+
+
विचार :

‘अब माधव नेपालसँग एकताको सम्भावना छैन’

'प्रचण्डले एमाले फुटाउने नेतृत्व गरे'

पृथ्वीसुब्बा गुरुङ पृथ्वीसुब्बा गुरुङ
२०७८ भदौ ७ गते १२:२३

एमालेको विभाजन भयो भनेर हल्लाखल्ला गर्नुको कुनै औचित्य छैन । एमाले विभाजन भएको होइन, चोइटिएको हो । तर, गर्न खोजेको विभाजनै हो, विपक्षी गठबन्धनले, कांग्रेस, प्रचण्डले । एमाले विभाजन भयो भनेर जनतासामु देखाउन खोजिएकै हो । तर, उनीहरुको अपेक्षा पूरा हुन पाएन । एमाले विभाजन भएन, चोइटियो मात्र । माओवादीका अध्यक्ष प्रचण्डले एमाले फुटाउने नेतृत्व गरे । प्रचण्डले जुन उद्देश्यले एमाले विभाजन चाहनुभएको थियो, त्यो चाहिँ पूरा हुने अवस्था देखिएन ।

अब नेकपा एमाले एक ढिक्का भएर अगाडि बढ्छ । विधान महाधिवेशनको तयारी गर्दैछौं । ५/७ वर्षपछि पार्टी नवीकरणको अभियान सम्पन्न गर्ने चरणमा छौं । लगत्तै मंसिरभित्र पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न हुन्छ । त्यसपछि वायुपंखी घोडाको वेगमा चुनावको तयारीमा लाग्छौं ।

अब तत्काल एकता हुँदैन

दोस्रो तहका नेताहरूले एकता भनेको पनि सुनिरहेको छु, किन त्यसो भनिरहनुभएको छ थाहा छैन । एकता अब तत्काललाई सम्भावना देखिँदैन । किनकि एकता त भइसकेको थियो नि ! तत्काल एकताको कुनै सम्भावना छैन । उहाँहरूको तागतले मात्र एमाले विभाजित भएको होइन, ठूलो शक्ति लागेको हो । तर, केही समयपछि एकताको सम्भावना रहन सक्छ । पहिले पनि ३/४ वर्षपछि एकता भएको हो ।

माधव नेपाल लामो समय एमालेको नेतृत्वमा रहनुभएको मान्छे हो । नेतृत्वमा नरहँदा पनि दोस्रो, तेस्रो भूमिकामा रहेर पार्टीको काम गरेको मान्छे हो । पार्टीमा जहिले पनि मूल धार र मुख्य भूमिकामा रहेर उहाँले काम गर्नुभएको हो । आज यो अवस्था किन पुग्नुभयो ? कसरी पुर्‍याइयो ? हामीले समीक्षा गर्ने, अनुसन्धान गर्ने त भनेकै थियौं । पार्टीको महाधिवेशनमा पराजित भइसकेको मान्छेलाई एउटा अध्यक्ष बनाउने भनेकै थियौं । तर, त्यसमा पनि उहाँहरू तयार हुनुभएन । र, त्यसमा पनि विभाजन गर्ने शक्ति सानो थिएन, ठूलो शक्तिको ठूलो डिजाइन थियो । त्यसले नै प्रभावित गरेको हो भन्ने लाग्छ । समयक्रममा साथीहरूले गल्तीको महसुस गर्नुहोला । पार्टी व्यवस्थापनमा के कमजोरी भयो, हामीले पनि छलफल गरिरहेकै छौं ।

बराबरी अध्यक्ष खोज्दा समस्या

मैले नै हो पहिलो पटक माधव नेपालजीलाई ‘पावर सेयरिङ’ गरौं र अर्को अध्यक्ष दिएर भएपछि पार्टी एकता जोगाऔं भनेर भनेको । यो विषयमा पार्टी बाहिर एकदमै समर्थन र भित्र चाहिँ संस्थापन पक्षमा केही विरोध थियो । त्यसकाबीच पनि त्यही ठाउँमा पुग्नुपर्ने अवस्थामा आउनुभयो, नेताहरू । हामीले पनि केपी ओलीलाई कन्भिन्स गर्‍यौं र पार्टी एकता हुन्छ भने हुन्छ नि त भनेर ओलीले पनि भन्नुभयो । पार्टीको हित हुन्छ भने हुन्छ नि त दुई अध्यक्ष भएर चलाउने भनेर ओलीले भन्नुभयो ।

दुई अध्यक्षको प्रस्ताव लिएर सुवास र विष्णु कमरेड जानुभयो । नेपालजीले म तिमीहरूको अध्यक्ष बन्दिनँ भन्नुभयो । बरु झलनाथलाई बनाउनुस् न भन्नुभयो । त्यसले फेरि संस्थापनमा समस्या भयो । दिनै नपर्ने ठाउँमा दिने कुरा गर्दा पनि माधवजीले एकता चाहनुभएन भन्ने भयो । फेरि पनि ओलीले दोस्रो अध्यक्ष बन्न सन्देश पठाउनुभयो तर उत्तर आएन । पछाडि एउटा हल्ला आयो, बराबरीको अध्यक्ष भएमात्र हुने । बराबरी अध्यक्ष भनेको माधवजीको व्याख्यामा अध्यक्षता पनि सँगै गर्ने, आन्तरिक पार्टी निर्देशन जारी गर्दा पनि दुबै अध्यक्षले हस्ताक्षर गर्ने, उम्मेदवार छान्दा पनि दुबैले हस्ताक्षर गर्ने भनेर आयो । त्यो अलि असम्भव कुरा थियो । एकता नचाहने शक्तिले उद्वेलित बनाए भन्छु म ।

फेरि कार्यदलका साथीहरू गएर भन्नुभयो- हामीले संस्थागत निर्णय गरेर जाने भन्ने कुरा छ, संस्थागत निर्णय नहुँदासम्म बाहिर बाहिर भोट हाल्ने कुरा आउँदैन भनेर भीम रावलले प्रस्ताव गर्नुभयो । माधव नेपालले ‘म हाल्छु’ भनेर भन्नुभयो । त्यहीँबाट भीम रावल, कार्यदलका साथीहरूबीच विवाद सुरु भयो । उहाँहरूकै सल्लाहमा कार्यदल बनेको, उहाँहरूकै सल्लाहमा १० बुँदे सहमति भएको हो । एउटा अध्यक्ष र केन्द्रीय समितिले पनि त्यसलाई स्वीकारेर स्वामित्व लियो । तर, माधव नेपालले १० बुँदेमा मेरो सहमति छैन भन्नुभयो । यसरी एकपछि अर्को परिस्थिति बिगि्रएर एमाले चोइटिने ठाउँमा पुगेको हो ।

दोस्रो पुस्ताको दुःख

अहिले दोस्रो तहका नेताले फेरि १० बुँदे सहमतिमाथि शंका गरिरहनुभएको छ । बाहिर बसेर प्रश्न गरिरहनुभएको छ । बाहिर बसेर अल्टिमेटम दिइराख्ने होइन । उहाँहरूले त अहिले पनि एमालेकै हो । आन्तरिक अन्तरसंघर्ष पो एउटा कुरा थियो त । अन्तरसंघर्ष त भोलि पनि हुन सक्छ । तर, अब पार्टीभित्र दुई धार भन्ने, यो समूह, त्यो समूह भन्ने अब बाँकी रहँदैन । केपी ओली पक्षको वा पुरानो माधवकुमार नेपाल पक्ष रहँदैन ।

पार्टीको एकता नयाँ शिराबाट सुरु हुन्छ । १० बुँदे सहमति कार्यान्वयन गर्न त दोस्रो पुस्ताका भनिएका साथीहरू पनि आउनुपर्‍यो । अध्यक्षलाई बैठक बोलाउन भनेकै छौं । बैठकमा १० बुँदे सहमतिको कार्यान्वयन कसरी गर्ने भन्ने तहमा जाने भन्ने छ । तर, पाखा पाखा बसेर अल्टिमेटम दिएर परिस्थिति राम्रो गरेको छैन । माधव नेपालहरू तथा चोइटिएर गएकालाई उत्साहित बनाउने र पार्टी पंक्तिलाई सेन्सरमा राख्ने कुरा उहाँहरूले गरिरहनुभएको छ । उहाँहरू संस्थापनलाई अल्टिमेटम लिने र माधवजीहरूलाई उत्साहित बनाउने काम गर्दै हुनुहुन्छ । अब पनि सधैं गुटकै खेल गरेर बस्नुभएन । ओलीले पनि गर्नुभएन ।

१० बुँदेको कार्यान्वयनका सन्दर्भमा धेरै शंका गरेरमात्र हुँदैन । अध्यक्ष ओलीले अपनत्व लिनुभएकै छ । त्यसको पालाना हुनुपर्छ हामी पनि भनिरहेकै छौं । उहाँहरूको समूहको एक पक्षीय बैठकले कार्यान्वयन गर्ने निर्णय पनि गर्नुभएकै छ । केपी ओलीप्रति शंका गर्नुपर्ने अब चाहिँगत हिसाबले ठाउँ छैन । अझैं धेरै शंका छ भने केपी ओलीले पनि एउटा काम गरिदिनुपर्छ, उहाँहरूलाई बोलाएर अनौपचारिक छलफल गर्ने, यसरी जाने भन्ने र लगत्तै स्थायी कमिटीको बैठक बसेर अनुमोदन गरेर जाँदा सजिलो बाटो हुन्छ । ओलीले पनि यो काम गर्नुपर्छ । उहाँहरू पनि खुरुक्क पार्टीमा आएर काम गर्नुपर्छ ।

ढुलमुले वामदेव

वामदेव गौतमजीको भूमिका यतिबेला फेरि अस्पस्ट देखिएको छ । कहिले पोजेटिभ, कहिले नेगेभिट । कहिले पार्टीमा आउने र बैठकमा भाग लिने, कहिले माधवलाई साथ दिन्छु भन्ने । वामदेवजी ढुलमुले नबन्नुस्, एमालेमा लाग्नुस् । उहाँले बल पनि दिनुभएको हो, संसदको २० प्रतिशत पुर्‍याउन । तर, संसदको २० प्रतिशत पुग्ने परिस्थिति बनेन । त्यसकारण २०३ जना केन्द्रीय सदस्यमा ४०/५० जना उहाँहरूले बनाउनुभयो । त्यसमा पनि केहीले अस्वीकार गर्नुभयो । हामीलाई थाहै नदिई नाम राख्यो भन्ने पनि छ । समयक्रममा माधव नेपालको पार्टीमा केन्द्रीय सदस्य २० प्रतिशतबाट पनि तल झर्ने देखिन्छ । १० बुँदे कार्यान्वयन हुन्छ । अब दोस्रो पुस्ताले ओलीमाथि शंका नगर्नुस्, वामदेवजी ढुलमुल नगर्नुस् ।

माधवकै कारण एमालेमा मेलम्ची पस्यो

एमालेको घरमा मेलम्ची कसको कारणले पसेको रहेछ थाहा पाइहालियो । अर्को अध्यक्ष दिँदा पनि माधव नेपालजीलाई एमालेमा राख्ने स्थिति बनेन । उहाँकै कारण आज विभिन्न शक्ति खेल्ने र भत्काउने गरी एमालेभित्र मेलम्ची पसेको हो नि । यो त विभिन्न डिजाइनअन्तर्गत भएको छ भन्ने हामीले बुझ्नुपर्‍यो नि । वास्तवमा भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डेहरूले पनि भनिरहनुभएको छ, यो पार्टी विभाजन गर्न अन्तरसंघर्ष गरेको होइन । युवराज ज्ञवालीले त माधव नेपाललाई अझै प्रस्ट भन्नुभएको छ- ‘तपाईं केपी ओलीका लागि लागेको कि नेकपा एमालेका लागि ? केपी ओलीले निहुँ खोज्यो भनेर पार्टीबाट निस्कनु सोह्रै आना गलत हो ।’

आन्दोलनमा फरक मत हुन्छ, पार्टीभित्र अन्तरसंघर्ष गरेका हौं । अन्तरसंघर्षको कुरा नवौं महाधिवेशनदेखि अहिलेसम्म चलाउँदै आयौं । त्यसको अर्थ पार्टी फुट्नुपर्छ, फुटाउनुपर्छ भन्ने होइन भनेर माधव समूहकै नेताहरूले भनिरहनुभएको छ । आजको मुख्य कुरा के हो भने, पार्टी एकीकृत गर्नुपर्छ, अब संघर्षलाई समझदारीका रूपमा अगाडि बढाएर काम गर्नुपर्छ भन्ने नै हो नि । १० बुँदेलाई कार्यान्वयन गर्दै जानुको विकल्प छैन, आम कार्यकर्ताको भावना पनि त्यही हो ।

स्थानीय तहका प्रमुखहरू यतै छन्, पोलिटब्युरो, केन्द्रीय सदस्य भन्नेहरू अधिकांश संस्थापनमै छन् । सार रूपमा पार्टी फुटेन नि चोइटियोमात्रै ।

सबै दोष ओलीको मात्र होइन

पार्टीमा विवाद सुरु हुनु, प्रदेश सरकारहरू ढल्नु र एमाले चोइटिनुलाई ओलीको मात्रै दोष हो भन्न र पार्न खोजिँदै छ । नेपालमा डिजाइनकर्ताले ओलीकै दम्भका कारण प्रदेश सरकार ढल्यो, आˆनै सरकार ढल्यो भन्ने पार्न खोजिरहेका छन् । प्रचण्ड, उपेन्द्र यादव, बाबुराम भट्टराई, शेरबहादुर देउवा, रामचन्द्र पौडेल जसरी पनि एमाले भत्काउन चाहन्थे र सरकार ढलाउन चाहन्थे । गण्डकी, लुम्बिनीको सरकार ढल्नु, कर्णालीको हेरफेर हुनु, प्रदेश १ र बागमतीमा अविश्वासको प्रस्ताव आएको त ओलीका कारण भन्दा पनि विपक्षीको कारण हो ।

प्रचण्डजी, माधवजीहरू जसरी पनि पार्टीलाई विभाजन गर्न र कमजोर बनाउन चाहनुहुन्थ्यो । गण्डकीमा त सबै दल मेरो नेतृत्वको सरकारमा बस्न तयार नै थिए । माथिल्लो गठबन्धनका कारणले तल पनि गठबन्धन बन्यो । माधवकुमार नेपालले एकजना साथीलाई राजीनामा दिन दबाब पनि दिनुभयो तर उहाँले दिनुभएन । एउटा पक्ष जसरी पनि भत्काउनै खोज्ने अनि दोष केपीलाई लगाएर हुँदैन ।

बरु पार्टीभित्रै विवादमा, माधव र प्रचण्डजीहरूले असन्तुष्टि देखाउन थाले, अर्को हेडक्वाटर खडा गरेर चल्न थाले, त्यो बेला चाहिँ पार्टीले छलफल चलाएर निश्कर्षमा पुग्नुपर्ने हो, केपी ओलीको भूमिका त्यहाँनेर थियो । केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि माधव, प्रचण्ड त्यसको विरुद्धमा लागे । व्यक्तिगत रूपमा संसद विघटन मलाई पनि ठिक लागेको थिएन । तर, संस्थाले निर्णय गरेको हुनाले मात्रै बचाउमा लागें ।

उहाँहरू लगातार संसद पुनर्स्थापनामा लाग्नुभयो र भयो पनि । संसद पुनस्र्थापना भएपछि पनि फेरि भत्काउनै खोज्न त जरुरी थिएन नि । त्यो त एउटा बहानामात्र थियो । उहाँहरू त पार्टी नै ध्वस्त पार्न लाग्नुभयो । संसद पुनस्र्थापना गर्न लागेको गठबन्धनको मुख्य लक्ष्य जसरी पनि केपी ओलीको सरकार ढलाउनै थियो । यो अभियानमा सबै शक्ति लागेका कारण आज यो अवस्था आएको हो । यो अवस्थासम्म आइपुग्न पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत भएकाले ओलीको पनि भूमिका त होला तर मुख्य रूपमा पार्टी टुक्र्याउने र त्यो त्यसको दोष ओलीलाई लगाउने अभियानै चलेको हो ।

(नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरूङसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?