+

किन छाडे वाट्मोरले नेपाली क्रिकेट टिम ?

२०७८ भदौ  १५ गते २२:०६ २०७८ भदौ १५ गते २२:०६
किन छाडे वाट्मोरले नेपाली क्रिकेट टिम ?

१५ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले डेभ वाट्मोरलाई दिएको लक्ष्य हो, क्रिकेट वर्ल्डकप लिग–२ मा राम्रो प्रदर्शन गर्ने र एकदिवसीय राष्ट्रको मान्यता कायमै राख्ने ।

तर आफ्नो प्रशिक्षकत्वमा नेपालले लिग–२ मा पहिलो त्रिकोणात्मक सिरिज खेल्नुअघि उनले राजीनामा दिएका छन् । नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिजका लागि ओमान पुगेका उनले त्यहीँबाट राजीनामा दिएका हुन् ।

उनले १३–२० सेप्टेम्बरसम्म हुने सिरिजपछि लागू हुने गरी राजीनामा बुझएका हुन् । जबकी उनको सम्झौता अवधि २०२१ भर अर्थात थप तीन महिना थियो ।

श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका हाइप्रोफाइल प्रशिक्षक वाट्मोरले किन दिए त राजीनामा ?

वाट्मोरसँग काम गरेकाहरु भन्छन्– उनी जे सोचेर नेपाल आएका थिए, त्यो उनले पटक्कै पाएनन् । अर्थात क्रिकेट संघको व्यवस्थापन निकै फितलो रह्यो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को शर्तहरु पूरा गर्दै चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमिति निर्वाचित भएपछि क्यानको निलम्बन असोज २०७७ मा फुकुवा भएको थियो । तर चन्द नेतृत्वको क्यान प्रभावकारी देखिएको छैन । बरु अनेक विवादमा फस्यो । अहिले पनि प्रशिक्षक वाट्मोरले सम्झौता अवधि बाँकी छँदै राजीनामा दिनुमा क्यान जिम्मेवार मानिन्छ ।

खासगरी व्यवस्थापनमा क्यान निकै कमजोर साबित भयो । उनी ब्याटिङ, बलिङ प्रशिक्षक, टेक्निकल एनालिस्टलगायतका जनशक्ति राखेर काम गर्दै आएका प्रशिक्षक हुन् । तर नेपालमा क्रिकेट संघले उनलाई त्यो सुविधा दिएको थिएन ।

पदाधिकारीपिच्छे फरक–फरक कुरा हुने, एकअर्कालाई देखाएर पन्छिने, समयमा सूचना आदान प्रदान नहुनेजस्ता क्यानको बेथितिप्रति पनि उनी असन्तुष्ट थिए ।

प्रशिक्षक नियुक्त गरेपछि वाट्मोरलाई समयमा तलब दिन नसक्नु पनि क्यानको अर्को कमजोरी रह्यो । श्रम सम्झौता नभएको भन्दै सुरुवाती दुई महिनाको तलब समयमा दिइएको थिएन । क्यानका पदाधिकारी पनि यो स्वीकार गर्छन् ।

वाट्मोर कतिपय खेलाडीको व्यवहारप्रति सन्तुष्ट थिएनन् । पटकपटक सम्झाउँदा पनि नटेरेको  उनको गुनासो थियो । त्यही बेला पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि सम्हाल्न गाह्रो हुन्छ भन्ने निष्कर्षमा पुगेको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘नेपालमा जुन खालको संरचना छ, यो अस्तव्यस्ततामा बस्न सकिँदैन भन्ने लागेर छोड्नु भएको हो ।’

क्रिकेट संघका अध्यक्ष चन्द भने यसलाई स्वीकार गर्दैनन् । भन्छन्, ‘उहाँ क्यानसँग पूर्ण रुपमा सन्तुष्ट हुनुहुन्थ्यो । पैसा दिएकै थियौं, भनेको समय क्याप राखेकै छौं ।’

त्यसो भए वाट्मोरले किन छाडे त ? चन्द भन्छन्, ‘उनको प्राथमिकतामा नेपाल थिएन ।’

वाट्मोरको प्राथमिकतामा नेपाल थिएन

नेपाल आउनुअघि वाट्मोर बरोडा क्रिकेट एशोसिएसन, भारतमा आवद्ध हुने मुडमा थिए ।

कोभिड–१९ का कारण रणजी ट्रफी स्थगित भयो । त्यही कारण छोटो समयका लागि मात्र उनी नेपाल आएको क्यान अध्यक्ष चन्दको दाबी छ ।

भन्छन्, ‘उनको प्रथमिकतामा नेपाल थिएन । भारतमा जे गर्न खोजेका थिए, त्यो विभिन्न कारणले भएन । त्यसैले केही समयका लागि मात्र नेपाल आएका हुन् ।’

उनको दाबीलाई टाइम्स अफ इण्डियामा ८ मार्च २०२१ मा प्राकाशित समाचारले पनि पुष्टि गर्छ । बरोडा क्रिकेट एशोसिएसनका अध्यक्ष प्रणव अमिनले वाट्मोर प्रशिक्षकका रुपमा आउन लागेको जानकारी दिएको समाचारमा उल्लेख छ ।

यसअघि भिसा लगायतका कारण आउन नसकेको भन्दै अमिनले भनेका थिए, वाट्मोरले हामीलाई सम्पर्क गरे र नेपालको राष्ट्रिय टिमको प्रशिक्षक हुन लागेको जानकारी गराए । तर उनले सम्भव हुनासाथ आउने बताएका छन् । त्यसैले आगामी सिजन उनी बरोडा आवद्ध हुनेछन् ।’

क्रिकेट संघका अध्यक्ष चन्दका अनुसार वाट्रमोरलाई २०२२ मार्चसम्म बस्न प्रस्ताव गरिएको थियो । त्यो नभए कम्तीमा सम्झौता अवधिभर रहन आग्रह गरेको भए पनि उनले एकतर्फी रुपमा सम्झौता तोडेको भन्दै उनले भने, ‘एउटा जीवन्त संस्थामा आउने जाने भइरहन्छ । यसलाई सामान्य रुपमा लिनुपर्छ ।’

नेपालका पूर्व कप्तान पारस खड्का भने अनुभवी प्रशिक्षक वाट्मोरलाई टिकाउन सकेको भए राम्रो हुन्थ्यो भन्छन् । ‘के कारणले छाड्नुभयो, त्यो उहाँले मात्र भन्न सक्नुहोला,’ खड्का भन्छन्, ‘तर, उहाँलाई राख्न सकेको भए राम्रो हुन्थ्यो ।’

क्रिकेट डेभ वाट्मोर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय