
१३ भदौ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटाले कलंकको टीका लगाएको टिप्पणी गरेका छन् । एमालेले कारबाही गरेर पदमुक्त गर्न सिफारिस गरेका १४ सांसदको पद जोगाएर सभामुख सापकोटाले कलंकको टीका लगाएको उनको भनाइ छ ।
भट्टराईले एमालेलाई जसरी पनि फुटाउनुपर्छ भन्ने सभामुखको इच्छा पूरा भएको समेत आरोप लगाए ।
अनलाइनखबरसँग उनले भने, ‘पहिले नै सभामुखले जे भूमिका खेल्नुहुन्छ भन्ने डर लागेको थियो त्यही भयो । यो भन्दा निर्लज्जता केही हुँदैन । सभामुख अग्नि सापकोटाले सभामुखको रुपमा कलंकको टीका लगाउनुभयो ।,’
१४ सांसदमाथिको कारबाहीबारे निर्णय गर्न विलम्ब भएपछि आफूहरुलाई आशा नगरेको पनि उनले बताए । ‘९ गते पहिले नै सूचना आएर कारबाही हुनुपर्थ्यो भएन,’ उनले भने ।
एमालेले ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गर्दै माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई पत्र पठाएको थियो । एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न जानकारी गराए पनि संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4