+
+

चौथाइवालेको मिसन : प्रमुख दलहरुसँग सम्बन्ध विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते २०:२४

७ भदौ, काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले ९ महिनामा दोस्रो पटक नेपाल भ्रमणमा आएका छन् ।

२५ मंसिर, २०७७ मा लकडाउनकै बीचमा स्थलमार्ग हुँदै नेपाल आएका उनी सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको निमन्त्रणामा आइतबार चार दिने नेपाल भ्रमणमा आएका हुन् ।

काठमाडौं उत्रिएलगत्तै उनले सबैभन्दा पहिला महतसँग भेटघाट गरेका थिए । महतसँगको भेटपछि उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग वालुवाटारमा भेट गरे ।

चौथाइवालेसँगको भेटवार्ताबारे प्रधानमन्त्री देउवाले आफ्ना ट्वीटरमा भनेका छन्, ‘उज्वल शुरुवातको रुपमा विजय चौथाइवालेसँग सौहाद्र्धपूर्ण वातावरणमा कुराकानी भयो । नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्धलाई सुदृढ गर्न थप भ्रमण आदान–प्रदानको पक्षमा छु ।’

केही वर्षयता चौथाइवालेको नेपालमा सक्रियताबारे एक कूटनीतिज्ञ भन्छन्, ‘उनी प्रधानमन्त्री नरेन्द्र मोदीका मेसेन्जर हुन्, उनले मोदीको सन्देश ल्याउँछन् र यहाँको सन्देश मोदीसम्म पुर्‍याउँछन् ।’

त्यसैगरी चौथाइवालेले देउवासँगको भेटमा पार्टी–पार्टी सम्बन्ध सुदृढ गर्ने सहमति भएको भन्दै ट्वीट गरेका छन् । प्रधानमन्त्रीसँगको भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश देउवालाई सुनाउँदै प्रधानमन्त्री भएकोमा बधाइ दिएका थिए ।

तर, मोदीको सन्देश के थियो भन्ने विषयमा कांग्रेसका नेताले केही पनि बताएका छैनन् । वालुवाटारमा देउवा पत्नी आरजुले चौथाइवालेलाई आइतबार जनै पूर्णिमाको दिन राखी बाँधिदिएकी थिइन् ।

सहमहामन्त्री डा.महतले कुराकानी भाजपा र नेपाली कांग्रेसबीच सम्बन्ध सुधारमा केन्द्रित रहेको बताए । अनलाइनखबरसँग कुराकानी गर्दै महतले भने, ‘निरन्तर भ्रमणको आदान–प्रदान भएमा त्यसले दुई देशबीचमा राम्रो समझदारी कायम गर्न मद्धत गर्छ र यसले विश्वासको वातावरण बनाउँछ भन्ने भेटघाटको निष्कर्ष हो ।’

देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएपछि भारतबाट भएको यो पहिलो उच्चस्तरको भ्रमण हो । सर्वाेच्च अदालतको फैसला अनुसार राष्ट्रपतिबाट देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतले तत्कालै बधाइ दिएन । तर विश्वासको मत प्राप्त गरेलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले फोन मार्फत देउवालाई बधाइ दिएका थिए ।

पछिल्लोपटक देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राम्रो पहुँच बनाउन प्रयासरत छन् । केही वर्षयता चौथाइवालेको नेपालमा सक्रियताबारे एक कूटनीतिज्ञ भन्छन्, ‘उनी प्रधानमन्त्री नरेन्द्र मोदीका मेसेन्जर हुन्, उनले मोदीको सन्देश ल्याउँछन् र यहाँको सन्देश मोदीसम्म पुर्‍याउँछन् ।’

कांग्रेसका एक नेताका अनुसार चौथाइवालेको भ्रमण गराएर देउवा र उनको टिमले भारतसँग राम्रो सम्बन्ध रहेको सन्देश दिन खोजेको छ । उनले भने, ‘महाधिवेशनमा पुन सभापतिमा लड्ने तयारीमा रहेका देउवाले पार्टीभित्र पनि भारतको सद्भाव आफूलाई छ भन्ने सन्देश दिन खोजेका हुनसक्छन् ।’

गत वर्ष तत्कालिन प्रधानमन्त्री ओली र भारतको बीचमा सम्बन्ध चिसिएको समयमा उनी नेपाल भ्रमणमा आएका थिए । रअ प्रमुख सामन्तकुमार गोयल नेपाल भ्रमणमा आएको १ महिनापछि एमाले महासचिव विष्णु पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनले सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्दै पार्टी पार्टीबीचको सम्बन्धमा जोड दिएका थिए ।

नेपालका दलसँग सम्बन्ध विस्तारको मिसन

दुई वर्षअघि भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख भएदेखि नै चौथाइवालेले नेपालका राजनीतिक दलहरुसँग सुमधुर सम्बन्ध बनाउने मिसनलाई अगाडि बढाएका छन् । उनले दुई देशको बीचमा सुमधुर सम्बन्ध भएपनि दुई देशका राजनीतिक दलहरुबीचको सम्पर्क र संवाद त्यति नभएको बताउँदै आएका छन् ।

२००७ सालको आसपासमा राजनीति शुरु गरेका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको भारतका समाजवादी, कांग्रेस र कम्युनिष्ट पार्टीहरुसँग राम्रो सम्बन्ध थियो । तर, अहिले प्रमुख राजनीतिक दलको शीर्ष तहमा रहेका र त्यसपछिका नेताहरुको भने भारतका राजनीतिक दलहरुसँग त्यति संवाद र सम्पर्क छैन । त्यसमाथि पनि पछिल्लो दशक भारतमा शक्तिशाली राजनीतिक दलको रुपमा उदाएको भाजपाका नेताहरुको नेपालका नेताहरुसँग खासै सम्बन्ध छैन ।

अहिले पनि भारत भ्रमणमा जाँदा नेताहरुको कांग्रेस, समाजवादी पार्टी र कम्युनिष्ट नेताहरुसँग बाक्लो भेट हुन्छ तर भाजपाका थोरै नेताहरुसँग मात्र कुराकानी हुन्छ । त्यसैले पनि भाजपा र नेपालका राजनीतिक दलहरुले एक अर्कासँग सम्बन्ध विस्तारको प्रयास गरिरहेका छन् र पछिल्लो पटक भाजपाले पहल लिएको देखिन्छ ।

सन् २०१४ देखि निरन्तर सत्तामा रहेको भाजपाले विदेश मामिलामा समेत प्रभाव जमाउँदै लगेको छ । विभिन्न देशसँगको सम्बन्धको विषय विदेश मन्त्रालयको भरमा मात्र छोड्दा कतिपय सन्दर्भमा समस्या सिर्जना हुने भाजपा नेताहरुको बुझाइ हुनसक्छ ।

अझ नेपालसँगको सम्बन्धमा कर्मचारीतन्त्र र खुफिया एजेन्सी हावी भएका कारण बेला बेलामा समस्या उत्पन्न भएको टिप्पणी भाजपाका नेताहरु गर्छन् । २०७२ सालमा कर्मचारीतन्त्रकै कारण नेपालमाथि नाकाबन्दी लागेको र त्यसले दुईपक्षीय सम्बन्धलाई क्षति पुगेको ती नेताहरुको बुझाइ छ । त्यसैले पछिल्लो समय उनीहरु नेपाल मामिलालाई निकै नजिकबाट नियालिरहेका छन् ।

त्यसैगरी बेला बेलामा नेपालमा भारत विरोधी भावना भड्किने गरेकाले दलहरुसँग सुमधुर सम्बन्ध बनाएर त्यसलाई निस्तेज पार्ने भाजपाको योजना हुनसक्छ । त्यसैले पछिल्लो समयमा भाजपाले नेपालको आन्तरिक राजनीतिमा आफ्नो व्यवहार परिवर्तन गरेको छ । भारतले अहिले सबै राजनीतिक दलसँग समदूरीको सम्बन्ध रहेको सन्देश दिन खोजिरहेको छ ।

चौथाइवोलेले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । ओलीसँगको भेटवार्ता नेपाल–भारत सम्बन्धलाई अझ प्रगतिको दिशामा लैजाने कुराकानी भएको चौथाइवालेले ट्वीट मार्फत जानकारी गराएका छन् ।

सोमबार नै चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गरेका छन् । त्यसैगरी उनले नेता महन्थ ठाकुरसँग पनि सोमबार भेटवार्ता गरेका छन् । भेटवार्ता पारस्परिक चासोमा केन्द्रित थियो ।

भेटबारे ट्वीट गर्दै चौथाइवालेले प्रचण्डसँग आफ्नो पहिलो भेट भएको उल्लेख गरेका छन् । चौथाइवालेले भनेका छन्, ‘हामीहरुको बीचमा विभिन्न विषयमा एकदमै स्पष्ट र खुला छलफल भयो । नेपाल–भारत सम्बन्धलाई सुदृढ गर्न हामीहरुबीच थप छलफल गर्ने सहमति भएको छ ।’

चौथाइवालेसँगको भेटबारे प्रचण्डको सचिवालयले ‘नेपाल–भारत सम्बन्ध र पार्टी पार्टीबीचको सम्बन्धलाई बलियो बनाउनेबारे सकारात्मक र उत्साहपूर्ण छलफल’ भएको प्रतिक्रिया दिएको छ ।

विश्लेषक अरुणकुमार सुवेदी भाजपाका विदेश विभाग प्रमुखको नेपाल भ्रमणलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन् ।

‘नेपाल र भारतबीच जुन सांस्कृतिक, भौगोलिक र आर्थिक अभिवाज्यको बाध्यता छ, त्यस अन्तर्गत त्यहाँको सत्तारुढ दलको विदेश विभाग प्रमुख नेपालमा आउनु स्वाभाविक नै हो,’ सुवेदीले भने, ‘नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार र भाजपाका केही सांस्कृतिक राष्ट्रवादका एजेण्डा छन् जसले नेपालको सांस्कृतिक पहिचानसँग पनि तादम्यता राख्दछन् यी विषयमा भाजपा र संघ परिवार दुवैले कुरा गर्छन् ।’

हिन्दु एजेण्डा अगाडि बढाउने प्रयास

केही वर्षयता विशेषत केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि नेपालमा हिन्दु राज्यको पक्षमा गतिविधि गर्न सकारात्मक वातावरण बनेको भाजपाका नेताहरुको बुझाइ छ । केही वर्षयता हिन्दु स्वयंसेवक संघले हिन्दु राष्ट्रको पक्षमा आफ्ना गतिविधि अगाडि बढाइरहेको छ ।

पछिल्लोपटक राजनीतिक दलहरु बाहेकका विभिन्न समूहले हिन्दु राज्य पुनर्स्थापनाका नाममा गतिविधि गरिरहेका छन् । केही दिन पहिले पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवालको नेतृत्वमा एक समूहले हिन्दु राष्ट्र पुनर्स्थापनाको अभियान शुरु गरेको छ ।

नेपालमा हिन्दु राष्ट्र स्थापनाको लागि भएका बिभिन्न अभियानलाई अप्रत्यक्ष रुपमा राष्ट्रिय स्वयंसेवक संघ र भाजपाले सहयोग गर्दै आएको छ । भाजपाको विदेश विभागसँगै चौथाइवालेले राष्ट्रिय स्वयंसेवक संघको नेपाल मामिला समेत हेर्ने गर्छन् । प्रत्यक्ष रुपमा नदेखिए पनि पछिल्लो समयमा भाजपा नेता र संघका सदस्यहरुले नेपालमा भइरहेका हिन्दु अभियानलाई सहयोग गरिरहेका छन् ।

विश्लेषक सुवेदीका अनुसार, चौथाइवालेको भ्रमण नेपालमा हिन्दु धर्म संस्कृतिको संरक्षणमा पनि केन्द्रित हुने र हुनुपर्ने बताउँछन् ।

‘नेपालका प्रजातान्त्रिक कित्ताका राजनीतिक दल र नेताले पनि यो विषयलाई महसुस गर्नुपर्छ,’ सुवेदीले भने, ‘पहिचान विनाको राज्य हुनसक्दैन, छिमेकमा रहेको एक सांस्कृतिक राष्ट्रवादी शक्तिले नेपालमा हिन्दु धर्म संरक्षणका लागि पहल गर्नु स्वाभाविक नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?