Comments Add Comment

रेखा जोशी : देउडा गीतमा जमेकी गायिका

‘नमस्कार, यो हो रेडियो कञ्चनपुर । कार्यक्रम लोक झंकार । म हुँ रेखा जोशी…।’

कञ्चनपुरको महेन्द्रनगरबाट यसरी थालनी भएथ्यो उनको व्यवसायिक यात्रा । उनले सोचेकी पनि थिइनन्- कुनैबेला रेडियोमा काम गर्छु । यो पनि सोचेकी थिइनन्- कुनै दिन गायिका नै बन्नेछु ।

पढाइ राम्रो थियो । कोट, पाइन्ट लगाएर बैंकको जागिर खानु उनको ठूलो सोख थियो । तर, परिस्थिति यस्तो बनिदियो कि उनी नसोचेको ठाउँमा खुट्टा टेक्न पुगिन् र त्यहींबाट चहकिलो चिनारी बनाइन् । त्यो क्षेत्र थियो- देउडा गायन, जुन उनको परम्परावादी ब्राहृमण घरपरिवारका लागि राम्रो पेशा थिएन ।

सुदूरपश्चिमको विशिष्ट मौलिक भाका हो, देउडा । खस सभ्यतासँगै यसको शुरुआत भएको मानिन्छ । यो मेलापर्व, उत्सव, भोजभतेरमा नाच्दै गाइने गीत हो । उहिले बैंसालुहरूले देउडा गाएरै सवाल-जवाफ र प्रेमदेखि घरजमसम्म गर्थे रे !

सुदूरपश्चिममा सीमित देउडा पंचायतकालमा रेडियो नेपालसम्म आइपुगेको थियो । एकाध गीत रेकर्ड भएका थिए, तर विरलै प्रसारण हुन्थ्यो । प्रजातन्त्र पुनस्र्थापना भएर सुपकै शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि भने टुँडिखेलमै घन्कन आइपुग्यो देउडा । अहिले त देशैभर यसको लोकप्रियता बढेको छ ।

नेपाली चलचित्रमा पनि देउडा पर्न थालेको छ । हरेक वर्ष विसु पर्वमा काठमाडौंको टुँडिखेलमा देउडा खेल्ने परम्परा बसेको छ । देउडा गाउँदै गरिने नृत्यलाई ‘देउडा खेल’ अथवा ‘न्याउले खेल’ भनिन्छ ।

रेखा भन्छिन – अचेल काठमाडौंमै पनि धेरैले तपाईं देउडा गायिका है भन्नुहुन्छ, मान गर्नुहुन्छ । गायनमा लागेर निकै खुशी छु

नेपालको यही लोक वान्कीमा चर्चित बन्न पुगेकी पछिल्लो पुस्ताकी गायिका हुन्, रेखा जोशी । उनका निकै देउडा गीत श्रोता एवं दर्शकले रुचाएका छन् । उनका ‘लाग्या कि जून भैजाउ’, ‘दारु च्याउडी’, ‘लैलै’, ‘शर्माली क्याम्पस गेट’, ‘मैना’, ‘मैना-२’ ‘झल्का पनि’, ‘वनपाखा न्याउली’, ‘नबडयाकी ठ्याउकी’, ‘कलह’ लगायत गीत धेरै लोकपि्रय बनेका छन् । यीमध्ये ‘लाग्या कि जून भैजाउ…’ ठाडी भाका हो ।

हालसम्म कति गीत गाइन त ? ‘४०० सम्म त टिपोट गरेकी थिएँ, त्यसपछि छाडेँ’, रेखा भन्छिन्, ‘लोकदोहोरी र तीज गीत समेत गर्दा अहिलेसम्म ७०० भन्दा बढी नै गाएँ होला ।’ उनका अनुसार सुदुरपश्चिममा गावैपिच्छे राम्रा-राम्रा देउडा गायक-गायिका भेटिन्छन्, यसैमा समर्पित भएर लाग्नेहरु भने कम छन् । ‘आफैं सुन्न र परिचितहरुलाई सुनाउन गीत रेकर्ड गराउनेहरु चाही निकै भेटिन्छ’, उनी भन्छिन्, ‘व्यावसायीक हुन होइन, त्यसरी रहरले गाउँनेहरुसंग मैले पनि निकै देउडा गाएकी छु ।’ रेखा स्वयम् भने अहिले पुर्ण व्यावसायीक देउडा गायिका हुन् । यो क्षेत्रमा लागेर आफु खुशी र आर्थिक रुपमा पनि सुखी भएको उनी बताउँछिन् । ‘अचेल काठमाडौंमै पनि धेरैले तपाई देउडा गायिका है भन्नुहुन्छ, मान गर्नुहुन्छ’, उनी भन्छिन् ‘गायनमा लागेर निकै खुसी छु ।’

अनायासै गायिका

रेखालाई ‘प्लस टु’ सकेपछिको फुर्सदमा दुई दाजु (मदनराज र गणेश) ले रेडियो कार्यक्रम प्रस्तोता तालिम लिने प्रबन्ध गरिदिए । १५ दिनको तालिमपछि उनलाई रेडियोमा लोकगीत सम्बन्धी कार्यक्रम प्रस्तोता बन्ने अवसर पनि जुर्‍यो । उनी एक टुक्का गीत गाएर कार्यक्रम शुरू गर्थिन् ।

एकदिन देउडा गायक गोपाल दयाल ‘गीत रेकर्ड गर्नुपर्नेछ, राम्रो गाउने कोही छ ?’ भन्दै रेडियो कञ्चनपुर आइपुगे । नजिकै रेखा चुपचाप थिइन् । प्राविधिकले उनीतर्फ देखाउँदै दयाललाई भने, ‘उनको स्वर राम्रो छ ।’

रेखाको स्वर सुनेर दयाल दंग परे । गीत रेकर्डको कुरा पक्का भइहाल्यो । अब घरमा कसरी भन्ने ? डराई-डराई दाइहरूसँग कुरा राखिन् । बहिनीलाई रेडियो कार्यक्रम प्रस्तोता तालिम दिलाउने दाइहरूबाट सकारात्मक जवाफ आयो- ‘गएर गाउ न, किन नगाउने !’

२०७१ वैशाख १ गते । रेखाले कैलालीको अत्तरिया पुगेर करण रानासँग पहिलो देउडा गीत रेकर्ड गराइन्- ‘घुटुक्क बाडुली लाग्या… ।’

त्यो गीत श्रोतामाझ हिट भयो । ‘त्यसपछि एकपछि अर्को गीत गाउने अवसर पाउन थालें’ रेखा भन्छिन्, ‘कलेजमा साथीहरूले गायिका भनेर बोलाउन थाले । समाजमा चिनिंदै गएँ । अनि त गायिका नै बन्ने रहर पलायो ।’

त्यतिबेलासम्म उनी कञ्चनपुरमै थिइन् । झण्डै १५० वटा देउडा गाइसकेकी थिइन् ।

उनको परिवार बाजुराको बुढिगंगा थुमाबाट बसाइँ सरेर महेन्द्रनगरको हल्दुखाल आएको थियो । रेखाको जन्म त्यहीं भयो । आर्थिक अवस्था कमजोर भए पनि आमाबुवाले ऋण-धन गरेर छोराछोरीलाई शिक्षा-दीक्षामा कुनै कमी गरेनन् ।

रेखाको रेडियोमा काम, स्नातक तहको पढाइ र एकपछि अर्को गीत रेकर्डिङ चलिरहृयो । स्नातक सकेपछि साथीहरू कोही धनगढी त कोही काठमाडौं गए । रेखा पनि गायनमा समेत क्षितिज फराकिलो बनाउन थप अध्ययनका लागि काठमाडौं जान चाहन्थिन् ।

‘भनेको भए त जसोतसो पठाउनुहुन्थ्यो होला, तर घरको आर्थिक अवस्था विचार गर्दा भन्नै सकिनँ’ उनी भन्छिन्, ‘अनि महेन्द्रनगरमै मास्टर अफ बिजिनेस म्यानेजमेन्ट (एमबीएम) ज्वाइन गरें ।’

जब गीतको अफर आयो

एमबीएम अध्ययन शुरू गरेपछि एक दिन देउडा गायक सूर्य विरही साउदले फोन गरेर भने, ‘एउटा गीत गाउन काठमाडौं आउन सक्छ्यौ ?’

त्यो फोन कलले रेखालाई छुट्टै खुःसी मिल्यो । तर, परिवारको कमजोर आर्थिक अवस्थाका कारण सहजै आग्रह स्वीकार्ने अवस्था थिएन् । रेखाले गायक साउदलाई काठमाडौंमा टिक्नका लागि केही कामको ब्यवस्था गरिदिन आग्रह गरिन् । गायक तथा संगीत संयोजक बिनोद बाजुरालीको मालश्री रेकर्डिङ स्टुडियोमा काम गर्न पाउने भइन् । अनि बल्ल घरमा कुरा राख्ने आँट गरिन् ।

काठमाडौंमा उनको परिवारका आफन्तीहरु थिए, जाने अनुमति पाइन् । त्यसरी उनले पहिलो पटक २०७२ साल मंसिरमा काठमाडौं टेकिन् । मालश्री निकै चल्तिको रेकर्डिङ स्टुडियो थियो । त्यहाँ रेखाको १०-०५ जागिर सुरु भयो । स्टुडियोमा गायक-गायिकाको आउजाउ बाक्लो थियो । उनलाई घुलमिल हुन समय लागेन । त्यसक्रममा उनको एकपछि अर्को गीत रेकर्ड पनि हुँदै गयो । केही बाहिरी स्टुडियो, केही सोही स्टुडियोमा । विदा मिलाएर बाहिरी स्टुडियोमा जान गाह्रो लाग्यो । त्यसैले पाँच महिनामा स्टुडियोको जागिर छाडिन् । त्यसपछि चार वर्षअघि टंक तिमिल्सिनासँग गाएको ‘मैना’ वोलको गीतले उनलाई देउडा गायनमा थप चर्चित बनायो । त्यसको एक वर्षपछि टंक र रेखाकै स्वरमा ‘मैना २’ सार्वजनिक भएको थियो । सो गीतले अझ चर्चा पायो । गीतहरुको सफलतासंगै गायिकाको बेफुर्सदी बढेर गयो । त्यसरी उनी स्टेजदेखि रेकर्डिङ स्टुडियोसम्म पुग्न थालिन् ।

सुदूरपश्चिमका मेला-महोत्सवमा रेखाको उपस्थिती अनिवार्य जस्तै हुन थाल्यो । चार वटासम्म देउडा वा ठाडी भाका रेकर्ड गराउनुपर्ने दिन पनि आयो । अहिले कोरोनाका कारण स्टेज कार्यक्रम ठप्प भएपछि रेकर्डिङको काम अविछिन्न चलिरहेको छ । ‘आजमात्रै पनि मेरो तीनवटा देउडा गीत रेकर्ड थियो’ रेखाले रेकर्डिङको व्यस्तताबारे भनिन् । यहि सांगीतिक परिक्रमाले रेखालाई ख्याती दियो र दर्बिलो बाँच्ने आधार पनि । सांगीतिक क्षेत्रमा व्यस्त बनेपछि ‘मास्टर्स’ पढाई भने पुरा गर्न पाएकी छैनन् । ‘अहिलेसम्म मास्टर्स सक्नुपर्ने हो । तर, संगीतमै व्यस्त भएका पुरा गर्न सकिरहेकी छैन्’ कुराकानीको विट मार्ने क्रममा उनले सुनाइन् ।

तस्वीर : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुशील नेपाल

Advertisment