+
+
Shares
स्थलगत :

मेलम्चीमा मिसिएको हेलम्बुको पीडा नियाल्दा 

सुदर्शन आचार्य सुदर्शन आचार्य
२०७८ साउन १८ गते २०:०६

४५ दिनको अन्तरालमा दोस्रो पटक मेलम्चीमा आएको बाढीले तीनवटा विषयलाई एकसाथ उजागर गरिदिएको छ । यसको पहिलो सन्देश मेलम्ची खोलाको तल्लो तटीय क्षेत्र अब कसैगरी पनि बस्नलायक रहेन ।

दोस्रो सन्देश हो, २७ वर्षपछि काठमाडौं उपत्यकामा पानी झरेको मेलम्ची खानेपानी आयोजना मेलम्चीमा आएको बाढीकै कारण पुनः केही वर्षका लागि उपत्यकावासीको सपनामा रुपान्तरण भएको छ । र, तेस्रो सन्देश हो– स्थानीय तहले आफ्नै बलबुतामा राहत र उद्धार जुटाउने काम गरे बाहेक केन्द्र सरकारले यस्तो बिपत्तिमा पनि स्थानीयवासीलाई कुनै ध्यान दिएको देखिएन ।

सरकारी टोलीको प्रतीक्षा गर्दा मेलम्ची बाढीको उद्गमस्थल भेमाथाङ समयमै पुगिने सम्भावना कम देखिएपछि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहित यो पंक्तिकार काठमाडौं विमानस्थलबाट एभरेष्ट एयरको हेलिकप्टरमा बाढीको उद्गमस्थल हेलम्बुको भेमाथाङ पुग्दा त्यहाँ टन्टलापुर घाम लागेको थियो । तर बाढीको बहाव भने तीव्र गतिमा हेलम्बुबाट मेलम्चीतिर दौडिरहेको थियो ।

असार १ गते आएको बाढीको त्रास नसकिँदै साउन १६ गते राति आएको बाढीले मेलम्चीदेखि हेलम्बुसम्मको तल्लो तटीय क्षेत्रको सडक र चनौटे बजारको हेलम्बु जोड्ने एक मात्र बचेको रातोपुल समेत बगाएपछि हेलम्बु–मेलम्ची क्षेत्रमा अत्यास छाएको छ । असार १ गते यता मुलुकमा सरकार बदलियो तर हेलम्बुबासीको पीडा बदलिएन ।

भेमाथाङमा हेलिकप्टर अवतरण गरेर बाढीको उद्गमस्थलको अवलोकन गर्दा करीब दुई किलोमिटरको लम्बाइमा फैलिएको भेमाथाङ क्षेत्रमा दुईवटा खोलाबाट पानीको बहाव आएको देखिन्छ । बालुवा र ढुंगाले भरिभराउ उक्त क्षेत्रको डिलको भाग २०/३० मिटर बाढीसँगै चिरा परेर झरेको प्रत्यक्ष देखिन्थ्यो ।

उक्त क्षेत्रभन्दा करीब ७/८ किलो मिटर तल मेलम्ची खानेपानी आयोजनाको मुहान छ । उक्त मुहानको प्रवेशद्वार बन्द गरिएको भए पनि अम्बाथानदेखि ग्याल्थुम अडिटसम्म पानी र बालुवाले भरिएकाले एकातिर तत्काल सफाइको सम्भावना कम छ । अर्काेतिर भेमाथाङको पहिरोको पूर्ण रुपमा रोकथाम अघि मेलम्ची आयोजना पुनः सञ्चालन गर्न सकिने सम्भावना छँदैछैन भने हुन्छ ।

अर्कातिर भेमाथाङदेखि तल्लो तटीय बस्तीहरु किउल, चनौटे, सेरा, ग्याल्थुम, ढुंग्रेबजार, तालामाराङ, मेलम्ची लगायत क्षेत्र दोस्रो बाढीपछि थप जोखिममा छ । बाढीग्रस्त क्षेत्रको अवलोकनपछि गृह मन्त्रालय पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पासहितको टोलीले काठमाडौंबाट स्थलमार्ग सम्पर्कविच्छेद भएकाले हेलम्बुको बस्तीसम्म पुग्न तत्कालै सुन्दरीजल हुँदै कुटुङसाङबाट हेलम्बु मार्ग खोल्न र मेलम्ची नदीमा तत्कालै बेलीब्रिज स्थापना गर्न माग गरेको छ ।

यसैगरी मेलम्ची आयोजनालाई पत्र लेखेर मेलम्चीको सुरुङमार्ग प्रयोगमा ल्याई बिरामी र अत्यावश्यक खाद्यान्न तथा त्रिपालहरु ओसारपसार गर्न दिन माग गरेको छ । तर, स्रोतका अनुसार एडीबीलाई देखाएर आयोजनाले उक्त सुरुङ प्रयोगमा ल्याउन दिने सम्भावना कम छ ।

उपत्यकाबाट नजिक रहेको हेलम्बु गाउँपालिकाको वडा नम्बर १ मा रहेको भेमाथाङसम्म निजीस्तरको टोली पुगेको भए पनि सरकारी टोली उक्त स्थलसम्म (सम्भवतः मौसमका कारण हुनसक्छ) नपुगी हेलिकप्टरमार्फत नै काठमाडौं फर्किएको छ । मेलम्ची आयोजना र मेलम्ची भेगको तल्लो तटीय क्षेत्रको बसोबासको भविष्यको लागि भेमाथाङको भूगोलको अध्ययन नगरी निष्कर्ष निकाल्नै नसकिने विज्ञहरुको भनाइ छ । तर, सरकारी टोली भने डेढ महिनासम्म पनि पहिरोको उद्गमस्थलमा एकपटक पनि पुग्न सकेको छैन ।

असार १ गते आएको बाढीको त्रास नसकिँदै साउन १६ गते राति आएको बाढीले मेलम्चीदेखि हेलम्बुसम्मको तल्लो तटीय क्षेत्रको सडक र चनौटे बजारको हेलम्बु जोड्ने एक मात्र बचेको रातोपुल समेत बगाएपछि हेलम्बु–मेलम्ची क्षेत्रमा अत्यास छाएको छ । असार १ गते यता मुलुकमा सरकार बदलियो तर हेलम्बुबासीको पीडा बदलिएन ।

काठमाडौंबाट हेर्दा स्थानीय तहमा डोजर लगाइएका कारण जमिन कमजोर हुन गई पहिरो जाने गरेको बताइए पनि उक्त क्षेत्रको अध्ययनबाट थाहा हुन्छ, त्यहाँ मानव बस्ती नै नभएकाले डोजर लगाइने सम्भावना छैन । तथापि, २०७२ सालको भूकम्पले भने हेलम्बुको उक्त भेग कमजोर भएको हुनसक्ने कुरा अस्वीकार गर्न मिल्दैन ।

हेलम्बु–मेलम्ची भेगका बासिन्दाको लागि सरकारले आफ्नो उपस्थिति जनाउने भनेकै तत्कालका लागि वैकल्पिक व्यवस्था र दीर्घकालीन रुपमा यस भेगको तल्लो तटीय क्षेत्रका बासिन्दाको लागि स्थायी बसोबासको व्यवस्था नै हो । बहुचर्चित मेलम्ची खानेपानी आयोजना केही वर्ष पछि धकेलियो । सँगै स्थानीय बासिन्दाले अब आफ्नो वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म आयोजना पुनः सञ्चालन गर्न दिने सम्भावना पनि देखिँदैन ।

हेलम्बुका बासिन्दा भन्छन्– राज्यले मेलम्चीको पानी लैजाँदै गर्दा हेलम्बु–मेलम्चीका बासिन्दालाई अहिले परेको पीडामा मौनता साँध्न मिल्दैन । मेलम्ची आयोजनासँगको अपेक्षा भनेको राज्यसँगको अपेक्षा हो ।

स्थानीय जनप्रतिनिधिले आफ्नो साधन र स्रोतले भ्याएसम्म बाढीपीडितका लागि राहत र उद्धारको व्यवस्था गरे पनि स्थानीय बासिन्दाका लागि भने त्यो कमै भएको छ । आजकै मितिमा राज्यस्तरबाटै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको युनिटलाई मेलम्ची केन्द्रित गरेर विस्थापितका लागि वैकल्पिक बसोबासको व्यवस्था तत्काल गर्न नसक्दा जनस्तरबाट चुलिएको आक्रोशको निशानामा मेलम्ची आयोजना समेत पर्ने निश्चित प्रायः छ ।

(भेमाथाङ, हेलम्बु, सिन्धुपाल्चोकबाट फर्केर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?