Comments Add Comment

फुटबल विवादमा राखेपले ५ जनासँग लियो वयान

२७ साउन, काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा प्रकणबारे छानबिन गरिरहेको राष्ट्रिय खेलकुद परिषदको समितिले बुधबार पाँच जनासँग बयान लिएको छ ।

राखेपका बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखे संयोजकत्वको ७ सदस्यीय समितिले बुधबार एन्फा उपाध्यक्ष कृष्ण थापा र वीरबहादुर खड्का, महासचिव इन्द्रमान तुलाधर, प्रशिक्षक बालगोपाल महर्जन र राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्यायसंग बयान लिएको सदस्य सुवर्णकेशरी श्रेष्ठले जानकारी दिइन् ।

यसअघि मंगलबार समितिले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, केन्द्रीय सदस्य किरण राई र राखेप अन्तर्गत फुटबलको मुख्य प्रशिक्षक अरुणा गुरुङसँग वयान लिएको थियो ।

अब बिहीबार प्रशिक्षक अलमुताइरी, एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ लगायत ६ जनाको बयान लिने कार्यक्रम रहेको छानविन समिति सदस्य श्रेष्ठले जानकारी दिइन् ।

मुख्य प्रशिक्षक अल्मुताइरीले साउन १० गते सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेको र आफूले राजीनामा दिनुपर्नको कारण एन्फा उपाध्यक्ष नेम्वाङ रहेको उल्लेख गरेपछि विवाद शुरु भएको थियो । उक्त विवादमा एन्फाले छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । तर मन्त्रालयले राखेपलाई छानविनका लागि निर्देशन दिएको थियो ।

विवाद चलिरहेकै बेला बुधबारदेखि नै पोखरामा राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरु भएको छ । मुख्य प्रशिक्षक अल्मुताइरीले प्रशिक्षण गराएको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment