+
+

पछिल्लो ५ दिनमा बाढी-पहिरोबाट १५  जनाको मृत्यु

रासस रासस
२०७८ भदौ १५ गते १८:५१

१५ भदौ, काठमाडौं । मुलुकका विभिन्न जिल्लामा भदौ १० पछि आएको भारी वर्षा र त्यसपछिका बाढी, पहिरो र डुवानमा परी १५ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले भदौ १० पछिको चार दिनमा बाढीपहिरामा परेर १५ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार उक्त अवधिमा तीन जना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन् । क्षतिको विवरण सङ्कलनको क्रम भने जारी छ । अवरुद्ध भएका कतिपय राजमार्ग खुलाउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दिएको जानकारीअनुसार गएको जेठ ३१ पछि हालसम्म मनसुनजन्य घटनामा परेर १०० जनाले ज्यान गुमाएका छन् । उक्त अवधिमा ४४ व्यक्ति बेपत्ता भएका छन् भने १०९ जना घाइते भएका छन् । मनसुनजन्य विपद्‍मा परेर ३७ सरकारी कार्यालय, १६ सामुदायिक भवन र विद्यालय, २५ जलविद्युत् आयोजना, ३० मोटरेवल पुल र ३० झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

दर्जनौँ राजमार्गमा क्षति पुगेकाले कतिपय अझै खुल्न सकेको छैन । अहिले पनि खुलाउने प्रयास जारी गरेको गृहमन्त्रालयले जनाएको छ । उक्त अवधिमा छ हजार १८१ जनालाई स्थानान्तरण गरेर सुरक्षित स्थानमा सारिएको प्रवक्ता अर्यालले जानकारी दिए ।

पछिल्लो चार दिनमा मात्रै झण्डै एक हजार व्यक्तिलाई स्थानान्तरण गरिएको छ । झण्डै पाँच हजार घर डुबानमा परेकामध्ये १० प्रतिशतमा क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण अझै आइसकेको छैन ।

मन्त्रालयका अनुसार बेपत्ताको खोजी, आवश्यक राहत तथा उद्धार कार्य अघि बढाइएको छ । यस्तै पुनःस्थापना र पुनःनिर्माणका कार्यक्रमसमेत सँगसँगै लगिएको जनाइएको छ ।

आजदेखि मौसम सुधारियो

केही दिनदेखिको झरीले प्रभावित बनाएको जनजीवन मौसममा आएको सुधारसँगै सामान्यतर्फ उन्मुख भएको छ । आजदेखि मौसम खुले पनि बदली भने मुलुकभर नै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समिर श्रेष्ठले मंगलबार ठाउँठाउँमा घाम लागिरहेको तर कतिपय ठाउँमा पानी पनि परिरहेको जानकारी दिए ।

यद्यपि हिजो अस्तिको जस्तो झरी भने नरहेको उनको भनाइ छ । मंगलबार राति बागमती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको पनि उनले जानकारी दिए । उनले अन्य क्षेत्रमा हल्कादेखि मध्यम पानी पर्नसक्ने भएकाले जमिन पूरै भिजिसकेको हुँदा सामान्य वर्षाले नै क्षति निम्त्याउन सक्नेतर्फ सचेत हुन अनुरोध गरे ।

उनले भने, ‘पूरै खुलेको छैन र पूरै ढाकेको पनि छैन, बदलीको अवस्था कायमै छ ।’

मौसमविद् श्रेष्ठले न्यून चापीय रेखा नेपालबाट दक्षिण सरिसकेको पनि जानकारी दिए । यसरी उक्त रेखा दक्षिण सर्नु भनेको नेपालमा वर्षा गराउने मनसुनी वायु कमजोर हुनु हो तर पनि मनसुनी वायु भने कायमै छ । अहिले पनि बागमती र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भने पानी परिरहेको छ ।

यसपालिको पछिल्लो झरी भने चार दिन रहेको जनाइएको छ । यसअघि मनसुन सुरुआती ताक र असारको मध्य समयमा दुई पटक भारी वर्षा हुँदा सिन्धुपाल्चोक, मनाङलगायत दुई दर्जन बढी जिल्ला नराम्ररी प्रभावित बनाएको थियो । केही दिनयता निरन्तरको झरीले भने तराईका साथै केही पहाडी क्षेत्रमा डुबान र बाढीपहिरोले असर गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?