+
+
ब्लग :

आफूले आफैंलाई किन मार्न चाहन्छ मान्छे ?

जी.एस. भण्डारी जी.एस. भण्डारी
२०७८ भदौ २ गते ११:४०

व्यक्तिले जानीबुझी विभिन्न साधनको स्वेच्छिक प्रयोग गरेर आफ्नो जीवन अन्त्य गर्नु नै आत्महत्या हो । सन् १६४२ मा सर थोमस ब्रुनेले ‘सुसाइड’ शब्दको प्रयोग गरेका थिए ।

मृत्यु स्वाभाविक हो र सत्य पनि । मृत्युलाई बिर्सिएर मान्छे जीवनमा हाँस्न र रमाउन चाहन्छ । केही गर्न चाहन्छ। मान्छेलाई आफ्नो जीवनप्रति त्यति नै प्रेम छ, लोभ छ ।

मानव जीवन बहुत दुर्लभ जीवन हो । के थाहा फेरि यो जीवन पाइएला नपाइएला । यही जीवन पाइएको बेला सम्यक् जीवन जिउन सके आफ्नो अर्को जीवन पनि सफल हुने निश्चित नै छ ।

मानव भएर जन्मे पश्चात् एक मिनेट पनि बढी बाँच्ने प्रयास गर्नुपर्दछ । मानव जीवन पक्कै पनि संसारकै सबैभन्दा राम्रो र रमाइलो हुन्छ नै । सुख-दुःख त भइ नै हाल्छ तर अहिले बालकदेखि वृद्धसम्म आफूले आफैंलाई मार्न चाहनेको संख्या बढ्दो क्रममा छ। आत्महत्या जस्तो तुच्छ र घटिया काम पनि मान्छे किन गर्न पुग्छ त ?

आत्महत्या सम्बन्धित समाजले बुझे जस्तै कायरताको उपज हो कि कुनै रोग वा दुर्घटना ?

किन यसरी प्रेरित भएका छन् मान्छे आत्महत्याका लागि ? पछिल्लो समयमा दिनानुदिन बढिरहेको आत्महत्या के सबैका लागि रोजाइ नै हो त ? के आत्महत्या गर्नेहरु सबैले आफ्नो इच्छाले नै आत्महत्या गरिरहेका छन् त ? आत्महत्या गर्नेहरुको संख्या दिनानुदिन किन बढिरहेको छ त ?

व्यक्तिमा तीव्र महत्वाकांक्षा, योजनामा असफल, कुनै पनि कारणले समाजमा लाजसरमको महसूस गर्नु, आफूबाट भएका कतिपय कुकर्म वा अनैतिक कर्मबाट पश्चाताप वा बेइज्जतको सामना गर्नुपर्ने अवस्था, चिन्ता, फिक्री, दीर्घरोग, अन्तरसम्बन्धमा आँच, प्रेममा मृत्यु वा विछोड, मानसिक असन्तुलन, बेरोजगार, टाट पल्टिंदाको पीडा, धोका, आरोप, जीवन र मृत्युसम्बन्धी मानसिक द्वन्द्व लगायत थुप्रै कारणबाट मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ तर आत्महत्याको कारण उमेर अनुसार फरक देखिएको छ ।

किशोरावस्थामा प्रेम, शिक्षा लगायत असफलताका कारण आत्महत्या गर्ने गरेको देखिन्छ भने तीसदेखि पचास वर्षसम्मका व्यक्तिहरु घरव्यवहार, पारिवारिक किचलो, नपुंसकता, आर्थिक र सामाजिक कारणबाट समेत आत्महत्या गर्ने गरेका छन् । ५० भन्दा माथिका धेरै मान्छेमा लामो तर असफल जीवनबाट असन्तुष्टि, पछिल्ला दुई पुस्ताबीचको बेमेल, चाहेजस्तो आर्थिक सम्पन्नता हासिल हुन नसक्नु लगायत कारणहरु देखिने गरेका छन् । तर युवावस्थामा अहिले प्रायः प्रेम जीवन असफल हुनु आत्महत्याको एउटा प्रमुख कारण बनेको छ ।

प्रेम र विवाह सम्बन्धी निर्णय लिन युवा-युवती स्वतन्त्र हुनुपर्ने हो । तर, समाज र परिवारले उनीहरूको स्वतन्त्रतामा अंकुश लगाइदिएको छ । जात अथवा धर्म नमिलेका कारण प्रेम सम्बन्ध तोड्न हजारौं युवायुवती बाध्य छन् । आत्महत्या रोज्दछन् । समाजले यो भुल गरेको हो । यस्तै जातीय र वर्गीय विभेद गर्दा समाजले वर्षेनि आफ्ना सन्तति गुमाइरहेको छ । जबसम्म जातीय र वर्गीय विभेद हट्दैन तबसम्म आत्महत्या जस्तो सामाजिक रोग हटाउन पनि गाह्रो पर्नेछ ।

विछोडको विषादबाट मुक्ति पाउन तीमध्ये केहीले आत्महत्याको बाटो रोजिरहेका छन् । के जात अथवा धर्मको तरबार चलाएर व्यक्तिको प्रेम सम्बन्ध छिनाल्नेलाई निर्दोष करार गरेर आत्महत्याको बाटो रोजेका युवा-युवतीलाई मात्र एकोहोरो दोषी देखाउनु न्यायसंगत हुन्छ ?

कसैले प्रेममा धोका खाएको छ भने त्यसलाई झन् पीडा हुने खालका कुरा होइन बाँच्न र संघर्ष गर्नका लागि, प्रोत्साहन र हौसला दिने खालका सुझाव र परामर्श दिनुपर्दछ र पीडितले पनि त्यसलाई जीवनको एक क्षण सम्झनुपर्दछ । नेपाली उखान छ ‘खुट्टा भए जुत्ता कति कति !’ भनी आत्मविश्वास बढाउनुपर्दछ ।

प्रायः सबै धर्मले आत्महत्यालाई निरुत्साहित गर्छन् । उदाहरणका लागि हिन्दू धर्मग्रन्थ पराशर स्मृतिमा झुन्डिएर आत्महत्या गर्ने महिला-पुरुष दुवैले ६० हजार वर्षसम्म नर्कमा बस्नुपर्नेछ भनी उल्लेख गरिएको व्यवस्थालाई लिन सकिन्छ । धर्मसँगै सामाजिक मूल्य-मान्यताले पनि आत्महत्यालाई गलत ठहर गर्दै निरुत्साहित गर्छन् । न्यायको प्रचलित सिद्धान्तले पनि आत्महत्यालाई गलत करार गर्छ ।

वि.सं २०७५ देखि लागू भएको मुलुकी अपराधसंहिता परिच्छेद १२ ज्यान सम्बन्धी कसूरको दफा १८५ मा आत्महत्या गर्न बाध्य पारेको कसूरमा सजायको व्यवस्था गरिएको छ । उक्त दफा अनुसार कसैलाई आत्महत्या गर्न बाध्य पारेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । उक्त परिच्छेदले कल्पना गरेका कसूरबाट कसैको जीउ, ज्यान वा सम्पत्तिमा हानिनोक्सानी भएको रहेछ भने कसूरदार व्यक्तिबाट पीडित वा पीडित नभए निजको हकवालालाई क्षतिपूर्ति भराइने व्यवस्था समेत रहेको छ तर आत्महत्या रोक्ने प्रमुख उपाय कानून मात्र होइन । तर कतिपय आत्महत्या पारिवारिक, सामाजिक हिंसा र दुर्व्यवहारका कारण हुने गरेकाले कानून आवश्यक परेको हो ।

दुरुत्साहन गर्नेलाई कारबाही गर्दैमा मरेको मान्छे फर्किंदैन । यसरी जीवन बर्बाद गर्नेहरुप्रति न त सरकार न सामाजिक परिवेश संवेदनशील भएको देखिन्छ । सरकारसँग यसलाई महत्व दिने कुनै नीति छैन । कानूनमा दण्डनीय अपराधको रुपमा विकास गरे पनि यसलाई रोक्नको लागि नीतिगत पहल गरेको देखिंदैन ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वमा प्रति वर्ष करीब १० लाख मानिस आत्महत्याका कारण मर्छन् जसअनुसार आत्महत्या दर प्रति लाखमा १६ हुन्छ। यसको मतलब प्रत्येक ४० सेकेन्डमा १ व्यक्ति आत्महत्याले मर्छ। संसारमा १५ देखि ४४ वर्ष उमेर समूहबीचका मानिसमा मृत्युको तीन प्रमुख कारणमध्ये आत्महत्या एक हो।

नेपालमा आत्महत्याकै तहमा विस्तृत अध्ययनहरु त खासै भएका छैनन् तर विगत केही महीनायताका प्रहरी तथ्यांकहरुका आधारमा विश्लेषण गर्दा दैनिक सरदर १६ -२० जनाले आत्महत्या गर्ने गरेको देखिन्छ। प्रहरी प्रधान कार्यालयका अनुसार देशभरमा २०७५ देखि २०७८ जेठसम्मको ३५ महीनामा १८ हजार ३१९ वटा आत्महत्याका घटना भएका छन्।

उनले टिकटकमा भिडियो अपलोड गरेको डेढ घण्टामै देहत्याग गरिन् । यदि भिडियो हेर्ने मध्ये कसैले पनि उक्त भिडियोलाई गम्भीरतापूर्वक लिएर उनीमाथि निगरानी बढाइदिएको भए आज उनी पक्कै पनि हामी सामु हुन्थिन् होला

 

नेपालमा गत वर्ष कोरोनाभाइरसको संक्रमण रोक्न चैत ११ देखि असार १३ सम्मको लकडाउनको अवधिमा मात्रै कम्तीमा १ हजार ६४७ व्यक्तिले आत्महत्याका कारण ज्यान गुमाएको प्रहरी तथ्यांकले देखाउँछ। यसरी आत्महत्या बढ्नुको कारण नयाँ रोग भएर मानिस डराए, आर्थिक उपार्जन, व्यापार बन्द भयो ।

भविष्यको अन्योलले निराशापन, दैनिक जीविकामा असहजताले गर्दा डिप्रेसन बढ्यो, बेड र अक्सिजन पाइएन, आफन्त, साथीभाइ बचाउन नसकेको आत्मग्लानिले आत्महत्याको अवस्थासम्म पुर्‍यायो । कोरोनाकालमा मान्छे घरैमा थुनिनुपर्ने अवस्था आयो, बेरोजगारी र आर्थिक अभाव बढ्यो । घरेलु हिंसादेखि जघन्य अपराध पनि भए, सहन नसकेर धेरैले आत्महत्याको बाटो रोज्न बाध्य भए । कोरोना महामारीको दोस्रो लहर झन् कडा भयो । पहिलो लहरबाट सुरक्षा सवालमा जुन सिकाइ हुनुपर्थ्यो, भएन । राज्यको गैरजिम्मेवारीपना झन् बढ्यो । पहिलो चरणको महामारीले शिथिल बनाएको थियो । दोस्रो लहरमा संक्रमितको भटाभट मृत्यु हुन थाल्यो।

यता सुदूरपश्चिम प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/७५ मा ४९९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ भने २०७५/७६ मा ४९० र २०७६/७७ मा आत्महत्या गर्नेको संख्या ५४४ रहेको छ । २०७५/७६ को तुलनामा यो संख्या ह्वात्तै बढेको देखिन्छ । त्यसैगरी २०७७/७८ आइपुग्दा झन् ह्वात्तै बढेर आत्महत्या गर्नेको संख्या झन्डै ६८० पुगेको तथ्यांकले देखाउँछ।

अर्को कुरा के छ भने शिक्षित व्यक्तिले नै बढी आत्महत्या गर्ने गरेको तथ्याङ्क छ। यसको अर्थ पढेलेखेका व्यक्तिले नै आत्महत्या बढी गर्ने सम्भावना हुन्छ ।

आत्महत्या रोकथाममा केही सरकारी संरचना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु मार्फत केही पहल गरिए पनि देशभरका जनताको लागि त्यो पर्याप्त छैन । राज्यका संरचना, सहयोगी संघसंस्थाहरु, सेवा प्रदायक, घरपरिवारका सदस्यहरुबीच एकापसमा समन्वय र सहकार्य नहुँदा आत्महत्या रोकथाममा नेपालले सोचेअनुसार उपलब्धि हासिल गर्न सकेको छैन ।

आत्महत्याको अन्तिम निर्णय लिनुपूर्व व्यक्तिले कैयन् संकेत छाड्ने गर्छन् । समयमै परिवारका सदस्यले वा नजिकका साथीभाइले त्यसलाई बुझेर गम्भीर पहल गर्ने हो भने आत्महत्या टार्न सकिन्छ।

प्रायः आत्महत्याको स्पष्ट संकेतहरू हुन्छन् जसले उनीहरूको मनसाय दर्शाउँछ। कसैले आत्मग्लानिको डर देखाउँछन् भने त्यसलाई गम्भीरताका साथ लिनुपर्छ। प्रायः आत्महत्या गर्ने प्रयासहरू विरोधाभासपूर्ण हुन्छन् र जानाजानी मर्दैनन्। थोरै आत्महत्या मात्र कुनै चेतावनी वा संकेतहरु विना पनि हुन सक्छन्।

विशेषगरी हामीले यसमा ध्यानदिनुपर्ने कुरा के हो भने, आत्महत्या गर्ने कुनै पनि व्यक्तिले प्रायः शुरुमा केही न केही लक्षणहरु देखाउँछ। ती लक्षणलाई परिवार, समाज तथा साथीभाइले पत्ता लगाउन सक्यो, देखिएका लक्षणलाई गम्भीरतापूर्व लिएर हेरिदिएको खण्डमा आत्महत्याको संख्या घटाउन सकिन्छ। यसरी देखिने लक्षणहरुमा पूर्वयोजना पनि एक हो। आत्महत्या गर्ने मानिसको पूर्वयोजना हुन्छ। कतिपयले कसरी आत्महत्या गर्ने ? कहिले गर्ने ? कुन विधिबाट गर्ने भन्ने योजना बनाएका हुन्छन्।

यसको जल्दोबल्दो उदाहरण हो धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २० वर्षीया एक किशोरी । उनले केही दिन अगाडि आफ्नो टिकटक आइडीमा एउटा भिडियो अपलोड गरिन् जसमा आवाज सुनिंदै थियो ‘साँच्चै आत्महत्या गर्नेहरुका गजल यस्ता हुन्छन् होला हगि-एक मुठी सास छ त्यही नि त्याग्न मन लाग्छ, यो संसार चटक्कै छोडेर भाग्न मन लाग्छ ।’

उनले टिकटकमा भिडियो अपलोड गरेको डेढ घण्टामै देहत्याग गरिन् । यदि उक्त भिडियो हेर्नेमध्ये कसैले पनि भिडियोलाई गम्भीरतापूर्वक लिएर उनीमाथि निगरानी बढाइदिएको भए आज उनी पक्कै पनि हामीसामु हुन्थिन् होला ।

त्यसैले यदि हामीले यसरी आत्महत्या गर्न लागेका मानिसलाई पहिचान गर्न, चिन्न सक्यौं भने पहिले नै कुनै काउन्सिलिङ वा कुनै उपचारको माध्यमबाट रोक्न सक्यौं भने आत्महत्यालाई कम गर्न सक्छौं, अर्को कुरा हामी कसरी सहयोग गर्न सक्छौं भन्ने कुरा जान्नु पर्‍यो। त्यो व्यक्तिलाई समाजमा घुलमिल गर्ने, गफ गर्ने, समस्या तथा कुराकानी साटासाट गर्ने, उसको मनका कुरालाई बाहिर ल्याउन कोशिश गर्ने गर्‍यौं भने पक्कै पनि केही न केही फाइदा हुन्छ। र, त्यो कुरा बाहिर ल्याउन चाहिं गाह्रो छ ।

उनीहरु भन्न मान्दैनन्। तर, हामीले कोशिश जारी राख्नुपर्छ। त्यो गर्न सक्दा केही हदसम्म आत्महत्या कम गर्न सहयोग पुग्छ।

विभिन्न अध्ययनले मनिसहरुले आत्महत्या गर्नुपूर्व के कस्तो लक्षणहरु देखाउँछन् भन्ने कुरा पत्ता लागेको छ। केही त्यस्ता लक्षणहरु :

१. अत्यन्त धेरै वा कम सुत्ने
२. धेरै चिन्तित वा उत्तेजित हुने
३. एकान्तमा बस्न रुचाउनु
४. शिथिल हुनु, एकाग्र हुन नसक्नु
५. मृत्युको बारेमा सोच्नु वा कुरा गरिरहनु
६. रक्सी वा अन्य लागूपदार्थको अत्यधिक सेवन
७. सामाजिक कार्यमा सहभागी हुन नचाहनु वा कोहीसँग बोल्न आवश्यक नठान्नु पनि आत्महत्याको लक्षण रहेको छ।
यस्तो अवस्थामा तपाईं हामी के गर्न सक्छौं त ?

सहयोगीको भूमिका

– कुनै व्यक्तिले आत्महत्या गर्नुभन्दा पहिले कुनै न कुनै संकेत गरेको हुन्छ । त्यसमा सचेत हुने र बेइज्जत नगरी गोप्य परामर्श, सुझाव, हौसला र सचेतना दिने कार्यहरू गर्नुपर्दछ । डिप्रेसनका तथा विविध कारणले गर्दा आत्महत्याका सोचाइ राखेका व्यक्तिले समयमा उपचार पाए भने मनको पीडा घट्दै जान्छ र निको हुन्छ भन्ने आशा पलाएपछि आत्महत्या गर्ने सोचाइ आउने सम्भावना कम हुन्छ । आत्महत्याको रोकथाममा परिवार, समाज, साथीसङ्गीहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ ।

– आत्महत्याको बारेमा विचार गरिरहेको व्यक्ति कहिले जिउने र कहिले मर्ने कारण अन्त्यसम्म पनि खोजिरहेको हुन्छ । कतिपय अवस्थामा त उसले परालको त्यान्द्रो बराबर पनि बाँच्ने कारण भेटिरहेको हुँदैन । बाँच्ने कारण खोज्दा उसले बाबुआमा तथा श्रीमान्, श्रीमती, छोराछोरी सम्झिन्छ, तर उसले क्रमिक रुपले यो पनि सोच्न सक्छ कि ऊ सबैको लागि बोझ हो र उसको मृत्यु पश्चात सबैलाई त्यस्तो बोझबाट छुटकारा मिल्नेछ । यदि तपाईंले आफ्नो साथीभाइको व्यक्तित्वमा परिवर्तन देख्नुभयो, ऊ आजभोलि कतै हराएको जस्तो, बढी नै टोलाएको जस्तो पाउनुभयो भने, उसले केही भन्न खोजेको जस्तो गरेको छ भने, तपाईं पनि आफूलाई एक कदम अगाडि बढाउनुहोस् ।

जस्तै: तपाईं/तिमीलाई ‘सन्चै छ ?’ अनि औपचारिकताबाट अघि बढ्नुहोस् र सोध्नुहोस्- के तिमी साँच्चै नै सन्चै छौ त ? उसलाई केही भएको रहेनछ, या क्षणिक चिन्ता रहेछ भने त ठीकै छ तर होइन, निराशावादी सोचमा चुर्लुम्म डुबेर जीवनको कुनै अर्थ देख्न छाडेको रहेछ भने तपाईंको मायालु प्रश्नले उसलाई आफ्नो मनको वह पोख्न सहायता गर्छ ।

-सम्झनुहोस्- आत्महत्याबारे सोध्दैमा आत्महत्याको सम्भावना बढ्दैन- बरू यस प्रश्नले उक्त व्यक्तिलाई गुम्सिरहेको भावना बाहिर ल्याउन पाएर हलुका नै हुन्छ । यदि आत्महत्याको सम्भावना तत्काल छ भने तुरुन्त आकस्मिक सेवातर्फ उसलाई लग्नुपर्छ । यदि विचार मात्रै छ, तर योजना छैन भने चाहिं उसलाई उसको समस्या समाधानका बारेमा छलफल गर्न प्रेरित गर्नुपर्छ । उसको मनमा भएको आत्महत्या विरोधी सोच बढाउनलाई सहायता गर्नुपर्दछ ।

आत्महत्या न्यूनीकरणमा सोसल मिडिया र सञ्चारमाध्यमको भूमिका

आत्महत्या न्यूनीकरणमा सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका हुन्छ। आत्महत्याको घटना सम्बन्धी समाचार प्रकाशन/प्रसारण गर्दा सनसनी खोज पार्ने भन्दा पनि चेतना बढाउने र आत्महत्यालाई निरुत्साहित गर्ने गरी प्रस्तुत गर्नुपर्छ। आत्महत्याका समाचारलाई प्राथमिकता दिएर व्यक्तिले कसरी आत्महत्या गर्‍यो भनेर विस्तृत घटना विवरण दिनुहुँदैन।

एउटा व्यक्तिले आत्महत्या गर्दा अरु २५ जनाले प्रयास गरेका हुन्छन् भनिन्छ। त्यसैगरी एउटा व्यक्तिले आत्महत्या गर्दा उसको परिवार, छरछिमेक र इष्टमित्र गरी ८० जना पीडाबाट गुज्रिन्छन् भन्ने मान्यता छ। यसै कारण उनीहरुको पीडाप्रति सञ्चारमाध्यम, सोसल मिडियाहरु पनि संवेदनशील हुनुपर्दछ।

र अन्त्यमा यो अनमोल जिन्दगी प्राप्त छ । यो जन्म संयोग होइन, मातापिता, जन्मस्थान, समाज र देशका लागि केही न केही योगदान दिएर अनि प्राप्त आयु पूर्ण भोग गर्न हरेक मानिस इच्छुक हुनुपर्दछ । तथापि कतिपयलाई जीवन बोझ बन्छ। तर संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहनेछ । मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा तुवाँलो लागेको जस्तो मात्र भएको हो ।

धैर्य गरियो भने एक दिन त्यो तुवाँलो फाँट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ । जीवन रहे आफूले गरेको सबै गल्तीहरू सच्याउन सकिन्छ । गल्तीको प्रायश्चित गर्न सकिन्छ । तर आफ्नो अस्तित्व नै नास भएपछि आफूले गरेको अमूल्य जीवन त्याग्ने भूललाई प्रायश्चित गर्ने मौका समेत पाइँदैन । आत्महत्या दुःखद दुर्घटना र अकाल मृत्यु हो भन्ने कुरा जनचेतना बढाउन आवश्यक छ। आत्महत्याको सोच स्वास्थ्य समस्याको समयमै निराकरण नहुँदाको परिणाम हो, जुन सोचलाई व्यवस्थापन गर्न सकिन्छ भनेर मार्गदर्शन गर्न सकिन्छ।

आजको परिस्थिति र घटनाले तनाव निम्त्याए पनि भोलिका दिन सुखद हुन्छन् भनेर तपाईं हामी सबै सर्वसाधारणमा सकारात्मक चिन्तन फैलाउन सके आत्महत्या केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ र आत्महत्या घटना न्यूनीकरणका लागि त्यसको कारण पहिचान गरी भौतिक विकासमा जस्तै मानसिक र सामाजिक विकासमा पनि ध्यान दिनुपर्दछ ।

(लेखक भण्डारी सामाजिक संस्था हेल्प फर हेप्पिनेसका सुदूरपश्चिम संयोजक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment