१० भदौ, काठमाडौं । नेपाली फिल्म ‘लुट’सँगै काठमाडौंबारे एउटा डाइलग हिट भयो, गिद्धैगिद्धको शहर ।’ आज भोलि भने काठमाडौं उपत्यका फोहोरै फोहोरको शहर जस्तो लाग्छ । जता हिँड्यो, सडक वरिपरि फोहोरको डंगुर छ ।
नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं उपत्यकामा तीन सातादेखि फोहोर संकलन गर्न छाडिएको छ । घरायसीदेखि व्यापारिक र स्वास्थ्य संस्थासम्मका फोहोरमैला उठ्न बन्द छ । घर तथा कार्यालयमा फोहोर थुप्रिएपछि मानिसहरुले सडक किनारमा फालेका छन् ।
फोहोरको दुर्गन्धले सडकमा हिँड्न गाह्रो भइसक्यो । कमलपोखरीस्थित एक व्यापारिक भवनमा सुरक्षा गार्डका रुपमा काम गर्ने रामबहादुर परियार फोहोरको डंगुरतिर देखाउँदै भन्छन्, ‘यहाँ बस्न हैन, सास फेर्न नै गाह्रो भइसक्यो ।’
कार्यालय नजिकै सडक किनारमा फोहोर फाल्ने गरेका कारण अरु बेला पनि दुर्गन्ध आउँथ्यो । अहिले तीन सातादेखि फोहोर थुप्रिएकाले बस्नै नसक्ने अवस्था आएको बताउँदै उनी भन्छन्, फोहोरले सडक आधा ढाकिसक्दा पनि कसैले मतलब गर्दैनन् ।’

बागबजारका माधव कार्की पनि कोरोना महामारीका बेला अर्को रोगको महामारी त शुरु हुने होइन भन्ने डर लाग्न थालेको सुनाउँछन् । वर्षायाममा सडकभरि जताततै फोहोर थुप्रिएकाले संक्रामक रोग फैलिन सक्नेतर्फ तीनवटै तहका सरकार संवेदलनशील नभएको उनी बताउँछन् । ‘यस्तो खेलाँची त गर्न नहुने हो,’ उनी भन्छन्, ‘यो फोहोरको लिच्चड कसैगरी खानेपानीका पाइपमा पस्यो भने घरघरमा झाडा पखला र हैजा फैलिसक्छ ।’
बागबजारमा कम्प्युटर व्यवसाय गरिरहेका रामहरि तिमल्सिना पनि पसल अगाडि सडकमा थुप्रिएको फोहोरले हैरान छन् । फोहोरको डंगुर नउठेपछि त्यसैमाथि गाडी गुड्छ, जसले गर्दा फोहोरको लिच्चड गन्हाएर बसिनसक्नु भइसकेको छ । ‘राति फोहोर कसले ल्याएर यहाँ फाल्छ भन्ने थाहा छैन, यो फोहोर कहिले उठ्छ भन्ने पनि थाहा छैन,’ उनी भन्छन्, ‘न जनतामा सडकमा फोहोर फाल्नु हुन्न भन्ने चेतना छ, न महानगरपालिकालाई जनताले भोग्नु परेको सास्तीबारे मतलब छ ।’
शहर दुर्गन्धित हुने अवस्था आउँदा पनि महानगरले वैकिल्पक व्यवस्था गर्न नसक्नु लाजमर्दो भएको उनी बताउँछन् । उनको प्रश्न छ, ‘डम्पिङसाइटमा लैजान नसकेको बेला फोहोर जम्मा गर्न अस्थायी ट्रान्सफर स्टेसन व्यवस्था गर्न सकिन्न र ?’
बजेट अभाव भएमा जनताबाटै सहयोग लिएर भए पनि फोहोर उठाउनुपर्ने व्यवसायीको माग छ । डिल्लीबजारकी कपडा व्यवसायी सुमिना बज्राचार्य भन्छिन्, ‘दुर्गन्धको बयान गरिसाध्य छैन । बजेट अभाव भए महानगरपालिकाले जनताबाटै सहयोग लिएर भए पनि फोहोर उठाउनुपर्यो ।’
साँघुरो ‘स्पेस’मा व्यवसाय चलाइरहेकाहरुलाई फोहोरको समस्याले बढी पिरोलेको छ । कमलपोखरीमा फलफूल पसल गरिरहेकी कमला देवी सडकमा फोहोर बढेसँगै पसलमा दुर्गन्ध र झिंगा बढेको बताउँछिन् ।
फुटपाथ व्यापारीहरुमाथि त दुर्गन्धसँगै झिंगा आतंक थपिएको छ । रत्नपार्कको आकाशे पुलमुनि स्ट्रबेरी बेच्न बसेकी सुनमाया मगर फोहोरको थुप्रोअघि मान्छे उभिनै नचाहने भएकाले व्यापार हराएको बताउँछिन् । ‘किन्न खोज्नेहरु पनि फोहोरको थुप्रो र झिंगैझिंगा देखेपछि होस् भन्दै फटाफट् जान्छन्,’ उनी भन्छिन्, ‘अनि कसरी चल्नु व्यापार ?’
काम विशेषले बाहिरबाट आएकाहरु फोहोरले भरिभराउ राजधानी देखेर हैरान छन् । तनहुँबाट केही दिनका लागि काठमाडौं आएका सागर गिरीलाई डिल्लीबजारमा सार्वजनिक गाडी कुर्न फोहोरको डंगुरअघि उभिन धौ-धौ पर्यो । ‘त्यहाँ थुपारिएको फोहोरको चुलीले आँखा बिझायो, त्यसबाट निस्किएको दुर्गन्धले वान्ता गराउन खोज्यो,’ उनले भने, ‘हाम्रो नेपालको राजधानी काठमाडौं फोहोरको पनि राजधानी भएजस्तो लाग्यो ।’

एक हप्ताअघि अमेरिकाबाट आएका विजयचन्द्र मल्लिक दुई वर्षअघि आउँदा काठमाडौं यति फोहोर नभएको बताउँछन् । उनको विचारमा जतिसुकै ठूलो वहानाले पनि शहरमा यसरी फोहोर थुपारेर बस्न मिल्दैन । ‘अहिले फोहोरको थुप्रोले जनस्वास्थ्यलाई जोखिममा पार्नुका साथै काठमाडौंको सभ्यताको खिल्ली उडाइरहेको छ,’ मल्लिक भन्छन्, ‘कसरी हुन्छ, फोहोर व्यवस्थापनलाई तत्काल चुस्त बनाउनुपर्छ ।’
काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ पानी परुञ्जेल फोहोरको पहाड छिचोलेर गाडी सिसडोलको ल्यान्डफिल साइटमा जान नसक्ने बताउँछन् । यसैकारण काठमाडौंको फोहोर उठ्ने कुरा मौसममा भर पर्ने उनको भनाइ छ ।
बञ्चरे डाँडामा बनिरहेको नयाँ ल्यान्डफिल साइट पनि शहरी विकास मन्त्रालयले तयार गरिनसकेको र फोहोरको व्यवस्थापनमा अरु विकल्प प्रयोग गर्ने अवस्था पनि नरहेको उनले बताए ।

‘पानी नपरेको दिनमा त केही गाडी गएर खन्याएर फर्किएका पनि छन्, पानी परेपछि गाडी जानै सक्दैन,’ उनी भन्छन्, ‘तर पनि हामीले सकेको जति प्रयास गरेर सडकको फोहोर उठाएका छौं ।’
महानगरले जस्तो दाबी गरे पनि सडकमा फोहोरको डंगुरको संख्या गनिसाध्य छैन भने फोहोरको थुप्रोले स्थानीय क्षेत्रका बासिन्दा, व्यवसायी र बटुवालाई दिएको सास्ती भनिसाध्य छैन ।
तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर
 
 
 
 
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4