Comments Add Comment

‘कांग्रेसको वैधानिकतामै प्रश्न उठ्ने हदसम्म पुर्‍याउनु हेलचेक्र्याइँको पराकाष्ठा हो’

२५ साउन, काठमाडौं । पूर्वनिर्धारित मिति भदौ १६ मा नेपाली कांग्रेसको १४ औं महाधिवेशन नहुने पक्काजस्तै भएपछि कांग्रेस वैधता जोगाउने उपायको खोजीमा जुटेको छ । पार्टीको महाधिवेशन हरेक पाँच वर्षमा गर्नुपर्ने र महाधिवेशन हुन नसक्ने विशेष परिस्थितिमा थप ६ महीना म्याद थप्न सकिने व्यवस्था छ ।

१९ फागुनमा पाँच वर्षे अवधि गुजारेको कांग्रेसले थपिएको ६ महीने म्याद पनि भदौ १९ मा सकिंदै छ । क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण भदौ १६ गते नै गर्ने भनिएको महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेस वैधानिकता जोगाउने उपायको खोजीमा जुटेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले त पार्टी सभापति शेरबहादुर देउवालाई ‘सर्वत्र असफल व्यक्ति’ भनेर आलोचना गरेका छन् ।

यो परिस्थितिमा संस्थापन इतरका कांग्रेस जिल्ला सभापतिहरुको भेला आजबाट काठमाडौंमा शुरु हुँदैछ । यो भेलामा सहभागी हुन काठमाडौं आएका कांग्रेसको काभ्रे जिल्ला सभापति मधु आचार्यले भने, ‘पार्टीको वैधता हामी सबै सदस्यको लागि सबैभन्दा प्रिय हो । यसमाथि केन्द्रीय नेतृत्वले खेलवाड गर्न पाउँदैन । वैधानिकतामै प्रश्न उठ्ने हदसम्म पार्टीलाई पुर्‍याउनु केन्द्रीय नेतृत्वको हेलचेक्राइ हो ।’

आचार्यका अनुसार भेलामा मुख्य गरी चार वटा विषय (क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन, सरकारका काम र आगामी चुनाव) मा केन्द्रित रहेर छलफल हुने छ । आचार्यले अनलाइनखबरसँग कुरा गर्दै भेलामा हुने छलफलका विषयबारे यसरी जानकारी दिए –

१. क्रियाशील सदस्यता विवाद

पार्टीको क्रियाशील सदस्यता अपारदर्शी ढंगबाट वितरण गरिएको छ । यो एकदमै केन्द्रिकृत गरेर, आग्रह पूर्वाग्रह राखेर क्रियाशील सदस्यता निर्धारण गरिएको छ । त्यो पनि अत्यन्त गुपचुपमा गरिएको छ । पहिले वेबसाइटमा राखिएको विवरण पनि अहिले हटाइसकिएको छ । केही गलत भएर नै त्यसलाई लुकाउनका लागि वेबसाइटबाट पनि हटाइएको हो । वेबसाइटमा रहेको भए जिल्लामै बसेर पनि साथीहरुले आफूले पठाएअनुसार विवरण भए/नभएको, उजुरी, गुनासो सम्बोधन भए/नभएको थाहा पाउँथे । तर गुपचुप राख्नका लागि वेबसाइटबाटै हटाइएको छ । असन्तुष्ट साथीहरु, धर्ना अनशनमा बसिरहेका छन् । त्यसैले यही क्रियाशील सदस्यताको हिसाबले महाधिवेशन गर्न सकिने अवस्था छैन । क्रियाशील सदस्यताको सम्बन्धमा केन्द्रले के गरिरहेको छ, के सोचिरहेको छ भन्ने विषयमा हामीबीच पहिलो छलफल हुन्छ ।

२. १४ औं महाधिवेशन

जतिखेर एकदम अनुकूल समय थियो, अप्ठेरो समय थिएन, त्यो बेलामा पार्टी नेतृत्वले महाधिवेशन गरेन । जबकी पार्टीको महासमिति बैठकमा पनि अहिलेदेखि नै कार्यतालिका बनाएर महाधिवेशनको तयारीमा जाऔं भनेर जिल्ला जिल्लाबाट आग्रह आउँदा पनि नेताहरुले सुनेनन् । अहिले आएर वैधानिकतामै प्रश्न उठ्ने हदसम्म पार्टीलाई पुर्याउनु भनेको केन्द्रीय नेतृत्वको हेलचेक्राइको पराकाष्ठा हो । पार्टीको वैधता हामी सबै सदस्यको लागि सबैभन्दा प्रिय हो । यसमाथि केन्द्रीय नेतृत्वले खेलवाड गर्न पाउँदैन । त्यसकारण पार्टीको विधान र मुलुकको संविधानको सीमाभित्र बसेर अधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो अर्को जोडदार आग्रह रहन्छ । पार्टीको विधान र मुलुकको संविधान हाम्रो राजनीतिक जीवनका महत्वपूर्ण दस्तावेज हुन् । यी दस्तावेजलाई नाघेर जान कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीलाई सुहाउँदैन । त्यसकारण यो विषयमा पनि हामी छलफल गर्छौं ।

३.सरकारका काम

अहिले हाम्रो पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । यो गठबन्धन सरकारको प्रभावकारिताको विषयमा छलफल हुन्छ । सरकारको परफमेन्स कसरी प्रभावकारी बनाउन सकिन्छ, कुन-कुन कुरामा विशेष ध्यान जानुपर्छ भन्ने विषयमा पनि हामी छलफल गर्छौं र हाम्रा सुझावहरु राख्छौं ।

४. आगामी चुनाव

अब तीन तहका निर्वाचन थोरै समयको अन्तरालमा हुँदैछ । स्थानीय तहको निर्वाचन हुँदैन, प्रदेश सभाको हुँदैछ र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । एकदेखि डेढ वर्षको बीचमा यी तीनवटै कर्म सम्पन्न गर्नुछ । यी तीनवटै तहका निर्वाचनमा पार्टीको विजय प्राप्तिका लागि अपनाउने उपायबारे छलफल हुने छ । त्यसका लागि पहिलो सर्त पार्टीभित्रको हार्दिकतासहितको एकता हो । त्यो एकता निर्माण गर्नको लागि पहल गर्छौं ।

यो पनि पढ्नुहोस देउवातर्फ संकेत गर्दै रामचन्द्र पौडेलले भने- सर्वत्र असफल व्यक्ति सत्ता सम्हाल्न पुगे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment