Comments Add Comment

फेरि प्रधानमन्त्री बन्छु भनेर षड्यन्त्र कसैले नगरोस् : माधव नेपाल

१६ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराएका हुन् । ‘यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस् । फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षड्यन्त्र कसैले नगरोस् । अब जे हुनेछ पारदर्शी ढंगले हुनेछ’ उनले भने ।

अखिल फोर्सले शनिबार काठमाडौंमा गरेको भेलामा नेता नेपालले दुई दुई पटक संसद विघटन भएको स्थितिबाट संविधानको संरक्षण भए र सर्वोच्च अदालतले संविधानको सही ब्याख्या गरेको बताए । ‘सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौं’ नेता नेपालले भने ।

वरिष्ठ नेता नेपालले संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गरे । उनले सही विचार आत्मसात गरेर अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए ।

वरिष्ठ नेता नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न सरकारसँग माग गरेका छन् । उनले सो घटनामा संलग्नलाई कारवाही गर्न भारत सरकारको पनि ध्यानाकर्षण गराएका छन् ।

‘महाकाली नदीमा घटेको घटना हामीले सुन्यौं । त्यो घटना अमानवीय देखियो भनेर आएको छ । त्यसको छानविन गरियोस् । ती व्यक्तिहरु, उनीहरुको बदमासीले होस् वा लापरबाहीले होस्, जुनसुकैै कारणले पनि एउटा नेपाली युवा पानीमा वेपत्ता भएको सुन्नमा आएको छ । त्यस्तालाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । र म नेपाल सरकारले तत्काल यो कुरा उठाउने काम गरोस भनेर ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।

वरिष्ठ नेता नेपालले आफू विचारमा अडिग भएर उभिएको नेता भएको दावी गर्दै सोही अनुसार वैचारिक अडानका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेतृत्व अराजक ढंगले नचलोस् भन्नेमा सचेत रहन पार्टीका कार्यकर्तालाई आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment