२६ साउन, काठमाडौं । युवा फुटबलर आयुष घलानले थ्री स्टार क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । ललितपुरको क्लब थ्री स्टारले राष्ट्रिय टिमका सदस्य आयुष घलानलाई आगामी लिगका लागि अनुबन्ध गरेको हो ।
थ्री स्टारले मंगलबार १८ वर्षीय मिडफिल्डर आयुषलाई अनुबन्ध गरिएको जनाएको छ । आयुषले पहिलो पटक नेपालको शीर्ष डिभिजन लिग खेल्न लागेका हुन् । उनले पछिल्लो पटक खुमलटार युथ क्लबबाट बी डिभिजन लिग खेलेका थिए ।
तर पहिलो पटक आयोजना भएको नेपाल सुपरमा गरेको प्रदर्शन र राष्ट्रिय टिममा डेब्यु गरेपछि चर्चामा रहेका आयुषलाई थ्री स्टारले भित्र्याएको हो । वैशाख–जेठमा भएको नेपाल सुपर लिगमा उनले पोखरा थण्डर्सबाट राम्रो प्रदर्शन गरेका थिए ।
त्यसपछि राष्ट्रिय टिमका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले आयुषलाई राष्ट्रिय टिममा क्याम्पमा राख्दै अन्तिम टिममा समेत राखे । उनले कुवेत भ्रमणमा रहँदा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमार्फत नेपालका लागि डेब्यु गरेका थिए ।
नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको खेलको उनी ९०औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गरेका थिए ।
थ्री स्टारले यसअघि मिडफिल्डर दोना थापालाई अनुबन्ध गरिसकेको छ भने डिफेन्डर अनन्त तामाङ र निशान खड्का तथा मिडफिल्डर सन्जोग राईसँग सम्झौता नवीकरण गरिसकेको छ ।
यसैगरी थ्री स्टारले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
प्रतिक्रिया 4