१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार सोल्टी मोडको प्लाटिनम होटलअघि झ्याइँ-झ्याइँ पञ्चेबाजा बजाउँदै नाचगान गर्यो । प्लाटिनम होटल रहेको भवनको सम्पत्ति कर नउठेपछि घरधनी नेपाल चेम्बर अफ कमर्शका नाममा ‘छिटो कर तिर्न’ आग्रह गर्दै सूचना पनि टाँस्यो, माइकिङ पनि गर्यो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल भने सामाजिक संस्थाबाट समेत झ्याली पिटेर कर उठाउन जोडबल गरिरहेको महानगरपालिकाले हप्तौंदेखि फोहोर नउठाएको भन्दै असन्तुष्टि व्यक्त गर्छन् । फोहोर नउठ्दा शहरवासी र आम व्यवसायी वर्ग नै समस्यामा परिरहेको उनको गुनासो छ ।
करीब डेढ महीनादेखि उपत्यकाबाट फोहोर उठ्न सकेको छैन । अझै कति दिन फोहोर उठ्दैन भन्ने निधो नभएको काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमेख हरिकुमार श्रेष्ठ बताउँछन् । आगामी तीन दिन भारी वर्षा हुने भनिएकाले पनि तत्कालै फोहोर उठ्न शुरु नहुने निश्चितजस्तै छ ।
श्रेष्ठका अनुसार झरी र हिलोले सडक अस्तव्यस्त भएपछि नुवाकोटको ओखरपौवा (सिसडोल) स्थित ल्यान्डफिल्ड साइटमा गाडी जान नसकेर फोहोर नउठेको हो । काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर शहरवासीलाई फोहोर बाहिर ननिकाल्न भनेको छ ।
यसले गर्दा शहरवासीलाई घरभित्रै फोहोर राखेर दुर्गन्ध सहनुपर्ने बाध्यता आइपरेको छ । डेरामा बसेकाहरु झन् बढी समस्यामा छन् । होटल, रेस्टुरेन्ट लगायतका बढी फोहोर निष्कासन गर्ने व्यवसायीहरु पनि ठूलो मर्कामा छन् । फोहोर कोठाभित्रै राख्न नसक्ने अवस्था आएपछि कतिपयले राति-राति चोक, गल्ली, सडक र नदी किनारमा फोहोर फालिरहेका छन् । यसले शहरमा दुर्गन्ध र प्रदूषण बढेको छ ।
यही बेला काठमाडौं महानगरपालिका पञ्चेबाजा बजाउँदै सम्म्पत्ति कर नतिर्नेको घर आँगन र कार्यालय परिसरहरुमा पुगिरहेको छ । महानगरपालिकाका अनुसार करीब ७० करोड सम्पत्ति कर विभिन्न व्यावसायिक तथा सामाजिक संस्था र सरकारी कम्पनीहरुबाट असुल गर्न बाँकी छ । कर असुलीका लागि महानगरपालिकाले सूची सार्वजनिक गरेपछि कर उठ्न पनि थालेको छ ।
कतिपयले महामारीमा कर असुल्न ‘कटुवाल प्रथा’ दोहोर्याएको भन्दै आलोचना गरेपनि करबाट उन्मुक्ति दिन नसकिने महानगरपालिकाले बताउँदै आएको छ । महानगरपालिकाका राजस्व विभाग प्रमुख शिव अधिकारी पहिलो चरणमा २० करदाताको नाम सार्वजनिक गरेर ‘माइकिङ’ गरेपछि कर उठ्न थालेको बताउँछन् । कर तिर्न प्रेरित गर्न रचनात्मक ढंगले बाजा बजाउन थालिएको उनको भनाइ छ ।
व्यवसायीहरु भने कर मात्रै उठाउन ध्यान दिने महानगरको शैलीप्रति असन्तुष्ट छन् । न्युरोडमा महानगरपालिकाको नाचगान हेरेका मिठाइ व्यवसायी सुरेन्द्र सरदार कर तिर्न जाँदा फोहोर पनि महानगर कार्यालयकै ढोकामा लगेर छोड्नुपर्ने अवस्था आइसकेको बताउँछन् ।
‘कर उठाउन यत्रो तामझाम गरेर टोली पठाइएको रहेछ, यसरी आउँदा फोहोर उठाउने गाडी पनि लिएर आउनुस् भनेर नगर प्रहरीलाई नै भनेको छु’ उनले भने, ‘फोहोर राख्ने ठाउँ भरिसक्यो, फोहोरको गाडी आउँदैन, अब कर तिर्न जाँदा मेयरको कार्यालयको ढोकामै लगेर फोहोर छोड्नुपर्ने हो ?’
दीर्घकालीन समाधानमा जोड
चेम्बर अफ कमर्शका अध्यक्ष मल्ल भने महानगरपालिकाले करसँगै फोहोर उठाउन पनि ध्यान दिनुपर्ने बताउँछन् । ‘कोरोनाको महामारीमा अर्को महामारी सुरु हुने डर भइसक्यो’ उनी भन्छन्, ‘फोहोरको व्यवस्थापन तत्काल हुनुपर्छ । आफूले तिर्नुपर्ने कर भुक्तानी गर्न सबै व्यवसायी तयार छन् ।’
उनले हरेक वर्ष फोहोर नउठ्ने समस्या देखिंदा पनि दीर्घकालीन समाधान नखोजिएकामा असन्तुष्टि जनाए । फोहोर व्यवस्थापनमा परेको समस्या समाधानमा सहयोग गर्न चेम्बर र व्यवसायी पनि सहयोग गर्न तयार रहेको भन्दै उनले सामाजिक संस्थाबाट सम्पत्ति कर उठाउने निर्णय भने जायज नभएको दोहोर्याए ।
‘चेम्बर अफ कमर्श राज्यलाई आय कर नतिर्ने गरी दर्ता भएको सामाजिक संस्था हो, हामीले बहाल कर लगायतका हाम्रो दायित्वभित्रका करहरु महानगरलाई तिरिरहेका पनि छौं’ उनी भन्छन्, ‘तर, हामी समाजिक उद्देश्यले काम गरिरहेका संस्थाको सम्पत्तिमा निजीकै जसरी कर माग्ने कुरा जायज छैन ।’
कर उठाउन महानगरपालिका व्यवसायीकोमा पुग्नु गलत नभएको भन्दै उनले फोहोर उठाउने जिम्मेवारीबाट महानगर बहाना बनाएर सधैंभरि भाग्न नपाउने बताए । ‘दीर्घकालीन रुपमा समस्या नपर्ने गरी आवश्यक व्यवस्थापन गर्नुपर्छ,’ अध्यक्ष मल्ल भन्छन् ।
अरु महामारी थपिने जोखिम
विशेषज्ञ चिकित्सकहरु फोहोर नउठ्दा शहरमा दुर्गन्धसँगै कोरोना महामारीका बीचमा अरु रोगका महामारीको जोखिम बढेको बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन लामो समयसम्म फोहोर नउठ्दा विभिन्न संक्रामक रोग फैलिने खतरा हुने बताउँछन् ।
‘फोहोर उठेन भने टाइफाइड, हैजा, हेपाटाइटिस, झाडापखाला जस्ता रोग फैलिने जोखिम हुन्छ’ उनी भन्छन्, ‘मुख्य रुपमा खानपानसम्बद्ध रोग नै फैलिने खतरा हुन्छ ।’ फोहोरको थुप्रोमा धेरै मुसा बस्ने हुँदा यसको टोकाइबाट सर्ने रोगका बिरामी पनि बढ्ने उनी बताउँछन् ।
वर्षायाम भएकाले फोहोर छिट्टै सड्ने गल्ने हुन्छ । त्यसैले पनि फोहोर मार्फत संक्रमण फैलिने खतरा पनि उच्च छ । त्यसमाथि फोहोर नठ्दा शहरी सौन्दर्यमा पनि असर गरेको छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4