+
+

सरकार बनाउने र भत्काउने खेलबाट माओवादी बाहिर निस्कनुपर्छ

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७८ साउन २५ गते १०:४४
राम कार्की, नेता नेकपा माओवादी केन्द्र

माओवादी आन्दोलनभित्र वैचारिक नेताको छवि बनाएका राम कार्की आफ्नै नेतृत्वसँग आलोचनात्मक रूपमा प्रस्तुत हुन खोज्छन् । नेपालमा माओवादी आन्दोलनको पुनर्गठनका लागि पार्टीले आत्मालोचना गर्दै नयाँ नीति र कार्यक्रमसँगै त्यसलाई बोक्न सक्ने नयाँ नेतृत्व अगाडि आउनुपर्नेमा जोड दिन्छन् । यद्यपि उनी माओवादी आन्दोलनको पुनर्गठन प्रचण्डकै नेतृत्वमा मात्र सम्भव हुने तर्क पनि गर्छन् । नेकपा माओवादी केन्द्रका नेता कार्कीसँग अनलाइनखबरकर्मी सुदर्शन खतिवडाले गरेको कुराकानीको सम्पादित अंश–

अब विस्तारै माओवादीलाई माओवाद नै भारी हुन थालेको हो ?

तेस्रो विश्वका अर्गानिक विचारक भनेका माओ र गान्धीहरू हुन् । दक्षिण गोलाद्र्ध खासगरी पूर्वका लागि उनीहरूको विचारमा केही नवीनतम कुराहरू छन् । त्यसैले माओवादीलाई माओवाद भारी नहुनुपर्ने हो । जब लेनिन माइनस मार्क्सवादको कुरा हुन्छ तब भयानक विचलन शुरू हुन्छ । मार्क्सवादको एउटा पछिल्लो कडी माओवादलाई विकास गर्ने कुरा हो । म लेनिनकै बेलाको लेनिनवाद, माओकै बेलाको माओवादले पुग्दैन भन्नेमा छु । त्यसलाई निरन्तर विकसित तुल्याउनुपर्छ । तर उनीहरूको योगदानलाई खारेज गरेर होइन ।

नेपालका राजनीतिक दलहरू अहिले बढी व्यवहारवादी र बढी ‘रियल पोलिटी’ अर्थात् जे आउँदै जान्छ त्यही गर्ने दैनिक राजनीतिमा अभ्यस्त छन् । दीर्घकालीन रणनीति र सोचको सट्टा भैपरी आउने गर्ने खालको स्थिति अहिले हामी देख्दैछौं । यसको कारण बारेमा धेरै गम्भीर छलफल भएको छैन । किन आयो यस्तो क्लान्तपन ? किन यस्तो लेथार्जिक (सुस्त) भए नेपालका राजनीतिक पार्टीहरू । केवल आत्मगत कुराहरू हामी पत्रपत्रिकामा देख्छौं– नेताहरू स्वार्थी भए आदित्यादि भनेर । तर यस्तो किन भए भनेर त्यसको गहिरिएर विश्लेषण गर्ने काम भएको छैन ।

किन सुस्ताइरहेछ माओवादी आन्दोलन ?

जब विगतमा गरेका त्याग, तपस्या र बलिदानको परिणाम जायज नजँचेको जस्तो अवस्था छ । विगत ५० वर्षमा नेपाली जनताले गरेको त्याग, तपस्या र बलिदानको परिणाम पुष्टि भएन वा राम्रो देखिएन भने समाजलाई त्यो त्याग पनि अनाहक नै गरियो कि भन्ने लाग्न थाल्छ । त्यति धेरै गर्नुपर्ने थिएन कि ? त्यत्रो मान्छे मरेर के भयो भन्ने छलफल, बहस पनि भइरहेको सुनिन्छ । त्यत्रो हजार मान्छे मर्नुहुँदैनथ्यो । कति हजार मर्नुपथ्र्यो त ? त्यो चाहिं भन्दैनन् । कति मरेर यो गणतन्त्र, कति जना जेल परेर वा बेघरबार भएर वा कति जनाको परिवार विघटन भएर यो गणतन्त्र आउनुपथ्र्यो त ? भन्ने कुरा चाहिं छैन ।

समाजसँग हुने संघर्षको ऊर्जा एकचोटि बाहिर आइसकेपछि तुरुन्तै पुनः संघर्ष नहुने रहेछ । संघर्षमा ऊर्जा प्रमुख रहेछ । यो एकपटक बाहिर आइसकेपछि फेरि तुरुन्तै नआउने रहेछ । संसारभरि यस्तो छ । भारतको पश्चिम बंगालमा भएको दमनले नक्सलवादी आन्दोलन ५० वर्षपछि उठ्न सकेको छैन । यो संसारभरिकै कुरा हो । जस्तो– मजदूरको संख्या कम भए पनि तत्कालीन जर्मन, फ्रान्स र अरू पश्चिमी देशमा राजनीतिक हड्ताल भएन । तर मजदूरको संख्या कम भएको रूसमा चाहिं राजनीतिक हड्ताल भइरहेको थियो ।

भनेपछि, नेपालमा अब माओवादी आन्दोलन पुनः उठ्दैन ?

संघर्षको ऊर्जाको नवीकरण त हुनसक्छ तर त्यसका लागि फेरि नयाँ सिद्धान्त ल्याउनुपर्छ । अहिले फेरि त्यही माओवाद, पुरानै कमिटी, अध्यक्ष अथवा नेतृत्व र नारामा पुनः जनताले संघर्ष गर्दैनन् । संघर्षको ऊर्जा नवीकरण हुँदा यो ज्यामितीय भन्दा पनि बढेर अगाडि आउँछ । तर त्यो ऊर्जा ल्याउनका लागि नयाँ सिद्धान्त चाहिन्छ । नेपाललाई ५० वर्ष अगाडि लैजाने विकास रणनीति कोसँग छ ? कोहीसँग छैन । राजनीतिक पार्टीसँग खोइ त विकास रणनीति ? अहिले संसार सिद्धान्तको हिसाबले भयंकर आशावादी हुने स्थिति छ । समाजवाद ऊ त्यहीं छ नजिकै । मेरो पालामा होइन, मेरो कुरा सुनिरहेको नयाँ पुस्ताले सम्भवतः समाजवाद देख्न पाउँछन् ।

कुरा त हराभरा छन् । तर आन्दोलन सुस्ताइरहेको छ, समस्या कहाँनेर भइरहेछ ?

तर यहाँको जुन ‘रियल पोलिटी’ अर्थात् व्यावहारिक राजनीति छ, त्यसले मानिसलाई निराश बनाउँछ । म क्रान्तिकारी आशावादितालाई विश्व पूँजीवादी व्यवस्थासँग जोड्न चाहन्छु । यो पूँजीवादी व्यवस्था भनेको कुनै राष्ट्र, देश र इलाका विशेषको होइन । पूँजीवाद भनेको एउटा विश्व व्यवस्था हो । यसलाई अब विचरण गर्ने भूगोल छैन । अब त्यो विश्व पूँजीवादी व्यवस्था किरानामा आइपुगेको छ । किनारामा रहेका भारत र चीन अहिले आफैं कोर समूहमा पुगेका छन् । उनीहरू वैश्विक राजनीतिमा आफ्नो भूमिका खोज्दैछन् । सन् २००८ बाट ओरालो यात्रामा रहेको अमेरिका अहिलेसम्म पनि उक्सिन सकेको छैन । उक्सिने स्थिति पनि देखिंदैन । अब नयाँ विश्व व्यवस्थाको निम्ति चर्चा, परिचर्चा गर्नुपर्‍यो ।

माओवादीभित्र नाम फेर्ने बहस छ भन्ने खबर बाहिरिएका थिए । नाम किन फेर्दै हुनुहुन्छ ? नाम मात्रै फेरेर केही हुनेवाला छ र ?

भन्छन् नि नाममा के राखेको छ र ? गुलाबलाई हामीले जे नाम राखे पनि बास्ना आउन छाड्दैन । नाम फेर्ने कुरा पार्टी एकीकरण र ध्रुवीकरण हुँदा आउँछ । धेरैपटक नाम फेरिएको पनि छ । नेकपा फुटेपछि मानिसहरूको दुईथरी अनुमान थियो । पहिलो– ओलीले नेतृत्व गरेको पार्टी बन्छ, दोस्रो– प्रचण्ड, माधव नेपालहरूले नेतृत्व गरेको पार्टी बन्छ । यसरी प्रचण्ड र माधव नेपाल दुवैजना एकठाउँमा बस्ने पार्टी भनेको त माओवादी नहोला । माओवादी नाम भित्र सबै शक्तिहरू नअटाउलान्, नसमेटिएला भनेर मानिसले अनुमान गरेका हुन् । अहिले तत्काल त नाम फेर्ने जस्तो देखिंदैन । किनभने अहिले कुनै समूह माओवादीमा आइरहेको छैन ।

पार्टीले के गर्ला एउटा कुरा भयो । एउटा बौद्धिक नेतृत्वको हिसाबले माओवादीले आफ्नो अस्तित्व रक्षाको लागि के गर्नुपर्ला जस्तो लाग्छ ?

माओवादी पार्टीले आफ्नो अस्तित्व रक्षाका लागि केवल सरकार बनाउने र सरकार भत्काउने काममा मात्रै आफूलाई सीमित गर्नुहुँदैन । कम्युनिष्टहरू संसदमा सहभागी हुन थालेको तीसौं वर्ष बितिसक्दा पनि मजदूर किसानलाई सम्बोधन गर्ने कुनै पनि विधेयक न संसदमा टेबल गरिएको छ, न पास भएको छ । हामी अहिले क्युबा वा चीनको बाटोबाट, हिंसात्मक बाटोबाट अगाडि बढ्न सक्ने अवस्थामा छैनौं । तत्कालका लागि हामी संसदीय बाटोबाटै अगाडि जाने हो । यसका लागि संसदीय बाटोबाटै राम्रो काम गरिएका उदाहरण खोज्नुपर्‍यो ।

जस्तो ! केही उदाहरण सुझाउन सक्नुहुन्छ ?

केही कमजोरी भए पनि केरला एउटा नमूना बनेको छ । विगत २५–३० वर्षदेखि मानवीय विकास सूचकाङ्क, शिक्षा, जनस्वास्थ्य, बाल मृत्युदर कम हुनेमा, महिला र पुरुषको समानुपातिक प्रतिनिधित्व, मानिसको आयु यी सबै कुरामा केरला एक नम्बरमा छ । हामीले सरकार, संसदमा र सडकबाट पनि मजदूर र किसानको पक्षमा, जनतालाई सक्षम र बलियो बनाउने हिसाबले संसदमा बिलहरू लैजान सक्छौं । सरकारबाट नीतिहरू बनाउन सक्छौं । मजदूर र किसानको पक्षमा हामीले सडकबाट, गाउँ र शहरबाट यी कुराहरू उठाउन सक्छौं ।

संसदको कुरा गर्नुभयो । सांसदलाई ‘बिचौलिया जस्तो’ छविबाट मुक्त गरेर साँच्चै ‘जनताको प्रतिनिधि’ बनाउन कसरी सम्भव हुन्छ ?

हो, यसलाई बदल्न सक्नुपर्छ । मैले सधैं उदाहरण दिंदा पश्चिम बंगाल र केरलालाई लिने गर्छु । किनभने पार्टी त एउटै हो । भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीकै नेतृत्वमा त्यहाँ काम भइरहेको छ । पश्चिम बंगालमा जनताको पछौटेपनलाई उपयोग गरेर सरकारमा जाने काम गरे । ३३ वर्ष शासन गरेको ठाउँमा अहिले एक सीट पनि आएन । भारतमा ५० वर्षदेखि शासन गरिरहेको कंग्रेस र कम्युनिष्ट पार्टीहरू मिल्दा एउटा सीट पनि आएन ।

तपाईंको विचारमा कम्युनिष्टहरू कहाँ चुकिरहेका छन् ?

नेपालमै हेरौं । म अहिले झापा जिल्लाको प्रतिनिधित्व गर्छु । तर झापामा कम्युनिष्टहरूको संख्या बढेपछि त्यहाँ स्कूल र पुस्तकालयभन्दा मन्दिर, गुम्बा र चर्चको संख्या बढेको छ । जनताले यो कुरा बुझिहाल्छन् । बंगालका जनताले कम्युनिष्टले मूर्ख बनाइरहेको थाहा पाएपछि फालिदिए । यहाँ पनि सांसदहरू ब्रोकर जस्तो देखिने स्थितिको अन्त्य गर्नका लागि जनतामा जमेर बस्नुपर्‍यो । किसान र मजदूरको पक्षमा विधेयकहरू ल्याउनुपर्‍यो ।

तपाईंले पटक–पटक विधेयकको कुरा उठाइरहनुभएको छ नि ?

अहिले सबैभन्दा बढी नेपालका किसान, मजदूर, न्यून बेतनभोगी कर्मचारी पासोमा पर्ने भनेको शिक्षा र स्वास्थ्यमा हो । जेनतेन पेट पालिरहेको मान्छे जब बिरामी भएर निजी अस्पतालमा जानुपर्छ र अस्पतालले जब ७ लाखको बिल थमाइदिन्छ, तब ऊ सकियो । उसको बचत पनि सकियो, उसको खेतबारी पनि सकियो । हामीले स्वास्थ्य र शिक्षा सबै जनताको निम्ति निःशुल्क गर्न प्रयास गर्नुपर्छ । जनताले उपचार निःशुल्क गर्न पाउनुपर्छ ।

नेपालमा लगभग सबै दल समाजवादी छन् । साम्यवादको कुरा गर्ने कम्युनिष्टहरू बहुमतको संख्यामा छन् । संविधान पनि समाजवादउन्मुख नै छ । तर नतिजा देखिहाल्नुभएकै छ । बोली र व्यवहारमा यति ठूलो भेद किन छ ?

२०४६/४७ सालबाट राजनीतिमा आएका पार्टीहरूले कर्मचारीतन्त्र निर्माण गरे । पार्टी भनेको गतिशील, सधैं नयाँ–नयाँ कुरा गर्ने, नयाँ–नयाँ मुद्दालाई अगाडि ल्याएर नयाँ ढंगले अगाडि जाने हुनुपथ्र्यो । तर ती त कर्मचारीतन्त्र जस्ता भए । जनतालाई शिक्षा र स्वास्थ्यको बलमा मात्र बलियो बनाउन सकिन्छ । दलहरू त यहींभित्र किर्ना पसेजस्तो पसेर त्यसको व्यापार गरे । २०६३/६४ मा नेपाली जनताले यो कर्मचारीतन्त्रलाई सिध्याउने शक्तिको रूपमा अपरिचित र अपरीक्षित माओवादीलाई ठूलो म्याण्डेट दिंदै मतदान गरे । सबै ठूलाठूला नेताहरूलाई चुनाव पनि हराइदिए ।

अब पहिलो काम– जनतासँग हामीले आत्मसमीक्षा गर्नुपर्छ । दोस्रो– अब हामी तपाईंहरूप्रति प्रतिबद्ध छौं भनेर नयाँ नीति र कार्यक्रम ल्याउनुपर्छ । त्यो नयाँ नीतिलाई बोक्न सक्ने नयाँ नेतृत्व अगाडि आउनुपर्छ ।

नेपाली कांग्रेस र एमालेका असाध्यै ठूला भनिएका नेताहरू माओवादीका साधारण मानिसबाट पराजित भए । नेपाली जनताले त साथ दिने रहेछ नि त ! त्यतिबेला शहर, बजार र चोकका सबै जान्नेसुन्ने, धनीमानीहरूका निम्ति माओवादी भनेका परचक्री थिए । कोही कसैले साथ र समर्थन दिएका थिएनन् । हाम्रोमा नेता भएपछि त्यसको घर चोकमा सर्छ । पछाडि गाउँमा बस्दैन । चुनावमा मात्र आफ्नो गाउँमा जान्छन् । त्यसपटक जनताले पुराना नाइकेको कुरा मानेनन् । त्यो चोके नेताको कुरा सुनेनन् । सबै नाम चलेका नेताहरूलाई हराइदिए ।

तर जब जनताले देखे कि माओवादी पनि यो कर्मचारीतन्त्रलाई भत्काएर जनतालाई स्वास्थ्य, शिक्षा, कृषिका अनुदानहरू हामीलाई उपलब्ध गराउने बाटोमा छैनन् । त्यसपछि २०७० मा माओवादीलाई पनि उनीहरूले दण्डित गरे । त्यसैले यसबाट शिक्षा लिनुपर्छ । निराश भएर सबै कुरा समाप्त गर्ने कुरा भएन ।

अबको बाटो के हो ? सच्चिने कि सक्किने ?

म आबद्ध पार्टीका साथीहरू सबैलाई मेरो आग्रह छ– हामीले गल्तीहरू सच्याऊँ । बीचमा हामी अलिकति बाङ्गियौं भनेर जनतासँग आत्मसमीक्षा गरौं । अहिले पनि जनता खासगरी किसान र मजदूरका मुद्दालाई संसदमा लिएर जाऔं । उनीहरूका मुद्दालाई हामीले सरकारी योजनामा समाविष्ट गरौं । यसरी अगाडि बढ्दा हामीले नयाँ छलफल र नयाँ बहसलाई सुनिश्चित गर्न सक्छौं । होइन, यत्तिकै चुनावमा जाने हो भने हाम्रो कुरा कसैले सुन्नेवाला छैनन् । हामीले शिक्षा व्यवस्था फेर्छौं भन्यौं भने अहिले मानिसले पत्याउँदैनन् ।

माओवादी जनताले नपत्याउने अवस्थामा कसरी पुग्यो ? माओवादीका त्रुटिहरूलाई कसरी समीक्षा गर्ने ?

माओवादीको सबैभन्दा गम्भीर त्रुटि भनेको उसले जुन सामाजिक वर्ग धरातलमा टेकेर आएको थियो, त्यो वर्गप्रति यो प्रतिबद्ध रहेन, इमानदार रहेन । केही पनि काम गरेन । त्यसैले जनताले धोका महसूस गरे । विश्वासघात भएको महसूस गरे । नेताहरू आत्म प्रवञ्चनाको शिकार बने । जुन वर्गबाट तपाईंले जीवनरस पाउनुभएको छ, त्यो वर्गसँग कटेपछि तपाईं शक्तिहीन बन्नुहुन्छ । त्यो शक्तिको क्षतिपूर्ति तपाईंले बैंकमा ब्यालेन्स राखिदिएर, तपाईंसँग ठूलो गाडी र घर भएको भरमा हुँदैन । किनभने म संसार हल्लाइदिन्छु, म संसार परिवर्तन गर्छु भन्ने तागत तपाईंलाई जहाँबाट प्राप्त भइरहेको थियो, त्यो स्रोतबाट तपाईं कट्नुभयो । यसपछि तपाईं शक्तिहीन बन्नुभयो ।

अब पहिलो काम– जनतासँग हामीले आत्मसमीक्षा गर्नुपर्छ । दोस्रो- अब हामी तपाईंहरूप्रति प्रतिबद्ध छौं भनेर नयाँ नीति र कार्यक्रम ल्याउनुपर्छ । त्यो नयाँ नीतिलाई बोक्न सक्ने नयाँ नेतृत्व अगाडि आउनुपर्छ ।

यो आत्मस्वीकारोक्ति तपाईंहरू जस्ता केही नेताहरूको मात्रै कि सिङ्गो पार्टीको हो ?

आत्मस्वीकारोक्ति भनेको के हो ? कसैले बोलेर वा भाषण गरेर वा कतै लेखिदिएर मात्र हुँदैन । मेरो स्वीकारोक्तिलाई पनि तपाईंले गम्भीरतापूर्वक लिनुहुँदैन । मैले काम गर्ने क्षेत्रमा मेरो हिंडडुल कोसँग छ ? मेरो उठबस कोसँग छ ? म बस्न, खान, हिंड्न कोसँग बढी रुचाउँछु ? त्यो हेरेर मात्रै तपाईंले भन्न सक्नुहुन्छ ।

हामी बिचौलिया जस्तो भएछौं भन्नुहुन्छ । फेरि त्यही गर्नुहुन्छ ? कसरी विश्वास गर्ने ?

यो कुरा त हाम्रो पारिवारिक कुरा भयो । हाम्रो शहीद परिवार, घाइतेहरूको कुरा चाहिं आफ्नै परिवारभित्रको भयो । तर जनतासँग गरेको प्रतिबद्धता त हामी सबै मिलेर गरेका थियौं । यसमा दुइटा पक्ष छन् । पहिलो– हाम्रो आफ्नै पार्टी पंक्तिभित्र न्याय गर्न नसकिएको कुरा छ । दोस्रो– हामीलाई साथ र समर्थन दिएका जनता । हाम्रो शहीद परिवार, घाइते पनि त्यही जनताका छोराछोरी नै हुन् । ती जनतालाई हामी इमानदार छौं भन्ने कुरा अनुभूति हुनुपर्छ । यो कुरा नीतिमा नझल्किए र व्यवहारमा कार्यान्वयन नभएसम्म उनीहरूले पत्याउन सक्दैनन् ।

तपाईंहरूलाई रूपान्तरण हुन कसले रोकेको छ ? के कुराले बाधा पुर्‍याइरहेको छ ?

संस्कार र सिद्धान्त फरक कुरा हुन् । मेरो विचारमा पहिला फ्रायड जन्मिनुपथ्र्यो अनि मार्क्स आउनुपथ्र्यो । मान्छेको मनोविज्ञान, संस्कारको बारेमा फ्रायड लगायतले धेरै कुरा लेखेका छन् । यता, मार्क्सवादीभित्र पनि थुप्रै मानिस छन् जसले यसबारेमा धेरै चर्चा, परिचर्चा गरेका छन् । तर हाम्रो दुर्भाग्य के छ भने हामी केवल शक्तिमा भएका लेनिन, स्टालिन र माओ मात्रै पढ्छौं । मनोविज्ञान, कृषि, शिक्षाको क्षेत्रमा काम गरेका उनीहरूका वरिपरि रहेका नेताको बारेमा हामी पढ्दैनौं । यसले पनि गाह्रो परिरहेको छ ।

अर्को कुरा, हाम्रो संस्कार एकदमै पछौटे र विचार एकदमै अत्याधुनिक पर्‍यो । यसको अन्तरविरोध पनि देखिन्छ । ठूला भनेका नेतालाई पनि बेलाबेलामा उसको संस्कार अगाडि आएर लगिदिन्छ, पछारिदिन्छ । एकदमै ठूलो मान्छे भनेको यो त होइन रहेछ भन्ने पारिदिन्छ । यसरी हेर्दा, माओवादी आन्दोलनमा प्रचण्ड एउटा स्थापित नाम बन्यो । माइनस प्रचण्ड धेरै साथीहरूले प्रयास गरे तर माओवादी चाहिं बनेन । मलाई पनि के लाग्छ भने प्रचण्डको अभावमा पनि अर्थोक केही बनाउन सकिन्छ, तर यही पार्टीलाई फेरि पुनर्गठन गर्ने कुरामा एउटा महत्वपूर्ण धुरी बनेर प्रचण्ड नै देखा पर्छन् ।

केही दिनअघि मैले कमरेड प्रचण्डसँग नै छलफल गरेको थिएँ । मैले आफ्ना रायहरू राखें । हामीले अन्तिमपटक पाएको अवसर हो । त्यो पनि कताबाट यो सुयोग जुट्यो । ओली नै केही समय टिक्न सकेको भए हाम्रो हालत के हुन्थ्यो ? हामी भन्न सक्दैनौं । हामीसँग कति मानिस रहन्थे ? नेपाल त्यही त हो ।

अस्तिसम्म आकाश थर्काउने गरी ओली बा कि ओली बा भन्थे । अब केही दिनपछि ओली बा भन्नेहरू हराइहाल्छन् । यो खालको अवस्था हाम्रोमा छ । यसबारे मैले प्रचण्डसँग पनि कुरा गरें । अरू साथीहरूसँग पनि कुरा भइरहेको छ ।

यहाँ नयाँ नीति र नेतृत्व पनि भनिरहनुभएको छ । प्रचण्ड विनाको माओवादी पुनर्गठन हुनसक्दैन पनि भनिरहनुभएको छ । अलि अन्तरविरोधी कुरा भएन र ?
मैले प्रचण्ड कमरेडसँग पनि भनेको छु– अब एकचोटि यसलाई मेसोमा ल्याएर हामीले छाडिदिनुपर्छ । उहाँभन्दा म दुई तीन वर्ष कान्छो छु । तर मैले पनि अब कार्यकारी भूमिका लिनुहुँदैन । मैले तपाईंहरू जस्तै युवा पुस्तालाई जिम्मेवारी सुम्पिनुपर्छ । स्वाभाविक रूपमा ‘थिङ्क ट्याङ्क’को रूपमा र पार्टीको सम्पत्तिको रूपमा मेरो भूमिका रहोस् । म नै कार्यकारी ठाउँमा पुग्नुपर्छ भन्ने होइन । मैले प्रचण्ड कमरेडलाई ढिला नगरी नेतृत्व छाड्नुपर्छ भनेको छु । तर मेसोमा ल्याएर सुम्पनुपर्छ । छरपस्ट छाडेर त हुन्न । अब कसले लिने अहिले जिम्मेवारी । कसैको हातमा पनि जाँदैन जिम्मेवारी । अहिले माओवादी आन्दोलनको जिम्मा कसले लिन सक्छ ?

यो नेतृत्व भनेको लिने र दिने कुरा होइन होला नि ! प्रचण्डको पुस्तालाई पनि कसैले दिएको होइन होला । अहिलेको दोस्रो पुस्ताको हैसियत के हो ?

तपाईंले ठीक कुरा उठाउनुभयो । यहाँ दुइटा कुरा हुन्छ । स्थापित भइरहेको र रहेको नेतृत्वले अब हामी विदा हुनुपर्छ भन्ने सोच राख्नुपर्‍यो । सबैभन्दा सकारात्मक सोच त्यही हुन्छ । राजनीतिक नेतृत्व भनेको बाउले छोरालाई अंश दिए जस्तो अथवा छोरीलाई दाइजो दिए जस्तो होइन । यो लडेर लिने कुरा हो । कुनै जमानामा हामी पनि लडेका थियौं । हामीभन्दा अगाडिका नेताहरूलाई चुनौती दिएर आएका हौं । मोहनविक्रमदेखि पुष्पलालसम्मको विरोध गरेर हामी अगाडि आएका हौं । उहाँहरूभन्दा हामी राम्रो गर्न सक्छौं, उहाँहरूको गलत बुझाइ छ भनेर हामी अगाडि आएका हौं । तर भइदिंदोरहेछ के भने आफूले राम्रो काम गर्न नसकेपछि तिनै पुर्खाको नाम लिनुपर्ने । जहिले पनि बाजेकै नाम लिएर आफ्नो परिचय दिनुपर्ने । अहिले पुष्पलाल महान, मनमोहन महान भन्ने कुरा जसरी आइरहेको छ, त्यो किनभने अहिलेको पुस्ता चाहिं साह्रै गएगुज्रेको भयो । अहिलेको नयाँ पुस्ताले बुझ्नुपर्छ कि म त एकप्रकारले भीष्म बन्न खोजेको हुँ । भीष्मले अर्जुनहरूलाई बताउँछन् कि उनी आफैंलाई पराजित गर्ने तरिका के हो ? मलाई यसरी हराउन सकिन्छ, आऊ हराऊ । जस्तो– द्रोणलाई यसरी हराउन सकिन्छ भन्ने कुरा अर्जुनहरूलाई जानकारी दिइन्छ ।

उनले नचाहे पनि हराउनुपर्छ । तपाईं कस्तो बोल्नुहुन्छ, कस्तो लेख्नुहुन्छ, कसरी सम्बोधन गर्नुहुन्छ ? यो तपाईंको संस्कारको कुरा भयो । तर तपाईंले राजनीतिक/सैद्धान्तिक रूपमा प्रहार गर्नैपर्छ । यो पिंढी लाचार भयो, यसले काम गर्न सकेन, यसले अगाडिको बाटो देखाउन पनि सक्दैन भनेरै आउनुपर्छ ।

प्रचण्डको स्वीकारोक्तिको अवस्था कस्तो पाउनुभयो ?

उहाँले यसबारे हो भनेरै भन्नुहुन्छ । उहाँ आफ्नो अडानमा धेरै समय बस्ने मान्छे होइन । मान्छे कन्भिन्स पनि हुनसक्ने र कन्भिन्स पनि गर्न सक्ने मानिस हो उहाँ । तर, अरू को कहाँ बिग्रिए भनेर म बिग्रने छुट हुँदैन । अरूको बहाना बनाएर म बिग्रन पाउँदिनँ । त्यसैले, मैले आफ्नो क्षेत्रमा चाहिं सांसद विकास कोषको रकम शिक्षा, स्वास्थ्य र कृषिमा मात्र खर्च गरेको छु । सरकारी विद्यालयहरूमा केही न केही रकम दिएर त्यहाँ आइटी शिक्षा दिने, सबै वडाहरूमा रक्तचाप, सुगर, छाती आदि जाँच्ने ल्याब स्थापना गर्ने र आवासविहीनहरूका लागि आवास बनाइदिने । तर, यो आवास बनाउने कुरामा स्वाभाविक पक्षपात पनि हुँदोरहेछ । शहीद परिवार, लामो समय जेलमा बसेका परिवारका निम्ति घर बनाउने काममा म बढी जोड दिइरहेको छु ।

यो त तपाईंको व्यक्तिगत कुरा भयो । यति ठूलो संगठन भएको पार्टीमा एउटा व्यक्तिको मात्र कामको के अर्थ होला र ?

यो नीति नै बनाएर काम गर्नुपर्ने विषय हो । जस्तो अहिले मैले प्रचण्डसँग पनि कुरा गरें । कम्तीमा माओवादीले जितेको ठाउँमा ३० प्रतिशत रकम शिक्षामा र ३० प्रतिशत बजेट स्वास्थ्यमा न्यूनतम छुट्याउनुपर्छ भनेको छु । यसले केही फरक ल्याउन सक्छ । कि मलाई कसैले सच्याओस् म गलत छु भने, होइन भने कार्यान्वयन हुनुपर्छ भनेको छु । अरूलाई पनि हामीले सम्झाउने प्रयास गर्नुपर्छ । यसले केही फरक पार्छ । जस्तो– बिदुर नगरपालिकामा अरबभन्दा माथिको बजेट छ । त्यो बजेटमा ३० करोड चाहिं शिक्षामा गयो । ३० करोड चाहिं स्वास्थ्यमा गयो भने स्वाभाविक रूपमा त्यहाँको स्वास्थ्य सम्बन्धी निकायको स्तर धेरै राम्रो हुन्छ । विद्यालयमा पनि थप आइटी र अंग्रेजी शिक्षक राख्न सक्छौं । बेलाबेलामा त्यहाँ राजनीतिक मान्छे गएर विद्यालयको अनुगमन गरिरहने गर्नुपर्छ । अभिभावक र शिक्षकको छलफल प्रत्येक तीन महीनामा गराइदिने हो भने पनि विद्यालयको स्थिति फेरिन्छ ।

गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुरामा त दुईमत नै भएन । तपाईंहरू सशस्त्र विद्रोहबाट आउनुभएको । रूपान्तरण चाहिं किन भइरहेको छैन ?

एउटा कुरा त यो विकास भन्ने नै गलत बुझाइ हो । यसलाई बिर्साउने कसरी भन्ने समस्या छ । सारा मिडिया र देश यसमा लाग्नुपर्‍यो । विकास भनेको के हो ? हाम्रो आधारभूत बुझाइ नै गलत भयो । विकासको धूरी खम्बा भनेको त शिक्षा र स्वास्थ्य हो । जहाँ जनता शिक्षित र स्वस्थ छन्, त्यही नै विकासको सबैभन्दा ठूलो प्रमाण हो । तर यहाँ त ढुंगा–गिटी ओछ्याउने, पहाडहरू चिथोर्ने, पर्यावरणलाई समाप्त पारिदिने काम भइरहेको छ । पहाड चिथोरेर बनाएको ढुङ्गाको निर्माणलाई बढी सुन्दर भनिदिने । यस्तो धारणा गलत हो, हामीले यसलाई बदल्नुपर्छ ।

माओवादी र यसको नेतृत्व अहिले आफ्नो निर्णयभन्दा अरूको निर्णय कुरेर बस्नुपर्ने र अरूको निर्णयमाथि प्रतिक्रिया जनाएर बस्ने अवस्थामा पुग्यो नि होइन ? आफ्नो एजेन्डा र विचार सकिएकै हो माओवादीको ?

कुनै पनि ठूलो आन्दोलनसँग एउटा दायित्व पनि हुन्छ । नाफा पनि हुन्छ, नोक्सान पनि हुन्छ । यहाँ केही नेतृत्वमा नोक्सानी चाहिं कबुल नगर्ने प्रवृत्ति पनि देखियो । धेरै जनाले माओवादी नै छाडेर हिंडे । केही साथीहरू माओवादीमै रहे । यस्तो त सम्भवै छैन कि नाफा चाहिं सकार्ने, नोक्सानी चाहिं नकार्ने । माओवादीकालमा भएका खराब कामको पनि हामीले जिम्मेवारी त लिनुपर्‍यो । यस अर्थमा, माओवादीभित्रको युद्धले स्थापित गरेको नेतृत्व छिरलियो । यसपछि अब हाम्रो बाटो के, कसरी अगाडि बढ्ने भन्ने परिभाषित नै भएन । माओवादीले गरेको महाधिवेशन पनि महाधिवेशन जस्तो गरी गरेन । कर्मकाण्डी खालको भयो । छलफल पनि छैन, बहस पनि छैन । कुनै मुद्दामाथि जनताको सरोकार वास्ता गरिएको पनि छैन । यसरी यो पार्टी जनताबाट कट्यो ।

अहिले यहाँ समावेशीको कुरा हुन्छ । यो त हाँसोलाग्दो र ढाँट कुरा हो । आफूलाई मन परेको एकजना दलितलाई ल्याएर एउटा ठाउँमा उभ्याइदिएर मैले समाज समावेशी बनाएँ भन्न मिल्छ ! समावेशी हुन त निर्णय प्रक्रियामा ऊ सहभागी हुनुपर्छ । ऊ संलग्न हुन पाउनुपर्छ । दलित भन्ने जुन जात व्यवस्था छ, यसलाई समाप्त गर्ने परामर्श, छलफल र नीति निर्माणमा त दलित पनि सहभागी हुन पाउनुपर्‍यो । एकजना मन परेको पात्र उभ्याइदिएर दलित मुक्ति हुँदैन । त्यसैले नीति निर्माणमा जनताको सहभागिता लोकतन्त्रको सबैभन्दा प्रारम्भिक शर्त हो । यो पार्टीहरूले गरिरहेका छैनन् । लोकतन्त्रलाई गतिशील र जीवन्त बनाइरहनुपर्ने हाम्रा पार्टीहरू नै लोकतान्त्रिक भएनन् ।

साँच्चै हो नि है, माओवादीलाई लोकतान्त्रिक पार्टी भन्न मिलेन नि ! माओवादीमा साढे तीन दशकदेखि एकै जना नेतृत्वमा छन् । एमालेमा यही अवधिमा पाँचजना नेतृत्व परिवर्तन भइसक्यो । मन्त्री पनि पेरिसडाँडाले भन्दा खुमलटारले छान्ने ! न विधिको सर्वोच्चता, न नीतिको सर्वोच्चता ?

यो अवधिमा केही नेता फेर्ने पार्टीहरू पनि लोकतान्त्रिक छैनन् । लामो समयदेखि एउटै नेतृत्व भएको पार्टी पनि लोकतान्त्रिक छैन । माओवादीले यो स्वीकार्नुपर्छ कि यो पार्टीले नयाँ नेतृत्व पैदा गर्नै सकेनौं । २०–२५ वर्षसम्म २०४८ सालका थोत्रा नेताहरूबाट काम चलाइराखेका छौं । हामीले नयाँ नेता पैदा गर्न सकेनौं । ३०–४० वर्षसम्म एउटै नेता हुने पार्टीमा शिक्षित मान्छेहरू लाग्दै लाग्दैनन् । पार्टी लोकतान्त्रिक बनिरहन जहिले पनि भुइँतहसम्म छलफल भइरहनुपर्छ । निर्णय प्रक्रियामा भुइँतहलाई पनि सहभागी गराइरहनुपर्छ । माओले भने जस्तो भुइँतहसँगको अन्तरक्रियाबाट ज्ञान पनि आउँछ र यसबाट संगठन लोकतान्त्रिक पनि बनिरहन्छ । हाम्रो समाज पनि आफ्नो पक्षमा निर्णय भयो भने बडा लोकतान्त्रिक हुने, आफ्नो पक्षमा निर्णय गरिदिएन भने मात्रै अलोकतान्त्रिक हुने भयो । त्यसैले विधि, पद्धति मुख्य कुरा हो । यो सैद्धान्तिक कुरा हो । खोतल्दै गयो भने हामी लेनिनसम्म पुग्नुपर्छ ।

कसरी ?

हामीले लेनिनवादी संगठनात्मक पद्धति भन्छौं । लेनिनले मार्क्सवादमा गरेको योगदान एउटा पद्धतिमा छ । एउटा प्रणाली छ जहाँ यो चाहिं लिन्छु, यो चाहिं छाड्छु भन्न पाउनुहुन्न । प्रणाली त एउटा सेटमा हुन्छ, यसका सबै पक्षलाई अवलम्बन गर्नुपर्छ । जस्तो– भेनगार्ड अर्थात् अग्रदस्ता । त्यसको नेतृत्वमा सशस्त्र क्रान्ति । सशस्त्र क्रान्तिपछि सर्वहारा वर्गको अधिनायकत्व । अब सशस्त्र क्रान्ति पनि नगर्ने, सर्वहारा वर्गको अधिनायकत्व पनि लागू नगर्ने, अनि संगठन चाहिं लेनिनवादी संगठनात्मक सिद्धान्तमा हिंडेका छौं भन्ने । तपाईं या त पूर्णरूपमा नोकरशाही केन्द्रीयतामा हुनुहुन्छ, या त तपाईं अराजकतातिर जाँदै हुनुहुन्छ । त्यसैले अब हामीले नयाँ विधिको विकास गर्नुपर्नेछ । संगठनात्मक सिद्धान्त पनि विकास गर्नुपर्नेछ ।

माओवादीले विकास गर्नुपर्ने नयाँ संगठनात्मक सिद्धान्तबारे तपाईंको केही मार्गचित्र छ ?

वन, पानी, विद्यालय चलाउने उपभोक्ता समितिहरूमा कहीं पनि पार्टीका सदस्यहरूलाई सामेल हुन दिनुहुँदैन । समर्थकहरू बस्न सक्छन् । तब मात्र ती संस्थाहरू लोकतान्त्रिक बनिराख्छन् । भुइँतहका संगठनहरूले पार्टीलाई लोकतान्त्रिक बनाइराख्न बाध्य बनाउँछन् । त्यहाँ पनि पार्टीकरण गरेपछि लोकतान्त्रिक वातावरण बिग्रन्छ । म अहिले काठमाडौंमा बसेर झापाको कुनै वन समितिबारे निर्णय गरिदिन्छु । खानेपानीको निर्णय गरिदिन्छु । महिला, किसान, विद्यार्थी जस्ता जनवर्गहरूको संगठन स्वायत्त हुनुपर्छ । त्यसको राजनीतिक दलसँग वैचारिक साइनो मात्र हुनुपर्छ । नत्र भने पद्मकन्या क्याम्पसमा कसलाई सभापति बनाउने भन्ने कुरा जुँगामुठे बुढाहरू बसेर निर्णय गरेपछि कसरी लोकतान्त्रिक संगठन बन्छ ? तर, हामी नेताहरूलाई कुनै पनि बनिबनाऊ उत्तर छैन भन्ने कुरा मैले मान्नुपर्छ, हामी सबैले मान्नुपर्छ । उत्तरका लागि जनताको बीचमै जानुपर्छ ।

माओवादीले २१औं शताब्दीको जनवादको कुरा गरेको थियो । अहिले अलपत्र छ । आन्तरिक लोकतन्त्र यही दयनीय अवस्थामा राखेर पार्टी पुनर्गठन हुनसक्ला र ?

म जोड दिएर के भन्न चाहन्छु भने अरू बिग्रिए भनेर तपाईंलाई बिग्रिने सुविधा हुँदैन । अर्को कुरा पूँजीवादी व्यवस्थाले गाँजेको संकट संसारभर अभिव्यक्त भइरहेका छन् । अमेरिका, भारत, चीन, नेपालमा फरक–फरक ढंगले अभिव्यक्त भइरहेका छन् । त्यसलाई एउटा विश्व व्यवस्थाको रूपमा के भइराखेको छ भनेर हेर्नुपर्छ । त्यसको नेपाली संस्करण यसरी आइरहेको छ भनेर हामीले बुझ्नुपर्छ ।

नेपालमा समाजवादी केन्द्र कि कम्युनिष्ट केन्द्रको बहस पनि शुरू भएको छ ! तपाईंको विचारमा कुन केन्द्र ठीक होला ?

समाजवादी केन्द्र भन्नाले अलिकति कन्फ्युजन हुन्छ । किनभने लोकतान्त्रिक समाजवाद र समाजवादको दुई धार छुट्टिएको छ । अहिले त लोकतान्त्रिक समाजवादको धार पनि असाध्यै कमजोर भएको छ । मेरो विचारमा आज पनि संसारभरका उत्पीडितहरूका लागि वाणी भनेको मार्क्सवाद नै हो । त्यो कम्युनिष्ट नै हुनुपर्छ । यसका लागि कम्युनिष्ट केन्द्र नै बनाउनुपर्छ । यसमा कुनै द्विविधा हुनुहुँदैन ।

अब बल्ल आएर माओवादी वडा कमिटी बनाउन लागिपरेको छ । यो पार्टीलाई पूर्णरूपमा ट्रयाकमा फर्काउने उपाय के हो ?

मैले जे भनें, पुरानो पिंढीबाट भने । नयाँ पिंढीको बारेमा त मैले भनेको छैन । कम्युनिष्टहरूको जो परम्परा छ, हेगेललाई गलत सावित गरेर मार्क्स आएका । हेगेलको सबैभन्दा राम्रो चेला मार्क्स । मार्क्सवादमा सबैभन्दा बढी संशोधन गरेका छन् लेनिनले । त्यसैले लेनिनलाई मार्क्सको सबैभन्दा राम्रो चेला भनिन्छ । हामीलाई संशोधन गर्ने मानिस आउनुपर्‍यो नि त फेरि । यो मेरो आग्रह हो । मैले राम्रो सोचेर सुम्पन तयार छु भनेको हुँ । तर नयाँ पुस्ताले भन्नुपर्‍यो नि तिमीहरूलाई हामी पर्खंदैनौं । तिमीहरूले बनाउन सक्दैनौ ।

यो कुरा त २०६२/६३ पछि तपाईंहरूले बाबुराम/प्रचण्डहरूलाई भन्नुपर्थ्यो होला नि ?

यो भित्र बस्नेलाई थाहा छ । बाहिरबाट त जंगल देखिन्छ, रूख देखिंदैन । म त सधैं भनिरहने, लडिरहने मान्छे हुँ । हुने के रहेछ भने दर्शन अगाडि आएको बेला विज्ञान पछाडि जाँदोरहेछ । विज्ञान अगाडि आउँदा दर्शन पछाडि जाने रहेछ भनेर राहुल सांकृत्यायनले भन्थे । लामो बलिदानपछि अहिले नेपाली समाज एकदमै थाकेको, क्लान्त र विश्रान्तिमा छ जस्तो लाग्छ । तर यो उठ्छ । यो जर्‍याकजुरुक उठ्छ । युवा पुस्ताले ध्यान दिनुपर्छ– संघर्षको ऊर्जा भनेको नवीकरणीय ऊर्जा हो ।

गाउँबाट शहर घेर्ने दीर्घकालीन जनयुद्धको रणनीति अख्तियार गर्ने ‘माओवाद’लाई नै बोकेर अब अगाडि बढ्न सकिन्छ ?

त्यो त एउटा सन्दर्भ हो । यसलाई सन्दर्भको रूपमा मात्र प्रयोग गर्न सकिन्छ । किनभने चीनको जस्तै पहाड खडा गरेर, खोला तरेर लड्ने कुरा होइन । सबै कुराहरू ऐतिहासिक सन्दर्भमा काम लाग्छन् । लेनिनलाई अर्को नयाँ लेनिन चाहियो । संकट ठ्याक्कै उस्तै छ । १९औं शताब्दीको अन्त्य र २०औं शताब्दीको शुरुआतमा जस्तो संकट अहिले देखा परेको छ । पूरा व्यवस्था कोल्याप्स भएको, माथिल्लो वर्ग शासन गर्न नसक्ने अवस्थामा पुगेको, तल्लो वर्ग सहन नसक्ने अवस्थामा पुगेको । मान्छे आजित भइरहेको अवस्थामा लेनिनवाद आयो । यो कहिल्यै बिर्सन भएन कि लेनिनवाद त्यसै जन्मिएको होइन । त्यो युगको संकटले जन्माएको हो । अहिले त्यस्तै संकट आएको छ, केवल लेनिन देखा परेका छैनन् । बोल्सेभिक पार्टी र सामाजिक जनवादी पार्टीका नेताहरू पनि देखा परेका छैनन् ।

नेपालमा अहिलेको सबैभन्दा प्रगतिशील पार्टी कुन हो ?

स्वाभाविक रूपमा माओवादी नै हो । माओवादीसँग त्यो इतिहास र एजेन्डा सहितको दम छ । यसका लागि हामी लडिरहेका छौं । अन्तिम साससम्म लड्नेछौं ।

यो पनि पढ्नुस् –

माओवाद : भारी भयो माओवादीलाई

घाम अस्ताएपछि बिस्कुन सुकाउँदै माओवादी

 

लेखकको बारेमा
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका अपिनियन एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?