+
+
Shares

खुलामञ्च खुला भयो, माइतीघरमा हुने धर्ना-जुलूस रोक्न चाहेका छौं : मेयर शाक्य

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३२ गते २२:१७

३२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुला मञ्चलाई खुला नै राख्ने महानगरपालिकाको अडानले मूर्तरुप प्राप्त गरेको बताएका छन् । काठमाडौं महानगरपालिकाको ६८ औं कार्यपालिका बैठकलाई सम्वोधन गर्दै शाक्यले बसपार्क पनि त्यहाँबाट हटाएर खुलामञ्चलाई पूर्णरुपमा खुला गरेको बताए ।

दरबार हाईस्कूल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि सहमति दिएको स्मरण गर्दै उनले अब त्यो हटेर खुलामञ्च खाली भएको बताए ।

शाक्यले आम नागरिक, राजनीतिक दल र विभिन्न समूहका अभिव्यक्ति स्वतन्त्रताका लागि सार्वजनिक स्थानहरु उपलब्ध हुनुपर्छ भन्ने हेतूले खुलामञ्चलाई खुला नै छाड्ने महानगरपालिकाको नीतिलाई निरन्तरता दिएको स्मरण गराए ।

‘विभिन्न राजनीतिक दल र सर्वसाधारणले आफ्ना आवाज र माग सम्वोधनका लागि सडकमा सभा-सम्मेलन, धर्ना, जुलूस गर्दा ट्राफिक जाम भई आवतजावतनै अस्तव्यस्त भई थप भीडभाड बढ्ने र अन्तर्राष्ट्रिय यात्रुहरुलाई समेत ओहोरदोहोरमा कठिनाई हुने भएकाले हामीले खुलामञ्चलाई व्यवस्थापन गर्न खोजेका हौं’ शाक्यले भने ।

खुलामञ्च व्यवस्थापनसँगै माइतीघर, बानेश्वर, दरवारमार्ग, रत्नपार्क लगायतका स्थानमा सभा-सम्मेलन, धर्ना, जुलूस गर्न नपाउने समेत व्यवस्था गर्न चाहेको बताए ।

विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाई सभा गर्दा महानगरपालिका क्षेत्रभित्रको व्यापार-व्यवसाय समेत अस्तव्यस्त बन्ने गरेको भन्दै शाक्यले प्राचीन कालदेखि काठमाडौंको खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला राख्दै थप व्यवस्थापन गर्ने कार्यमा महानगरपालिका प्रतिवद्ध रहेको पनि जानकारी दिए ।

‘खुलामञ्चलाई सार्वजनिक कार्यक्रमको लागि एउटा प्रभावकारी स्थलको रूपमा विकास गर्ने योजनामा हामी छौं’ शाक्यले भने ।

शाक्यले खुलामञ्च थप व्यवस्थापनका लागि सरकारसँग पहल गरिरहेको पनि जानकारी गराए ।

पछिल्लो समय अर्थात धरहरा उद्घाटनका बेला  प्राधिकरणले लैनचौरदेखि केशरमहल, नारायणहिटी दरबारदेखि जमल हुँदै रानीपोखरीसम्म, रानीपोखरीदेखि टुँडिखेल हुँदै दशरथ रंगशालासम्मको क्षेत्रलाई खुला क्षेत्रको रूपमा व्यवस्थित गर्ने ग्रेटर टुँडिखेल गुरुयोजना अघि सारेको पनि स्मरण गराए ।

शाक्यले नेपाल सरकार, प्रदेश सरकार, उपत्यकाभित्रका पालिका र सवारी साधान व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधानको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टछुट्टै सवारी साधन टर्मिनलको विकास गर्न महानगरपालिकाले पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

शाक्यले काठमाडौं महानगरपालिका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागिपरेको समेत स्मरण गराए । ‘खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?