
१४ भदौ, काठमाडौं । कोभिड-१९ महामारीका कारण पर्यटक आगमन ठप्प हुँदा त्यसको नकारात्मक असर मुलुकले प्राप्त आयमा परेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सेवा क्षेत्रबाट मुलुकले प्राप्त गर्ने आय आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा ७२ अर्ब ८५ करोडले घाटामा गएको छ । यसमध्ये भ्रमण आयमा आएको गिरावटको हिस्सा ठूलो छ ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा भ्रमण आय ७ अर्ब २७ करोड रुपैयाँ भएको छ । आर्थिक वर्ष २०७६/७६ यस्तो आय ६० अर्ब ८९ करोड रुपैयाँ थियो । यो आवमा सेवा खाता अन्तर्गत भ्रमण आयमा ५३ अर्ब ६२ करोड (८८.१ प्रतिशत) को गिरावट आएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा भ्रमण आय ७५ अर्ब १४ करोड रुपैयाँ रहेको थियो । महामारीका कारण नेपालमा पर्यटक आगमन ठप्प प्रायः रहेको छ । यो आवको पर्वतारोहण सिजनमा संतोषजनक संख्यामा पर्यटक आएका थिए । तर, कोभिड १९ को दोस्रो लहर आएसँगै पुनः पर्यटक आगमन बन्द भयो । सरकारले २०७८ वैशाख १६ पछि गतिविधिहरु बन्द गरी निषेधाज्ञा जारी गरेको थियो । त्यसयता पर्यटक आगमन बढ्ने अर्को निर्णय भइसकेको छैन । पर्यटन क्षेत्रमा विद्यमान अन्यौल लामो समय लम्बिन सक्ने भन्दै व्यवसायी भने चिन्तामा छन् ।
शिक्षाका लागि २५ अर्ब बाहिरियो
नेपालमा पर्यटक आगमन बन्द भएजस्तै नेपालबाट अध्ययन, उपचार र भ्रमणका सिलसिलामा बाहिरिने रकममा समेत कमी आएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा भ्रमण व्ययतर्फ ३८.३ प्रतिशतको गिरावट आएको छ । यो आवमा ३२ अर्ब ८० करोड मात्र भ्रमण व्यय रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा भ्रमण व्यय ५३ अर्ब १३ करोड रुपैयाँ थियो । अघिल्लो आव २०७५/७६ मा भने भ्रमण व्यवय ८९ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।
यो रकम नेपालबाट विदेशमा अध्ययनका लागि जाने, नेपालबाट विदेशी अस्पतालमा उपचारका लागि जाने र नेपालबाट भ्रमण तथा औपचारिक यात्रामा जानेहरुले गरेको खर्च हो । यो आवमा शिक्षाका लागि २४ अर्ब ९६ करोड रुपैयाँ विदेशिएको छ । आव २०७६/७७ मा शिक्षाका लागि २५ अर्ब ८१ अर्ब रुपैयाँ बाहिरिएको थियो । त्यसअघिको आव २०७५/७६ मा भने शिक्षाका लागि ४६ अर्ब २४ करोड रुपैयाँ बाहिरिएको थियो ।
भ्रमण आय
- आव २०७५/७६ : ७५ अर्ब १४ करोड
- आव २०७६/७७ : ६० अर्ब ८८ करोड
- आव २०७७/७८ : ७ अर्ब २६ करोड
भ्रमण व्यय (शिक्षासहित)
- आव २०७५/७६ : ८९ अर्ब ७ करोड
- आव २०७६/७७ : ५३ अर्ब १३ करोड
- आव २०७७/७८ : ३२ अर्ब ८० करोड
मुलुक भित्र पर्यटन उद्योगले कति गुमायो ?
कोरोना भाइरसको महामारीका बीच गुमेको यो आयको असर मुलुक भित्रको अर्थतन्त्रमा समेत परेको छ । महामारीका कारण हवाई क्षेत्रमा मात्र ३७ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमेको देखिएको छ । यसबाहेक होटेल, ट्राभल, टूर, पर्वतारोहण, साहसिक पर्यटकीय गतिविधिमा पर्यटन आगमनमा परेको प्रभावको असर देखिएको छ ।
नेपालमा २०७६ चैतदेखि लकडाउन शुरु भएको हो । नेपाल पर्यटन बोर्डले तयार पारेको प्रतिवेदन अनुसार नेपालमा पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा १५ खर्ब बराबरको लगानी रहेको छ । लकडाउनपछि पर्यटन क्षेत्रले मात्र प्रतिमहिना १० अर्ब रुपैयाँ बराबरको नोक्सानी गरेको अनुमान बोर्डले गरेको छ । यद्दपि यो रकमको यकिन तथ्यांक भने छैन । पर्यटन क्षेत्रमा भएको यो नोक्सानीको असर समग्र अर्थतन्त्रमा परेको हो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4