदघाटनमा भएको मार्चपासमा दुई खेलाडीबाहेक ६ पदाधिकारी थिए । त्यसमा खेलाडीपछि तुलसा र सदस्य सचिव थिए ।

सम्बन्धित खेलको फिजियो र म्यानेजर जानुपर्ने भएपनि विदेश भ्रमणको कोटा मिलाउनकै लागि यस पटक फरक खेलाडीसँगै उच्च तहमा रहेका पदाधिकारीलाई ओलम्पिकमा विभिन्न खेलको म्यानेजर बनाएर लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment