+
+

ओलीले नै एकताकाे ढोका बन्द गरे, सुध्रिए भने चुनावमा तालमेल गरौंला : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १७:५४

१ भदौ, काठमाडौं । नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ता गर्ने संकेत गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै उनले अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताए ।

आफ्नो समूहसम्वद्ध जनवर्गीय संगठनहरुको भर्चुअल बैठकलाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले आफूहरुले एकताका लागि अन्तिमसम्म पहल गरेको बताए । सोमबार दिउँसो पनि उपमहासचिव घनश्याम भुसाल आएर एकताको अन्तिम पहल गर्ने बताएको र त्यसमा आफूले सहमति दिएको उनले सुनाए ।

नेता नेपालका अनुसार २८ फाुगनदेखि अहिलेसम्म भएका सबै निर्णय खारेज गर्ने तथा नयाँ निर्णयहरु नगर्ने र अहिलेसम्म भएका सहमतिहरु पालना गर्ने गरी थप सहमति गर्ने भुसालको प्रस्ताव थियो । त्यसमा आफूले सहमति दिएपछि भुसाल, अध्यक्ष ओलीलाई भेट्न गएको भन्दै नेता नेपालले भने, ‘उहाँ (ओली) ले माधव नेपालहरुका लागि यो पार्टीको ढोका बन्द भइसक्यो भन्नुभएछ ।’

ओलीले जालझेल मात्र गरेको र सहमति पनि पालना नगरेको भन्दै उनले अघि भने, ‘आजै पनि प्रकाश ज्वालालाई केन्द्रीय सदस्यबाट निकाल्नुभयो र २६० जनाको नाम निर्वाचन आयोगमा पठाउनुभएछ । सुन्दैछु, माधवकुमार नेपाल र रामकुमारी झाँक्रीसहित १४ जनालाई निष्कासन गर्नुभयो ।’

अब पार्टीलाई पुनर्गठन गरेर अघि बढ्नुको विकल्प नभएको भन्दै  नेता नेपालले नयाँ दल दर्ताको संकेत गरेका छन् ।

नयाँ पार्टी खोल्दा पनि एकताको ढोका खुला राख्ने भन्दै उनले भने, ‘गल्ती स्वीकार गरेर आउनुभयो भने अहिले एकता हुन्छट, भोलि एकता हुन्छ, तीन महिनापछि हुनेछ । चुनावमा तालमेल गरेर जान सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?