Comments Add Comment

चुरे दोहन : एकाएक फेरिएको ओलीको बोली

गिट्टी-बालुवा निकासी योजना असफल भएपछि चुरेको 'माया' !

२८ साउन, काठमाडौं । गत मंगलबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदको रोष्ट्रममा उभिएर गठबन्धन सरकारमाथि प्रश्नहरु वर्षाए । उनले सरकारमाथि आरोपहरु मात्रै लगाएनन्, आफैंले अध्यादेशबाट ल्याएको बजेटभित्रको विवादास्पद योजनालाई ‘सच्याउने’ र आफूलाई निर्दाेष देखाउने प्रयत्न पनि गरे ।

‘ढुंगा, गिट्टी र बालुवा निकासी गरेर व्यापार घाटा घटाउने’ योजनाको चौतर्फी आलोचना हुँदा पनि सत्तामा रहुन्जेल टसमस नभएका ओलीले रोष्ट्रममा उभिएर चुरेप्रति प्रेम देखाए ।

उनले भने, ‘चुरे क्षेत्रको अनुचित दोहन रोक्न गिट्टी बालुवाको खानी पत्ता लगाएर उत्खनन् गर्ने भनेका थियौं । बढी भयो भने बाहिर पठाउने भन्ने शब्दावली त्यहाँ परेछ, अहिलेको लागि असान्दर्भिक कुरा हो त्यो । खासमा खानीबाट निकाल्ने भनेको हो ।’

चालु आर्थिक वर्षका लागि गत जेठ १५ गते ओली नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेशको १९९ नम्बर बुँदामा ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ’ भनिएको छ । ‘निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था’ बजेटले नै गरेको छ ।

विकास निर्माणलाई तीव्रता दिइरहेको भारतलाई खुशी बनाउन र सीमित व्यवसायीलाई पोस्न बजेटमा यस्तो व्यवस्था गरेको, यसले नेपाल तराईलाई मरुभूमि बनाउने, चुरे क्षेत्रलाई तहसनहस पार्ने भन्दै प्रतिपक्षी दलहरु, प्रदेश सरकार र स्थानीय तहदेखि वातावरणविद्, भूगर्भविद् र समाजशास्त्रीसम्मले विरोध गर्दा ओली सरकारले निर्यातको योजना अघि बढ्ने स्पष्ट अडान लिएको थियो ।

त्योसँगै वर्षमा १३ अर्बको ढुंगा, गिट्टी बालुवा बेचेर एक अर्ब राजस्व उठाउने गरी खानी विभागमार्फत गृहकार्य अघि बढाएको थियो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ढुंगा, गिट्टी, बालुवा बेच्दा देशलाई ठूलो आर्थिक लाभ हुने सार्वजनिक मञ्चहरुबाट सुनाएका थिए । पौडेलले ‘ढुंगा–गिट्टी व्यपार देह व्यापारजस्तै हुने’ भन्दै विरोध जनाएका वनस्पतिशास्त्री तीर्थबहादुर श्रेष्ठको विज्ञतामाथि नै प्रश्न उठाएका थिए ।

प्रधानमन्त्रीका विश्वासपात्र रहेका लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल पनि ढुंगा गिट्टी निकासी गर्न आफूहरुले पनि माग गरेको भन्दै संघीय सरकारको निर्णयको प्रतिरक्षामा उत्रिएका थिए ।

जति विरोध भए पनि ओली सरकार ढुंगा, गिट्टी, बालुवा बेच्ने योजनाबाट पछि नहटेपछि  सर्वोच्च अदालतमा रिट दायर भएको थियो । अदालतले प्राकृतिक स्रोत साधनमा तत्कालको लाभ–हानि हेरेर निर्णय गर्नु उचित नहुने भन्दै ढुंगा, गिटी र बालुवा निकासीमा रोक लगाउन आदेश दिएको थियो ।

‘खानीजन्य ढुंगा गिटी, बालुवा निकासी गर्नुपर्ने कारण सम्बन्धमा (आर्थिक वर्ष २०७८/७९ को) बुँदा नं. १९९ मा व्यापार घाटा कम गर्ने उद्देश्य लिएको देखिन्छ’ गत असार ४ गतेको आदेशमा भनिएको छ, ‘राष्ट्रको प्राकृतिक स्रोतको उपयोगमा अन्तरपुस्ता समन्वय र वातावरणीय अनुकूलनलाई महत्वका साथ हेरिनुपर्छ ।’

सर्वोच्चले ढुंगा, बालुवा, गिटीजस्ता प्राकृतिक स्रोत साधन उत्खनन् गरी निकासी गर्दा राष्ट्रको प्राकृतिक स्रोत, वातावरणीय प्रभाव, वन्यजन्तु, पशुपंक्षी, वनस्पति समेतका जैविक विविधतामा दूरगामी असर पार्ने बताएको छ । त्यस्तै ढुंगा, गिटीजस्ता प्राकृतिक स्रोत साधनमा राष्ट्रको स्थायी सार्वभौम अधिकार जस्तो आत्मनिर्णयको अधिकार हुने र सोको उपयोगको विषयमा संसदबाट कानून नबनेका बेला अध्यादेश ल्याउनु उचित नहुने उल्लेख गरेको छ ।

यो आदेशपछि तत्कालीन ओली नेतृत्वको सरकारले ढुंगा, गिट्टी बालुवा निकासी खुलाउन अघि बढेको तयारीको काम रोक्नुपरेको थियो । सरकारले निकासीको वातावरण बनाउन चुरे क्षेत्र, आसपास र महाभारत पर्वत श्रृङ्खलामा रहेका ९२ वटा ढुंगा, गिट्टी, बालुवाको खानी खोल्ने प्रक्रिया थाल्न खानी विभागलाई निर्देशन दिइसकेको थियो ।

एकाएक चुरेको माया

पूर्वप्रधानमन्त्री ओलीले मंगलबार संसदमा गरेको भाषणमा देशमा मौलाएको प्राकृतिक स्रोतको दोहनको सबै दोष सत्तापक्षीय दलहरुलाई दिए । नयाँ सरकारमा सामेल दलहरुको ‘न्यूनतम् साझा कार्यक्रम’मा समेटिएको ढुंगा, गिट्टी बालुवाको निकासी रोक्ने बुँदा उद्धृत गर्दै उनले ‘सत्ता गठबन्धनका मान्छेहरुले भेट्टाएँ भनेर खुब अपव्याख्या गरिरहेको’ बताए ।

‘मलाई लाग्दैन कि नेपालले कहिल्यै कुनै चिज निर्यात गर्दैन । कहिले निर्यात गर्ला पनि, नगर्ला पनि, त्यो (गिट्टी–बालुवा निकासी गर्ने योजना) अहिले राख्न आवश्यक थिएन,’ ओलीले भने, ‘चुरेको दोहन रोक्नका लागि खानी पत्ता लगाएर चुरे संरक्षणलाई ध्यान दिने कुरा बजेटमा राखिएको थियो ।’

चुरे क्षेत्रको ढुंगा गिट्टी बालुवा निकासीमा रोक लगाइसकिएको भन्दै ओलीले संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सोधे, ‘त्योभन्दा पहिले तपाईंहरुको गठबन्धनका नेता कार्यकर्ताहरु चुरे दोहनमा को–को, कहाँ–कहाँ संलग्न छन्, निकालौं न । पहिले यही गोदावरी नगरपालिकामा को–को संलग्न हुनुहुन्छ, तपाईंको मन्त्री संलग्न हुनुहुन्छ कि हुनुहुन्न माननीय प्रधानमन्त्रीज्यू ? त्यहाँ जंगल उजाड भएको र दुई रोपनी लिएर सय रोपनी कब्जा गरेको देख्नुहुन्छ कि देख्नुहन्न ?

उनले अरु पनि यस्ता अनधिकृत दोहन चलिरहेको भन्दै गठबन्धनमा सामेल हुँदैमा दादागिरी चलाउन नपाइने समेत बताए । उनले भने, ‘यसरी अनाधिकृत ढंगले देशलाई दोहन गर्न पाइँदैन ।’

यो पनि पढ्नुहोस ढुंगा, गिट्टी, बालुवासँग राजनीतिको गुप्त साइनो

विज्ञ भन्छन् लोकप्रिय हुने लोभ

ओलीले योजना असफल भएपछि राजनीतिक फाइदाका लागि व्यक्तव्य फेरेको विज्ञहरु बताउँछन् । सरकारी योजनाले विनाश मच्चाउने कुरामा तराई–मधेश सचेत रहेको पाएपछि राजनीतिक नाफा घाटा हेरे व्यक्तव्य सच्याउने काम भएको उनीहरुको भनाइ छ ।

तराई–मधेश चुरे संरक्षण विकास समितिका पूर्वअध्यक्ष तथा पूर्वअर्थसचिव रामेश्वर खनाल सिद्धबाबाको डाँडा काटेर भारतमा ढुंगा–गिट्टी बेच्ने गरी ल्याएको योजना सफल नहुने अवस्था आएपछि बोली बदलिन थालेको बताउँछन् ।‘मधेशमा यो योजनाको ठूलो विरोध भयो, यो राजनीतिक विषय पनि बन्यो,’ उनले भने, ‘राजनीति गर्नेले लोकप्रियता हेर्छन्, लोकप्रिय हुन लोकप्रिय कुरा गर्छन् ।’

चुरेसम्बन्धी जानकार तथा अनुसन्धानकर्ता डा. विनोद भट्ट पनि प्रतिपक्षमा आएपछि ओलीले बोली बदलेको बताउँछन् । नेपालमा गुण र दोषको आधारमा विरोध वा समर्थन गर्ने भन्दा पनि लाभ हेरेर बोल्ने चलन रहेको उनले बताए ।

‘प्रतिपक्षमा आएपछि पूर्वप्रधानमन्त्रीले प्रतिपक्षी भाषा बोल्नुभएको होला,’ उनले भने, ‘हिजो यो योजनाको विरोधमा र आज सत्तामा रहेका दलहरु पनि यही योजना लिएर अघि बढ्छन् कि भन्ने डर पो छ ।’

बजेट आएपछि चुरेको दोहन र निकासी योजनाबारे राष्ट्रिय बहस छेडिँदा प्रधानमन्त्री ओलीबाट संरक्षणको पक्षमा एक वाक्य नसुनिएको डा. भट्ट बताउँछन् । ‘त्यत्रो विरोध हुँदा सरकारले निकासी हुन्छ, चुरे छुँदैनौं भन्दै आसपासमा खानी खन्ने योजना ल्यायो,’ उनी भन्छन्, ‘त्यतिबेला मौन बस्नु भएका ओली चुरेप्रति यति सम्वेदनशील हुनुहन्छ भनेर कसरी विश्वास गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक बिषयमा कलम चलाउने घिमिरे अनलाइनखबर बिजनेसमा कार्यरत छन् ।

ट्रेन्डिङ

Advertisment