+
+

सुस्ताएको हास्यव्यंग्य साहित्य

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ भदौ ७ गते १९:४५

७ भदौ, काठमाडौं । व्यंग्यकार चट्याङमास्टर (कृष्णमुरारी गौतम) भन्छन्, ‘मानिसहरू अहिले संवेदनहीन छन् । यसैले हास्यव्यंग्य साहित्यमा उनीहरू रमाउन सकेका छैनन् ।’

उनको तर्क छ, सत्र हजार मान्छे मरेको भयंकर खबर पनि नेपाली समाजलाई सामान्य लाग्न थालेको छ । यस्तो अवस्थामा व्यंग्य साहित्यले मानिसहरूको हृदय छुन सकेको छैन । अखबारी व्यंग्य लेखनका चोटिला स्रष्टा हुन् चट्याङमास्टर । चार दशकदेखि हास्यव्यंग्य साहित्य लेखिरहेका उनी अहिले भने व्यंग्य लेखनमा उति सक्रिय छैनन् ।

‘अरुलाई गाली गरेर वा सरापेर व्यंग्य हुने हैन,’ उनी भन्छन्, ‘त्यो व्यंग्यमा फिट हुने गरी हास्य मिसाएर कलापूर्ण र सार्वकालिक बनाए मात्र उत्कृष्ट हास्यव्यंग्य रचना बन्छ ।’

सारमा भन्नुपर्दा वर्तमान समाजले हास्य साहित्यको खुराक रुचिपूर्वक ग्रहण गरिरहेको छैन । तर हास्यव्यंग्य साहित्य विधा नलेखिएका हुन् वा नपढिएका हुन् भन्ने कुरामा विरोधाभास छ ।

चल्तीका प्रकाशन गृहहरूको तथ्यांकअनुसार अहिले हास्यव्यंग्यको पुस्तक लेखिएकै छैनन् । फाइनप्रिन्ट, नेपालय, बुकहिल, सांग्रिला, शिखा बुक्सलगायतले हास्यव्यंग्य साहित्यका पुस्तक प्रकाशन गरेका छैनन् । विगतमा हास्यव्यंग्य प्रकाशन गर्दै आएका भुँडीपुराण र मञ्जरी प्रकाशनले पनि पछिल्लो दशकमा अत्यन्त न्यून पुस्तक निकालेका छन् ।

शिखा बुक्सका पुष्पराज पौडेलका अनुसार पाठकले कम पढ्ने विधा भएकाले प्रकाशन नगरिएको हो । अडियो–भिडियोको सहज उपलब्धताले गर्दा हास्यव्यंग्य पढ्ने क्रम घटेको उनी बताउँछन् ।

सारमा भन्नुपर्दा वर्तमान समाजले हास्य साहित्यको खुराक रुचिपूर्वक ग्रहण गरिरहेको छैन । तर हास्यव्यंग्य साहित्य विधा नलेखिएका हुन् वा नपढिएका हुन् भन्ने कुरामा विरोधाभास छ ।

यता सबैभन्दा नेपाली साहित्यको प्रभावशाली मानिने मदन पुरस्कारको तथ्याङ्कमा पनि व्यंग्य साहित्यको पुस्तक परेको छैन ।

वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे भने नेपाली हास्यव्यंग्य साहित्यको गति सुस्त हुन थालेको बताउँछन् । घिमिरेका अनुसार हास्य र व्यंग्यको चुस्त समायोजनबाट मात्र गहकिलो सिर्जना जन्मन्छ ।

यद्यपि अहिले क्षणिक रमाइलोका लागि गरिने क्रियाकलापले हास्यव्यंग्य साहित्यको स्थान लिने खतरा देखिएको बताउँदै घिमिरे भन्छन्, ‘नेपाली साहित्यको श्रीवृद्विमा व्यंग्यकारहरूको ठूलो योगदान छ तर अहिले हास्यव्यंग्य विधा नै सुकेर टाक्सिएको अवस्थामा छ ।’

घिमिरेका अनुसार युवापुस्ताले हास्यव्यंग्य साहित्य वा लेखको साटो स्ट्यान्डअप कमेडी, क्यारिकेचर, मिम्स्स (चित्र वा तस्वीरबाट गरिने रमाइलो) आदि माध्यमबाट व्यंग्य प्रस्तुत गर्न थालेको छ ।

अर्का हास्यव्यंग्यकार रामकुमार पाँडे २०५० को दशकपछिको हास्यव्यंग्यलाई पकायो, खायो तर भोक पूरै नमेटिने तयारी चाउचाउ मान्छन् । गहन चिन्तन गरेर कुनै वर्ग, जात, वर्ण वा आस्थामा चोट नपुग्ने गरी व्यंग्य लेख्नुपर्ने कुरामा पाँडे जोड दिन्छन् ।

‘गिरिजाप्रसाद कोइरालाको समयमा उनलाई गिज्याएर लेखेको कुरा अहिलेसम्म बाँच्दैन, उसको प्रवृत्तिमाथि गरेको हास्यव्यंग्य चाहिं शाश्वत साहित्य हुन्छ,’ पाँडे भन्छन्, ‘तर, गणतन्त्र नेपालको संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको युगमा पनि नेपाली हास्यव्यंग्य ख्याउटे बनेको देखिन्छ । समाज खुल्ला र उदार हुँदै जाँदासमेत नेपाली हास्यव्यंग्य फस्टाउन सकेन ।’

नयाँ पुस्ताले लेखनबाट भन्दा स्क्रिनबाटै हास्यव्यंग्य प्रस्तुत गर्न थालेकाले यो विधा केही सुस्त देखिएको बताउँछन् लक्ष्मण गाम्नागे । ‘सिस्नुपानी नेपाल’का संस्थापक रहेका गाम्नागेका अनुसार नयाँ पुस्तामा पठन–संस्कृति कम रहेकाले लेखनको रुपमा हास्यव्यंग्य कमजोर बनेको हो ।

उनी भन्छन्, ‘लेखिएका हास्यव्यंग्यमा पनि प्रवाह प्रभावशाली नहुँदा यो विधा आफ्नो इतिहासभन्दा कमजोर देखिएको हो ।’

हास्यव्यंग्यमा अखबारी लेखन र राजनीति हाबी भएको बताउँछन् व्यंग्यकार सुरेश किरण । उनका अनुसार तत्काल पाठकसमक्ष पुग्ने सजिलो माध्यम पत्रिका भएकाले धेरै व्यंग्यकारले नियमित रुपमा पत्रिका वा अनलाइनमा व्यंग्य लेख्ने गरेका छन् ।

‘हामीले धेरैजसो सिर्जना राजनीतिक विषयमा नै लेखेका हुन्छौं,’ किरण भन्छन्, ‘यथार्थमै राजनीतिक गतिविधिहरू हाँसो लाग्ने भएका छन् । त्यस्तो बेला हामीले पनि उनीहरूलाई नै व्यंग्य गर्दा पाठकलाई कम प्रभाव परेको हो ।’

चार दशकदेखि व्यंग्य लेखनमा सक्रिय विमल निभा भने हास्यव्यंग्यको माहोल गाईजात्राको समयमा मात्रै बढी चलमलाउने गरेको धारणा राख्छन् । उनी भन्छन्, ‘अहिले हास्य लेख्नेहरू पनि सुस्ताएको देखिन्छ भने व्यंग्य लेख्नेको त सर्वथा अभाव छ ।’

गौरवमय इतिहास, शिथिल वर्तमान

गोकर्णको भीरबाट हामफालेर आत्महत्या गर्दासमेत भैरव अर्यालले जीवनको विसंगतिमाथि व्यंग्य–कविता (सुसाइड नोट) लेखेका थिए । हास्यव्यंग्य विधामा रहेर दर्जनौं निबन्ध, कविता, मुक्तक लेखेका अर्यालले ‘नेपाली साहित्यमा हास्यव्यंग्य एक नालीबेली’ शीर्षकको विवेचनात्मक लेख लेखेका छन् ।

जसमा भानुभक्त आचार्यभन्दा अघिका कवि शक्तिबल्लभले ‘हास्यकादम्ब’ लेखेपछि नेपाली भाषाको साहित्यमा व्यंग्य शुरु भएको उल्लेख छ ।

साहित्यकार भैरव अर्यालको व्यंग्य कविता ‘सुसाइड नोट’

अर्यालका अनुसार भानुभक्तले तत्कालीन प्रशासनको रवैयाप्रति व्यंग्य गर्दै ‘भोलिभोलि भन्दाभन्दै बितिगयो सब घर बक्सियोस् आज झोली’ जस्ता हास्यव्यंग्य कविता लेखेका थिए ।

२००४ सालमा महाकवि लक्ष्मीप्रसाद देवकाटोले बनारसबाट प्रकाशित हुने युगवाणी पत्रिकामा ‘प्रभुजी भेडो बनाऊ’, ‘बाघले बच्चा किन खान्छ’, ‘दालभात डुकु’जस्ता हास्यव्यंग्य कविता प्रकाशन गरेको उल्लेख गर्दै अर्यालले नेपाली हास्यव्यंग्यमा उपन्यास नलेखिएको र क्रमशः हास्यव्यंग्य केही मुर्झाउन थालेको संकेत गर्दै उक्त लेखको बिट मारेका छन् ।

उक्त पुस्तकमा भैरव अर्याल र समकालीन हास्यव्यंग्यमाथि गरिएको समीक्षात्मक टिप्पणीमा अर्यालको लेखकीय कालखण्डलाई नै नेपाली हास्यव्यंग्यको स्वर्णकाल मानिएको छ ।

भैरव अर्यालभन्दा अघि केशवराज पिँडालीले हाँस्यव्यंग्य निबन्धका पुस्तक प्रकाशित गरेपछि हास्यव्यंग्य कृतिहरू आउन थालेको तथ्य छ । त्यससँगै हृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधान, अच्छा राई रसिक, भीमनिधि तिवारीले पनि आफ्ना केही रचनामा हास्यव्यंग्यलाई केन्द्रमा राखेको पाइन्छ ।

यसपछि भैरव अर्याल, दाताराम शर्मा, भूतको भिनाजु (वासुदेव शर्मा लुइँटेल), रामकुमार पाँडे, श्याम गोतामे, बालमुकुन्द पाण्डे, श्रीधर खनाल लगायतले ३० को दशकमा नेपाली हास्यव्यंग्यलाई शिखरमा पुर्‍याएको कुरा रोचक घिमिरेले सम्पादन गरेको पुस्तक ‘शाश्वत हास्यव्यंग्य’मा उल्लेख छ ।

अर्यालपछि हास्यव्यंग्यमा लेख्नेहरूमा विष्णु नवीन, मोहनराज शर्मा, विमल निभा, नरेन्द्रराज पौडेल, रुद्र खरेल, नरनाथ लुइँटेल, चट्याङमास्टर, लाटो साथी, मनोज गजुरेल, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमर्षि, अर्जुन पराजुली, सुरेश किरण आदि देखिन्छन् ।

लक्ष्मण गाम्नागेले २०७६ मा सम्पादन गरेको ‘नेपाली हास्यव्यंग्य कविता’ भने यो विधाको ताजा पुस्तक हो । उक्त संग्रहमा भानुभक्तदेखि अहिलेसम्मका प्रतिनिधि ४० जना कविको ८० थान हास्यव्यंग्य कविता समेटिएको छ ।

गाम्नागेको संग्रहबाट पनि ३० को दशकका कविहरूको व्यंग्य कविताले प्रधानता पाएकाले यहीबेला हास्यव्यंग्य लेखन शिखरमा पुगेको प्रमाणित हुन्छ । सडक कविता क्रान्ति २०३६ ताका तत्कालीन पञ्चायत सत्तालाई व्यंग्यात्मक कविताको वर्षा गरिएकाले पनि त्यतिबेला संख्यात्मक रुपमा बढी सिर्जना भएको पाइन्छ ।

सम्पादक गाम्नागेले पुस्तकको भूमिकामा आजको हास्यव्यंग्य आफ्नो इतिहास भेट्ने दौडमा रहेको संकेत गरेका छन् । अर्थात् समृद्ध बनिसकेको हास्यव्यंग्य विधालाई फेरि उचाइ दिन लेखकहरू प्रयत्नरत छन् ।

लेखकको बारेमा
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment