Comments Add Comment

राजीनामा पत्रमा पोखरेलले भने- अवाञ्छित र जनादेश प्रतिकूल काम भयो

२७ साउन, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो राजीनामा पत्रमा विपक्षी दललाई विभिन्न आरोप लगाएका छन् । उनले संविधान धारा १६८ (१) अनुसार  नियुक्त मुख्यमन्त्री विरुद्ध १८८(४) को व्यवस्था अनुसार पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न नपाइनेमा विपक्षी दलहरु संवैधानिक प्रावधान विपरीत गएको बताएका छन् ।

विपक्षी दलले प्रदेशसभाबाट दुईजना सांसदलाई राजीनामा, ५ जनालाई कारबाही र एक जनालाई दल परिवर्तन गराउने जस्ता अवाञ्चित र जनादेश प्रतिकूल अभ्यासहरु गरेको मुख्यमन्त्री पोखरेलको आरोप छ ।

जसपाले आफ्ना सांसदलाई गरेको कारबाहीलाई पनि पोखरेलले गैरकानूनी भनेका छन् । उनले गैरकानूनी कारबाहीमा परेका सांसदहरु न्यायिक निरुपणको लागि सर्वोच्च अदालतमा गएका र  मुद्दाको किनारा नलागेको अवस्थामा प्रदेशसभाको विशेष अधिवेशनमा हुने छलफलले विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने र  न्यायिक निरुपणमा समेत प्रभाव पर्ने उल्लेख गरेका छन् ।

विद्यमान अन्यौलताको अन्त्य गरी मार्ग प्रशस्त गर्न नेपालको संविधानको धारा १६९(१) क बमोजिम पदबाट राजीनामा दिएको पोखरेलले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशको स्थायी राजधानीलाई नमुना बनाउने आफ्नो सपना अधुरै रहेको बताएका छन् । राजीनामापछि मन्त्रालयका सचिव र कर्मचारीहरूलाई धन्यवाद दिने क्रममा पोखरेलले आञ्चलिक मनोविज्ञान जोड्ने प्रयत्न स्वरूप दाङको भालुवाङ क्षेत्रमा स्थायी राजधानी बनाएको बताए ।

अबको सरकारलाई स्थायी राजधानीलाई नमुना बनाउने काममा सहयोग गर्न मुख्यमन्त्रीले सचिवहरुलाई आग्रह गरे । आफ्नो नेतृत्वमा प्रदेशलाई स्थापित गरिएको र सरकारले थुप्रै नयाँ काम गरेको उनले उल्लेख गरे ।

हेर्नुहोस् मुख्यमन्त्री पोखरेलको राजीनामा पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment