+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नाजिर हुसेन : एक मामुली ठिटो, जो नायकको व्याकरण बदल्दैछन्

शिव मुखिया शिव मुखिया
२०७८ साउन ३० गते १८:४५

बाराको डुमरवानाबाट रात्रिबस चढेर पहिलो पटक काठमाडौं आउँदा नाजिर कम्ती मक्ख थिएनन् । घर छाडेर यसरी कहिल्यै लामो यात्रामा निस्किएका थिएनन् । तीव्रताका साथ हुँइकिरहेको बसको झ्यालबाट फटाफट देखिने दृश्यहरुमा उनी एकोहोरिएका थिए ।

राजमार्गको होटलमा बस रोकिएको थियो, खानाका लागि । यात्रुहरूको हुलमा ओर्लिएर उनले खुब स्वादसँग मासुभात खाएका थिए । घरमा छँदा यस्तो मौका विरलै जुर्थ्यो ।

अक्सर घरको चुल्होमा रोटी र लट्टेको साग पाक्थ्यो । उनलाई त्यस्तो खानामा रुचि थिएन । घिरौंलाको तरकारी पनि कति खानु ? दिक्क लाग्थ्यो । कहिलेकाहीं भात पाक्दा फुरुंग पर्थे । बेला-मौकामा भात पाक्थ्यो । लोकल कुखुराको मासु भए त भान्सा नै उज्यालो !

तर, घरमा पालिएको कुखुरा मासु खानका लागि भन्दा पनि बेच्नका लागि हुन्थ्यो । त्यही बेचेर विद्यालयको शुल्कदेखि नुनतेलसम्म जोहो हुन्थ्यो । त्यसैले घरको भान्सामा मासु पाक्नलाई दुर्लभ संयोग जुर्नुपर्थ्यो ।

घर छाडेको पहिलो दिन उनले मुखको स्वाद फेरे । ११ घण्टाको यात्रापछि रात्रि बसले काठमाडौंको नागढुंगा नाका पार गर्‍यो । उनी कलंकीमा उत्रिए । झिसमिसे उज्यालो भइसकेको थियो । कान्छी दिदी रमिना हुसेन थापाथलीमा ट्राफिकको ड्युटीमा थिइन् । उनी तुरुन्तै हिरो होन्डाको स्प्लेन्डर बाइक लिएर आइपुगिन् । उनले भाइलाई बाइकमा राखेर थापाथलीको कार्यलयमा विश्राम गराइन् ।

ड्युटी सकेर डेरा फर्किएपछि दिदी-भाइ काठमाडौं शहर घुम्न निस्किए । साँझ पर्ने बखत आकासे पुल माथि उभिएर उनले सन्ध्याकालिन शहरलाई निर्निमेष हेरिरहे । तल बाटोमा एकनासले गुडिरहेको गाडी देखेर रोमाञ्चित भए । गाडीको ताँतीमा खोला जस्तै बगेका देखिए बिजुलीका प्रकाश-पुञ्ज । उनलाई रातभर त्यहीँ हेरिरहुँ लाग्यो ।

दिदीको डेरा-कोठा पक्की घरमा थियो । भित्ताहरू चिल्ला र बलिया थिए । उनी मनमनै त्यसलाई गाउँको आफ्नो घरको माटोको भित्तासँग तुलना गर्दै अबेला निदाए ।

चार वर्षपछि…

शहरका चम्किला मल्टिप्लेक्सका सुनौला भित्ताहरु उनका पोस्टरले झकिझकाउ छ । व्यस्त शहरका होर्डिङ बोर्डदेखि सिंगल थिएटरका बाल्कोनीसम्म उनको फोटो सजाइन्छ । अखबारहरुले उनको बखान छापेको छ । क्यामेराका असंख्यौं लेन्स उनीमाथि सोझिन्छन् । फ्ल्यासलाइटको चमकमा उनको अनुहारको आभा प्रकट हुन्छ ।

अन्ततः सर्वत्र सार्वजनिक हुन्छन्, नाजिर हुसेन ।

दृढता, अटुट लगाव, कडा श्रमको आलोकमा टेकेर मधेशका एक मामुली ठिटो शहरको सप्तरंगी संसार सयर गर्न पुग्छन् । कहिले थिएटरका मञ्चहरुमा त कहिले सिनेमाघरका पर्दाहरुमा विचरण गर्दै एक नायकको रुपमा पदार्पण हुन्छन् । पुन्टे परेड, होस्टल रिर्टन्स, वीर विक्रम जस्ता सिनेमाबाट आफ्नो बेग्लै धरातल निर्माण गर्छन् ।

***

‘कान्छा, बाँच्न चाहिँ सिक्नुपर्छ है ।’ नाजिरकी आमा यसै भन्थिन् ।

आमा मीना बेगम स्थानीय स्वास्थ्यचौकीमा काम गर्थिन् । स्वयम् सेविकाको रुपमा । खासमा त उनी काठमाडौंकी रैथाने थिइन् । सिमराकी मुसलमानसँग घरजाम गरिन् । हिन्दु र मुसलमानको मिश्रित संस्कारमा नाजिर हुर्किए ।

आमा चाहन्थिन्, ‘कान्छो कम्तिमा अहेबसम्म बनोस् ।’ आफूले काम गरिरहेको स्वास्थ्य चौकीमा अहेब बनेर फर्किएको देख्ने कस्तो रहर हुँदो हो ?

तर, कान्छो अहेब बनेनन्, अभिनेता बने । दुःखजिलो गर्दै आफ्नो भाग्यरेखा आफैंले कोरे । देश-दुनियाँमा चिनिए । धेरैले धाप मार्दै भने, ‘अहो ! तिमीले खुब राम्रो गर्‍यौं ।’ दुःखको कुरा, यतिबेला उनीसँग खुसी साट्न आमा थिइनन् । नाजिर आफ्नो कर्मसँग जुध्दै गर्दा, आमा मृत्युसँग लड्दै थिइन् ।

जसै नाजिर रंगमञ्च र सिनेमाको चक्कर लगाइरहेका थिए । पारिवारिक सम्बन्ध खराब हुँदै थियो । आमा सधैंका लागि बिदा भइसकेकी थिइन् । दिदीहरु अलग भइसकेकी थिइन् । उनी एक्लिदै थिए ।

कान्छी दिदीको जोड थियो, नाजिरलाई प्रहरी बनाउने । ‘पढेलेखेको छस्, हवल्दारसम्म भए पनि ढुक्क हुन्छ,’ दिदी फकाउँथिन् । तर, रंगमञ्चको ह्याङओभरबाट कसरी बाहिर आउने ? नाजिरका लागि उल्टो बाटो हिँडे झै हुन्थ्यो । उनी त पढाई हापेर, आफ्नै मर्जीको लोक विनिर्माण गर्न लागिपरेका थिए । र, यसले उनलाई पारिवारिक सम्बन्धबाट अलग गराउँदै लगेको थियो ।

निकै विरत्तलाग्दो पारिवारिक सम्बन्धबाट गुज्रिरहेको अवस्था थियो त्यो ।

सन् २०१३ मा प्रदर्शित ‘होस्टल रिर्टन्स’ पछि शहरमा एक पात्रको खुब चर्चा हुन्छ । ती मधेशी पात्रको नाम, रामेश्वर यादव । साहयक भूमिकामा सही, उनको चरित्र–निर्माण र प्रस्तुति जोडदार छ । सिनेमा हेरेर बाहिरिएका दर्शकहरु यो पात्रमाथि साहनुभूति पोख्छन् । समीक्षकहरु पात्र र प्रवृत्तिको शानदार कथा केलाउँछन् । सिनेमाका दिग्गज समालोचकहरु यसको सामाजिक मनोविज्ञानबारे बहस छेड्छन् । यसरी चर्चाको उत्कर्षमा पुग्छन्, रामेश्वय यादव अर्थात नाजिर हुसेन ।

एक बिहान कान्छी दिदीको फोन आउँछ, जनकपुरबाट । उनको काठमाडौंबाट जनकपुर सरुवा भइसकेको हुन्छ । ‘हामीले तेरो फिल्म हेर्‍यौं । पत्रिकामा पनि फोटो देख्यौं । राम्रो गरेको रहेछस् । हामी खुसी भयौं ।’

लामो समयपछि दिदीको आवाज सुनेर नाजिरको छाती चौडा हुन्छ । मन हल्का हुन्छ । आँखा टिलपिल रसाउँछ ।

स्याउली चोकको सेरोफेरो…

स्याली चोकको सेरोफेरो

‘स्याली चोकमा सबथोक छ

तर, तिमी छैनौ आमा

घरको पालीमा गौंथलीले गुँड लाउन अझै छाडेकी छैन

हरेक वर्ष झै कोराल्छे बचेराहरु

र, उडाई दिन्छे आकासमा,

बचेरासँगै उनको सपना पनि त उड्दो हो

स्याली चोकमा सबथोक छ

तर, तिमी छैनौं ।..’

– नाजिर हुसेन

दुधौरा खोला पारिको गाउँ, स्याउली चोक । न बजार भन्न मिल्ने, न गाउँ । ठिमाह बस्ती । तामाङ, राई, मुस्लिम, क्षेत्री, चौधरी मिश्रित समाज । चाहे दशैं होस् वा इद, चाहे ल्होसार होस् वा माघी । सबै पर्वमा मिलिजुली उत्सव मनाउथे ।

उनको सानो घर ऐलानी जग्गामा ठडिएको थियो । अघिल्तिर फराकिलो आँगन । त्यही आँगनमा नाजिर हुर्किए ।

बिहान-साँझ घाँस दाउरा गर्नुपर्ने । बाख्रा चराउनुपर्ने । दिउसो विद्यालय । फुर्सदको समयमा दौतरीसँग उन्मुक्त खेल्ने । थोत्रो मोजामा प्लाष्टिक खाँदेर बल बनाइथ्यो । टायलका टुक्राहरु हार मिलाएर राखिन्थ्यो । बलले त्यसलाई ढालेर भाग्नुपर्ने । कहिले प्लाष्टिकमा डोरी बाँध्ने र त्यसमा खोया झुड्याएर प्यारासुट जस्तै उडाउने । भाँडाकुटी खेल्ने । यसरी खेल्दा नाजिरलाई दोकाने बन्नुपर्ने । चकलेटको खोलमा बनमाराको सिन्को बेरेर राख्ने, याक चुरोटको खोल च्यातेर पैसा बनाउने । ‘साह्रै रमाइलो पो हुन्थ्यो त त्यसबेला’ नाजिर नोस्टाल्जिक बन्छन् ।

नजिकै लीलाबहादुर राईको दोकान थियो । त्यहाँ दिउँसो चिया, पाउरोटी बिक्री हुन्थ्यो, राति रक्सी । खासमा नाजिरकी आमाले उनलाई आफ्नो भाइ बनाएकी थिइन् । दशैं-तिहारमा उनीहरु त्यहाँ टिका थाप्न जान्थे ।

एकदिन आमाको खल्तीबाट पैसा निकालेर सुटुक्कै सोही दोकानमा पुगे । उनले पाउरोटी मागे । पैसा दिएर दौडदै घर आए । पछि थाहा भयो, उनले चोरेको नोट त पाँच सय रुपैया पो रहेछ ।

फुँयाल बाजेको टिभी, ठकुरी मामाको गीत

अन्य मुस्लिम बालबच्चा झै उनी पनि मदरासामा कुरान पढ्न जान्थे । पढ्न जाँदा बस्नका लागि बोरा, लेख्नका लागि खरिपाटी र उज्यालोको लागि आफूसँगै टुकी बत्ती लानुपर्ने । त्यसबेला गाउँलाई बिजुली–बत्तिको उज्यालोले छोएको थिएन ।

गाउँमा टिभी पनि त थिएन । टिभी हेर्नका अर्को वस्ती पुग्नुपर्ने । साँझ हतार-हतार गाँस टिप्यो, थाल-बटुका माझ्यो, अनि बेपत्तासँग दौडियो । त्यसबेला फुँयाल बाजेको घरमा मात्र टिभी थियो । चाडै जानेले घरभित्र बसेर हेर्न पाउथे, अरुले झ्यालमा । त्यसबेला १४ इन्चको श्यामश्वेत टेलिभिजनमा आउने चन्द्रकान्ता, मुमिन, मुना हेर्न तँछाडमछाड चल्थ्यो ।

त्यसअघि साबुनको विज्ञपन गर्ने टोली गाउँमा आएको थियो । विद्यालयको प्राङ्गणमा पर्दा टाँगेर उनीहरुले फिल्म देखाएका थिए । आफ्ना साथीसंगीका साथमा चौरमा बसेर नाजिरले पनि ‘भाउजु’ फिल्म हेरे । पहिलो पटक पर्दामा उनले राजेश हमाल र करिष्मा मानन्धरलाई देखे । फिल्म सकियो । तर, उनी उठेनन् । नाजिर पर्खिरहेका थिए, पर्दाको पछाडिबाट ती कलाकाहरु फुत्त बाहिरिनेछन् ।

एक साथी थिए, विष्णु अधिकारी । एकदिन दुवै साइकलमा कतै गइरहेका थिए । हावाको लहरसँगै साथीको मुलायम कपाल सर्लक्क पछाडि फर्कन्थ्यो । गाइले चाटेको जस्तै सिनित्त थियो । नाजिरलाई पनि त्यसरी नै बाल फर्काएर हिँड्न मन लाग्यो । घर फर्केर उनले पानी लगाएर बाल फर्काए । त्यही बेलादेखि हो, उनले आफ्नो रुपरंगमा ख्याल गर्न थालेका ।

घरमा रेडियो थियो । त्यसमा हिन्दी गीत बज्थ्यो । कोठाभित्र नाजिर नाच्थे । अरुको सम्मुखमा उभिएर भने नाच्न लाज लाग्थ्यो ।

गाउँमा ठकुरी मामा थिए, रसिक पाराका । उनी खुब गाउथे । स्वर पनि उत्तिकै मीठो । नाजिरकी आमा भने मादल बजाउन माहिर । राति खाना खाइसकेपछिको बखत । केटाकेटीहरु आँगनमा भेला हुन्थे । आमाले मादल बजाउने,  ठकुरी मामाले गाउने । ‘कालीपारी दाई कति राम्रो, ढाका टोपी…।’

केटाकेटीहरु नाच्थे । नाच्ने हुलमा मिसिएका हुन्थे नाजिर पनि ।

क्रमस लाजको पर्दा च्यातिदै गयो । गाउँलेहरु भन्थे, ‘कान्छाले कस्तो राम्रो नाच्छ ।’ नाजिरको मनोवल बढ्यो । विद्यालयका कार्यक्रममा उनी नाच्न अग्रसर भए ।

नाजिर कक्षा ६ मा पढ्दै थिए । विद्यालयमा रंगकर्मी राजन खतिवडा देखापरे । उनी सोही गाउँका थिए तर, काठमाडौंमा बसेर रंगकर्म गरिरहेका थिए । विद्यालयमा उनले एकल नाटक मञ्चन गरे । नाजिरलाई त्यो कला गजब लाग्यो । उनका शरीरका तन्तुहरु यसै तंग्रिए ।

गाउँमा एउटा पत्रिका पसल थियो । त्यहाँ उनलाई पत्रिका पढ्न छुट थियो, सित्तैमा । उनी पत्रिका त्यस्तै कला–मनोरञ्जनका समाचार हेर्थे । कलाकारिताप्रति उनको लगाव बढ्दै गयो ।

सीमा ठकुरीलगायत दाइहरुले गाउँमा सडक नाटक देखाउन थालेका थिए । नाजिर पनि त्यसमा मिसिए । हाटबजारमा गएर चेलिबेटी बेचविखन, लागूऔषधविरुद्ध नाटक देखाउथें ।

सोही बखत नेदरल्यान्डको एउटा टोलीले कन्टेम्पोररी डान्स वर्कसपका गराउन लागेको उनले थाहा पाए । उनी बाटो खर्च बोकेर काठमाडौं हिँडे ।

वर्कसपमा भाग लिइरहँदा एक प्रशिक्षकले भने, ‘तिम्रो आँखाको इमोशन बोल्छ । यो वर्कसपपछि पनि तिमीले कुनै थिएटरमा गएर अभिनय सिक्नु ।’

मण्डला थिएटरको बास

कपडाको पाइन्ट र सर्ट लगाएर, पछाडि ब्याग भिरेर उनी अनामनगर पुगे, मण्डलाको कार्यालय । त्यसबेला मण्डलाको हल बनिसकेको थिएन । सानो कार्यालय थियो । कार्यालयमा थिए, दयाहाङ राई, राजन खतिवडा र सिर्जना सुब्बा ।

त्यसमध्ये उनले चिनेको एउटै मान्छे, राजन खतिवडा । उनी पनि गाउँले भएका नाताले । दयाहाङ कहिँ कतै देखे जस्तो मात्र लाग्ने । ‘माइला डटकम’ भन्ने नाटक लिएर उनीहरु भारत गएका रहेछन् । सोही बेला पत्र–पत्रिकामा छापिएको फोटो नाजिरले देखेका थिए ।

उनीहरुले नाजिरलाई सोधे, ‘के गर्न चाहन्छौं ?’

नाजिरले दृढतासाथ भने, ‘म एक्टिङ गर्न चाहन्छु ।’

संयोग कस्तो भने, त्यसबेला मण्डला टिम अभि सुवेदी लिखित ‘चिरिएका साँझहरु’ नाटकको तयारीमा थिए । उनीहरुलाई कोरसका लागि मान्छे चाहिएको थियो । त्यही रिक्त ठाउँमा नाजिरले ठाउँ पाए । बसन्तपुरको बाटो हुँदै उनी दिनदिनै मण्डला आइपुग्थे । कहिले काहीँ दिदीले पकेट खर्च पाँच सय रुपैयाँ दिन्थिन् । उनी त्यो पैसा निकै जतन गरेर राख्थे । तलतल लागेको बेला बसन्तपुरमा एक कप कालो चिया पिउथे ।

रिहर्सल गरिरहँदा राजन खतिवडाले भने, ‘तिम्रो शरीर कस्तो लचिलो रहेछ । फिजिकल ड्रामाको लागि राम्रो हुन्छ ।’ तर, मण्डलाको भवन बनिसकेपछि जब उनी अभिनय कला सिक्न थाले लाग्यो ‘म शून्यमा छु ।’

त्यसअघि नाटकमा सानोतिनो भूमिका त गरिसकेका थिए । तर, अभिनय कला सिकेका थिएनन् । अभिनय सिक्दै जाँदा उनलाई के पनि लाग्यो भने, ‘म गलत ठाउँमा आएँ ।’

यद्यपि त्यसबखत मण्डला थिएटर बनाउने काम जोडतोडले भइरहेको थियो । बुद्धि तामाङ, विजय बरालहरु मिस्त्रीको काममा खटिएका थिए । नाजिर पनि उनीहरुकै पछि लागे । इटा धुने, बालुवा मुछ्ने इत्यादि काम गरे ।

उनीहरुलाई खान–बस्न त्यही एउटा कोठा उपलब्ध थियो । चार-पाँच भाइ एउटै चुल्होमा पकाएर खान्थे, एकै ठाउँ ओछ्याउन बनाएर सुत्थे । बुद्धि तामाङ अलि जुझारु र जिम्मेवार पनि । उनी सबैलाई हप्कीदप्की गर्थे र काम पनि सिकाउथे । सबै जनाको भात पकाउने पालो हुन्थ्यो । कसले कुन बार भात पकाउने भनेर बुद्धि तामाङले नै सूची बनाएर भान्सामा टाँसेका थिए ।

उनी बिजुलीको काम गर्न पोख्त । उनी कामका लागि बाहिर पनि जान्थे । केही रुपैयाँ बोकेर फर्कन्थे । यसरी फर्कदा उनले मासु ल्याउथे । ‘सधैभर बुद्धि दाइ काम गर्न गइरहे हुन्थ्यो भन्ने लाग्थ्यो’ नाजिर भन्छन्, ‘कम्तीमा मासु त खान पाइन्थ्यो ।’

कहिले काहीँ दयाहाङ राई, राजन मुकारुङ आउथे । गफ हुन्थ्यो । उनीहरु आएको बेला मण्डलाको भान्सामा मासु पाक्थ्यो । नाजिरलाई लाग्थ्यो, उहाँहरु आइरहे हुन्थ्यो ।

गुरुकुल सग्लै थियो, त्योबेला । उनी गुरुकुल जान्थे । आँगनमा आगो बालिन्थ्यो । सबैजना आगो वरिपरी बसेर गफिन्थे । सौगात मल्ल, सरिता गिरी, विपिन कार्कीहरु आउथे । आफ्नो अनुभव सुनाउथे । नाजिरलाई खुब चाख लाग्थ्यो उनीहरुको कुरा । सुनिल पोखरेलसँग भने उनलाई डर लाग्थ्यो ।

यद्यपि ती सबै कोमल मनका थिए । सहृदयी र सहयोगी थिए । रंगमञ्चमा काम गर्नेहरु सबै जीवन र जगतसँग धेरै नजिक भएका जस्ता । जीवनलाई नजिकबाट बुझ्ने र सीप सिक्ने ठाउँ यही हो भन्ने लाग्यो, नाजिरलाई ।

‘नाटक लेख्ने र खेल्ने मात्र होइन, उहाँहरु नै बाजादेखि प्रकाससम्मको व्यवस्था मिलाउने, सेट डिजाइन गर्ने, रंगरोगन गर्ने’ नाजिर भन्छन्, ‘रंगमञ्च जीवनसँग धेरै नजिक हुने रहेछ ।’

यतिबेलासम्म उनले ‘सुनकेसरी’, ‘चरणदास चोर’, ‘जम्पिङ फ्रग’ जस्ता नाटकहरु खेलिसकेका थिए । एकपटक निर्देशक सुरज भुषाल र निर्माता सुनिल रावल नाटक हेर्न गएका रहेछन् । उनीहरुको नजरमा परे, नाजिर ।

त्यसबेला उनीहरु ‘होस्टल रिर्टन्स’को तयारीमा थिए । त्यसका लागि एउटा मधेशी युवाको खोजी पनि भइरहेको थियो । सोही ठाउँमा उनीहरुले नाजिरलाई अफर गरे ।

तर, नाजिर दोधारमा थिए । रंगमञ्चको रस भिजिसकेको थियो । उनले दयाहाङलाई सोधे, ‘दाजु यस्तो कुरा हुँदैछ, के गरौं ?’

दयाले सहज भावमा भने, ‘गर न । अनुभव पनि हुन्छ ।’

त्यसपछि उनी ‘होस्टल रिर्टन्स’मा आवद्ध भए । यसअघि ‘पुन्टे परेड’ खेलिसकेका थिए । तर, ‘होस्टल रिर्टन्स’ले नै उनलाई सार्वजनिक चिनारी दियो ।

त्यसबेलासम्मको अवस्था के थियो भने, मधेशी पात्रलाई चलचित्रमा हास्य चरित्रका लागि घुसाइन्थ्यो । सिनेमामा हल्का रमाइलोको लागि मधेशी पात्रको टेको लगाइन्थ्यो । नाजिरको पदार्पण पनि यसैगरी भयो । उनको चरित्र यस्तो थियो कि, मानौ त्यो पात्र देखेर दर्शकहरुले मनोरञ्जन लियोस् । तर, नाजिरले उक्त चरित्रलाई यति बलशाली बनाइदिए कि, दर्शकले उनलाई हाँसीमजाकभन्दा अलग राखेर हेरे ।

त्यसपछिका दिनहरुमा नाजिरको यात्रा अरु फराकिलो भयो । फगत हास्य पात्रको रुपमा नभई, केन्द्रिय चरित्रमा उनलाई उभ्याइयो । सिनेमाको सम्पूर्ण कथा उनको काँधमा थमाइयो । मधेशी ठाँट र लवजलाई ‘नायक’मा रुपान्तरण गरियो ।

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?