Comments Add Comment
सम्झनामा आनन्ददेव भट्ट :

साहित्य, प्राध्यापन र राजनीतिका त्रिवेणी

१४ भदौ, काठमाडौं । २०७६ फागुनमा आनन्ददेव भट्टलाई ‘सार्वजनिक राष्ट्रिय अभिनन्दन’ गरियो । ८० भन्दा बढी संघ-संस्थाले त्यो संयुक्त समारोह आयोजना गर्दा भट्ट निकै अस्वस्थ्य थिए । उनलाई बिर्सने रोग (अल्जाइमर्स)ले च्याप्दै लगेको थियो ।

सम्मानित बौद्धिक व्यक्तित्व भट्ट स्वास्थ्यले साथ दिँदासम्म अग्रज, समकालीन र अनुज पुस्तासँग निरन्तर संवादमा हुन्थे । प्रगतिशील खेमाका साहित्यिक गोष्ठी–सम्मेलनमा नबिराई पुग्थे ।

२०७५ यता भने सार्वजनिक कार्यक्रममा उनी निकै कम उपस्थित रहे । कोरोना महामारी पछि त उनलाई परिवारले घरमै सीमित बनायो । उनै साहित्यकार एवं प्राध्यापक भट्टको ८७ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ ।

प्रगतिशील समालोचकको मूल परिचय बनाएका उनको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा साहित्यकारहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ट्वीटरमा लेख्छन्- ‘देशकै सम्मानित बौद्धिक व्यक्तित्व प्राध्यापक आनन्ददेव भट्टको निधनको खबरबाट असाध्यै दुःखी छु । नेपाली साहित्यका अविराम साधक भट्टको निधन प्रगतिशील क्षेत्रमा ठूलो क्षति हो ।’

प्रगतिशील लेखक संघ (प्रलेस)का अध्यक्ष जीवेन्द्रदेव गिरि भट्टको निधनले परिवर्तनको मोर्चामा योद्वाको अभाव खट्किएको बताउँछन् । उनी २०४६ र २०६२/६३ को जनआन्दोलनमा भट्टले लेखकहरूको मोर्चाको नेतृत्व गरेको स्मरण गर्छन् ।

चितवनमा राजा महेन्द्रले भेट दिँदा भट्टले जनताको नासो प्रजातन्त्र जनतालाई नै सुम्पन आग्रह गरेका थिए । महेन्द्रले स्थापना गरेको पञ्चायती व्यवस्थाको विरोधमा उनी सधैं लागिरहे ।

‘उहाँ हरेक परिवतर्नकामी आन्दोलनमा सबभन्दा अगाडि उभिएर लड्नुभयो,’ गिरिले भने, ‘साहित्य, प्राध्यापन र प्रगतिशील आन्दोलनमा नै उहाँले आफ्नो सम्पूर्ण जीवन अर्पण गर्नुभयो ।’

समाजलाई अग्रगमनको दिशामा लैजान भट्टको अथक प्रयास गरेको बताउँछन् साहित्यकार गिरि । उनी भन्छन्, ‘राजनीतिक आन्दोलन बाहेक शिक्षा, साहित्य र समालोचनामा उहाँको योगदानले नेपाली वाङ्मयलाई बलियो बनाएको छ ।’

सक्रियताको पर्याय

वि. सं. १९९३ असोज २५ गते जुम्लाको खलंगामा जन्मिएका आनन्ददेव भट्टको पुख्र्यौली घर बैतडीको पल्लाचौडली हो । २०४८ पछिको केही समय उनले बैतडीमा राजनीति समेत गरे ।

प्रारम्भिक शिक्षा जुम्लामै लिएका उनले ६ देखि कक्षा आठसम्म पाल्पाको तानसेनमा पढे । त्यसबेला कविवर माधवप्रसाद घिमिरेले तानसेनको पद्मोदय पब्लिक हाइस्कुलमा पढाउने क्रममा आफूमा पनि साहित्यप्रति रुचि जागृह भएको भट्ट बताउँथे ।

पाल्पापछि भट्ट काठमाडौं आएर पढ्न थाले । यहाँ उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनले आफूमा पारेको प्रभाव २००८ सालमा ‘चारतारे झण्डा’ शीर्षकको कविता लेखेर व्यक्त गरेका थिए ।

त्यही बेलादेखि उनी साहित्य र कम्युनिस्ट आन्दोलनमा लागे । २०१३ सालदेखि ‘इन्द्रेणी’ पत्रिकाले उनको रचना प्रकाशित गर्न थाल्यो । २०१५ मा त उनको खण्डकाव्य ‘९७ साल’ नै प्रकाशित भयो ।

त्यसपछिका ६ दशकमा भट्टका कविता, कथा, समालोचना, अनुवाद र शिक्षापद्धति सम्बन्धी तीन दर्जन पुस्तक प्रकाशित भए । तिमीलाई देख्दा, यूरी गागरिन, साहिंली मैंया, अब हिमाल बोल्छ, गुराँस, आमा बोलाउँछिन्, जोवनकै थुम्कोबाट, ओमर खयामलाई जवाफ, समालोचनाको बाटोतिर, जनताको साहित्य उनका चर्चित कृतिमा पर्छन् ।

साहित्यका सबै विधामा कलम चलाएका भट्ट समालोचक र चिन्तकका रुपमा प्रसिद्ध छन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत धनकुटा, धरान, चितवन र अंग्रेजी केन्द्रीय विभागमा गरी ३५ वर्ष प्राध्यापन गरे । त्रिवि पाठ्यक्रम विकास केन्द्रमा उपनिर्देशक रहेका बेला उनले २०५० चैत ७ गते सहप्राध्यापक पदबाट राजीनामा दिएका थिए ।

प्रगतिशीलका अगुवा

२००९ सालमै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका भट्ट पार्टीको बैतडी जिल्ला र सेती अञ्चल सचिव भए । ‘नेपाल बुद्धिजीवी परिषद्’को उपाध्यक्ष र जनसांस्कृतिक संगठनमा पनि पदाधिकारी रहेर उनले काम गरे । राजनीतिक र साहित्यिक आन्दोलनमा पटक–पटक गिरफ्तार भएका उनी कारागार चलानसमेत भए ।

आनन्ददेव भट्ट २०१६ मा प्रलेसमा सहसचिव र २०५९ सालमा अध्यक्ष भएका थिए । जीवनभर प्रगतिशील लेखनमा रहेका उनलाई उक्त संस्थाको मियो मानिन्छ । उनले प्रलेस प्रतिभा पुरस्कार लगायत अन्य प्रगतिशील पुरस्कार स्थापनाका लागि आर्थिक सहयोग समेत गर्दै आएका छन् ।

२०४६ सालको जनआन्दोलनमा साहित्यकारको टोली भट्टकै सक्रियतामा सडकमा आयो । पञ्चायती शासन व्यवस्थाविरुद्व कालोपट्टी बाँधेर त्रिचन्द्र कलेजमा धर्ना बसेका पारिजात, वासु शशी, आनन्ददेव भट्ट लगायत साहित्यकारमाथि प्रहरी दमन भएको थियो ।

सांस्कृतिक चिन्तक निनु चापागाईं भट्टलाई समालोचक र उदयीमान प्रतिभालाई प्रोत्साहन दिने व्यक्तिको रुपमा बढी स्मरण गर्छन् । उनी भन्छन्, ‘कविता, कथा लेखनबाट साहित्य क्षेत्रमा आउनुभएका उहाँ मूलतः प्रगतिवादी समालोचक हुनुहुन्छ ।’

नयाँ पुस्तालाई लेख्न, संगठन गर्न र विचारमा अडिग रहन भट्टले प्रेरित गरेको चापागाईं सम्झिन्छन् । साथै जीवनकै पहिलो पुरस्कार आनन्ददेव भट्टकै हातबाट पाएको सम्झिन्छन्, चापागाईं ।

‘भोजपुरमा कविता सुनाउँदा भट्टले मलाई दुई रुपैयाँ पुरस्कार दिनुभएको थियो,’ चापागाईं सम्झन्छन्, ‘उहाँले हामीलाई सधैं प्रोत्साहन गर्नुभयो । लेख्न, संगठन गर्न र विचारमा अडिग रहन प्रेरित गर्नुभयो ।’

चितवनमा राजा महेन्द्रले भेट दिँदा समेत भट्टले जनताको नासो प्रजातन्त्र जनतालाई नै सुम्पन आग्रह गरेको बताउँछन् प्रलेसका पूर्वअध्यक्ष मातृका पोखरेल भने । ‘महेन्द्रले स्थापना गरेको पञ्चायती व्यवस्थाको विरोधमा उनी सधैं लागिरहे,’ उनी भन्छन्, ‘त्यो घटनाले भट्टको निर्भीक स्वभावको परिचय दिन्छ ।’

साहित्यकार पुण्यप्रसाद खरेल भट्टलाई ११ पटकभन्दा बढी जेल पर्दासमेत आफ्नो विचार बदलेर सुखसुविधाको पछि नलाग्ने व्यक्तिको रुपमा भट्टको स्मरण गर्छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘म उहाँका गुणहरूको सदैव प्रशंसा गर्दछु । कुसंगत, मोजमस्ती, लोभ, लालसा, चाकडी, चाप्लुसी, विलासिता, धन आर्जनको तृष्णा, पद प्राप्तिको लिप्सा र कपटतातिर उहाँ कहिल्यै लाग्नुभएन ।’

आनन्ददेव भट्ट ‘द्वन्द्व’लाई नै अस्तित्वको मियो मान्थे । उनी भन्थे, ‘द्वन्द्व नै सबै अस्तित्वको नियम हो । त्यसलाई सकारात्मक रूपमा लिएमा आदानप्रदानको माध्यमबाट विस्तारै अघि बढ्न सकिन्छ ।’

(साहित्यकारहरूसँगको कुराकानीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

Advertisment