+
+
टिप्पणी :

कम्युनिष्ट कलहको दुष्चक्रमा देश, नागरिक एजेन्डा अलपत्र 

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७८ साउन १७ गते १९:५१
फाइल तस्वीर

१७ साउन, काठमाडौं । राजनीतिक दल र नेताहरू छिटोछिटो बैठक बसिरहेका छन् । विभिन्न तह र स्तरमा बैठकदेखि बैठकसम्म चलिरहेका हुन्छन् । बैठकको ‘तारेख’ धान्ने दौडमा रहेका नेताहरु सधैं हतारमा देखिन्छन् । एकपछि अर्को बैठकमा दलका नेतृत्व अत्यधिक व्यस्त हुन्छन् ।

तर यसरी दिनदिनै बस्ने बैठकका एजेन्डा र कार्यसूचीमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने एजेन्डाहरु नगन्य मात्रै पर्छन् । बैठकमा दलगत, गुटगत र व्यक्तिगत स्वार्थका रोटी सेक्ने काम भइरहन्छ । यस्तो लाग्छ- दलीय कलहको भान्छामा चुलो कहिल्यै निभ्दैन । तर, मेनुमा नागरिकका एजेन्डा र सवालहरुले खासै प्राथमिकता पाउँदैनन् ।

कम्युनिष्ट कलह

कम्युनिष्टहरु पार्टी जीवनमा हुने अन्तरसंघर्षलाई तीन तहमा बाँडेर बुझ्छन् । आफैंसँगको संघर्ष- आत्मसंघर्ष, पार्टीभित्रको संघर्ष-अन्तरसंघर्ष र प्रतिपक्षी शक्ति अर्थात् फरक विचारसँगको संघर्ष- वर्ग संघर्ष ।

कम्युनिष्ट नेताको आत्मसंघर्ष एकादेशको कथाजस्तै हुन लागिसक्यो । उनीहरु विरलै ऐना हेर्छन् । ऐना त हेर्छन् तर अनुहार मात्र । वर्ग संघर्ष आजकल अलपत्र छ । दल र नेताहरुको भीडमा मिसिएका मानिसहरुको फरक छुट्याउन मुस्किल छ । कुन पार्टी कुन वर्गको प्रतिनिधि भनेर छुट्याउनै सकिन्न ।

कम्युनिष्टहरुको लामो समय अन्तरसंघर्षमा बितिरहेको हुन्छ । त्यो हो पार्टीभित्रैका नेताहरुबीचको संघर्ष । संघर्षले रुपान्तरणको माग गर्दछ तर कलहले विध्वंश र विघटन ।

कम्युनिष्ट नेताको आत्मसंघर्ष एकादेशको कथाजस्तै हुन लागिसक्यो । उनीहरु विरलै ऐना हेर्छन् । ऐना त हेर्छन् तर अनुहार मात्र । वर्ग संघर्ष आजकल अलपत्र छ । दल र नेताहरुको भीडमा मिसिएका मानिसहरुको फरक छुट्याउन मुस्किल छ । कुन पार्टी कुन वर्गको प्रतिनिधि भनेर छुट्याउनै सकिन्न ।

राजनीतिक स्थिरताको तिर्खाले काकाकुलजस्ता देखिएका नेपालीले कम्युनिष्ट गठबन्धनलाई भव्य अनुमोदन गरे । लगत्तै बन्यो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)। विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक भइरहेको बेला नेपालमा कम्युनिष्ट पार्टीले रचेको इतिहास अद्वितीय थियो । संख्यामा रचिएको इतिहास गुणमा रुपान्तरण हुन सकेन । अन्तरसंघर्ष अन्तरकलहमा रुपान्तरण भयो । कलहबाट शुरु भएको विघटन र विभाजन संक्रामक रोग जसरी अरु दलमा पनि फैलन शुरु गरेको छ ।

अरु दलमा पनि संक्रमण

नेकपा कलहको ‘साइड इफेक्ट’ अन्य दलहरुमा पनि देखिएको छ । गण्डकी प्रदेशमा जनमोर्चाको एक सांसदले पद नै गुमाउनु पर्‍यो । पूर्वमाओवादीका केही नेताहरु घरको न घाटको अवस्थामा पुगेका छन् । जसपाको एउटा हिस्सा रनभुल्ल पर्नुपर्ने अवस्थामा छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही समयअघि नेपालको रणनीतिक अवस्थिति र छिमेकीसँगको सम्बन्धबारे उनको आफ्नै शैलीमा उदाहरण दिए । ‘दुई हात्ती मिले पनि मैदान साफ, नमिले पनि साफ ।’ कम्युनिष्टहरूको अत्याधिक मत रहेको नेपालमा पनि उनीहरु मिले पनि तनाव, झगडा गरे पनि तनावको अवस्था सिर्जना भएको छ ।

नोबेल पुरस्कार विजेता अमेरिकी अर्थशास्त्री मिल्टन फ्रेडम्यान भन्छन्- सम्झौताले एउटा राम्रो छानो तर कमजोर छहारी दिन्छ, जुन दिगो हुन सक्दैन । अक्सर पार्टी राजनीतिमा चलाख ठहरिएकाहरू राजकौशलमा कमजोर देखिन्छन् । दलहरुभित्रका केही अवसरवादी नेताहरु लट्टाईबाट छिनेको चङ्गाजस्तै भएका छन् ।

गिजोलिएको कम्युनिष्ट झगडाले राजनीतिको पानी यति धमलिएको छ कि ‘माछा’ र ‘भ्यागुतो’ छुट्याउनै मुस्किल भएको छ । अनावश्यक विषयले महत्व पाइरहेको छ । मुलुकका प्रमुख मुद्दाहरु ओझेलमा परेका छन्, विषयान्तर भएका छन् । जनताको परिवर्तनको चाहना दलका घोषणा पत्र र संविधानको निर्जीव पन्नाहरुमा निस्सासिइरहेका छन् ।

कलहको बीउ व्यक्तिगत स्वार्थ

संसार बदल्छु भनेर निस्किएका कम्युनिष्टहरूका लागि पार्टीभित्रको झगडा ‘कमिलालाई पिसाबको पहिरो’ भनेजस्तो भइरहेको छ । कलहको विषय कुनै वृहत्तर राजनीतिक स्वार्थसँग जोडिएका छैनन् ।

नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय ओली र प्रचण्डले आधा-आधा कार्यकाल प्रधानमन्त्री बन्ने लिखित सम्झौतासहित नेकपा एकीकरणको जग हालेका थिए । एकताको समयदेखि नै अविश्वासबाट अगाडि बढेको सम्बन्धले कहिल्यै गति लिन सकेन ।

शीर्ष नेताहरू निरन्तर बैठकमा बसेका छन् । कार्यदल बसेको छ । गुटका बैठक बसेका छन् । बैठकका मुद्दा पद र प्रतिष्ठाहरूमै केन्द्रित छन् । सीमित नेताको स्वार्थमा दलको फराकिलो र देशको वृहत्तर स्वार्थ कैद हुँदै आएको छ ।

नागरिकले खोप नपाएको कुरा, निषेधाज्ञाले थला परेको अर्थतन्त्रको कुरा, रोग र भोकले मृत्युदर बढेको कुरा, आत्महत्या गर्नेको ग्राफ उकालो चढिरहेको कुरा पार्टीभित्रको बैठकमा छलफल नगण्यजस्तै हुन्छन् । केवल नेताहरुको इतिहासको ब्याज खाने चाहना र ब्याजदरको तलमाथिमा पर्ने झगडाले समय बर्बाद भइरहेको छ ।

आश्चर्यजनक आगमन, अनपेक्षित अवसान

निकट विगतमा नेकपाको करीब दुईतिहाईको सरकार विश्वकै आश्चर्यजनक राजनीतिक परिघटना बनेको थियो । देश, स्वायत्त क्षेत्र र औपनिवेशिक क्षेत्र गरी आज विश्वमा करीब २२५ राजनीतिक एकाइ छन् । संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू नै १९३ छन् । तीमध्ये नेपाल निर्वाचनद्वारा कम्युनिष्ट पार्टीले बलियो बहुमत प्राप्त गरेको एक मात्र देश बन्नु निश्चय नै आश्चर्यजनक राजनीतिक परिघटना हो ।

तर, यो आश्चर्यजनक राजनीतिक परिघटनाले मुलुकमा कुनै सकरात्मक आश्चर्यजनक परिघटना निम्त्याएन । पुरानै विकृत संसदीय अभ्यास, संसद विघटन, राजनीतिक झगडा र कचिङ्गलको असंयोजनीय भद्रगोलतामा सिङ्गो मुलुक निस्सासिनु पर्‍यो ।

गठबन्धनको तिलस्मी योजनाहरु र केपी ओलीले देखाएको रुमानी सपनाले नागरिकमा एक प्रकारको आशावादको रक्तसञ्चार भइरहेको थियो । तर सरकारका नीति तथा कार्यक्रममा खासै फरक दृश्यहरू देखा परेनन् । मानिसहरुले प्रश्न गरे- ‘के यो कम्युनिष्ट पार्टीकै सरकार हो ? यदि हो भने यसको नीति तथा कार्यक्रममा आफ्नो दर्शनको झल्को कहाँनेर छ ?’

कम्युनिष्ट सरकार आम नवउदारवादी अर्थनीतिकै एक हिस्सा बनेर हिंडेको आरोप कम्युनिष्ट पार्टीकै प्रमुख नेताहरूले लगाइरहे । गैरकम्युनिष्ट कित्ताले शासकीय दृष्टिले अधिनायकवाद देखिरहने र कम्युनिष्ट कित्ताले प्रतिफलको दृष्टिबाट कुनै उपलब्धि हासिल भएको महसुस गर्न नसक्ने अवस्था सिर्जना भयो ।

अन्ततः नेकपा फुट्यो । एमाले पनि विभाजनउन्मुख छ । कम्युनिष्ट झगडाको पराकम्पले भर्खरै बनेको जसपाको कच्ची घर पनि मान्छे बस्नै नमिल्ने गरी चर्किएको छ । कम्युनिष्ट कलहको प्रभाव राज्यका सबै क्षेत्रमा परिरहेको छ ।

नागरिकका मुद्दा अलपत्र 

दलहरुको बैठकदेखि बैठकको उपक्रमले देश र जनताको आवश्यकता चिन्न सकिरहेको छैन । उनीहरुको समस्या र सरोकार छलफलको विषय बन्दैनन् । राष्ट्रको मुख्य मुद्दाहरुमा नेतृत्वबीच चर्काचर्का बहस हुँदैनन् । सडकमा आगो बाल्ने कुरा हुन्छ । तर आगो बाल्ने चेतावनीको अन्तर्यमा सीमित नेताको स्वार्थले प्राथमिकता पाइरहेको हुन्छ ।

एकैदिन २७ जना युवाको शव विमान चढेर स्वदेश फर्किरहेको । संक्रमित बढिरहेका छन् । न्यून आए भएका नागरिक भोकै मर्ने अवस्था छ । यो मुद्दा न सडकमा उठेको छ न दलका बैठकहरुमा । कम्युनिष्ट झगडाले बालुवाटारका बैठकहरु पनि प्रभावित भइरहेका छन् ।

दलीय झगडाको प्रभावले सरकार विस्तार हुन पनि सकेको छैन । कोभिड-१९ को संकटमा देशले स्वास्थ्य मन्त्री नै पाउन सकेको छैन । राजनीतिको अबको कोर्स कस्तो हुन्छ ? भावी गठबन्धनहरु कसरी बन्लान् ? उनीहरुको मुद्दा के हुन सक्छन् ? उनीहरुले देश र जनताको सरोकार कसरी सम्बोधन गर्न सक्छन् ? यसमा कुनै स्पष्टता छैन ।

विषयान्तर भइरहेका नागरिकका मुद्दाहरुमाथिको बहस र ध्रुवीकरण यही कलहबाट प्रभावित छ । यसरी एमालेको झगडाले मुलुकका धेरै एजेन्डाहरु अल्झिइरहेका छन् । अझ पार्टीभित्रको झगडा मिलाउन मुलुकलाई अर्बौंअर्ब व्ययभार पर्ने गरी बेमौसमको निर्वाचनमा धकेल्न खोज्ने प्रयास समेत भए ।

देशका प्रमुख दलहरुभित्र हुने अनन्त कलहको क्षति सिंगो देशले व्यहोर्नु पर्ने अवस्था विडम्बनापूर्ण छ । यसले नागरिकको सपनामाथि संगीन प्रहार गरेर मुलुकलाई लम्बेतान अस्थिरताको दुष्चक्रमा फसाइरहेको छ । दलहरुभित्रको अन्तहीन कलहले छिट्टै निकास पाउनुपर्छ ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?