+

अलमुताइरीको ‘राजीनामा’ प्रकरण कहाँ पुग्यो ?

२०७८ साउन  २७ गते १४:३१ २०७८ साउन २७ गते १४:३१
अलमुताइरीको ‘राजीनामा’ प्रकरण कहाँ पुग्यो ?

२७ साउन, काठमाडौं । केही समय स्थगित नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बुधबारदेखि पोखरामा शुरु हुँदैछ । प्रशिक्षणका लागि खेलाडी र कर्मचारीहरु पोखरा पुगिसकेका छन् ।

प्रश्न उब्जिएको छ, टिमलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिन्छन् कि दिन्नन् ?

किनकी उनले साउन १० गते उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए । उनले राजीनामा पत्र नबुझाए पनि राजीनामासँगै जोडिएको विषय छानविनका लागि एन्फामा दिएको निवेदनमा १० अगष्ट अर्थात २६ साउनभित्र सबै विषयको अनुसन्धान नसकिए आफूले राजीनामा प्रक्रिया पूरा गरेर देश छाड्ने बताएका थिए ।

हाल उक्त विषयमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले छानबिन गरिरहेको छ र प्रशिक्षक अलमुताइरीसंग बिहीबार सोधपुछ गर्ने कार्यक्रम छ । प्रशिक्षकले एन्फामा बुझाएको पत्र अनुसार उनले मंगलबारै राजीनामा दिनुपर्ने हो । तर दिएका छैनन् । उनी एक साताअघि पोखरा गएका थिए ।

हाल अल्मुताइरीले राजीनामाबारे केही बोलेका छैनन् । यसबारे चासो राख्दा पनि उनले जवाफ दिन चाहेका छैनन् । बुधबारदेखि शुरु हुने प्रशिक्षण अल्मुताइरीले गराउने वा नगराउने मंगलबारसम्म प्रष्ट थिएन ।

अलमुताइरीले राजीनामा दिँदा एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिनुपरेको उल्लेख गरेका थिए । आफूमाथि षड्यन्त्र भएको भन्दै नेम्वाङले पनि यस विषयमा छानबिन गर्न माग गरेका छन् ।

अलमुताइरीले पनि दुई सञ्चाकर्मीले ८ साउनमा आफ्नोबारे अन्यायपूर्ण समाचार सार्वजनिक भन्दै त्यस विषयमा छानविन गर्न एन्फामा पत्र बुझाए । त्यो समाचारमा एन्फाकै वरिष्ठ उपाध्यक्ष नेम्वाङले पनि लाइक गरेकोमा अलमुताइरीको आपत्ति थियो ।

साउन १९ गते नेम्वाङ र अलमुताइरीबीच भेट भयो । त्यसमा दुवै पक्ष विवादलाई टुङ्ग्याउन सहमत भएको र संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गर्ने पक्षमा पुगेका थिए । तर सहमतिको मस्यौदा बने पनि हस्ताक्षर हुन सकेन ।

त्यसपछि उनीसँग भेट नभएको नेम्वाङले बताए । नेम्वाङले यस विषयमा राखेपबाट निष्पक्ष छानविन होस् भन्ने चाहेको बतएका छन् । ‘निष्पक्ष छानविन होस् भन्ने विश्वास छ । मुख्य कुरा फुटबलको विकास होस् भन्ने हो’ नेम्वाङले भने ।

छानविन समितिले बिहिबारसम्म विवादमा संलग्न सबै पक्षसँग वयान लिने जनाएको छ । त्यसपछि यो विषय कसरी अघि बढ्छ भन्ने थाहा हुनेछ । अब आजदेखि फुटबल टिमको प्रशिक्षण सुरु हुँदैछ । तर अलमुताइरीले टिमलाई प्रशिक्षण गराउँछन् वा गराउँदैनन् हेर्न बाँकी छ ।

विवादको श्रृंखला

साउन १० : मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै राजीनामाको घोषणा । एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिनुपर्ने उल्लेख ।

साउन ११ : एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङद्वारा आफूलाई लगाइएको आरोपको छानविन गर्न एन्फामा पत्र पेश ।

साउन १३ : प्रशिक्षक-नेम्वाङबीचको विवाद र साफ च्याम्पियनसिपबारे छलफल गर्न एन्फाद्वारा साउन १५ गते आकस्मिक बैठक बस्न आह्वान ।

साउन १४ : मुख्य प्रशिक्षक अलमुताइरीद्वारा दुई सञ्चारकर्मीले आफूलाई लगाएको आरोपबारे छानविन गर्न एन्फामा पत्र पेश । सरकारीस्तरबाट छानविन गर्न माग । अगष्ट १० (साउन २६ गते) सम्म अनुसन्धान प्रक्रिया पूरा नभए राजीनामा दिएर देश छाड्ने धम्की ।

साउन १५ : वरिष्ठ उपाध्यक्ष नेम्वाङ र अलमुताइरीको विवादको विषयमा छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने एन्फाको आकस्किम बैठकको निर्णय ।

साउन १६ : मुख्य प्रशिक्षक अलमुताइरी बन्द प्रशिक्षणमा रहेका खेलाडीबीचको आन्तरिक मैत्रीपूर्ण खेलमा सहभागी । दोस्रो हाफमा खेलेपनि उनी प्रशिक्षणमा भने सहभागी भएनन् ।

साउन १७ : एन्फाद्वारा मुख्य प्रशिक्षक अलमुताइरीलाई अर्को सूचना नआउँदासम्मका लागि फुटबल टिमको प्रशिक्षण नगराउन पत्राचार ।

साउन १७ : एन्फा सहायक महासिचव बसन्त राज अर्यालद्वारा राजीनामा ।

साउन १८ : युवा तथा खेलकुद मन्त्रालयद्वारा राष्ट्रिय खेलकुद परिषद राखेपलाई राजीनामा प्रकरणबारे यथाशीघ्र छानविन गर्न निर्देशन ।

साउन १८ : एन्फा प्रवक्ताबाट किरण राईको राजीनामा, अर्ली इलेक्सनको माग ।

साउन १९ : राखेपद्वारा बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय विवाद छानविन समिति गठन एक हप्तामा काम सक्न निर्देशन ।

साउन १९ : एक अर्काबीच आरोप प्रत्यारोप गरेका एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अलमुताइरीबीच भेट ।

साउन २० : एन्फा विवादमाथि राष्ट्रिय खेलकुद परिषदको छानविन समितिद्वारा काम शुरु ।

साउन २४ : छानविन समितिले एन्फा अध्यक्षलगायत सम्बन्धित विभिन्न व्यक्तिलाई बयानका लागि पत्राचार ।

साउन २६ : छानविन समितिद्वारा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा पूर्व प्रवक्ता किरण राई र राखेप अन्तर्गत फुटबलका मुख्य प्रशिक्षक अरुणा गुरुङसंग बयान ।

अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय