Comments Add Comment

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका प्रत्येक घरमा धारा जडान गरिँदै

२४ साउन, गोरखा । भौगोलिक रुपमा विकट रहेको गोरखाको चुमनुव्री गाउँपालिकाका प्रत्येक घरमा धारा जडानको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गत रहेको खानेपानी तथा सरसफाइ डिभिजिन कार्यालय गोरखाले उक्त गाउँपालिकाका प्रत्येक घरधुरीमा धारा जडानको काम गरिरहेको छ ।

गण्डकी सरकारको एक घर एक धारा अभियान अन्तर्गत उत्तरी क्षेत्रको घरघरमा धारा जडानको कार्य थालिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख तुलसी बस्नेतले बताए । केही आयोजना सम्पन्न भइसकेको र केही निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए ।

चुमनुव्री गाउँपालिका–१ सामागाउँमा २ करोड २ लाख खर्चेर खानेपानी आयोजना निर्माणको काम भइरहेको छ । लक्षित घरधुरी संख्या १६० रहेको छ । १४० घरमा धारा जडान भइसकेको कार्यालयले जनाएको छ । ‘बाँकी घरधुरीमा पनि धारा जडानको काम भइरहेको छ, पाइप बिछ्याएर पानी वितरणको अन्तिम तयारी गरिरहेका छौं,’ कार्यालय प्रमुख बस्नेतले भने ।

उनका अनुसार वडा नम्बर २ मा नयाँबजार स्याला जुगाधुम खानेपानी आयोजना निर्माणको काम भइरहेको छ । दुई करोड ३० लाखको लागतमा निर्माण भइरहेको उक्त आयोजनाबाट २१५ घरधुरी लाभान्वित हुनेछन् ।

वडा नम्बर ३ मा १ करोड ४९ लाख १८ हजार लागतमा चिसापानी एक्लेभट्टी खानेपानी आयोजना निर्माण काम भइरहेको छ । कुल १८० घुरधुरीलाई लक्षित उक्त आयोजना अन्तर्गत हालसम्म ८४ घरधुरीमा धारा जडान भएर पानी वितरण हुन थालिसकेको छ ।

वडा नम्बर ४ लाई लक्षित प्रोक छाक गव खानेपानी आयोजनाको काम पनि भइरहेको कार्यालयले जनाएको छ । आयोजनाको लक्षित घरधुरी ११६ छन् । २ करोड ८ लाख ७१ हजार लागत रहेको छ । आयोजना अन्तर्गत प्रोकको ११० घरधुरीमा धारा जडान भइसकेको छ । आयोजना अन्तर्गत छाक र गवमा पनि काम भइरहेको छ ।

यस्तै वडा नम्बर ५ बिहीमा पनि २५३ घरधुरीलाई लक्षित गरी बिही खानेपानी आयोजना निर्माण भइरहेको छ । त्यहाँ घरघरमा धारा जडान भइसकेको छ भने पानी वितरणको अन्तिम तयारी भइरहेको बताइएको छ । आयोजनाको कुल लागत २ करोड ९८ लाख ६१ हजार रहेको छ ।

वडा नम्बर ६ चुम्चेतमा निर्माण भइरहेको चुम्चेत दोस्रो खानेपानी आयोजनाले २२० घरधुरी लाभान्वित गर्ने लक्ष्य राखेको छ । कुल १ करोड ८० लाख ७२ हजार लागतमा आयोजना निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ । १७० घरधुरीमा धारा जडान भएर पानी वितरण भइसक्यो । बाँकी घरधुरीमा धारा जडानको काम भइरहेको छ । यी सबै आयोजना उपभोक्ता समिति मार्फत निर्माण भइरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा सबै आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कार्यालयका अनुसार चुमनुव्री गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ लाई लक्षित गरी बृहत खानेपानी आयोजना निर्माणको काम पनि भइरहेको छ । आयोजनाको कुल लागत ६ करोड ८९ लाख रहेको कार्यालय प्रमुख बस्नेतले बताए । आयोजनाबाट ६१० घरधुरी लाभान्वित हुनेछन् । चालु आर्थिक वर्ष २०७९÷८० मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भौगोलिक विकटताका कारण उत्तरी गोरखामा आयोजना निर्माणको काम अन्य क्षेत्रमा जस्तो सहज नभएको कार्यालय प्रमुख बस्नेत बताउँछन् । ‘हिमपात हुने ठाउँ भएकाले बाह्रै महीना काम गर्न सकिँदैन, फेरि सडक नपुगेकाले आवश्यक निर्माण सामग्री कि हेलिकप्टर, कि त खच्चडबाट ढुवानी गर्नुपर्छ,’ उनले भने ।

केही वर्षमा सबै घरमा धारा पुर्‍याउने लक्ष्य रहेको उनले बताए । घरघरमा धारा जडान भएर पानी आउन थालेपछि उत्तरी गोरखाका स्थानीय पनि खुशी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment