+
+

विभाजनको संघारमा एमाले

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते २१:३३

१ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै प्रमुख विपक्षी नेकपा एमाले फुटनजिक पुगेको छ ।

दोस्रो तहका नेताहरुले सहमतिको प्रयास जारी राखेका छन् । तर अध्यक्ष केपी शर्मा र वरिष्ठ नेता माधवकुमार नेपाल एकअर्कालाई दोषी देखाउने, तर एकलौटी रुपमा अघि बढ्ने गरेकाले सहमतिको सम्भावना निकै कमजोर छ ।

वार्ताकारहरुका अनुसार मंगलबार रातभरमा कुनै ‘चमत्कार’ भए एमाले तत्कालका लागि फुटबाट जोगिनेछ । नभए एमाले फुट्छ र माधव नेपालले नयाँ पार्टी बनाउने छन् ।

अस्थिरता निम्त्याउने अध्यादेश

सोमबार ‘हतारहतार’ प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री देउवाले मंगलबार विहानै मन्त्रिपरिषद्को बैठक राखे ।

बैठकले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । विद्यमान राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने व्यवस्था छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्वद्ध स्रोतका अनुसार अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न २१ दिन समय दिने व्यवस्था पनि राखिएको छ ।

घनश्याम भुसाल, शंकर पोखरेललगायतका नेताहरुको दौडधुप चलिरहेको छ । उनीहरुमध्ये एक नेता भन्छन्, ‘पार्टी विभाजनको संघारमा पुगिसकेको छ । आज रातभरमा कुनै चमत्कार भयो भने एमालेलाई जोगाउन सकिएला कि !’

ओलीको रणनीति

अध्यादेश ल्याउने सरकारी तयारी बुझेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा वक्तव्य जारी गर्दै पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका थिए ।

पार्टीमा एकताका लागि कार्यदल स्तरमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसकेको भन्दै ओलीले स्थायी, केन्द्रीय लगायतका सम्वद्ध कमिटीहरुको बैठकमा सहभागी हुन आग्रह पनि गरेका थिए ।

तर उनले माधव नेपाल समूहलाई सहमतिमा ल्याउन होइन, दल विभाजन गर्न अप्ठ्यारो पार्ने रणनीति लिएका छन् । आफ्नो पक्षका नेताहरुको मात्र उपस्थितिमा स्थायी कमिटी र संसदीय दलको बैठक राखेका ओलीले एमाले केन्द्रीय कमिटीको नयाँ विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा र माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई मंगलबार पत्र पठाएका छन् ।

आयोगमा एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीको विवरण छ । अहिले २६० सदस्यको विवरण पठाइएको छ । यदि यो विवरण आयोगले स्वीकार गरेमा नयाँ अध्यादेशअनुसार पनि केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याउन नेपाल समूहलाई कठिन हुनेछ ।

तर आयोग स्रोतले भने ओली पक्षले पठाएको नामबारे निर्णय हुन समय लाग्ने बताएको छ । सम्बन्धित राजनीतिक दलको विधान हेर्नुपर्ने, सबैको नागरिकता मगाउनुपर्ने लगायतका प्रबन्ध रहेको भन्दै एक आयुक्त भन्छन्, ‘८/९ दिन अगाडि आएको जनता समाजवादी पार्टीको ५०७ केन्द्रीय सदस्यबारे त निर्णय गर्न भ्याइएको छैन । यो कहाँ आजको भोलि हुन्छ र ?’

१४ सांसद पदमुक्त गर्ने निर्णय भने दल विभाजन भइहाले संसदमा सरकारको बहुमत पुग्न नसकोस् भनेर हो । किनकी नयाँ अध्यादेशअनुसार एमाले मात्र होइन, जसपा पनि फुट्न सक्छ । त्यो बेला समानुपातिक सांसदहरु नयाँ पठाउन सकेमा संसदको अंकगणितमा सरकार फेरि संकटमा पर्न सक्छ ।

दल विभाजनको तयारीमा नेता नेपाल

अध्यक्ष ओलीजस्तै वरिष्ठ नेता नेपालले पनि सहमति होइन, नयाँ दल दर्ताकै लागि गृहकार्य गरे । उनले मंगलबार ३ साउनमा फ्लोर क्रस गर्दैै देउवालाई विश्वासको दिएका सांसदहरुसँग छलफल गरे, काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक बोलाए । त्यसक्रमा उनले एकताका लागि आफ्नो तर्फबाट अन्तिम प्रयास भइरहेको, तर ओलीका कारण त्यो सम्भव नभएको आरोप लगाए ।

मंगलबार साँझ आफ्नो पक्षका जनवर्गीय संगठनका प्रमुखहरुको भर्चुअल बैठकमा भने नेता नेपालले एमाले विभाजनको संकेत गरे । ओलीले नै एकताको ढोका बन्द गरेकाले अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको उनको तर्क छ ।

आफूहरुले एकताका लागि अन्तिमसम्म पहल गरेको भन्दै उनले उपमहासचिव घनश्याम भुसाल र आफूबीच मंगलबार दिउँसो भएको सम्वाद पनि सुनाए । अध्यक्ष ओलीसँग कुरा गर्न जान लागेको भन्दै भुसालले केके कुरा गर्ने हो भनेर सोधेको भन्दै नेता नेपालले भने, ‘उहाँले प्रस्ताव राख्नुभयो, केपी ओलीले आजसम्म गरेका सबै निर्णय फिर्ता लिने र अहिले कुनै पनि नयाँ निर्णय नगर्ने ।’

‘दोस्रो भनेको पहिले दिएका सबै बचन पूरा गर्ने । यो भयो भने पार्टीलाई एकतावद्ध गरेर जान तपाईं सहमत हुनुहुन्छ भनेर सोध्नुभयो । मैले हुन्छ भनेँ,’ उनले अघि भने ।

तर ओलीले आफूसहित १४ सांसदलाई कारबाही गरेको र कर्णालीमा फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका प्रकाश ज्वालालाई केन्द्रीय सदस्यबाट हटाएर २६० जनाको नाम निर्वाचन आयोगमा पठाएको खबर आएको भन्दै नेता नेपालले भने, ‘केपी ओलीले भनिसक्नुभएको छ, उहाँको पार्टीमा माधव नेपाल लगायतका निम्ति ढोका बन्द भइसकको छ ।’

आफूलाई गद्धार र देशद्रोही घोषणा गरेकोमा आत्मोलाचना गर्ने भाव नदेखाएको भन्दै नेता नेपालले भने, ‘उहाँ पार्टी विभाजन गर्न उद्धत हुनुहुन्छ ।’

एकताको ढोका खुला राख्दै पार्टी पुनर्गठन गरिने भन्दै उनले अघि भने, ‘आज नयाँ पार्टी खोलिहाल्यौं भने पनि पार्टी पुनगर्ठनको झण्डा बुलन्द गरिहाल्यौं भने पनि केपी ओलीले सबै गल्ती स्वीकार गरेर पछाडि हट्नुहुन्छ भने एकताको ढोका खुला हुनेछ ।

अहिले हुनेछ, भोलि हुनेछ, तीन महिनापछि हुनेछ, छ महिनापछि हुनेछ । होइन भने चुनावमा सिटको तालमेल पनि गर्न सकौंला ।’ अर्थात अध्यादेश जारी भएपछि नयाँ दल गठनको सम्भावना छ ।

नेपाल समूह जस्तै ओली समूहका नेताहरु पनि केही नेताहरु पार्टीबाट बाहिरिने स्वीकार गर्छन् । मंगलबारको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चारकर्मीहरुसँग भनेका छन्, ‘केही व्यक्तिहरुको अनुरोध र दबावमा यो काम (अध्यादेश ल्याउने) भएकाले केही साथीहरु बाहिरिने अनुमान गर्न सकिन्छ ।’

एकताको झिनो आश

नेपाल समूहका उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकमा नेता ठाकुर गैरेले वरिष्ठ नेता नेपाललाई भनेका थिए, ‘विष पिएर भए पनि विभाजनलाई रोक्नुहोस् । त्यो तपाईंले मात्रै गर्न सक्नुहुन्छ ।’ एकताका लागि प्रयासरत नेताहरुका अनुसार अहिलेसम्म गैरेले भने जस्तो ‘विष’ पिउन न अध्यक्ष ओली तयार छन्, न नेता नेपाल ।

यद्यपि घनश्याम भुसाल, शंकर पोखरेललगायतका नेताहरुको दौडधुप चलिरहेको छ । उनीहरुमध्ये एक नेता भन्छन्, ‘पार्टी विभाजनको संघारमा पुगिसकेको छ । आज रातभरमा कुनै चमत्कार भयो भने एमालेलाई जोगाउन सकिएला कि !’

नेपाल समूहका नेता विरोध खतिवडा भन्छन्, ‘आज राति नै उन (ओली) ले सबै फिर्ता लिएर म ब्याक हुन्छु भने र यसअघि चर्चामा आएका मागहरुप्रति सकारात्मक भए अर्को बाटो (नयाँ दल गठन)मा हिँड्न नपर्ने हुनसक्छ । होइन, उनले थप बेमाइनी गर्दै जाने हो भने राजनीति जाम भएर बस्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?