Comments Add Comment

एसिडपीडित आरती भन्छिन्- ममाथि निरन्तर अन्याय भयो

३१ साउन, जनकपुरधाम । धनुषा जिल्ला अदालतले २५ साउनमा सुनाएको एउटा फैसलामा श्रीमतीमाथि एसिड प्रहार गर्ने सञ्जीव साहलाई दोषी ठहर गर्‍यो भने एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दियो ।

२१ वर्षीया आरती साहलाई उनका श्रीमान सञ्जीवले दीपावलीकै दिन २९ कात्तिक २०७७ मा एसिड प्रहार गरेका थिए । एसिडले शरीरको करीब आधा भाग जलेर उनी विरुप बनेकी छन् । एउटा आँखामा अझै दृष्टि फर्किएको छैन ।

नागेन्द्र साहले सफाइ पाएको थाहा पाएपछि भोलिपल्ट २६ साउनमा विरोध जनाउन अदालत पुगिन् । तर, प्रहरीले तत्कालै नियन्त्रणमा लिएर उनलाई जिल्ला प्रहरी कार्यालय पुर्‍यायो ।

एसिड बेच्नेलाई छाडेपछि उसले फेरि बेच्छ अनि अरु महिला त्यसको शिकार हुन्छन् भन्ने आरतीको जिकिर छ । उनी भन्छिन्, ‘त्यही भएर विरोध जनाउन अदालत गएकी थिएँ, तर प्रहरीले कुरा समेत गर्न नदिई समातिहाल्यो ।’त्यही दिन प्रहरी कार्यालयबाट छुटेपछि आरतीले सञ्चारकर्मीहरुलाई भनेकी थिइन्, ‘एक जना महिला प्रहरी र दुई जना पुरुष प्रहरीले मलाई घिसार्दै बाहिर निकाले । मसँग भएका भाइलाई मुक्कैमुक्का हाने ।’

निरन्तर अन्यायको शिकार

श्रीमान् र सुसुराको अत्याचारबाट जोगिन तीन वर्षकी छोरी लिएर जनकपुरधाम उपमहानगरपालिका–४ मा कोठा लिएर बस्दै आएको उनी बताउँछिन् । ‘तर, कात्तिक २९ गते बिहान साढे आठ बजे कोठामै आएर सञ्जीवले एसिड छ्यापे,’ उनी भन्छिन् ।

जनकपुरधाम–७, जानकीनगरकी आरती र वडा नम्बर २० रुपैठाका सञ्जीवबीच चार वर्षअघि सामाजिक परम्परा अनुसार मागी विवाह भएको थियो । तर, विवाह भएको केही समयदेखि पतिले कुट्पिट गर्न थालेकोमा ससुराले समेत दुव्र्यवहार गर्न थालेपछि माइती नजिकै डेरा लिएर बसेको उनले बताइन् ।

सञ्जीवले कोठामा आएर एसिड छ्याप्नुअघि एक पटक करेन्ट लगाएको र अर्काे दिन मट्टितेल खन्याएर आगो लगाउन खोजेको आरतीको भनाइ छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गत २४ फागुनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिडपीडित आरतीलाई माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । उनी भन्छिन्, ‘ममाथि किन यसरी लगातार अत्याचार भइरहेको छ भनेर कार्यक्रममा बोल्न खोजेको थिएँ, तर दिइएन ।’

ऋण गरेरै उपचार

अरु एसिडपीडित महिलालाई प्रदेश सरकारले प्लास्टिक सर्जरी गर्नसम्म सहयोग गरेको भन्ने सुनेको तर, आफूले सामान्य उपचार समेत ऋणमा गर्नु परेको आरतीले बताइन् ।

‘बरु, काठमाडौंकी एक दिदी र जनकपुरधामका मेयरले ५०–५० हजार सहयोग गर्नुभयो,’ उनी भन्छिन्, ‘बुवाआमा तरकारी बेचेर गुजारा चलाउनुहुन्छ । आफू कुनै काम गर्न सकेको छुइनँ । ऋण लिएरै काठमाडौंमा उपचार गराउनुपरेको छ ।’

एसिडले जलेकी छोरीको उपचार गर्न आमाबुवाले निक्कै दौडधूप गर्नुपर्‍यो । उपचार गराउन एकदमै समस्या भएको बाबु सुवोध साह बताउँछन् । उनी भन्छन्, ‘श्रीमतीलाई कुरुवा राखेर काठमाडौंमा उपचार गराउँदा शुरुमै अढाई लाख ऋण लाग्यो ।’

एसिडले बिग्रेको आरतीको एउटा आँखाको अप्रेसन आर्थिक अभावकै कारण गराउन नसकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
श्रवण देव

ट्रेन्डिङ

Advertisment