
१६ भदौ, काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने चालकले अब क्यूआर कोडबाटै जरिवाना भुक्तानी गर्न पाउने भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई क्यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको छ । अब सवारी नियम उल्लंघन गर्ने चालकलाई ट्राफिक प्रहरीले क्युआर कोड भएको चिट दिनेछ ।
महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले यसअघि जरिवाना तिर्न बैंकमा जानुपर्नेमा अब क्यूआर कोडमार्फत मोवाइलबाटै भुक्तानी गर्न सक्ने बताए । सवारी नियम उल्लंघन गरेका चालकले अब क्युआर कोडमार्फत सरकारी राजस्व खातामा रकम जम्मा गर्न सक्ने उनले जानकारी दिए ।
उनले भने, ‘क्यूआर कोडमार्फत रकम तिरेपछि तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य हुन्छ । जरिवाना ठाउँको ठाउँ मोबाइलबाटै भुक्तानी गर्न सहज हुन्छ ।’
के हो क्यूआर कोड ?
क्यूआर कोडको भनेको क्विक रेस्पोन्स कोड हो । सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिे क्यूआरकोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता, बैंक को खाता नम्बर भएको प्रविधिले पहिचान गर्न सक्छ ।
स्मार्टफोनमै पनि क्यूआर कोड स्क्यानरको सुविधा उपलब्ध हुन थालेदेखि यो प्रविधिको प्रयोग सजिलो र सुविधाजनक भएको छ ।
प्रतिक्रिया 4