Comments Add Comment

कोरोना संक्रमण : कस्तो अवस्थामा हुन्छ पूर्ण लकडाउन ?

यस्तो छ 'स्मार्ट लकडाउन'को कार्यविधि

२ भदौ, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले कोभिड-१९ संक्रमणको जोखिम नियन्त्रणका लागि ‘स्मार्ट लकडाउन’ सम्बन्धी कार्यविधि-२०७८ स्वीकृत गरेको छ ।

संक्रमणको जोखिमको मूल्यांकनका आधारमा संक्रमणको श्रृंखलालाई तोड्दै सार्वजनिक सेवा तथा आर्थिक क्रियाकलापहरु यथासम्भव सञ्चालन गर्ने र संक्रमणमुक्त स्थानमा क्रमशः त्यस्ता क्रियाकलापहरु खुल्ला गर्दै लैजाने उद्देश्य कार्यविधिको छ ।

कोभिड-१९ को संक्रमण फैलावट र यसबाट पर्नसक्ने असर अझै पनि सामान्य नियन्त्रणको सीमाभन्दा बाहिर रहेको भन्दै केन्द्रले समुदायमा संक्रमणको अवस्था निर्धारण गर्ने सूचकको आधारमा कार्यविधि तयार पारेको हो ।

संक्रमितबाट नजिकको संसर्गमा रहेकालाई मात्र नभई त्यस्ता व्यक्तिले छोएको वस्तुबाट समेत संक्रमण फैलिने तथा लक्षण नदेखिएका संक्रमितहरुबाट समेत कोरोना भाइरस सर्ने भएकाले तोकिएको स्वास्थ्य सुरक्षा मापदण्डको पालना नै संक्रमण फैलावटको रोकथाम र नियन्त्रण गर्ने हालसम्मको उत्तम उपाय भएको केन्द्रको ठहर छ ।

के हो ‘स्मार्ट लकडाउन’ ?

स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्दै सीमित रुपमा भएपनि आर्थिक-सामाजिक जीवनका गतिविधिहरु क्रमशः अगाडि बढाउने विभिन्न विकल्प र उपायहरु समेटिएको मोडेल नै ‘स्मार्ट लकडाउन’ हो ।

यो लकडाउन विज्ञान, प्रविधि, वाणिज्य, कला र व्यवस्थापनमा आधारित पद्धति र अवधारणा भएको केन्द्रले जनाएको छ । अख्तियार प्राप्त अधिकारीहरु वा सम्बद्ध निकायहरुले आ-आफ्नो आवश्यकता, औचित्य तथा वैज्ञानिक सिद्धान्तको आधारमा सरोकारवालाहरुको समन्वय र सहकार्यमा आवश्यकता अनुसार निरन्तर सुधारोन्मुख विधिहरु अपनाएर प्रयोग, परिवर्तन र पुनरावलोकन गर्न सक्नेछन् ।

कार्यविधिमा उल्लेख गरिएका संक्रमण मूल्यांकन सूचकका आधारमा ‘स्मार्ट लकडाउन’का लागि स्तर निर्धारण गरिने छ ।

केन्द्रका अनुसार संक्रमणको चुनौती मापन गर्दा संक्रमण दर, संक्रमणको उतारचढाव, नयाँ संक्रमण संख्या, अस्पताल भर्ना प्रतिशत र मृत्यु दर समेतका सूचकहरुको अलावा देखा पर्न सक्ने नयाँ भेरियन्ट र त्यसको प्रभाव समेतको आधारमा मूल्यांकन गरिने छ । यस्तो मूल्यांकनबाट संक्रमणको चुनौतीलाई क्रमशः अति उच्च, उच्च, मध्यम र न्यून गरी चार तहमा वर्गीकरण गरिएको कार्यविधिमा उल्लेख छ ।

लकडाउन पनि क्रमशः पूर्ण, मिश्रति, खुकुलो र न्यून गरी चार स्तरमा कायम गरी आधारभूत सेवा, औद्योगिक उत्पादन, कृषि र अत्यावश्यक आपूर्ति लगायतका आर्थिक तथा सामाजिक गतिविधिहरु उपयुक्त ढंगमा सञ्चालनको अवस्था सिर्जना गरिने छ ।

यस अवधारणाको कार्यान्वयनबाट संक्रमण नियन्त्रण र रोकथामका लागि अवलम्वन गरिने कार्यहरु दुविधा र दोहोरोपनरहित ढंगले संघ, प्रदेश, जिल्ला र स्थानीय तहबीच तथा अन्तर मन्त्रालय, विभाग, निकायहरुको जिम्मेवारी एवं भूमिका सपष्ट र सुनिश्चित हुने उल्लेख छ । यसले कोभिड-१९ विरुद्धको लडाइँमा समन्वय र सहकार्यलाई समेत मजवुत बनाउने विश्वास केन्द्रले लिएको छ ।

यस्ता छन् सूचकहरु

साप्ताहिक नयाँ संक्रमितको संख्या, संक्रमितको वृद्धि प्रतिशत, संक्रमण दर, अस्पतालहरुको व्यवस्थापन क्षमताको सूचकको रुपमा बेड क्षमता र मृत्यु दरलाई आधार मानेर लकडाउन स्टाटसको निर्धारण गरिएको कार्यविधिमा उल्लेख छ ।

प्रत्येक सूचकलाई निश्चित वैज्ञानिक अंकभार प्रदान गर्दा भाइरसको आक्रामकताको अवस्था र जनजीवन तथा देशको अर्थतन्त्रमा पर्न जाने असर समेतलाई मध्यनजर गरिने उल्लेख छ ।

निश्चित अंकभारको आधारमा संक्रमणको जोखिम अवस्थाका सूचकहरुलाई रातो (रेड), गाढा पहेंलो (एम्बर), पहेंलो (एल्लो) र हरियो (ग्रीन) रंगले संकेत गरिने छ ।

हालका दिनहरुमा खोप सरल तथा सहज रुपमा उपलब्ध हुन नसकेको हुँदा खोप प्राप्त गरेको जनसंख्याको प्रतिशतलाई सूचकको रुपमा उल्लेख नगरिएको कार्यविधिमा जनाइएको छ । खोपको उपलब्धता तथा वितरण सहज हुँदै गएपछि खोप प्राप्त गरेको जनसंख्याको प्रतिशतलाई समेत एक सूचकको रुपमा समावेश गरिने छ ।

कसरी निर्धारण गरिन्छ जोखिम मूल्यांकन तथा लकडाउनको तह ?

अन्तर्राष्ट्रिय अभ्यास र नेपालका महामारीविदहरुले दिएको सुझावका आधारमा संक्रमणको जोखिम मूल्यांकन तथा लकडाउनको तह निर्धारण गरिएको केन्द्रले जनाएको छ ।

लकडाउनको प्रकृति अनुसार स्वास्थ्य मापदण्डको पालना गरी खुला गर्ने क्षेत्र, उपक्षेत्र तथा क्रियाकलापको आधार निर्धारण गरिएको छ । यी आधारमा लकडाउन चार प्रकृतिका हुनेछन् ।

कडा (हार्ड) लकडाउन, मिक्स लकडाउन, सफ्ट लकडाउन र मिनिमल लकडाउनका आधारमा केन्द्रले निर्धारण गरेका क्षेत्र, उपक्षेत्र तथा क्रियाकलापहरु सञ्चालन गर्न पाउनेछन् ।

कार्यविधिमा नसमेटिएका क्षेत्र, उपक्षेत्र तथा क्रियाकलाप सञ्चालन गर्नुपरेमा डीसीएमसीको सिफारिसको आधारमा सीसीएमसीले निर्णय गरेबमोजिम हुनेछ ।

‘स्मार्ट लकडाउन’को औचित्य किन ?

कोरोना संक्रमणबाट उत्पन्न स्वास्थ्य सुरक्षाका साथै बहुआयामिक र अनिश्चितकालीन असर न्यून गर्न वैज्ञानिक र व्यवहारिक विधि अवलम्वन गर्न ‘स्मार्ट लकडाउन’को अवधारणा ल्याइएको केन्द्रले जनाएको छ ।

लकडाउन र आधारभूत सेवा प्रवाह, वाणिज्य-व्यापार, उत्पादन र विकास निर्माण कार्यबीचको अन्तर कम गर्न, केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टिन, आइसोलेसन लगायतका व्यवस्थापन गरी संक्रमितबाट अन्य व्यक्ति, समुदायमा संक्रमण फैलन नदिन यो मोडलको अवधारणा ल्याएको हो ।

यस्तै आर्थिक गतिशीलतामा उत्पन्न व्यवधानलाई सकेसम्म न्यून गरी नागरिकको सामान्य जीविकोपार्जनमा सहजता प्रदान गर्न, महामारीका कारण स्वभावतः विदेशबाट स्वदेश फर्किने नागरिकको बढ्दो प्रवृत्ति र यसबाट उत्पन्न हुनसक्ने संक्रमण, बेरोजगारी, जीवन यापन र जीविकोपार्जनमा हुने कठिनाइ न्यून गर्न सकिने विश्वास केन्द्रको छ ।

यस्तै दैनिक उपभोग्य र अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज तुल्याउन, संघ, प्रदेश, जिल्ला र स्थानीय तह तथा मन्त्रालय, विभाग आदि समन्वय र सहकार्य व्यवहारिक एवं मजबुत बनाउँदै दोहोरोपन तथा दुविधा उत्पन्न हुन नदिन यो लकडाउनले सघाउने विश्वास केन्द्रले लिएको छ ।

अन्तर्राष्ट्रिय खुला सीमाक्षेत्रमा हुने आवागमनलाई व्यवस्थित गर्न, कोरोना महामारी परिस्थितिमा राज्य र नागरिकको समधुर सम्बन्ध र सहकार्यको अवस्था सृजना गरी संक्रमणको सामना गर्दै जनजीवनलाई सामान्यीकरण गर्दै लैजाने कार्यविधिमा समावेश गरिएको छ ।

कस्तो अवस्थामा कडा लकडाउन ?

कार्यविधि अनुसार जोखिम स्तर गम्भीर, संक्रमण फैलन स्तर ठूलो मात्रा, लकडाउनमा अपनाइने कडा रणनीति र जनस्वास्थ्यको मापदण्ड कडाभन्दा कडा पालना गर्नुपर्ने अवस्था आएमा कडा लकडाउन गर्नुपर्ने अवस्था हुन्छ । यो अवस्थामा जोखिमको संकेत रातो (रेड) हुने कार्यविधिमा उल्लेख छ ।

कडा लकडाउनमा खुला रहने क्षेत्र र क्रियाकलापहरु

कार्यविधिमा उल्लेख भए अनुसार कडा लकडाउनको समयमा रक्षा, प्रतिरक्षा, शान्ति सुरक्षा र कूटनैतिक सम्बन्ध पूर्ण रुपमा सुचारु रहनेछन् ।

यस्तै स्वास्थ्य सेवा क्षेत्रका इमरजेन्सी र कोभिड उपचार सेवा सञ्चालन गर्न पाइने छन् । अत्यावश्यक सेवा दिने कार्यालयहरु पनि खोल्न पाइने छ ।

भर्चुअल माध्यममा मात्रै सम्मेलन, सेमिनार गोष्ठी गर्न पाइने उल्लेख छ । शैक्षिक संस्था भर्चुअल माध्यमबाट मात्रै सञ्चालन गर्न पाइने छ ।

शान्ति सुरक्षा, स्वास्थ्य सेवा र अत्यावश्यक सेवामा खटिने कर्मचारीहरु/व्यक्तिहरु, इमरजेन्सी र कोभिड उपचारको लागि जाने व्यक्ति, तोकिएको समयमा बसोबास आसपास अत्यावश्यक सामग्री खरिदका लागि जाने व्यक्ति र अनुमति प्राप्त सञ्चारकर्मी हिँडडुल गर्न पाइने कार्यविधिमा उल्लेख छ ।

यस्तै औषधि पसल, फलफूल, तरकारी, पिउने पानी, दूग्ध पदार्थ, माछामासु, खाद्य र सरसफाइका सामग्री बिक्री गर्ने पसल, कोल्ड स्टोरहरु तोकिएको समय र सम्बन्धित सेक्सनमा मात्र खोल्न पाइने छ ।

एम्बुलेन्स, स्वास्थ्य संस्था, सुरक्षा निकाय, अत्यावश्यक सरकारी सेवा तथा अत्यावश्यक ढुवानीका साधनहरु सञ्चालन गर्न पाइने छ भने स्वास्थ्य सामग्री, खाद्य सामग्री, इन्धन, कृषि बिउविजन र मल ढुवानी तथा आपूर्ति गर्न पाइने छ ।

मठमन्दिर, मस्जिद, चर्च र गुम्बामा हुने धार्मिक पूजाआजा र कार्यक्रम नित्य पूजाको रुपमा मात्र गर्न पाइने कार्यविधिमा समावेश छन् भने सामाजिक रीतिरिवाजका क्षेत्र अन्तर्गत अन्तिम संस्कारमा सहभागी हुनैपर्ने व्यक्तिहरु तथा अन्य रीतिरिवाजको हकमा एकाघरको सदस्य घरभित्र मात्र सहभागी हुन पाउने छन् ।

यो लकडाउनमा सीमा नाका बन्द रहने छ भने नेपाल आउनै पर्ने नेपाली नागरिकलाई तोकिएको कार्यादेश बमोजिम आगमनका लागि अनुमति दिन सकिने व्यवस्था उल्लेख छ ।

स्वास्थ्य सामग्री आपूर्ति गर्न र भीभीआईपी मुभमेन्टका लागि मात्र उडान अनुमति दिन सकिने व्यवस्था रहेको छ भने स्वास्थ्य सामग्री आपूर्ति, सुरक्षा आपतकालीन र भीभीआईपी मुभमेन्टका लागि आन्तरिक उडान गर्न सकिने उल्लेख छ ।

औषधि उत्पादन, अक्सिजन प्लान्ट, अत्यावश्यक खाद्य सामग्री, इन्धन व्यवसाय तथा क्लोज क्याम्पसहितका तोकिएका स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने उत्पादनमूलक उद्योग सञ्चालन गर्न सकिने कार्यविधिमा समावेश गरिएको छ ।

हलुका सवारी साधन प्रयोग गरी दैनिक उपभोग्य वस्तुहरु रजिष्टर्ड अनलाइन सपिङमार्फत होम डेलिभरी सेवाको व्यवस्था गर्न सकिने छ ।

यस्तै कृषि उत्पादन क्षेत्रमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खुला स्थानमा अत्यावश्यक कार्यहरु गर्न सकिने उल्लेख छ ।

यस्तै होटल तथा रेस्टुरेन्टहरुमा तोकिए बमोजिम क्वारेन्टिन र आइसोलेसन सेवा सञ्चालन गर्न सकिने कार्यविधिमा समेटिएको छ भने निजी निवास परिसरभित्र खेलकुद तथा व्यायाम सञ्चालन गर्न सकिने छ ।

यसैगरी मनोरञ्जनको क्षेत्र भर्चुअल माध्यमबाट सञ्चालन गर्न पाइने, एकाघरमा मात्र घरायसी भेटघाट एवं जमघट गर्न पाइने उल्लेख छ ।

विकास निर्माणका क्षेत्र अन्तर्गत कर्मचारी तथा कामदारहरु क्लोज क्याम्पमा राखी राष्ट्रिय गौरवका आयोजनाहरु सञ्चालन गर्न पाइने उल्लेख छ ।

यो लकडाउनको समयमा हाजबजार सञ्चाल र सभा, जुलुस, प्रदर्शन गर्न निषेध गरिएको कार्यविधिमा समावेश गरिएको छ ।

कस्तो अवस्थामा मिक्स लकडाउन गर्ने ?

कार्यविधि अनुसार जोखिमको संकेत गाडा पहेंलो -एम्बर) भएको अवस्थालाई मिक्स लकडाउन भनिएको छ ।

जोखिमको स्तर उच्च, संक्रमणको स्तर उल्लेख्य, लकडाउनमा अपनाइने रणनीति नियन्त्रणमुखी र मापदण्ड पालना इन्टरमेडियटको अवस्थामा मिक्स लकडाउन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

मिक्स लकडाउनमा खुला रहने क्षेत्र र क्रियाकलापहरु

स्वास्थ्य सेवा क्षेत्रअन्तर्गत दीर्घरोगीका लागि बहिरंग सेवा सञ्चालन गर्न पाइने छ भने कर्मचारी संख्या एक तिहाइ नबढ्ने गरी कार्यालयहरु खोल्न पाइने छ ।

यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै शैक्षिक संस्थामा प्रशासनिक कार्य मात्र गर्न पाइने उल्लेख छ । बैंक, वित्तीय संस्था, अन्य सरकारी कार्यालय र अनलाइन होम डेलिभरी सेवाका कर्मचारीहरु आउजाउ गर्न पाउने छन् ।

यस्तै निर्माण सामग्री, पुस्तक तथा स्टेशनरी, मेकानिकल, इलेक्ट्रोनिक, इलेक्ट्रिकल सामानहरु बिक्री गर्ने पसल तथा स्टोरहरु खोल्न पाइने छ । अत्यावश्यक अवस्थामा पाससहितका सवारी साधन पनि सञ्चालन गर्न पाइने कार्यविधिमा समावेश गरिएको छ ।

यसैगरी निर्माण तथा उत्पादनसँग सम्बन्धित अति आवश्यक सामग्री ढुवानी एवं आपूर्ति गर्न पाइने छ । मठमन्दिर, मस्जिद, चर्च र गुम्बामा हुने धार्मिक पूजाआजा र कार्यक्रम नित्य पूजाको रुपमा मात्र गर्न पाइने छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै अन्तिम संस्कार र विवाह, ब्रतबन्ध लगायतका सामाजिक परम्परा र रीतिरिवाजका कार्यक्रममा २० जना नबढ्ने गरी गर्न पाइने छ ।

स्वास्थ्य उपचार तथा अत्यावश्यक कार्यका लागि तोकिएको कार्यदिशा बमोजिम पैदल मार्गमार्फत नेपाल आवागमन अनुमति दिन सकिने छ । साथै निर्माण सामग्री पनि आयात गर्न सकिने छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी चार्टर उडान (तोकिएको कार्यादिशा बमोजिम) मार्फत नेपाल प्रवेश गर्न सकिने छ भने आन्तरिक रुपमा चार्टर उडान पनि गर्न सकिने छ ।

यस्तै मेकानिकल, इलेक्ट्रोनिक, इलेक्ट्रिकल सेवा प्रदायक व्यवसाय तथा उद्योग सञ्चालन गर्न सकिने छ । स्टेशनरी, पाठ्य सामग्री रजिष्टर्ड अनलाइन सपिङको होम डेलिभरीमार्फत गर्न सकिने उल्लेख छ ।

कृषि उत्पादन क्षेत्रमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी स-साना समूहमा कार्य गर्न सकिने कार्यविधिमा समेटिएको छ । होटल तथा रेस्टुरेन्टहरुमा अनलाइन/होमडेलिभरीमार्फत सेवा सञ्चालन गर्न सकिने छ ।

खुला स्थानमा स्वास्थ्य मापदण्ड अपनाएर बिहान ५-८ बजेसम्म र बेलुकी ५-७ बजेसम्म व्यायाम, प्रात/सन्ध्या हिँडडुल (मर्निङ वाक र इभिनिङ वाक) गर्न पाइने छ । मनोरञ्जनको क्षेत्र भर्चुअल माध्यमबाट सञ्चालन गर्न पाइने छ

एकाघरमा मात्र घरायसी भेटघाट एवं जमघट गर्न सकिने छ ।

विकास निर्माणका क्षेत्रमा कर्मचारी तथा कामदारहरु क्लोज क्याम्पमा राखी योजना/आयोजनाहरु सञ्चालन गर्न सकिने छ ।

स्वास्थ्य मापदण्डको पालना गर्दै ५ जना नबढाई सभा, जुलुस, प्रदर्शन गर्न सकिने छ । तर हाटबजार सञ्चालमा भने निषेध गरिएको छ ।

कस्तो अवस्थामा सफ्ट लकडाउन गर्ने ?

कार्यविधि अनुसार जोखिमको संकेत पहेंलो -एल्लो) भएको अवस्थालाई सफ्ट लकडाउन भनिएको छ ।

यो लकडाउन गर्नुपर्ने अवस्थामा संक्रमणको जोखिम स्तर मध्यम, संक्रमणको स्तर मध्यम, लकडाउनमा अपनाइने रणनीति संरक्षण र मापदण्ड पालना कडाइको अवस्थामा सफ्ट लकडाउन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

सफ्ट लकडाउनमा खुला रहने क्षेत्र र क्रियाकलापहरु

यो लकडाउनको अवस्थामा स्वास्थ्य सेवा क्षेत्रअन्तर्गत सबै बहिरंग सेवा सञ्चालन गर्न सकिने छ ।
कर्मचारी संख्या दुई तिहाइमा नबढ्ने गरी कार्यालयहरु खोल्न पाइने छ । स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्दै २५ जनामा नबढाई सम्मेलन, सेमिनार र गोष्ठी गर्न सकिने छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन तथा सम्बन्धित कक्षाको कूल क्षमताको ३३ प्रतिशत नबढ्ने गरी आलोपालो समेतको उपयुक्त वैकल्पिक विधि अपनाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सकिने छ । तर कक्षा सन्चालनका लागि स्थानीय तहको सिफारिसमा डीसीएमसीले स्वीकृति दिएको हुनुपर्ने छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै काम विशेषको लागि भीडभाड नगरी आवागमन गर्न दिइने छ । लत्ता कपडा, भाँडाकुँडा, फर्निचर, फर्निसिङ तथा फिक्सर्ससम्बन्धी स्टोरहरु, ठेलागाडा, साइकल र फुटपाथमा सञ्चालन हुने पसलहरु सञ्चालन गर्न सकिने छ ।

सिट ५० प्रतिशत क्षमता बोकी सार्वजनिक सवारी साधन, निजी सवारी साधन सञ्चालन गर्न सकिने छ व्यापारिक प्रयोजनका आवश्यक सामग्री ढुवानी एवं आपूर्ति गर्न सकिने छ ।

स्वास्थ्य मापदण्डको पालना गर्दै भीडभाड नहुने गरी मठमन्दिर, मस्जिद, चर्च र गुम्बामा हुने धार्मिक पूजाआजा र कार्यक्रम गर्न पाइने उल्लेख छ ।

जात्रा, महोत्वस, भोजभतेरबाहेक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै भीडभाड नहुने गरी सामाजिक रीतिरिवाजका कार्यक्रम गर्न सकिने छ ।

अति आवश्यक व्यापारिक तथा दैनिक कामकाजका लागि पैदल मार्गमार्फत नेपाल आवागमन अनुमति दिन सकिने छ भने तोकिएको कार्यादिशा बमोजिम थप उडानहरु सुचारु गर्न सकिने उल्लेख छ ।

आन्तरिक रुपमा तोकिए बमोजिम सीमित व्यापारिक उडानहरु गर्न सकिने छ भने स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खनिजजन्य, उत्पादनजन्य, निर्माणजन्य उद्योग व्यवसाय र कवाडी व्यवसाय सञ्चालन गर्न पाइने छ ।

यस्तै लत्ताकपडा, गिफ्ट आइटमका वस्तुहरु रजिष्टर्ड अनलाइन सपिङको होम डेलिभरीमार्फत गर्न सकिने छ भने कृषि उत्पादन क्षेत्रमा २५ जना नबढ्ने गरी कार्यहरु सञ्चालन गर्न सकिने छ ।
होटल तथा रेस्टुरेन्टहरुमा ‘टेक-अवे’ सेवा सञ्चालन गर्न सकिने उल्लेख छ भने दर्शकबाहेक क्लोज क्याम्पमा गरिने खेलकुद सञ्चालन गर्न सकिने छ ।

२० जना नबढ्ने गरी सानो जमघट, पिकनिक, चिडियाघर, म्यूजियम, पार्क, ट्रेकिङ, भ्रमण गर्न पाइने समावेश गरिएको छ भने १० जना नबढ्ने गरी घरायसी भेटघाट एवं जमघट गर्न पाइने छ ।
स्वास्थ्य मापदण्डको पालना गर्दै ५० प्रतिशत क्षमतामा मात्रै हाजबजार सञ्चालन गर्न पाइने उल्लेख छ भने विकास निर्माणका क्षेत्रमा स्वास्थ्य मापदण्डको पालना गर्दै केन्द्रीय, प्रादेशिक, स्थानीय तह र निजी तवरमा सम्पन्न हुने निर्माणका कार्यहरु सञ्चालन गर्न पाइने छ ।

स्वास्थ्य मापदण्डको पालना गर्दै २५ जना नबढाई सभा, जुलुस, प्रदर्शन गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

कस्तो अवस्थामा मिनिमल लकडाउन गर्ने ?

कार्यविधि अनुसार जोखिमको संकेत हरियो (ग्रीन) भएको अवस्थालाई मिनिमल लकडाउन भनिएको छ ।

यो लकडाउन गर्नुपर्ने अवस्थामा संक्रमणको जोखिमस्तर न्यून, संक्रमणको स्तर न्यून, लकडाउनमा अपनाइने रणनीति रोकथाम र मापदण्ड पालना स्तरीयको अवस्थामा मिनिमल लकडाउन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

मिनिमल लकडाउनमा खुला रहने क्षेत्र र क्रियाकलापहरु

स्वास्थ्य सेवा क्षेत्रका सबै सेवा पूर्ण रुपमा सञ्चालन गर्न र कार्यालयहरु पूर्ण रुपमा खोल्न पाइने छ ।

स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्दै भौतिक उपस्थितिमा सम्मेलन, सेमिनार गोष्ठी गर्न पाइने छ भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्न पाइने उल्लेख छ ।

व्यापारिक मल लगायत सबै प्रकारका स्टोरहरु सञ्चालन गर्न पाइने छ भने सिट क्षमताभन्दा नबढ्ने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी मठमन्दिर, मस्जिद, चर्च र गुम्बामा हुने धार्मिक पूजाआजा र कार्यक्रम गर्न पाइने छ भने जात्रा, महोत्सव, भोजभतेरबाहेक भीडभाड नहुने गरी सामाजिक रीतिरिवाजका कार्यक्रम गर्न पाइने छ ।

पर्यटकीय गतिविधिलगायत अन्य दैनिक आवतजावत सहज गरी पैदल मार्गमार्फत नेपाल प्रवेशमा अनुमति दिन सकिने छ भने तोकिएको कार्यादिशा बमोजिम नियमित उडानहरु सुचारु गर्न सकिने उल्लेख छ ।

आन्तरिक रुपमा सबै व्यापारिक उडानहरु गर्न पाइने छ भने स्वास्थ्य मापदण्डको पालना गरी सम्पूर्ण उद्योग व्यवसाय सञ्चालन गर्न सकिने छ ।

स्वास्थ्य मापदण्ड पालना गर्दै कृषिसम्बन्धी सम्पूर्ण कार्यहरु सञ्चालन गर्न सकिने छ । होटल तथा रेस्टुरेन्टहरु पनि सञ्चालन गर्न सकिने छ ।

जिमखाना, हेल्थ क्लब लगायतका व्यायाम र दर्शक सहित खेलकुद सञ्चालन गर्न पाइने छ । सिनेमा हल, मेला, फनपार्क जस्ता मनोरञ्जन सेवा बाहेकका अन्य मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्न सकिने छ ।

स्वास्थ्य मापदण्डको पालना गर्दै सानो समूहमा घरायसी भेटघाट एवं जमघट गर्न सकिने छ भने हाटबजार पनि सञ्चालन गर्न पाइने छ ।

विकास निर्माणका क्षेत्रमा स्वास्थ्य मापदण्डको पालना गर्दै सम्पूर्ण निर्माणका कार्यहरु सञ्चालन गर्न पाइने छ भने सभा, जुलुस र प्रदर्शन गर्न पनि सकिने छ ।

हेर्नुहोस् कार्यविधिको पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment