Comments Add Comment

महाकालीमा तुइन बन्द भएपछि दार्चुलाको व्यासमा खाद्यान्न संकट

तुइनबाट नदी पार गर्दै स्थानीय

३१ साउन, धनगढी । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनापछि तुइन बन्द गरिँदा दार्चुलाको व्याँस गाउँपालिकामा खाद्यान्न संकट उत्पन्न भएको छ । तुइनको माध्यमबाट महाकाली नदी वारपार गरेर भारतीय भूमि हुँदै दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्दै आएका व्यासबासी तुइन बन्द भएपछि समस्यामा परेका हुन् ।

विशेषगरी नेपालतर्फबाट सडकको पहुँच नभएका व्यास गाउँपालिका वडा नम्बर १, २ र ३ का बासिन्दा खाद्यान्नको अभाव खेप्न बाध्य भएको गाउँपालिकाका प्रवक्ता धिरनबहादुर बुढाथोकीले बताए । व्यास गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका बुढाथोकीका अनुसार भारतीय एसएसबीले तुइनको डोरी फुकालिदिँदा महाकाली नदीमा खसेर मालगाउँका जयसिंह धामी बेपत्ता भएपछि भारतीय पक्षले तुइन पूर्ण रुपमा बन्द गरिदिएको छ । जसका कारण सदरमुकाम खलंगासँग त्यहाँको सम्पर्क टुटेको छ ।

तुइन बन्द भएपछि स्थानीय बासिन्दा खाद्यान्नको अभाव भोग्न बाध्य भएका छन् । गाउँपालिकाको केन्द्रसम्म ट्रयाक खोलिएको दार्चुला–तिङ्कर सडक पनि पहिरोका कारण ठाउँठाउँमा अवरुद्ध भएकाले ट्रयाक्टर मार्फत खाद्यान्न ढुवानी गर्ने विकल्प पनि बन्द भएको छ ।

‘ढुवानी अभावमा यहाँका जनता चामल र पीठोको अभावमा भोकभोकै बस्न बाध्य भएका छन् ।  सुनसेरा र राप्लाको खाद्य डिपोमा चामल छैन,’ वडाध्यक्ष बुढाथोकीले अनलाइनखबरसँग भने, ‘गाउँपालिकाको केन्द्रसम्म ट्रयाक खोलिएको दार्चुला–तिङ्कर सडक पनि पहिरोका कारण अवरुद्ध छ । ट्रयाक्टर मार्फत सामान ढुवानी गर्न सक्ने अवस्था छैन । यो विषयमा प्रदेश र संघीय सरकारलाई जानकारी गराएका छौं तर हालसम्म कुनै सुनवाइ भएको अवस्था छैन ।’

गत वर्ष वडा नम्बर २ का बासिन्दाका लागि आएको पाँच सय क्वीन्टल चामल यसअघि नै वितरण भइसकेको छ । वडा नम्बर २ को मालगाउँ, राप्ला, दुम्लिङ र कोठेधारमा सबैभन्दा बढी खाद्यान्नको अभाव भएको छ ।

सीतापुल छोटी भन्सारमा एसएसबीको ज्यादतीले थप समस्या

त्रिदेशीय सीमानामा रहेको सीतापुल छोटी भन्सारमा पनि भारतीय एसएसबीको ज्यादतीका कारण व्यासबासी झनै समस्यामा परेका छन् । विगतमा सीतापुलदेखि सहज रुपमा दैनिक उपभोग्य लगायतका सामान ढुवानी गर्न दिंदै आएको एसएसबीले नयाँ नक्सा र जयसिंह धामी नदीमा बगेर बेपत्ता भएको घटनापछि सताउन थालेको स्थानीय बताउँछन् ।

‘सीमा विवादका कारण सीतापुल भएर पनि आवतजावत गर्न सक्ने अवस्था छैन । हात जोडेर, बिन्ती गरेर, उनीहरुलाई सलाम गरेर मात्र एसएसबीले थोरै थोरै सामान ल्याउन दिने गरेको थियो,’ व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने, ‘जयसिंह धामी बेपत्ता भएको घटनापछि त एसएसबीले साह्रै सताएपछि छिटफुट रुपमा बाहेक भारतबाट सामान ल्याउन सक्ने अवस्था नभएकाले खाद्यान्नको अभाव भएको छ ।’

वडाध्यक्ष बोहराले लिपुलेक, लिम्पियाधुरा सम्बन्धी विवादका कारण एसएसबीले सीमा क्षेत्रका बासिन्दालाई दुःख दिंदै आएको सुनाए । अहिले सीतापुल समेत जीर्ण भइसकेका कारण आवतजावत गर्न नै जोखिमपूर्ण छ । व्यास गाउँपालिका–१ का लागि गत वर्ष सरकारले निर्धारण गरेको पाँच सय क्वीन्टल चामल ठेकेदारको लापरबाहीले ढुवानी नभएका कारण पनि अहिले त्यहाँ खाद्य संकट उत्पन्न भएको उनले बताए । खाद्यान्न आपूर्तिका लागि स्थानीय प्रशासनसँग आग्रह गरिएको तर बेवास्ता भएको बोहराले बताए ।

हेलिकप्टरमार्फत खाद्यान्न आपूर्ति गर्न प्रशासनको माग लत्याउँदै सरकार

स्थानीय प्रशासनले व्यास गाउँपालिकामा खाद्यान्न अभाव भएको विषयमा जानकारी गराउँदै ढुवानीको व्यवस्था मिलाइदिन आग्रह गरे पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बेवास्ता गरेको छ ।  ११ साउनमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीलाई पत्राचार गर्दै व्यास गाउँपालिका–१ मा शीघ्र खाद्यान्न आपूर्तिको व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

व्यास गाउँपालिकाको एक बस्ती

तर प्रजिअ जोशीले पत्राचार गरेको २० दिन बित्दा समेत कुनै सुनवाइ नभएपछि आइतबार फेरि पत्राचार गर्दै तत्काल खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । व्यास गाउँपालिका–१ मा गत वर्ष समेत सरकारबाट स्वीकृत पाँच सय क्वीन्टल चामल ढुवानी नभएको पनि पत्रका उल्लेख गरिएको छ ।

आइतबारको पत्रमा प्रजिअ जोशीले गाउँपालिका कार्यालयबाट लिखित तथा मौखिक रुपमा अनुरोध भइआएकाले हवाई सेवा मार्फत भए पनि तत्काल पाँच सय क्वीन्टल चामल र गहुँको ढुवानी गरिदिन भनेका छन् ।

‘भौगोलिक विकटता, हिमपात समेतको जोखिम र नेपालतर्फ खाद्यान्नको ढुवानीको वैकल्पिक सडक बाटो समेत नभएकाले खाद्यान्नको चरम अभावका कारण सम्बन्धित क्षेत्रका आम नागरिकलाई पर्न सक्ने कठिनाइ तथा खाद्यान्न अभावको महामारी समेतलाई दृष्टिगत गरी छिटो साधन हेलिकप्टरद्वारा तत्काल ढुवानीको व्यवस्था मिलाइदिन अनुरोध छ,’ प्रजिअले लेखेको पत्रमा उल्लेख छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले भने केन्द्रीय कार्यालयमा व्यासको समस्याबारे जानकारी गराइसकेकाले चाँडै खाद्यान्न ढुवानी गरिने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment