+
+

माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँटमा जनार्दन हाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते २०:५०

९ भदौ, काठमाडौं । पार्टीमा छलफल नै नगरी जनार्दन शर्मा प्रभाकरलाई अर्थमन्त्री बनाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई अर्को महत्वपूर्ण जिम्मेवारी दिएका छन् । पार्टी नेताहरुको जिम्मेवारी बाँडफाँट गर्दा प्रचण्डले जनार्दनलाई संगठन विभाग प्रमुख बनाएका हुन् ।

यसपटक मन्त्री बनाउँदा जस्तो छलफल नै नभई त होइन, तर छलफल गरे पनि सहमति जुटेको थिएन । असहमतिका बीच प्रचण्डले जनार्दनलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएका छन् ।

माओवादी केन्द्रकै नेताहरुले भने जनार्दनले अर्थमन्त्री र संगठन विभाग प्रमुखको जिम्मेवारी एकसाथ निभाउन सक्नेमा आशंका गरेका छन् । माओवादीका पुसको दोस्रो हप्ता राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय भएको र पार्टीमा महासचिव नभएकाले संगठन विभाग प्रमुख २४ घण्टा खट्नुपर्ने अवस्था छ ।

तर अर्थमन्त्री समेत रहेका जनार्दनले संगठन विस्तारमा एकाध घण्टा दिन मुश्किल भएको नेताहरु बताउँछन् । ‘मन्त्रालयमा दिनमा ३०÷४० वटा फाइल सदर गर्नुपर्छ । विषय विज्ञता नभएकाले अध्ययन पनि गर्नुप¥यो,’ एक नेता भन्छन्, ‘यस्तो बेला संगठन विभागको जिम्मेवारी अरुलाई दिनु उपयुक्त हुन्छ भन्ने हाम्रो जोड थियो ।’

यद्यपि प्रचण्डले ‘जनार्दनले मानेनन्’ भन्दै उनलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएका छन् ।

जनार्दनकै योजनाअनुसार जिम्मेवारी बाँडफाँट गर्नुलाई प्रचण्डको एउटा प्रयोग मान्छन् उनी निकट नेताहरु । ‘यो आफ्नो र पार्टीको शाख जोगाउन प्रचण्डको विभिन्न प्रयोगमध्ये पछिल्लो प्रभाकर प्रयोग हो,’ उनी निकट एक नेता भन्छन् ।

नेताहरुका अनुसार नेकपा एमालेसँग पार्टी एकतामा भूमिका खेलेका उनलाई प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नै संगठन विभाग प्रमुख बनाउने वचन दिएका थिए । तर नेकपाले बामदेव गौतमलाई प्रमुख र जनार्दनलाई उपप्रमुख बनायो ।

५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन भएपछि साबिकको नेकपा दुई खेमामा विभाजित भयो । प्रचण्ड–माधव समूह ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनायो । महासचिवबारे लामो छलफल भए पनि सहमति जुट्न सकेन । माओवादी खेमाबाट जनार्दनको दाबी थियो, तर माधव नेपालले सुरेन्द्र पाण्डेलाई बनाउन चाहे । पटकपटक छलफल गर्दा पनि सहमति जुटेन ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि पुनस्र्थापित माओवादी केन्द्रले झण्डै ६ महिना नेकपाकालीन संरचनामै काम चलायो । हालै मात्र केन्द्रीय कमिटीको बैठक गरेर आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको उसले मंगलबार प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरु तोक्ने काम गरेको छ ।

रोल्पा कि रुकुम ?

सशस्त्र विद्रोहको केन्द्र अर्थात् माओवादीको जनाधार थियो– पश्चिम नेपाल । बृहत शान्ति सम्झौतापछि शान्तिपूर्ण राजनीतिमा आएको माओवादीको नेतृत्व पनि पश्चिम नेपाल नै हावी थियो । नेतृत्व दौडमा पनि त्यहीका नेताहरु छन् ।

उनीहरुमध्ये जाजरकोटका नेता शक्तिबहादुर बस्नेत ‘सुरेशसिंह’ पछिल्लो समय कमजोर जस्ता देखिन्छन् भने बलात्कार प्रयासको आरोप (जसमा उनले सफाइ पाए) लागेपछि कृष्णबहादुर महराको राजनीतिक जीवन कठिन मोडमा छ ।

अहिले रोल्पाली नेता वर्षमान पुन अनन्त र रुकुमका नेता जनार्दन शर्मा प्रभाकरको अघोषित प्रतिस्पर्धा छ । नेताहरुका अनुसार कुनै समय पार्टी संगठनमा वर्षमान हावी थिए, अहिले जनार्दन हावी भएका छन् । यो पटकको जिम्मेवारी बाँडफाँटले त्यही देखाउँछ । जनार्दनसम्बद्ध स्रोत भन्छ, ‘नारायणकाजी श्रेष्ठ, ‘अनन्त’ र शक्ति बस्नेत बाहेक अरु उनकै फर्मेसन अनुसार भएको हो ।’

प्रदेश १ को इन्चार्जमा राम कार्की, प्रदेश २ मा गणेश शाह, बाग्मतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल बलदेव, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज तोकिएका छन् । माओवादी केन्द्रले प्रदेशका सहइन्चार्ज, अध्यक्ष र सचिव पनि तोेकेको छ, जसमा लुम्बिनी र कर्णालीमा समेत शर्मा हावी भएका छन् ।

लुम्बिनीको प्रदेश इन्चार्जमा बलदेव र सचिवमा जगप्रसाद शर्मालाई ल्याइएको छ । प्रदेश अध्यक्ष पूर्वसभामुख ओनसरी घर्तीमगर छिन् भने सहइञ्चार्जमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र हकिकुल्ला खान छन् ।

यस्तै शक्ति बस्नेत इन्चार्ज भएको कर्णालीमा कालीबहादुर खाम, टेकबहादुर बस्नेत र मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहइन्चार्ज छन् भने राजकुमार शर्मा अध्यक्ष र रामदीप आचार्य सचिव छन् । मायाप्रसाद भट्ट तयार नभएपछि शर्मालाई प्रदेश अध्यक्ष बनाइएको माओवादी नेताहरु बताउँछन् ।

एक केन्द्रीय सदस्य भन्छन्, ‘अहिले प्रदेश इन्चार्जहरुमा रोलक्रमअनुसार नै जिम्मेवारी दिएको देखिन्छ । तर समग्र जिम्मेवारी बाँडफाँट हेर्दा जनार्दन हावी भएको यथार्थ हो ।’

प्रभाकरकै फर्मेसनअनुसार जिम्मेवारी बाँडफाँट गर्नुलाई प्रचण्डको एउटा प्रयोग मान्छन् उनी निकट नेताहरु । ‘यो आफ्नो र पार्टीको शाख जोगाउन प्रचण्डको विभिन्न प्रयोगमध्ये पछिल्लो प्रभाकर प्रयोग हो,’ उनी निकट एक नेता भन्छन्, ‘अन्यत्र त उनी हावी भएकै छन्, लुम्बिनी र कर्णालीमा समेत बहुमत छ ।’

माओवादी केन्द्रका नेताहरु दोस्रो पुस्ताका दुई नेताले मिलेर काम गर्दा मात्र पार्टीलाई अगाडि बढाउन सहज हुने बताउँछन् । एक नेता भन्छन्, एउटा बाँझो फुटाउने हो, अर्को लेड्को लगाउने हो । दुबै नेता मिल्दा मात्र माओवादी बन्छ ।’

हक्की प्रभाकर, शासकीय मिजासका अनन्त

माओवादी सशस्त्र विद्रोह ताका डेपुटी कमाण्डर रहेका वर्षमानभन्दा जनार्दन सिनियर हुन् । तर एउटा समय पार्टी संगठनमा वर्षमान निकै हावी थिए । देशभरका ५० भन्दा बढी जिल्लामा उनको पकड थियो । हेडौंडा महाधिवेशनपछि वर्षमान सचिव बन्दा जनार्दन स्थायी कमिटी सदस्य मात्र थिए ।

तर अहिले अवस्था उल्टिएको छ । पार्टी संगठनमा क्रमशः जनार्दन हावी हुँदै गएका छन् । जनार्दन हक्की स्वाभावका नेता मानिन्छन् भने वर्षमान भने शासकीय मिजासका साथ प्रस्तुत हुन्छ । माओवादी केन्द्रका एक नेता भन्छन्, ‘वर्षमान कमरेडले आफूसँग भएका साथीहरुको व्यवस्थापन पनि गर्न सक्नुभएन ।’

उसो त जनार्दनमाथि पनि ओलीसँग नजिक भएको आरोप नलागेको होइन । तर जब प्रचण्डले ओलीसँग दुरी बढाए, जनार्दन पनि त्यसरी नै ओलीबाट टाढा भए । ओलीको चर्को आलोचना गरेका कारण पनि उनी माओवादीमा हावी हुन सफल भए ।

१० वर्ष सशस्त्र विद्रोह गरेर शन्ति प्रक्रियामा आएको माओवादी पहिलो संविधानसभामा सबभन्दा ठूलो दल थियो । नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा पनि माओवादी ठूलो थियो । तर त्यसयता सुरु टुटफुटले माओवादी क्षयीकरण भएको छ ।

२०७४ को चुनावमा नेकपा एमालेसँग तालमेल गरेको माओवादी हाल प्रतिनिधिसभामा ४९ सिटमा खुम्चिएको छ । अर्को निर्वाचन नजिकिँदै गर्दा माओवादीले त्यसअगाडि पुसको दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

यससँगै केही नेताहरु सांगठनिक शक्ति आफूमा केन्द्रित गर्ने लिगलिगे दौडमा सहभागी छन् । पार्टीभित्र झण्डै तीन दशकदेखि निरन्तर प्रमुख नेतृत्वमा रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिन सक्ने नेतृत्व माओवादीभित्र छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?