Comments Add Comment

‘सेतीमाथि खेलाँची गरे पोखराका सात गाउँ-बस्ती बग्न सक्छन्’

२९ साउन, पोखरा । २३ वैशाख २०६९; सेती नदीमा आएको बाढीले खारापानी बजार बढार्‍यो । त्यस बाढीमा परेर खारापानीदेखि पोखरा, शुक्लागण्डकी, भिमाद र दमौलीसम्म ज्यान गुमाउने र बेपत्ता हुनेको संख्या ७० भन्दा बढी थियो ।

हरेक वर्ष सामान्य मनसुनमा पनि सेती बढेर रामघाटमा ताल बन्छ । आठ वर्षअघि अर्मलाको जमीनमा भ्वाङहरू परेका थिए । त्यसपछिका वर्षहरूमा पोखराको नदीपुर, न्युरोड, चिप्लेढुंगा, लेकसाइड लगायत मुख्य बजार क्षेत्रमा पनि भ्वाङ पर्ने क्रम बढेको छ । गत वर्ष सेतीको डिल खसेर पोखरा–१५ का चार घरपरिवार विस्थापित भए ।

खानी तथा भूगर्भ विभाग र जर्मनीको भूगर्भ विज्ञान तथा प्राकृतिक स्रोत सम्बन्धी संस्था बीजीआरले तीन वर्ष लगाएर गरेको अध्ययनले ‘पोखराको भौगर्भिक अवस्थालाई ध्यान नदिए ठूलो विपत्ति निम्तिन सक्ने’ चेतावनी २०५५ सालमै दिएको थियो ।

चुनढुंगा चिरेर निकै गहिराइमा बग्ने पोखराको सेती धेरैका लागि आश्चर्यजनक नदी हो । जमीनमुनिको सेतीलाई कतिले जोखिमपूर्ण मानेका छन् भने कतिपयले अर्थोपार्जनको गतिलो स्रोतको रूपमा हेरेका छन् । र, त्यसमा सहजीकरण गर्न पोखरा महानगरपालिका अग्रसर भएको छ ।

महानगरपालिकाले पाताले छाँगो सहित सेती खोच ४० वर्षका लागि निजी कम्पनीलाई दिएको छ । सेती खोचमा साहसिक पर्यटनको लागि पूर्वाधार निर्माण गर्ने र पाताले छाँगोमा सिसाको पुल लगायत संरचना बनाउने निजी कम्पनीको योजना छ । त्यस्तै, रामघाटमा बाँध बनाउने र ढुंगा, गिट्टी, बालुवा प्रशोधन तथा निकासी गर्न ३५ वर्षे ठेक्का दिने महानगरपालिकाको तयारी छ ।

सार्वजनिक सम्पत्ति लामो समय निजी कम्पनीलाई दिने महानगरको यो तयारीसँगै पोखराको भौगर्भिक संवेदनशीता बारेको बहस ब्यूँतिएको छ । संरक्षणकर्मीहरू भौगर्भिक र वातावरणीय अध्ययन विनै सेती नदी व्यापारिक स्वार्थमा प्रयोग गर्न नहुने बताइरहेका छन् भने भूगर्भविद्हरू पोखराको भौगर्भिक संवेदनशीलता र सम्भावित जोखिमको कुरा उठाइरहेका छन् ।

पोखराको भौगर्भिक/प्राकृतिक जोखिम विषयमा फ्रान्सको पेरिस विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरिरहेका नारायण गुरुङ रामघाटमा बाँध र सेती खोचमा संरचना बनाउनुलाई ‘अकल्पनीय घटनालाई निमन्त्रणा’ भन्छन् ।

ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिलमा बीई र नयाँदिल्लीको इन्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)बाट जियोटेक्निकल इन्जिनियरिङमा मास्टर्स गरेका गुरुङले सेतीको मुहान अन्नपूर्ण र माछापुच्छ्रे हिमालदेखि पोखराको रातोपैह्रोसम्म ४० किलोमिटर क्षेत्रको अध्ययन गरेका छन् ।

सेतीमा बाढीको सम्भावना र पोखरामा त्यसले पार्न सक्ने प्रभावको विषयमा पनि अध्ययन गरिरहेका उनी भन्छन्, ‘जोखिम प्राकृतिक हुन सक्छ, तर विपत्ति निम्त्याउने काम मानिसले नै गरिरहेका छन् ।’

सेतीमा हुने जथाभावी नरोकिए ठूलो विपत्ति निम्तिन सक्ने इन्जिनियर गुरुङको चेतावनी छ । उनका अध्ययनहरूले सेतीमा २०६९ को जस्तो बाढी जुनसुकै बेला आउन सक्ने देखाएका छन् । ‘फेरि अहिले त सेती किनारमा आवादी पनि धेरै नै बढेको छ’ उनी भन्छन्, ‘अबको बाढीले सात गाउँ बगाउन सक्छ ।’

पोखराको उत्पत्ति, सेतीको जोखिम, मानवीय कारणले निम्तिने विपत्ति लगायत विषयमा गुरुङसँग अनलाइनखबरका अमृत सुवेदीले गरेको कुराकानी :

पोखरालाई भीषण बाढीबाट बनेको ठाउँ भनिन्छ । त्यो भूगोल कहाँसम्म हो ?

पोखरा उपत्यका १२ हजार र ८०० वर्ष पहिलेको भीषण बाढीहरूबाट बनेको भौगर्भिक र भौगोलिक अध्ययनहरूले देखाएको छ । ती अध्ययनहरू पोखराका विभिन्न ठाउँ र सेतीको मुहान अन्नपूर्ण हिमाल क्षेत्रमा भएका थिए ।

डा. हर्क गुरुङ (सन् १९७०), प्रा.डा. यमनाका (सन् १९८२), प्रा.डा. मोनिक फोर्ट (सन् १९८३, १९८६ र २०१०), प्रा.डा. वोल्फगंग स्वान्घार्ट र प्रा.डा. अरिस्टोल स्टोल (सन् २०१६ र २०१७) लगायतको अध्ययनले पोखराको उत्पत्ति पुष्टि गरेका छन् ।

पोखरा भनेको सामान्यतः सेती नदीको उपल्लो भाग साँदालदेखि दक्षिणमा भिमाद बजारसम्म हो भन्ने बुझिन्छ । यो क्षेत्रमा सबभन्दा ठूलो जोखिम सेतीको बाढी नै हो ।

२०६९ वैशाखको जस्तो बाढी आउने सम्भावना कत्तिको छ ?

त्यस्तो सम्भावना धेरै छ । त्यसका कारण छन् । अन्नपूर्ण चौथो, अन्नपूर्ण तेस्रो र माछापुच्छ्रे हिमाल सेतीको मुहान हुन् । यी हिमालबीचमा कचौरा आकारको खाल्डो छ, जसलाई ‘अन्नपूर्ण ग्रेटर डिप्रेसन’ भनिन्छ ।

अन्नपूर्ण चौथो र तेस्रोबाट हिउँ पहिरो, चट्टाने पहिरो खस्दा ‘ग्रेटर डिप्रेसन’को बरफ र हिउँ पग्लेर भेलमा परिणत हुने प्रबल सम्भावना छ । त्यो भेल सेतीको अति साँघुरो घाँटी भएर बग्दा झन् ठूलो बाढी–पहिरो उत्पत्ति हुन सक्छ । २३ वैशाख २०६९ को बाढी यही प्रक्रियाबाट आएको थियो ।

दोस्रो, सेतीको मुहानदेखि बहाव क्षेत्रको तलसम्मै दुवैतिर अति भिरालो जमीन छ, जहाँ ठूलो पहिरो जाने उत्तिकै सम्भावना छ । त्यस्ता पहिरोले नदीलाई थुन्न सक्छ । पहिलेको बाँध फुट्दा तल्लो क्षेत्र ठूलो बाढीको चपेटामा पर्छ ।

तेस्रो कुरा, रामघाट क्षेत्र हरेक वर्षात्मा तालमा परिणत हुने गरेको सबैले देखेकै छौं । त्यसभन्दा तल डिल खसेर सेती थुनियो भने पानी बढेर पोखरा बजारतिर बढ्न सक्छ । त्यसले अकल्पनीय विपत् ल्याउन सक्छ ।

ठूलो बाढी आउँदा कुन-कुन ठाउँ बढी जोखिममा पर्छन् ?

सेती नदीको होचो तटीय क्षेत्रका आवादीहरू उच्च जोखिममा छन् । जस्तो– जिमिरबारी, सादल, खारपानी, मसिना बगर, उपल्लो र तल्लो गोस्ती, कसेरी बजार (शान्ति टोल), रामघाट । यी ठाउँहरू सेतीको प्राकृतिक बहाव क्षेत्र भित्र पर्छन् ।

हामीले बनाएका नदी नियन्त्रणका संरचनाहरूले दुई–चार वर्ष काम गर्न सक्छन्, दिगो होइन । प्राकृतिक रूपमा नदी, खोला हिंड्ने ठाउँ अतिक्रमण गरेर बस्ती बसाल्नु नै विपत् निम्त्याउनु हो ।

सेतीको बहाव क्षेत्रमा बस्ती विकास कसरी भयो त ?

यी ठाउँहरूमा करीब २५ वर्ष पहिलेबाट मात्र बस्ती विकास भएको तथ्य अध्ययनहरूमा देखिएको छ । कति बस्ती त माओवादी द्वन्द्वको बेला १५–१६ वर्षअघि शुरु भएको पाइएको छ । त्यस्ता बस्तीहरूमा अहिले कम्तीमा ३० र बढीमा २१० घर छन् ।

हालसम्मको अवस्था हेर्दा सरकार र दलहरूकै भूमिका ‘विपत्प्रेमी’ देखिन्छ । सरकारले जोखिमयुक्त बस्तीहरूलाई बेलैमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुको साटो बाटो, बिजुली, पानीका संरचना बनाइदिने काम गरिरहेको छ । दलहरूले त्यस्ता जोखिमका बस्तीहरूलाई भोट बैंकको रूपमा प्रयोग गरिरहेको प्रष्टै छ । उनीहरू चुनावमा आफूलाई जिताए बस्तीलाई स्थायी बनाएर विकास ल्याउने बाचा गरिरहेका हुन्छन् । विपत्बाट बचाउने काममा कसैको रुचि देखिन्न ।

सेती नदी दौडिने ठाउँमा बस्ती बसाएर, भौतिक संरचनाहरू बनाएर, नदीकै अत्यधिक दोहन गरेर, विगतको बाढीबाट पाठ नसिकेर महाविपत् निम्त्याउने काम भइरहेको छ ।

पोखरा महानगरपालिका सेतीको जोखिम न्यूनीकरण हुन्छ, खोचलाई अझ बलियो बनाउँछौं भनिरहेको छ । त्यो सम्भव छ ?

सेती निस्कने ‘बोटल नेक’ अर्थात् साँघुरो निकास भएकोले रामघाट आफैंमा प्राकृतिक बाँध हो । त्यहाँ सेतीको ‘स्लोप’ पनि कम छ । लगभग सम्म छ । त्यहाँ अर्को बाँध बनाउनु भनेको पानीको सतह बढाउनु हो । अर्थात्, वर्षायाममा त्यहाँ बन्ने ताललाई अझ उकास्नु हो ।

रामघाटभन्दा तल सेतीको डिल खसेर नदी थुनियो वा ठूलो वर्षा भएर भीषण बाढी आइदियो भने रामघाट खाल्डो भरिएर पानी बस्तीतिर पस्छ । त्यसैले रामघाटमा बाँध बनाउनु ठीक हुन्न भन्ने मेरो सन्देश हो । रामघाटमा बाँध बनाएर अहिलेको भन्दा दुई–चार हजार टन बढी गिट्टी– बालुवा जम्मा गर्न त सकिएला, तर त्यसले सेतीको जोखिम झन् बढाउँछ ।

सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन र भौगर्भिक अध्ययन नगरी आयोजनाको ठेक्का लगाउन मिल्छ ?

पोखरा महानगरपालिकाले यस्ता अध्ययन गरेको मलाई थाहा छैन । सम्भाव्यता अध्ययन गरेकै भए पनि रामघाट खाल्डोमा बाँध बनाउनु भनेको अर्को विपत् निम्त्याउनु नै हो । जोखिम बढाउने यस्ता योजना अगाडि बढाउनु हुँदैहुँदैन । यसबारे छलफल र विमर्श गर्न हामी तयार छौं ।

मानवीय क्रियाकलाप बाहेक पनि जुनसुकै बेला पोखरा भासिन सक्छ, बग्न सक्छ भन्ने चर्चाहरू सुनिन्छन् । तपाईंहरूको अध्ययनले के भन्छ ? के त्यस्तै हो ?
यस्ता कुरामा खासै सत्यता छैन । भूकम्पबाहेक पोखराको जोखिम भनेकै सेतीको सम्भावित बाढी हो । विशेषतः सेती किनारका बस्तीहरू उच्च जोखिममा रहेको र ठूलो बाढी आउँदा रामघाटबाट घना बस्तीहरूतिर पस्न सक्ने प्रबल सम्भावना छ । नदी वारिपारिका डाँडाहरूबाट पहिरो खसेर फेदीका घरहरू पुरिन सक्छन् । अध्ययनहरूमा त्यही देखिएको छ ।

पोखराको भित्रभित्रै पानी बगिरहेको छ, भित्र पूरै खोक्रो भइसकेको छ, जुनसुकै बेला भासिन सक्छ भनेको पनि सुनिन्छ । यो हल्ला मात्र हो ?

यसमा कुनै सत्यता छैन । हो, पोखराको विभिन्न ठाउँमा गुफाहरू छन् । पानी भित्र छिर्दा चुनयुक्त माटो हुनाले नयाँ भ्वाङहरू देखा पर्न सक्छन् । भ्वाङ पर्ने त्यही ठाउँको मात्र समस्या हो । पूरा पोखरा भित्री रूपमै खोक्रो छ भन्ने कुरा हावादारी हो ।

आठ वर्षअघि अर्मलामा ठूल्ठूला भ्वाङहरू देखापरे । नदीपुर, चिप्लेढुंगा, न्युरोड, लेकसाइड लगायत ठाउँहरूमा पनि सुक्खा याममै भ्वाङ परेको देखिन्छ । यसको कारण के हो ?
पोखरा उपत्यकाभित्र चुनयुक्त माटो छ । लगातार पानीको सम्पर्कमा आएपछि विस्तारै चुन पग्लेर माटोको समाउने शक्ति घट्छ । अनि त्यो ठाउँ भासिन्छ वा भ्वाङ देखा पर्दछ । तर, अर्मला र पोखराका अन्य ठाउँमा फरक कारणले भ्वाङ परेका हुन् ।

अन्य ठाउँमा माटोको चुन पग्लिएर भ्वाङ बनेका हुन् । अर्मलामा चाहिं चुन पग्लिने प्रक्रियासँगै पाइपिङ (जमीनभित्र पानीसँग लगातार मसिनो लेदो पनि बगेर) भएर ठूल्ठूला भ्वाङहरू परेका हुन् । खानेपानीको पाइप वा अन्य स्रोतको पानी चुहिएर चुन–माटोमा परेपछि सुक्खा याममा पनि यदाकदा भ्वाङ परेको देखिन्छ ।

केआईसिं पुल र महेन्द्रपुलदेखि पृथ्वीचोकसम्मै सेतीको डिलमा घरहरू छन् । मतगौंडामा बञ्जी लगायतका संरचना बनिरहेका छन् । भौगर्भिक हिसाबले यो कत्तिको जोखिमयुक्त छ ?

‘घाचोक फर्मेसन’मा बनेको सेतीका किनारहरूमा बलियो बाधे ढुंगा रहेको हुनाले तुलनात्मक रूपमा ती ठाउँ छन् । तर, ‘पोखरा फर्मेसन’का किनारहरू कमजोर छन् । त्यस्ता ठाउँका संरचना स्वतः जोखिममा छन् ।

रातोपैह्रो

केआईसिं पुल घाचोक फर्मेसन हो, तर त्यसको केही सय मिटर तल पोखरा फर्मेसन छ । नारायणथानको नयाँ पुलदेखि महेन्द्र पुलहुँदै रानीपौवाको तुलसी घाटसम्म पनि घाचोक फर्मेसन छ । तर, रामघाटबाट सेती निस्कने घाँटीदेखि रातोपैह्रो हुँदै दोबिल्लासम्मै पोखरा फर्मेसन छ ।

त्यसैले, सेती किनारको भौगोलिक बनावट अनुसार त्यहाँ बनेका घरहरू बढी वा कम जोखिममा छन् । तर, एउटा विचारणीय कुरा के छ भने, खोला किनारमा बस्नु भनेको सधैं एक वा अर्को किसिमको जोखिममा रहनु हो ।

भौगर्भिक हिसाबले पोखरामा विविधता छ भनेर भन्नुहुन्छ । महानगरपालिकाले जोखिम र सम्भावना हेरेर नीति लिएको देख्नुहुन्छ ?

दुःखको कुरा, पोखरा लगायत धेरै शहरमा सरकारको नीति अनुसार बस्ती विकास भएको छैन । हाम्रो बस्ती विकास नीति राम्रो छ, तर कागजमै सीमित भयो ।

पोखरामा सेतीसँग सम्बन्धित विपत्तिबाट बच्न गर्नुपर्ने के हो त ?

सबभन्दा दिगो र भरपर्दो उपाय भनेको सेतीमा अर्को ठूलो बाढी आउनुभन्दा पहिल्यै जोखिमयुक्त बस्तीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नु हो । नदी किनारमा विशेषतः रामघाटभन्दा तल बस्ती नबसालौं, नदीको बहाव क्षेत्र अतिक्रमण गरेर संरचनाहरू नबनाऔ ।

रामघाट थुन्ने योजना कार्यान्वयन नगरौं । बरु बाढीको पूर्व सूचना प्रणाली जडान गरौं । सबै नागरिकलाई विपत्बारे सचेतना–जानकारी दिऔं । माटो सुहाउँदो नीति बनाएर थिति बसाल्नुपर्ने निकायले बेथिति मार्फत विपत्ति निम्त्याउने काम नगरोस् ।

यो पनि पढ्नुहोस सेती खोच र पाताले छाँगो ठेक्का : लाभ कि महाविपत्तिको पर्खाइ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment