Comments Add Comment

बंगलादेशमा हिन्दु अल्पसंख्यकमाथि निरन्तर आक्रमण

३० साउन, काठमाडौं । बंगलादेशको खुलाना जिल्ला, प्शा उपजिल्लाअन्तर्गत शियाली मालिकपारा भन्ने गाउँमा हिन्दु अल्पसंख्यकका ५६ घर, १० मन्दिर र मूर्ति तोडफोड एवं लुटपाट भएपछि हिन्दु समुदायले विरोध प्रदर्शन गरेको छ ।

शनिबार कीर्तन गरिरहेका हिन्दु समुदायमाथि स्थानीय मुस्लिम अतिवादी समूहले आक्रमण गरेको थियो । निरन्तर हिन्दु समुदायमाथि आक्रमण, मठमन्दिरमा समेत लुटपाट र तोडफोड हुन थालेपछि विश्व हिन्दु महासंघ बंगलादेश च्याप्टरले शुक्रबार प्रधानमन्त्री शेख हसिनालाई ज्ञापन पत्र पठाएको छ ।

ज्ञापनपत्रमा हिन्दुहरुमाथि भइरहेका शृङखलाबद्ध आक्रमण र ज्यादति रोक्न र उनीहरुको सुरक्षा गर्न माग गरिएको छ ।

बंगलादेश शाखाका महासचिव दीपन मित्रद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा पछिल्लो आक्रमणपछि बंगलादेशमा हिन्दु समुदायले असुरक्षित र सहयोगविहीन अवस्थाको अनुभूति गरेको उल्लेख गरेका छन् ।

ज्ञापनपत्रमा उदारवादी शोच राख्ने राजनीतिक पार्टीको नेतृत्वमा बंगलादेशमा सरकार सञ्चालन भइरहेको तर यही समयमा हिन्दु अल्पसंख्यक नागरिकमाथि साम्प्रदायिक हिंसा भइरहेको भन्दै ध्यानाकर्षण गराइएको छ ।

ज्ञापनपत्रमा दोषीहरुमाथि कडा कारबाहीका लागि पनि प्रधानमन्त्री हसिनासँग माग गरिएको छ । बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजिबुर रहमानले देखाएको समावेशी एवं धार्मिक अधिकारसहित सबैको मुलुक बनाउने सपनालाई उनकी छोरीको नेतृत्वमा भएको वर्तमान सरकारले साकार गर्नुपर्ने पनि महासचित्र मित्रले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

हिन्दु समुदायले घटनाको विरोध गर्दै बिहीबार खुलना पिक्चर प्यालेसमा प्रदर्शन गरेको थियो । विश्व हिन्दु महासंघ बंगलादेश शाखा, जातीयो हिन्दु महाजोते, बंगलादेश हिन्दु परिषद्, शिवशक्तिलगायत स्थानीय हिन्दु संघसंस्थाका प्रतिनिधि विरोध प्रदर्शनमा सहभागी थिए ।

स्थानीय अतिबादी मुस्लिम समूहले हरि मन्दिर, दुर्गा मन्दिर, गोविन्द मन्दिर र भित्रका मूर्तिहरु तोडफोड एवं नष्ट गरेको थियो ।

यसैगरी, शियाली महास्मशान मन्दिरमा कीर्तन भजन चलिरहेका बेला आक्रमण भएको थियो । अपराधिक घटनामा संलग्न जोकोहीलाई पनि कानून अनुसार कडा सजाय दिन महासचिव मित्रले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment