+
+

पर्सामा कोरोना संक्रमण घट्दै, लापरबाही भने बढ्दै

सुरेश बिडारी सुरेश बिडारी
२०७८ भदौ १ गते १७:२८
फाइल तस्वीर

१ भदौ, वीरगञ्ज । पर्सा जिल्लामा कोरोना भाइरस संक्रमणको दर घट्दै गएको छ । देशका विभिन्न जिल्लामा संक्रमितको संख्या बढिरहेको समयमा पर्सामा खासै संक्रमित भेटिएका छैनन् । जिल्लामा २१ जना सक्रिय कोरोना संक्रमित रहेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।  उनका अनुसार २ जना कोरोना संक्रमित अस्पतालमा भर्ना छन् ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालाका अनुसार वैशाखमा संक्रमण दर ५६ प्रतिशत रहेकोमा जेठमा २३ प्रतिशतमा झरेको थियो । असार र साउनमा परीक्षणको दायरा र संक्रमण दर दुवै घटेको छ ।

वैशाखमा ५ हजार ८५३ स्वाब नमुना परीक्षण गर्दा ३ हजार २७६ जना र जेठमा ५ हजार १३९ वटा स्वाब नमुना परीक्षण गर्दा १ हजार १६४ जनाका संक्रमण देखिएको थियो । असार र साउनमा क्रमशः १ हजार ७१८ र २ हजार ११० नमुना परीक्षण हुँदा १०५ र ५१ जनामा संक्रमण देखिएको छ ।

वैशाख र जेठमा ५ हजारभन्दा बढी नमुना परीक्षण हुँदा असार र साउनमा २ हजारको हाराहारीमा मात्रै स्वाब नमुना परीक्षण भएको छ । संक्रमणको दर असारमा ६ प्रतिशत हुँदै २ प्रतिशतमा झरेको पीसीआर प्रयोगशाला प्रमुख एवं भाइरोलोजिष्ट डा. प्रभाकर पाण्डे बताउँछन् ।

‘वैशाख,  र जेठको तुलनामा असार, साउनमा ल्याबमा पीसीआर परीक्षणका लागि ल्याइने स्वाब नमुना आधा जस्तै घटेको छ । नारायणी अस्पतालमा आएका बिरामी, परीक्षा दिन जाने विद्यार्थीहरुको मात्रै पीसीआर भइरहेको छ,’ उनले भने, ‘लामो समयसम्म लगाइएको निषेधाज्ञा, दुवै देशको सीमावर्ती शहरमा भएको भ्याक्सिनेसन र संक्रमणपछि मानिसमा बढेको इम्युनिटिको प्रभावसँगै सचेतना बढेकाले पनि संक्रमण घटेको हुन सक्छ ।’

बाराको जीतपुर–सिमरा उपमहनगरपालिकाबाट सातामा एक पटक पीसीआरका लागि स्वाब नमुना पठाउने गरेको तर अन्य पालिकाबाट स्वाब नमुना नआएको उनले बताए । कोरोना घटेको समयमा वीरगञ्जमा इन्फ्लुएन्जा बढेर मानिसलाई हैरानी दिएको उनी बताउँछन् ।

साउनमा शून्य मृत्यु

संक्रमण घटेसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि घटेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले दिएको तथ्याङ्क अनुसार पर्सामा वैशाखमा ७६ जना, जेठमा ५९ जना र असारमा तीन जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

अन्य जिल्लाबाट आई पर्सामा ज्यान गुमाउनेको संख्या वैशाखमा ५२, जेठमा १३७ र असारमा ११ छ । वीरगञ्जको नारायणी अस्पतालमा असार २३ गते सर्लाहीको बागमती नगरपालिका–५ ककनीका ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । त्यसपछि कोरोनाकै कारण कसैको मृत्यु नभएको अस्पतालले जनाएको छ ।

संक्रमण दर घटेसँगै सर्वसाधारणमा लापरबाही पनि बढेको चिकित्सक स्वास्थ्यकर्मीहरु बताउँछन् । मानिसहरुले बजारमा भीड गर्ने, मास्क नलगाउने, लगाए पनि राम्रोसँग नलगाउने, बोल्दा मास्क फुकाल्ने जस्ता क्रियाकलाप गरिरहेको उनीहरुको भनाइ छ ।

पटक–पटक कोरोनाको हटस्पट बनेको वीरगञ्ज अहिले शान्त छ । तर स्वास्थ्य सुरक्षा सतर्कताका उपाय अवलम्बन नगर्ने र संक्रमण बढी भएका क्षेत्रबाट सहजै मनिसलाई आउन जान दिने हो भने स्थिति बिग्रन सक्ने चिकित्सकहरुको चिन्ता छ ।

स्थिति बिग्रन नदिन चिकित्सकको तीन सुझाव

नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंह वीरगञ्ज अहिले शान्त रहेकोले यसलाई कायम राख्न तीनवटा काम गर्नुपर्ने बताउँछन् ।

पहिलो, चितवन, झापा लगायतका जिल्लामा संक्रमण दर बढेको छ । ती क्षेत्रबाट मानिसहरु आएर संक्रमण सार्न सक्ने सम्भावना भएकोले दक्षिणी सीमा नाकामा मात्रै नभएर उत्तरतिरबाट वीरगञ्ज आउँदा समेत ‘स्क्रिनिङ’ गर्नुपर्छ । हेल्थ डेस्क राखेर कोभिडसँग मिल्दोजुल्दो लक्षण भएकालाई पीसीआर गराउन आग्रह गर्नुपर्छ । यो काम वीरगञ्ज स्वास्थ्य कार्यालय र महानगरपालिकाले गर्न सक्छन् ।

दोस्रो, पालो आएको समयमा गएर अनिवार्य भ्याक्सिन लगाउनुपर्छ । पर्सामा जोखिम समूहले नै भ्याक्सिन लगाउन उत्साह नदेखाएको चर्चा छ त्यो गलत हो । त्यसले दुर्घटना निम्त्याउन सक्छ ।

तेस्रो, भीडभाड नगर्ने, सही ढंगले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने कार्यलाई व्यवहारमा उतार्ने । यसो गर्दा कोरोना संक्रमणबाट मात्रै नभई सर्ने खालका मौसमी रुघाखोकी, भाइरल फिभर, इन्फ्लुएन्जा लगायतबाट समेत बच्न सकिन्छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?