+
+

हराएको मोटरसाइकल चार वर्षपछि त भेटियो, तर …

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते २०:०६
महानगरीय ट्राफिक प्रहरी महाशाखामा फेला परेको मोटरसाइकल लिन आवश्यक कागजात देखाउँदै मोटरसाइकल धनीहरु । 

११ भदौ, काठमाडौं । बिहीबार दिउँसो २ बजेको समयमा भक्तपुरको बालकोट बस्ने भाइराजा कार्कीको मोबाइलमा घन्टी बज्यो । उनले गोजीबाट मोबाइल झिकेर हेरे, नचिनेको नम्बरबाट फोन आएको रहेछ । उनले फोन रिसिभ गरे ।

महानगरीय ट्राफिक महाशाखाबाट फोन आएको रहेछ । उनलाई ‘तपाईंको हराएको मोटरसाइकल फेला परेको छ, आवश्यक कागजात लिएर शुक्रबार लिन आउनू’ भनियो । ‘मलाई त विश्वास नै गर्न गाह्रो भयो । कस्तो अवस्थामा होला मेरो मोटरसाइकल भन्ने मनमा कुरा खेल्न थाल्यो’ कार्कीले अनलाइनखबरसँग भने ।

कार्कीका अनुसार भक्तपुरको चारदोबाटो नजिकै अफिस थियो । अफिसमा राति ८ बजेसम्म काम हुन्थ्यो । २०७४ साउन २५ गते सडक छेउमा मोटरसाइकल राखेर अफिस गएको थिएँ । ‘राति सवा ८ बजेतिर घर फर्कन अफिसबाट निस्किएँ, तर सधैं राख्ने गरेको ठाउँमा मोटरसाइकल थिएन’ उनले सुनाए ।

आफूले राखेको स्थान वरपर खोज्दा पनि मोटरसाइकल नभेटिएपछि चोरी भएको हुनसक्ने आशंकामा फोनमार्फत प्रहरी र ट्राफिक महाशाखामा जानकारी गराएँ । साउन २६ गते ट्राफिक महाशाखामा गएर बा ७३ प ५०१ नम्बरको होण्डा युनिकनको खैरो रङको मोटरसाइकल हराएको भनेर निवेदन पनि दिए ।

तीन चार महिनासम्म मोटरसाइकल भेटियो कि भेटिएन भनेर ट्राफिक महाशाखामा बुझिरहें । नभेटेपछि आस मारें र अर्को किनेर चलाउन थालें । र बिहीबार अनपेक्षित रुपमा मोटरसाइकल भेटिएको सूचना आएको उनी बताउँछन् ।

‘हराएको मोटरसाइकल भेट्दा खुसी नलाग्ने कुरै भएन । त्यसबेला झण्डै २ लाखमा किनेको मोटरसाइकल चढेको एक वर्ष जति मात्रै भएको थियो,’ उनले भने, ‘मोटरसाइकल भेटिएको खबर सुनेपछि कस्तो अवस्थामा होला भन्ने मात्रै मनमा आयो ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट हराएका २४ मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगायो । हराएको मोटरसाइकल पाउनेमा कार्की पनि एक हुन् ।

चार वर्षपछि फेला परेको मोटरसाइकल देख्दा भने मन नै अमिलो भएको उनले सुनाए । ‘मोटरसाइकलको अगाडिको भाग पूरै ड्यामेज भएको रहेछ । सबै ठाउँमा खिया लागेको छ । सेल्फ स्टार्टले काम गरेको छैन । किक हानेर बल्लतल्ल स्टार्ट गरी बनाउन ग्यारेजमा पुर्‍याएको छु’ कार्कीले गुनसो गरे ।

प्रारम्भिक रुपमा हेर्दा मर्मत गर्न ४०–५० हजार रुपैयाँ लाग्ने अनुमान मिस्त्रीले गरेको उनले बताए ।

हराएदेखि मोटरसाइकलको राजस्व पनि तिरेको छैन । ‘हराएको मोटरसाइकलको के राजस्व तिर्नु भन्ने लाग्यो । मोटरसाइकल भेटेको सूचना पाएपछि राजस्व कति लाग्छ भनेर हिसाब गर्दा ४२ हजारबढी लाग्ने अनुमान गरेको छु’ कार्कीले भने ।

राजश्व र मर्मत खर्च गर्दा एक लाख हारहारी खर्च हुने हिसाब गरेका कार्की भन्छन्, ‘सरकारले पीडितको यो पीडा बुझेर राजश्व छुट दिने व्यवस्था मिलाउनु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?