
२४ साउन, काठमाडौं । तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक २०२० समापन भएको छ । कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक आइतबार सफलतापूर्वक सम्पन्न भएको हो ।
जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो । कोरोना महामारीको बावजुद पनि आयोजक जापानले विश्व खेलकुदको कुम्भमेलालाई राम्रोसंग आयोजना गर्न सफल भयो ।
यस पटक ओलम्पिकमा शरणार्थी टिमसहित विश्वभरका २०५ देशका करिब ११ हजार खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
कोरोना महामारीका कारण टोकियो ओलम्पिक एक वर्षपछि आयोजना गरिएको हो । हरेक चार चार वर्षमा आयोजना हुने ओलम्पिकको ३३औं संस्करण अब ३ वर्षपछि फ्रान्सको पेरिसमा हुनेछ । जापानमा समापन हुँदा पेरिसमा पनि ह्याण्डओभर कार्यक्रम आयोजना गरिएको थियो ।
सन् १९६४ मा पहिलो पटक ओलम्पिक आयोजना गरेको जापानले ५७ वर्षपछि ओलम्पिकको सफल आयोजना गरेको हो । अब यही अगष्ट २४ देखि जापानमा पाराल्याम्पिक आयोजना हुँदैछ ।
अमेरिकालाई शीर्ष स्थान, जापानको फड्को
टोकियो ओलम्पिकमा चीनलाई पछि पार्दै अमेरिकाले शीर्ष स्थानमा रहेर अन्त्य गर्यो । अमेरिकाले ३९ स्वर्ण, ४२ रजत र ३३ कास्यसहित कुल ११३ पदक जित्यो । चीन ३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी कुल ८८ पदक जित्दै दोस्रो भयो ।
यस पटक आयोजक जापानले पदक तालिकामा फड्को मार्यो । यसअघि एकै संस्करणमा १६ स्वर्ण भन्दा बढी जित्न नसकेको जापानले यस पटक घरेलु भूमिमा २७ स्वर्ण, १४ रजत र १७ कास्य गरी कुल ५८ पदक जित्दै तेस्रो स्थान हासिल गर्यो ।
यस्तै ग्रेट ब्रिटेन २२ स्वर्ण २१ रजत र २२ कास्यसहित कुल ६५ पदक जितेर चौथो भयो ।
रुस डोपिङ प्रतिबन्धमा परेकोले यस पटक रसियन ओलम्पिक कमिटी (आरओसी) को नामबाट ओलम्पिक खेलेको रुसले २० स्वर्ण, २८ रजत र २३ कास्यसहित कुल ७१ पदक जितेर पाँचौं भयो ।
दक्षिण एसियाली राष्ट्र भारतले पनि उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण, २ रजत र ४ कास्यसहित कुल ७ पदक जित्यो । नेपाल भने यस पटक पनि सहभागितामै सीमित रह्यो ।
नेपालबाट टोकियो ओलम्पिकमा चार खेलका ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा पौडी खेलाडी एलेक्स शाह र गौरिका सिंह , सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमानमा सुधार गरे ।
एथ्लेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा आफ्नै समय सुधार गर्न सकिनन् । जुडोकी सोनिया भट्ट पहिलो चरणमै रसियन खेलाडीसंग पराजित भइन् । टोकियो ओलम्पिकमा ६३ राष्ट्रले स्वर्ण जित्दा कुल ९३ राष्ट्रले कुनै न कुनै पदक जिते ।
प्रतिक्रिया 4