Comments Add Comment

मेस्सी, नेइमार र एमबाप्पेको अट्याक कस्तो होला ?

२४ साउन काठमाडौं । स्पेनिस क्लब बार्सिलोना छाडेका लिओनल मेस्सीले आफ्नो अबको क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) हुनसक्ने स्वीकार गरेका छन् । आइतबार बार्सिलोनाबाट बिदाइको क्रममा मेस्सी आफैंले आफ्नो पीएसजी जाने सम्भावना रहेको बताए ।

पीएसजी पनि मेस्सीलाई आफ्नो क्लबमा भित्र्याउन चाहन्छ । उसले यसअघि महँगो रकममा मेस्सीलाई ल्याउने प्रस्ताव गरेको थियो । तर त्यसबेला मेस्सीले मानेका थिएनन् । अहिले पीएसजीले दुई वर्षको सम्झौता प्रस्ताव गरेको छ, जसमा एक वर्ष थप गर्ने विकल्प पनि छ ।

यसअघि पीएसजीले मेस्सी र एमबाप्पेमध्ये एक खेलाडी मात्र राख्न सकिने बताएको थियो । तर बार्सिलोनाबाट अनपेक्षित रुपमा मेस्सी बाहिरिएपछि भने पीएसजी दुबैलाई आफ्नो टोलीमा राख्न चाहन्छ ।

६ पटक बालोन डे’ओर अवार्ड जितिसकेका मेस्सी फुटबल इतिहासको उत्कृष्ट खेलाडीमध्ये एक हुन् । मेस्सीसँगै दुई सबैभन्दा महंगा खेलाडी लिएर पीएसजीले उत्कृष्ट टिम बनाउन लागेको हो ।

यदि मेस्सी फ्रेन्च क्लबमा आउन सहमत भएमा पीएसजीले इतिहासकै उत्कृष्ट अट्याकिङ लाइन पाउनेछ । एमबाप्पेको गति, नेइमारको चलाखी र मेसीको अलराउण्ड प्रदर्शन यो टोलीलाई उत्कृष्ट बनाउन सक्छ ।

तर, मेस्सी, एमबाप्पे र नेइमारसहितको टिमलाई कसरी सन्तुलनमा राख्ने भन्ने चुनौती पीएसजीलाई हुन सक्छ ।

पीएसजीले केही समयअघि नेइमारसँग ४ वर्षको सम्झौता गरेको थियो । तर एमबाप्पेसँग भएको सम्झौता जुन २०२२ मा सकिनेछ । स्पेनिस क्लब रियल मड्रिड उनलाई भित्र्याउन चाहन्छ । यदि मेस्सी पीएसजी गए मड्रिडले एम्बापेमाथि थप दबाव बढाउन सक्छ ।

च्याम्पियन्स लिगको भोक

पीएसजीले च्याम्पियन लिग जित्ने उद्देश्यका साथ केही विश्वस्तरीय खेलाडी अनुबन्ध गरिसकेको छ । यो सिजनमा मात्र उसले रियल मड्रिडका पूर्व कप्तान सर्जियो रामोसलाई अनुबन्ध गरेको छ । इटलीलाई युरो कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका एसी मिलानका गोलकिपर जियानलुजी डोनारुमालाई पनि भित्र्याएको छ ।

नेइमार, एन्जेल डि मारिया, मार्को भेराट्टी, माउरो इकार्डी, अस्रफ हाकिमी जस्ता खेलाडी पीएसजीको टोलीमै छन् । तर अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment