Comments Add Comment

सडकका महानिर्देशकलाई प्रधानमन्त्रीको फोन–सिसडोल जाने सडक छिटो बनाइदिनू

फोहोरको मुद्दा लिएर बालुवाटार पुगे मेयर शाक्य

१४ भदौ, काठमाडौं । उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएको शाक्यले जानकारी दिए । देउवालाई भेट्न सोमबार मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए ।

मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने सडक निर्माणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको बताए । सडक निर्माणका लागि महानगरले नै खर्च व्यहोर्ने पनि उनले बताए ।

‘सिसडोलसम्म फोहोर बोकेका गाडी पुर्‍याउ सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह गर्‍यौं । उहाँले त्यहीँबाट सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरी तत्काल बाटो बनाउने काम थाल्न निर्देशन दिनुभयो’ मेयर शाक्यले भने ।

शाक्यले बञ्चरे डाँडाको ल्याण्डफिल साइट छिटो निर्माण सक्ने वातावरण बनाइदिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइटको हालसम्म पनि निर्माण नसकिएको र त्यहाँ पुग्ने सडक पनि नबनेको उनले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

वञ्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको विषयमा शाक्यले भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्र दिएका थिए । ‘…बञ्चरे डाँडा ल्याण्डफिल साइट र सो साइटसम्म पुग्ने बाटो अविलम्ब निर्माण सम्पन्न गरी काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताका साथ आवश्यक कारबाही अगाडि बढाइदिनुहुन अनुरोध गर्दछु,’ मेयर शाक्यले प्रधानमन्त्रीलाई दिएको पत्रमा भनिएको छ ।

सामान्य अवस्थामा फोहोर बोकेका १५० वटा ट्रक सिसडोल ल्याण्डफिल साइटमा दैनिक पुग्ने गरेकामा हिजोआज वर्षाका कारण सडक बिग्रिँदा ५० वटा ट्रक मात्र जाने गरेका छन् । जसले गर्दा उपत्यकाका चोक र सार्वजनिक स्थलमा फोहोर थुप्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment