+

नेम्वाङ-अल्मुताइरी प्रकरण : छानबिन समितिले लियो थप ६ जनासँग बयान

२०७८ साउन  २८ गते १९:०३ २०७८ साउन २८ गते १९:०३
नेम्वाङ-अल्मुताइरी प्रकरण : छानबिन समितिले लियो थप ६ जनासँग बयान

२७ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद प्रकरणबारे छानबिन गर्न गठिन समितिले बिहीबार थप ६ जनाको बयान लिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा रहेको ७ सदस्यीय छानबिन समितिले विवादको विषयमा अनुसन्धान गरिरहेको छ । यसअघि मंगलबार ३ र बुधबार ५ जनाको बयान लिएको थियो ।

बिहीबार मुख्य प्रशिक्षक अल्मुताइरी र एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङसहित ६ जनाको बयान लिएको छ । अल्मुताइरी र नेम्वाङसहित राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बु, नेपाल घोडचडी संघका अध्यक्ष रवि राजकर्णिकार र दुई जना सञ्चारकर्मीसँग बयान लिइएको छानबिन समितिकी सदस्य सुवर्ण केशरी श्रेष्ठले बताइन् ।

यसअघि मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा पूर्व प्रवक्ता किरण राई र राखेप अन्तर्गत फुटबलको मुख्य प्रशिक्षक अरुणा गुरुङसँग बयान लिइएको थियो । बुधबार एन्फा उपाध्यक्ष कृष्ण थापा र वीरबहादुर खड्का, एन्फा महासचिव इन्द्रमान तुलाधर, प्रशिक्षक बालगोपाल महर्जन र राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्यायसँग समितिले बयान लिएको थियो ।

छानबिन समितिले तीन दिनमा १४ जनाको बयान लिएको र अन्य कसैको आवश्यक परेमा बयान लिन सक्ने श्रेष्ठले जानकारी दिइन् । बयान दिने सबैको चाहना नेपाली फुटबलको विकासका लागि यस्तो विवाद हुन नहुने बताएको उनले जानकारी दिइन् ।

उनले अब शुक्रबारदेखि बयान र कागजातको अध्ययन गर्न शुरु गर्ने बताइन् । ‘तीन दिन बयानमै लाग्यो । अब भोलिदेखि बयान र अहिलेसम्म आएको डकुमेन्टहरुको भेरिफिकेसन गर्ने काम शुरु गर्छौं,’ उनले भनिन्, ‘अब आइतबार वा सोमबारसम्म सबै काम सकिन्छ होला ।’

प्रशिक्षकले साउन १० गते राजीनामा दिने सामाजिक सञ्जालबाट घोषणा गरेपछि देखिएको विवाद एन्फाभित्रबाट समाधान हुन नसकेपछि एन्फाको आकस्मिक बैठकले युवा तथा खेलकुद मन्त्रालयमा छानबिनका लागि अनुरोध गरेको थियो । तर मन्त्रालयले राखेपलाई छानबिनका लागि निर्देशन दिएपछि राखेपले समितिले बनाएर यस विषयमा छानबिन गरिरहेको छ ।

अखिल नेपाल फुटबल संघ अब्दुल्लाह अल्मुताइरी पंकज विक्रम नेम्वाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय