Comments Add Comment

डोटीको जोरायलमा सांस्कृतिक संग्रहालय स्थापना

१९ साउन, डोटी । डोटीको जोरायल गाउँपालिका–१ पोखरीडाँडामा डोटेली कला, संस्कृति र पहिचान झल्कने संग्रहालयको स्थापना गरिएको छ । रानीवन सामुदायिक वन उपभोक्ता समूहले जिल्लाको परम्परा, कला, संस्कृति र पहिचान झल्कने सामग्रीसहितको संग्रहालयको स्थापना गरेको हो ।

आफ्नो डोटेली कला, संस्कृति, सभ्यता, परम्परा र इतिहास भावी पिँढीले पनि सहजै थाहा पाउन् भन्ने उद्देश्यले संग्रहालयको स्थापना गरिएको रानीवन सामुदायिक उपभोक्ता समितिका अध्यक्ष तथा संग्रहालय व्यवस्थापन समितिका अध्यक्ष भाष्कर भट्टले बताए । ‘परम्परादेखि चलनमा रहेको संस्कृतिको संरक्षण र सम्वद्र्धन नगरेपछि आउने पुस्ताले आफ्नो संस्कृति बिर्सिंदै जाने डरले संग्रहालयको स्थापना गरेका हौं,’ उनले भने ।

संग्रहालयमा सुदूरपश्चिमका पुराना ऐतिहासिक हातहतियार, पहिरन, बाजा, भाँडाकुँडा, गरगहना, वाद्यवादन सामग्री, भेषभूषा झल्काउने सामग्रीको खोजी गरेर राखेको भट्टले जानकारी दिए ।

संग्रहालयमा राख्नका लागि स्थानीयले आफूसँग रहेका पुराना वस्तुहरु सुरक्षित साथ राख्न दिएका छन् । आफ्नो कला संस्कृतिको जगेर्ना होस् भन्ने उद्देश्यले आफ्नो घरमा पुर्खाले प्रयोग गरेका पुराना सामग्री संग्रहालयलाई प्रदान गरेको स्थानीयबासी रामचन्द्र्र भट्टले बताए । ‘जिल्ला बाहिरबाट घुम्न आउनेहरुका लागि यस क्षेत्रको पहिचान झल्कियोस् भन्ने उद्देश्य हाम्रो हो,’ उनले भने । संग्रहालयमा राखिने सामग्रीहरुलाई बढाउदै लगिने र अन्य सामग्री पनि खोजी गरिरहेको भट्टले बताए ।

लोप हुन लागेको परम्परागत रूपमा प्रयोग हुने सामग्री र संस्कृतिलाई जगेर्ना होस् भन्ने उद्देश्यले डिभिजन वन कार्यालयको सहयोगमा संग्रहालय स्थापना गरिएको डोटीका डिभिजन वन अधिकृत शम्भुप्रसाद तिवारीले बताए ।

डिभिजन वन कार्यालयको चार लाख र रानीवन सामुदायिक वन उपभोक्ता समितिको ४० हजारको लागतमा संग्रहालयको स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment