+
+
चिनीमा खेलोफड्को :

सहुलियतको चिनी आयातको फाइल अर्थमा अड्कियो, प्रतिकिलो २० रुपैयाँ महँगो मूल्य तिर्दै उपभोक्ता

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ भदौ ४ गते ७:४१

४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा गत वैशाख पहिलो सातासम्म चिनीको खुद्रा मूल्य प्रतिकिलो अधिकतम् ७५ रुपैयाँ थियो । सरकारले दिएको सहुलियतका कारण साल्ट ट्रेडिङ कर्पोरेसनले त प्रतिकिलो ७३ रुपैयाँमै उपभोक्तालाई चिनी बिक्री गरेको थियो । वाणिज्य विभागको तथ्यांकअनुसार पनि चिनीको खुद्रा मूल्य वैशाख ११ गते ७५ रुपैयाँ नै देखिन्थ्यो ।

तर, वैशाख ११ पछिको झण्डै चार महिनामा चिनीको मूल्य नेपाली खुद्रा बजारमा ९० देखि ९५ रुपैयाँ पुगेको छ । दैनिक उपभोग्य वस्तु चिनीको मूल्य नजानिदो तरिकाले चार महिनामा किलोमा २० रुपैयाँले बृद्धि गरिएको छ । केही सीमित व्यापारी पोस्न अर्थ मन्त्रालयले सरकारी भन्सार सहुलियतको चिनी आयातमा गरिदिएको ढिलाइको मारमा उपभोक्ता परेका छन् ।

सरकारी चिनी सकिएकै भोलिपल्ट तीन रुपैयाँ वृद्धि

चिनीको मूल्यबारे बजार निरीक्षण गरिरहेका वाणिज्य विभागका एक अधिकारीका अनुसार वैशाख ११ र १२ गते काठमाडौंको बजारमा चिनीको उपभोक्ता मूल्य एक दिनमै तीन रुपैयाँ फरक देखियो ।

‘वैशाख ११ गते किलोको ७५ रुपैयाँमा बिक्री भइरहेको चिनी १२ गतेदेखि ७८ रुपैयाँ भन्न थालियो । यसको प्रमुख कारण थियो सरकारले भन्सार सहुलियतमा खरिद गरेको चिनी सकिएको जानकारी साल्टले सार्वजनिक गर्नु,’ ती अधिकारीले भने । चिनीको बजार मूल्यलाई हस्तक्षेप गर्ने अवस्था सकिएसँगै चिनीमा निजी क्षेत्रले मनपरी मूल्य तोकेको विभागको बुझाइ छ ।

सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख ९ मा अर्थलाई पत्र लेखेपछि ११ वैशाखमा साल्टले आफ्नो मौज्दात सकिएको जनाएको थियो ।

साल्टले सहुलियत सहित ७३ र खुद्रामा ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको चिनीको मौज्दात सकिएको जानकारी दिने बितिक्कै नेपाली चिनी उत्पादकहरुले बजारमा एकाधिकार जमाएको उनले बताए । त्यसयता किलोमा एक/दुई/तीन रुपैयाँ गर्दै चिनीको भाउ ९५ रुपैयाँ पुर्याइएको वाणिज्यका अधिकारीहरु बताउँछन् ।

मूल्य बढाउनेलाई राजनीतिक संरक्षण

चिनीको मूल्य बढाइएको बारे लिखित र मौखिक थुप्रै उजुरी परेपछि मूल्य बढ्नुको कारणबारे विभागले नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाललाई लिखित पत्र काट्यो ।

एउटै पत्रमा विभागमा हाजिर नभएका अग्रवाल विभागको ताकेतापछि आए । तर उनी फर्किएलगत्तै चिनीको मूल्यबारेको कारबाही रोक्न वाणिज्य मन्त्रालयमा सरकारकै माथिल्लो निकायबाट मौखिक निर्देशन भएको एक अधिकारीले बताए ।

अर्थ मन्त्रालयबाट स्वीकृतिपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउँछ र चिनी आयातको बाटो खुल्छ । ठेक्का प्रक्रियाबाट चिनी आउन कम्तीमा ४५ दिन लाग्ने भएकाले त्यतिबेलासम्म दशैं शुरू भइसक्छ

‘फलानो मान्छेलाई विभागले पत्र काटेको रहेछ, अहिलेलाई थप अघि नबढ्न भन्नुहोला,’ विभागको कारबाही रोक्न तत्कालीन ओली सरकारको उच्च तहको व्यक्तिको भनाइ उद्धृत गर्दै मन्त्रालयका एक अधिकारीले भने ।

चिनीको मूल्य बढ्नुको कारण चिनी मौज्दातमा लागेको खर्च भएको भन्ने व्यवसायीको तर्क रहेपनि त्योभन्दा पनि माथि उठेर सरकारले नै अनुगमन नगर्न भनेको मन्त्रालयका अधिकारीको दाबी छ ।

वैशाख तेस्रो साताको उक्त घटनायता वाणिज्य विभागले चिनीबारे अनुगमन र कुनै कारबाही गरेको रिपोर्ट जानकारीमा नआएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

चिनी उद्योगीलाई चार महिनासम्म अर्थको साथ  

चिनीको मूल्य वृद्धि विरुद्धको अनुगमन रोकेको सरकारले अर्थ मन्त्रालयमा चार महिना फाइल अड्काएर चिनी माफियालाई फेरि साथ दियो ।

साल्ट ट्रेडिङ कर्पोरेसनमा बैशाख ११ मा सहुलियतको चिनी सकिएको थियो । त्यसको दुई दिन अघि ९ वैशाखमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३० हजार मेट्रिकटन चिनी आयातका लागि अर्थसँग अनुमति माग्यो तर भदौ पहिलो सातासम्म अर्थले चिनी आयातका लागि सहमति दिएको छैन ।

झण्डै चार महिनादेखि सहुलियतको चिनी आयातको फाइल अर्थमा अड्किएको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । ‘हामीले वैशाख ९ मा पठाएका हौं चिनी धेरै खपत हुने चाडपर्व पनि आउन लागिसक्यो तर अर्थबाट सहमति आएको छैन,’ सहायक प्रवक्ता केसीले भनिन् ।

अर्थबाट स्वीकृतिपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्ने र बल्ल चिनी आयातको बाटो खुल्ने उनले बताइन् । ठेक्का प्रक्रियाबाट चिनी आउन कम्तीमा ४५ दिन लाग्ने र त्यतिबेलासम्म दशैं शुरु हुने मन्त्रालयले जनाएको छ ।

गत वर्षकै समस्या दोहोरियो

आर्थिक वर्ष ०७७/७८ मा पनि अर्थ मन्त्रालयले चिनीमा यस्तै झेल गरेको थियो । सहुलियतको चिनी खरिद गर्ने वाणिज्यको प्रस्ताव लामो समय अर्थले थन्क्याएपछि बजारमा चिनीको भाउ एक सय रुपैयाँ प्रतिकिलो पुगेको थियो । मूल्य बढेसँगै उक्त आर्थक वर्षको दुई महिनामा चिनीको अस्वाभाविक आयात चुलिएको थियो ।

उक्त आर्थिक वर्षको साउन र भदौमा मात्रै पाँच करोड ५ लाख १० हजार ७७ किलो चिनी नेपाल भित्रिएको छ । जबकी अघिल्लो वर्ष सोही समयमा एक लाख ६८ हजार किलो मात्रै चिनी आयात भएको थियो । बजारमा चिनी नभएको मौका पारेर झण्डै चार महिनालाई पुग्ने चिनी व्यापारीले गत वर्ष दुई महिनामै भित्र्याएका थिए ।

५ अर्बको खेलो फड्को

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको विवरणअनुसार नेपालमा वार्षिक दुई लाख ५० हजार मेट्रिकटन चिनी खपत हुन्छ । नेपाल चिनी उद्योग संघका अनुसार नेपालमा वार्षिक १२ उद्योगबाट ८० हजार मेट्रिकटन मात्रै चिनी उत्पादन हुन्छ ।

वाणिज्य मन्त्रालय स्रोतका अनुसार चिनीको आयात र उत्पादनमा सीमित समूह मात्रै रहेकाले एक किलोमा एक रुपैयाँ मात्रै चलखेल गर्दा पनि त्यो रकम २५ करोड हुन्छ । तर किलोमै २० रुपैयाँले मूल्य बढाइदिंदा व्यापारीले चिनीमा ५ अर्ब हाराहारीको कमाइ सुनिश्चित गर्छन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?