
२६ साउन, काठमाडौं । अमेरिकाले आगामी महिनादेखि लागू हुने गरी सेनालाई कोरोना विरुद्धको खोप अनिवार्य गर्ने तयारी गरेको छ । सोमबार अमेरिकाको राष्ट्रपति कार्यालय र रक्षा मन्त्रालयले यस्तो बताएका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सैन्य सेवामा काम गर्ने कर्मचारीलाई खोप लगाउँदा उनीहरुको परिवारलाई पनि राम्रो सुरक्षा प्राप्त हुने र विश्वको जुनसुकै कुनामा गएर काम गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । उनले पछिल्लो समय कोरोना खोप नलगाएका मानिसहरुमा डेल्टासहितको संक्रमण फैलिएकाले उनीहरुलाई कोरोना खोप अनिवार्य गर्न लागिएको बाइडनको भनाइ छ ।
अमेरिकाको रक्षा मन्त्रालयले सेप्टेम्बरको मध्यसम्ममा सबै सेनालाई कोरोना खोप लगाउने लक्ष्य राखेको छ । रक्षामन्त्री लोयड औस्टिनले अवस्था अझै बिग्रिँदै गए त्योभन्दा पनि अगाडि सबै सैनिकलाई खोप लगाइने बताएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकाले तत्काल लागू हुने गरी सैनिकहरुलाई कोरोना खोप अनिवार्य गर्ने निर्णय गरिसकेको छ । यद्यपि अमेरिकामा अहिले प्रयोग भइरहेका खोपले पूर्णरुपमा अनुमति पाउन बाँकी रहेकाले यो समयसीमा एक महिनासम्मको राखिएको हो ।
अमेरिकी वरिष्ठ संक्रामक रोग विशेषज्ञ एन्टोनी फाउचीले अगष्ट महिनाभित्रै कोरोना खोपले पूर्णरुपमा अनुमति पाउने बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4