Comments Add Comment
व्यङ्ग्य :

कति चाहियो पैसा ?

सपनामा मेरा इष्टदेव फेरि आए र भने- ‘के माग्छस् मनुवा ? वर माग् !’

जिन्दगीभरि गरीबीमा पिल्सिएको म बबुरोले के माग्नु ? ‘पैसा दिनुस् प्रभु पैसा’- मैले भनें । प्रभुले फेरि सोध्नुभो- ‘कति पैसा दिऊँ बालक तँलाई ?’ अब मलाई समस्या पर्‍यो- कति माग्ने ? यो महीनाको बैंकको किस्ता तिर्न नसकेर फिटीफिटी परेको बेला हतारहतार तीस हजार चाहिं मागिहाल्ने विचार गरें । तर अर्को मनले तुरून्तै भनिहाल्यो- ‘हैट् ! अनि अर्को महीना चाहिं आउँदैन, किस्ता तिर्नलाई ?

फेरि–फेरि आउँछ र यस्तो मौका ?’ कुरो सही हो । त्यसो भए साठी हजार माग्ने विचार गरें । तर उही प्रश्न फेरि दोहोरियो । यो क्रम निरन्तर चलिरहने देखें । मेरो सम्पूर्ण किस्ता सकिएपछि पनि यो क्रम जारी नै रहने देखें । लौ भएन भनेर ‘सुनारको सय चोट लोहारको एकै चोट’ भन्ने आव्हान सम्झँदै एकैचोटि एक करोड माग्ने विचार गरें ।

अर्को मनले तुरुन्तै फेरि सवाल उठायो- ‘तर के यति भएपछि जिन्दगीभरिलाई पुग्यो त ?’ सवाल जायज हो । पुग्दैन । अब जिन्दगीभरिलाई पुग्ने रकम गुनें । पाँच करोड भए त पुग्ला भनेर मनमनै हिसाब निकालें । अरू कुरामा बोधो भए पनि पैसाका मामिलामा मेरो दिमाग छिटो चल्छ । अर्को मन बोल्यो- ‘एऽऽऽऽ! आफ्नो मात्रै हिसाब गरेर हुन्छ ? छोराछोरी, श्रीमती यिनलाई चाहिं चाहिन्न ?’

विल्कुल सही बात ! अब एकजनाको पाँचका दरले पन्ध्र करोड थपेर बीस करोड माग्ने विचार गरें । विचरा मेरा भगवान् उभिई राख्नुभा’छ । फेरि अर्को मन सक्रिय भयो- ‘अनि आफ्ना बा, आमा, सासू, ससुराको ख्याल राख्नु पर्दैन ?’ हो त हगि ।

प्रत्यक्ष अप्रत्यक्ष जे भए पनि ती पनि मेरै जिम्मेवारी भित्रका हुन् । अब फेरि बीस थपेर चालीस करोड माग्ने विचार गरें। तर फेरि मनैमन अर्को खबरदारी आयो- ‘आफ्ना फूल जस्ता सालासाली अनि भाइबहिनी बिर्सने ? त्यति राम्रो एउटा भएको भतिजोलाई कसरी बिर्सन सकेको हँ ?’

ओहो ! हो त नि ! भनेपछि अब पैंसट्ठी करोड माग्नुपर्‍यो भनेर यसो मुख बाउन मात्रै के लागेको थिएँ झ्वाट्ट आफ्ना साथी जस्ता ज्वाइँनारायणको सम्झना आयो । अब सत्तरी करोड माग्ने विचार गर्दै थिएँ- झल्याँस्स ब्यूँझिएँ । त्यही सत्तरी करोड पनि माग्नै पाइनँ । नब्यूँझेको भए यो रकम अझै निकै माथि पुग्थ्यो होला ।
यही प्रश्नबारे विपनामा गहिरिएर गमें । मेरा भगवान् विपनामै आएर ‘कति पैसा दिऊँ बालक ?’ भनेर सोधे पनि मसँग त्यसको ठोस उत्तर चाहिं रहेनछ । कति माग्ने कति !

मलाई मात्र होइन अरूलाई पनि शायद यस्तै हुँदो हो ।वास्तवमा त्यस्तो मान्छे भेटिन गाह्रो छ जसले ‘मलाई अब पैसा पुग्यो, म पैसाले अघाएँ, यत्ति भए चाहिं पुग्छ’ भनेर सिलिङ तोकेको होस् । विश्वका एक से एक खर्बपतिहरूलाई पनि अब कमाउन पुग्यो भन्ने भएको छैन । सफल, सादगी र सदाचारी उद्यमीहरू त्यसरी अघाए उद्यमशीलता मर्छ । व्यापार व्यवसाय मर्छ । रोजगारी मर्छ ।

तर काम, क्रोध, लोभ, मोह सब त्यागेर त्यागी कहलिएका महापुरुषहरू समेत पैसाको मोहबाट उम्किन सकेका छैनन् । ती चाँडै पैसाको मोहपासबाट उम्किउन्- यसैमा मर्त्यलोकको भलो छ । देश विदेशमा रहेका कलियुगका नाम कहलिएका साधु, सन्त, महन्तहरू अधिकांशको आधार भनेको साधना र धर्मकर्म होइन, धन नै भएको छ । परोपकार होइन आत्मोपकार नै तिनको उद्यम भएको छ । तिनको जीवनबाट पैसा झिकिदिनुस् अर्कै हुन्छन् ती । अधूरा हुन्छन् । अपूरा हुन्छन् । बबुरा हुन्छन् । तिनलाई कति पैसा भए पुग्छ त्यसको पनि सीमा छैन । सडक सडकमा कमण्डलु बोकेर जय शम्भो भन्दै हिंड्नेहरूको पनि त्यही हो हालत।

‘मलाई पैसा चाहिन्न । झन् गलत तरिकाले प्राप्त भएको पैसा त चाहिंदै चाहिन्न’ भन्नेहरू पैसा देख्नासाथ मोहित भैहालेको धेरै उदाहरण भेटिएका छन् । ‘जनताको मन जितेर चुनाव जितिन्छ’ भन्ने उम्मेद्वारहरू चुनाव जितेपछि ‘दश करोड चाहिन्छ, नत्र बजेट फेल पारिन्छ’ भन्दै शीर्ष नेतालाई घुर्क्याउन/धम्क्याउन पुगे । धन देखेपछि महादेवका तीन नेत्र त्यसै भनिएको होइन रहेछ ।

देश र जनताको सेवा गर्न भनेर वर्षौं वर्ष जेलनेल, यातना भोगेका, सिद्धान्त र आन्दोलनको लागि घर परिवार, निजी जिन्दगी, निजी स्वार्थ सबै त्यागेका, कोही बिहे गर्न नपाएका, कोही बिहे गरेर पनि छोराछोरी जन्माउन नभ्याएका, कोही छोराछोरी जन्माएर पनि तिनलाई समय दिन नभ्याएका अधिकांश कमरेड र ‘दाइ’ हरूको एकल उद्देश्य पैसा नै हुने गरेको छ भन्नुपर्दा बडो दु:ख लाग्छ ।

अख्तियारले नडामुन्जेल पो के हो के हो भन्ने हुँदोरहेछ, डामेपछि त डर हराउँदो रहेछ कि क्या हो ! उनी त झन् मस्त कमाउन थालेका छन् । शायद शरीर र मनमा अख्तियार विरुद्धको एण्टिबडी नै बनाइसके कि !

कतिपय ‘दाइ’ र कमरेडको मुद्रामार्ग अवरुद्ध हुनासाथ तिनको राजनीतिक मार्ग पनि अवरुद्ध हुन्छ । अनि राजनीति नै सकिन्छ । त्यसैले ती जनताका पछि होइन ‘दश करोड चाहियो’ भन्दै मुद्राका पछि लाग्छन् । लाग्दै आइरहेका छन् । मुद्रा विनाको राजनीति गर्न सिकून्, यसैमा देश र जनताको भलाइ छ । आफ्नै चुनावी पर्चा जनतालाई बेचेर चुनाव खर्च उठाई चुनाव जित्ने नेता पनि यही देशमा जन्मेका थिए भनेर दश करोडका अनुयायीहरूले हेक्का राखिदिए नेपाली जनताको कति भलो हुन्थ्यो ।

एकजना दाइ थिए पैसाका क्रेजी । यी दलविहीन दाइ हुन् । छोरा भने फरक प्रकृतिका । बेला बेलामा छोरालाई सम्झाउँदै भन्थे- ‘मैले यो सब तेरै लागि त गरेको हो नि !’ छोरा एकदिन बाउलाई छाडेर हिंड्यो । तर उनको मुद्रामोह घट्नुको साटो झन् बढेर गयो । अब उनी शायद छोरो फर्केर आउला र मैले कमाएको सम्पत्ति खाला भनेर अझै कमाउनमै मस्त छन् ।

अर्का एकजना कमरेड छन् । उनी भनिरहन्थे- ‘अर्थतन्त्रलाई शोषणरहित बनाउनुपर्छ । समाजलाई सामन्तविहीन बनाउनुपर्छ। जसको जोत उसको पोत कायम गर्नुपर्छ। सुनको मोह त्याग्नुपर्छ किनभने खिया नलाग्ने भएकोले यो चर्पीका सामान बनाउन मात्र काम लाग्छ। दाइजो तिलक जरैदेखि उखेल्नुपर्छ’ आदि आदि।

अहिले भन्न छाडे । राजनीति गर्दै गए उपल्लो तहमा पुग्दै गए । न अर्थतन्त्रलाई शोषणरहित बनाए । न भूमिहीनलाई भूमिपति बनाए । तर नजाने कति जनतालाई मुद्राविहीन र भूमिविहीन बनाएर आफू भने अरबौं मुद्राका पति, नयाँ भूपति, सुवर्णपति र नवसामन्त बने । यत्रो तरक्कीको राज के हो हजुर ? भनेर कसैले सोधे ‘श्रीमतीको दाइजो’ भन्ने रेडिमेड जवाफ हाजिर छ । यस किसिमको दाइजोलाई शायद ‘जनवादी दाइजो’ भनिन्छ ।

उनी पनि अघाएका छैनन् पैसाले । अझै एकपटक भौतिक योजना त्यसपछि स्थानीय विकास र अन्तिममा गृह मन्त्रालयको नेतृत्व गर्न पाए उनको जीवन सार्थक हुन्थ्यो रे !

एउटा सरकारी अफिसमा घनघोर घुसात्मा थिए । आधारभूत आवश्यकताको लागि घुस खाइरहनुपर्ने बाध्यता पनि थिएन तिनलाई । तर अफिसमा भने घुस खानु नै तिनको आधारभूत आवश्यकता थियो । आधारभूत आवश्यकतामा गडबड हुँदा जसरी मानिस अस्वस्थ हुन्छ ठीक उसैगरी उनी पनि अस्वस्थ हुन्थे । अफिसमा साथीभाइहरूसँग त रिसाउँथे नै ।

घरमा गएर पनि श्रीमती छोराछोरीलाई पिट्थे । अफिस छुट्टी भएको दिन उनलाई ठूलो घाटा लागेको महसुस हुन्थ्यो । शायद त्यही भएर सितिमिति विदा नै लिंदैनथे । जिन्दगीभरि घुसमा पौडी खेलेका उनी रिटायर्ड हुने दुई दिन अघिसम्म पनि घुसमै पौडी खेलिरहेका थिए । अख्तियारबाट समातिए ! नपुग्दो केही थिएन । ‘मलाई के कुराको कमी छ र घुस खानू हँ ?’ भनिरहन्थे ।

आज पनि आफूलाई एक से एक कुलीन, धनाढ्य र सम्भ्रान्त ठान्ने ‘राष्ट्रसेवक’हरू जसको ‘राष्ट्रसेवा’को अभिन्न अङ्ग हो घुसप्रेम । हो, तिनले पनि ‘मलाई के कुराको कमी छ र घुस खानू हँ ?’ भनिरहन्छन् ।

पैसा नहुने त लोभी कन्जुस हुने कुरा त प्राकृतिक नै भइहाल्यो । जो मान्छे पैसावाल छ, धनी छ उही ज्यादा कन्जुस भएको बग्रेल्ती उदाहरण पाइन्छन् । साथीभाइलाई एक कप चिया खुवाउन पनि दाँतबाट पसिना चुहाउने तर मेरो फलानो ठाउँमा यति रोपनी घडेरी, चिलानो ठाउँमा यति बिघा जग्गा र महीनाको यतिउति कमाइ हुन्छ, छोराछोरीले विदेशबाट यति पठाउँछन् भन्दै गफ हाँक्नेहरू पनि भेटिन्छन् ।

र, यस्तो लाग्छ उसको बिघा, रोपनी र करोडौंको राज नै कन्जुसीपन हो । कोशिश गरें मैले पनि कन्जुसीपनले अमिर होइन्छ कि भनेर । चिया खाइन पनि। खुवाइन पनि। खाजा पनि हल्काफुल्का सस्तोमस्तो मात्रै । ग्याष्टिकलाई वास्ता गरिनँ । फुटपाथे लुगामा दिल बसाएँ । मोजा फाटे सिएर लगाएँ । गन्जी कट्टु फाटे ‘भित्री बस्त्र त हो नि कसले देख्छ र’ भनेर पुरानैले काम चलाएँ । नयाँ किन्दै किनिनँ । जड्यौरी जुत्ताले जुनी काट्ने निधो गरेर दाजु, भाइ, भतिजाका जुत्ता मागेर लगाउन थालें ।

हरेक दिन पन्ध्र रुपैयाँ बचाउन तीस मिनेट पनि हिंडे । ट्याक्सी चढ्नु महापाप सम्झें । सकेसम्म चढ्दै चढिनँ । आफ्नो मोटरसाइकलमा जहाँसम्म जानुपर्ने त्यति मात्रै पेट्रोल हालें । दश बीस रुपैयाँको पनि पेट्रोल पाइहाल्दो रै’छ । छोरीपट्टीको बिहेलगायत दानदक्षिणा दिनुपर्ने निम्ताहरू बङ्क गरें । दुनियाँले असामाजिक तत्व पनि भने त्यसलाई एउटा कानले सुनेर अर्को कानले उडाइदिएँ । जन्ती जाने लगायत खाने पिउने तर केही दिनुनपर्ने निम्तोहरू मिस गरिनँ ।

माछा मासु रोगको घर भन्ने सिद्धान्त बनाएँ। मन लागे पनि किनेर चाहिं खाइनँ । सित्तैंमा पाए त खानै पर्‍यो । तर पैसा बचेन । न बिघा भो । न रोपनी भो । न करोड नै ! कहाँ गयो त मैले त्यस्तरी बचाएको बचत ? ठोस जवाफ म आफैंसँग त छैन, तपाईंले कसरी दिनुहुन्छ? कतै लोभीको धन पापीले खान्छ भन्ने उखान त चरितार्थ भएको होइन ? दैव जानून् ।

कोही कोही हरेक कुरालाई पैसासँग तुलना गर्ने हुन्छन् । कति पैसा आउँछ वा कति पैसा खर्च हुन्छ त्यसपछि मात्र कुरो अघि बढ्छ । व्यावसायिकता वा उद्यमशीलता र राष्ट्रिय हितका बडे बडे कुरामा यो नभई नहुने कुरा हो । तर कतिपय मान्छेहरू घरमा आफ्नो बाउ बिरामी परेर भेट्न जाँदा आउँदाको खर्च पनि घाटामा जोड्छन् ।

एकजना मित्र एउटा बिहेको पार्टीमा जबर्जस्ती कोचीकोची खाँदै थिए। ‘नरूची नरूची किन त्यस्तरी खाको ?’ भनेको त ‘दुलहीलाई गोड्धुवा दिएको पैसा त असुल्नु पर्‍यो नि’ रे !

एकजना मित्रले पाँच हजार सापटी मागे । दिएँ। महीना दिन, वर्ष दिन, दुई वर्ष, चार वर्ष अहँ फिर्तै दिएनन् । मैले मागिनँ, उनले दिएनन् । अस्ति भर्खर आफूलाई पाँचै हजारको सख्त जरूरत भो । मेरो ऋण तिर भनेर कटु वचन भन्नू भन्दा मलाई यस्तो यस्तो समस्या पर्‍यो भनेर बडो कूटनीतिक हिसाबले भनें । हत्तेरिका म दिइहाल्छु नि भनेर तुरुन्तै दिए पाँच हजार । तर दुई महीना भित्र फिर्ता गर्ने शर्त पो राखे । अब भो ! मैले कि पैसा गुमाउनुपर्ने भो कि मित्र । जे स्वाभाविक थियो त्यही गुमाएँ ।

एकजना मदिराप्रेमी मित्र आफ्नी छोरी बिरामी हुँदा उपचार गर्ने पैसा निकाल्दैनन् तर मदिरा किन्न सजिलै । कसरी निस्कन्छ हँ त्यो पैसा ? अनेक अनेक रूप देखाउँछ यसले पनि ।

स्कूल पढ्दा स्कूलकै एकजना सरसँग ट्युसन पढिन्थ्यो । हामीले फी बुझाएको दिन उनको मुहार कान्तिमय हुन्थ्यो । त्यो दिन उनले पढाउने शैली नै भिन्दै हुन्थ्यो भने फी बुझाउन एक दुई दिन ढिला भयो भने उनको मुहार क्रान्तिमय हुन्थ्यो । फी पाएको दिन उनी तरह तरहका गीत गाउँथे । जोक सुनाउँथे । थोरै हाँस्दा हुने ठाउँमा पनि अट्टहास हाँस्थे । अरू दिन भने उनीसँग बोल्न पनि डर लाग्थ्यो ।कक्षाकोठामा पैसाको प्रसङ्ग आउँदा भने उनी ‘पैसा भन्ने चीज केही होइन हेर भाइबहिनी हो, यो केवल साधन मात्र हो, हातको मैलो हो’ भनेर आफ्नो मात्र होइन अरूको क्लास पनि खाइदिन्थे- घण्टौं लेक्चर दिएर ।

पैसाको नशा पनि गजबको हुन्छ । जागीर खाएको आरम्भदेखि नै मालदार ठाउँमा रहेर माल संकलनमा सिद्धहस्त एकजना ‘राष्ट्रसेवक’ मालप्रेमी मनुवालाई माल संकलनको नशा अझै उत्रिएको छैन । मालदार ठाउँमा जान अझै साम, दाम, दण्ड, भेद सबको प्रयोग गर्छन् । यस्ता काममा झनै मेधावी छन् । उनको यस्ता कामको अगाडि उनले उहिले विश्वविद्यालयबाट प्राप्त गरेको विशिष्ट श्रेणीको उपाधि पनि फिक्का लाग्छ ।

बेलाबखत अख्तियारले नडामिएका पनि होइनन् तर नशा उत्रिनुको साटो झन झन् बढ्दो छ । अख्तियारले डामेपछि त उनी माल कमाउन झन् परिपक्व भएर निस्केका छन् । अख्तियारले नडामुन्जेल पो के हो के हो भन्ने हुँदोरहेछ, डामेपछि त डर हराउँदो रै’छ कि क्या हो । उनी त झन् मस्त कमाउन थालेका छन् । शायद शरीर र मनमा अख्तियार विरुद्धको एण्टिबडी नै बनाइसके कि !

कति चाहिन्छ पैसा भन्ने कुराको सीमा नभए जस्तै के–केको लागि चाहिन्छ पैसा भन्ने कुराको पनि सीमा छैन । आधारभूत आवश्यकता, अतिरिक्त आवश्यकता लगायतका सारा आवश्यकता पूरा भइसकेका एकजना ‘समाजसेवी’ आफ्ना बाउआमालाई नेपाल र भारतका सबैजसो तीर्थस्थल दर्शन गराएर पनि विश्व भ्रमण गराउन नपाएकोमा दु:खी देखिन्थे । आफ्नी श्रीमतीलाई जन्मदिनमा चालीस लाख पर्ने हीराको नेक्लेस गिफ्ट दिन नपाएकोमा दु:खी देखिन्थे एक नेताजी ।

नेपालको सबैभन्दा महँगो होटलमा छोराको बिहेको पार्टी दिनकै लागि भए पनि अर्का एक ‘राष्ट्रसेवक’ दिनरात ‘राष्ट्रसेवा’मा तल्लीन छन् । अर्का ‘राष्ट्रसेवक’लाई आफ्ना छोराको बिहेमा देशका सबै हाइप्रोफाइलहरूलाई बोलाउनु छ । अनि विमान चार्टर गरेर जन्ती लैजानु छ । हेलिकोप्टर चार्टर गरेर छोराबुहारीलाई दुल्हन फर्काउन पठाउनु छ । त्यसैले उनी पनि धूवाँदार ‘राष्ट्रसेवा’मा तल्लीन छन् । दैनिक नयाँ-नयाँ नगरबधूहरूमा लीन हुन अर्का मालप्रेमी मानव खूब मिहिनेत गरेर माल कमाउँछन् । कमाएको आधाभन्दा बढी त उनले यस्तै ‘परोपकारी’ काममा लगाउँछन् ।

उहाँहरूको यस्तो मनोकाङ्क्षाको पूर्तिले देशको समृद्धिलाई इङ्गित गर्दैन र ?

यति पैसाले मान्छे अघाउँछ भन्ने कुनै परिमाणात्मक सीमा भए त्यति नै पैसा जोहो गरेर संसारभरिका सबै भ्रष्टरूलाई अग्रिम रूपमा त्यति नै रकम दिन पाए भ्रष्टाचार उन्मूलन हुन्थ्यो कि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
शैलेश भट्टराई

समसामयिक राजनीतिक बिषयमा ब्यंग्य गर्न माहिर शैलेश अनलाइनखबरका स्तम्भकार हुन् ।

ट्रेन्डिङ

Advertisment